समाचार

इलाम २ मा सकियो मतदान, ५७ प्रतिशत खस्यो मत

काठमाडौं । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ । त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्ने बताइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।