समाचार

इलाम र बझाङमा प्रारम्भिक रुझान, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा

काठमाडौं । इलाम र बझाङमा शनिबार सम्पन उपचुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिन्छ । इलाममा फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना सकिँदा कांग्रेस झिनो मतले अगाडी छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६ सय ५८ मत ल्याउँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६ सय ३० मत ल्याएका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन् । उनले ४ सय ३० र चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले ३ सय ८ मत पाएका छन् । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम–२ मा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । त्यति बेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।


उता, प्रदेश सभा अन्तर्गत बझाङ–१ (क) को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १ हजार ५ सय ९३ सय मतसहित अग्रता लिएका छन् । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ९ सय ९८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ सय ५५, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५ सय ९५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले ३४ मत पाएका छन् ।