फिचर

तेस्रो लगानी सम्मेलनको पहिलो दिन के के भयो ?

काठमाडौं । तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । १ हजार ४ सयभन्दा धेरै पाहुना सहभागी सम्मेलनमा सहभागी उच्च पदस्थ अधिकारी, राजनीतिक दलका नेतृत्व र निजी क्षेत्रका प्रतिनिधिले नेपाल लगानीका लागि उपयुक्त स्थल भएको सन्देश प्रवाहमा अधिकतम समय खर्चिए ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले समेत एकैस्वरमा नेपालमा लगानीका लागि आह्वान गरे । लगानी सम्मेलनको पहिला दिन वातावरण प्रवाहमा महत्त्वपूर्ण देखिएको लगानी बोर्डको भनाइ छ । प्रधानमन्त्री दाहालले आइतबार नै विभिन्न देशका २२ वटा बढी प्रतिनिधिमण्डलसँग भेटघाट गरेका छन् ।

छुट्टाछुट्टै भएको भेटघाट तथा छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले करिब साढे दुई घण्टा समय बिताएका थिए । प्रधानमन्त्री प्रचण्डले हरेक भेटमा मुलुकमा लगानीको वातावरण बनेको र यहाँ आएका लगानीकर्ताले राम्रो प्रतिफल पाएको जानकारी गराएका थिए । आइतबार उद्घाटन सत्रमा समेत उनले सोही सन्देश प्रवाह गर्ने जमर्को गरे । उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताए ।

उनले भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’ लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए । सोही सन्दर्भमा हालै सरकारले कानुन परिमार्जन गरेको उनले उल्लेख गरे । नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको तीव्र रुपमा विस्तार भएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्रीको भनाइ छ ।

देउवाले विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला रहेको भन्दै यसका लागि आह्वान गरे । उनले पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिमा बढी सम्भावना रहेको उल्लेख गरे । सरकारले नीतिहरू परिमार्जन र पुनर्संरचना गर्दा वातावरण बनाइरहेको र यसमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले समेत काम गरेको उनको भनाइ थियो ।

अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य रहेको बताए । उनले नेपालका आर्थिक सूचक स्थिर र सकारात्मक गएको भन्दै आश्वस्त पार्न खोजेका थिए । राजनीतिक दलहरुको सहमतिमा ऐनहरूमा गरिएको संशोधनबाट नेपाल लगानी भित्राउन कट्टिबद्ध रहेको सन्देश प्रवाह भएको उनको दाबी छ ।

लगानी सम्मेलनमा यस पटक निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एक स्वरमा सरकारको समर्थन गर्दै लगानीका लागि आह्वान गरे । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आह्वान गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीको सम्भाव्य क्षेत्रबारे चर्चा गरेका थिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सस्तो श्रमशक्ति, छिमेकी मुलुक भारत र चीनको उपभोक्ता बजार लगायत कारण नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताए ।

सम्मेलनका क्रममा आज दुईवटा सम्झौता सम्पन्न भएका छन् । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बीएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष थायन लाईले हस्ताक्षर गरेका छन् ।