Home / News / समाचार / भारतीय चंगुलमा संविधानसभा चुनाव

भारतीय चंगुलमा संविधानसभा चुनाव


 भारतीय स्वार्थ दुई खेमामा विभाजित

 चैतमा चुनाव सार्ने तयारी

संविधानसभा चुनाव सर्ने लगभग पक्का भएको छ। भारतीय स्वार्थ बाझेको र दुई माओवादीले सहकार्य गर्ने देखिएपछि एकाएक नेपालमा मंसिर ४ मा हुने भनिएको निर्वाचन सर्ने देखिएको छ। त्यसका लागि प्रचण्ड र वैद्यले वार्ता गर्ने गरेका छन्। आउँदो चुनाव कांग्रेसका लागि फाइदाजनक हुनेछ भने नेकपा एमालेका लागि नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार हुनेछ। रोसन पुरीको रिपोर्ट :

राष्ट्रपति डा. रामवरण यादवले असन्तुष्ट दललाई चुनावमा ल्याउनका लागि गरेका पहल सफल हुन सकेका छैनन् । आइतबार अन्तिम भनेर बसेको विभिन्न राजनीतिक दलको बैठक फेरि बिनानिष्कर्ष सकिएको छ । आइतबार झण्डै ७ घन्टा छलफलमा जुटेका राजनीतिक दलले सधैंझैं भोलिको भाका राखेका छन् । दलहरुबीच चुनाव सार्ने या नसार्ने विवाद बढ्दै जाँदा संविधानसभाको चुनाव अन्ततः सर्ने भएको छ । तर, नेपालका राजनीतिक दलले तोकिएको समयमै अर्थात् मंसिरमै संविधानसभाको चुनाव गर्ने प्रतिबद्धता जनाउन भने अझै छाडेका छैनन् । दलहरुबीचका पछिल्ला छलफल चुनाव सार्ने र नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई चुनावी प्रकृयामा ल्याउने विषयमा बढी केन्द्रित हुन थालेका छन् । चुनाव सर्नुका विभिन्न कारणहरु देखिएका छन् । नेपालका राजनीतिक दलका भित्री चाहना मात्र होइन छिमेकी मुलुक भारतमा समेत चुनाव अहिले र पछि गर्नुपर्ने दुईथरी तर्क देखिएका छन् ।

भारतको द्वैध भूमिका
नेपालको राजनीतिक अवस्थामा भारतको हस्तक्षेपकारी भूमिका रहँदै आएको छ । भारतले नेपालका राजनीतिक दललाई आफ्नोअनुकूल निर्णय र त्यसलाई कार्यान्वयन गर्ने नयाँ नेतृत्व खोजिरहेको हुन्छ । त्यसका लागि खासगरी भारतलाई नजिक ठान्ने तर मुख्य दलका शीर्षनेता भएकालाई बढी भारतीय पक्षले विश्वास गर्ने गरेको छ । नेपालमा संविधानसभाको चुनाव कहिले गर्ने भन्ने विषयमा यस पटक भने भारत दुई खेमामा विभाजित भएको छ । तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दललाई दिल्लीमा सहमति गराउन पहल गर्ने रञ्जित रे अहिले नेपालका लागि भारतीय राजदूत छन् । उनी अहिले सबै राजनीतिक दललाई सहमतिमा ल्याएर केही पर धकेलेर भए पनि संविधानसभाको चुनाव हुनुपर्नेमा जोड दिन्छन् । उनको नेपालमा राजनीतिक स्थिरता भएको अवस्थामा भारतलाई पनि त्यसको राम्रो फाइदा पुग्ने तर्क छ । हरेक राजनीतिक स्वार्थलाई उनले भारतको सामाजिक तथा मानसिक विकासमा लगेर जोड्ने गरेका छन् । त्यसैले रे चाहिँ नेपालमा मंसिरको सट्टा चैतसम्म भए पनि संविधानसभा चुनाव हुुनुपर्ने पक्षमा रहेको विभिन्न राजनीतिक दलका नेताहरुले बताएका छन् । तर आफू विदेश सचिव भएपछि पहिले विदेश भ्रमणका रुपमा नेपाललाई रोजेकी भारतीय विदेश सचिव सुजाता सिंहले भने मंसिरमा चुनाव गराउनुपर्नेमा जोड दिएकी छन् ।
भारत संविधानसभा चुनावको मितिमा विभाजनजस्तो देखिनुमा राजनीतिक र कूटनीतिक दुई वटा स्वार्थको टकराव नै हो । आउँदो भारतीय चुनावमा कंग्रेस आईको अवस्था कमजोर हुने र चैतमा हुने चुनावमा आफ्नो पक्षको राजनीतिक दललाई अगाडि लैजान नसकिने निष्कर्षमा कंग्रेस आई पुगेको छ । त्यो भन्दा पछि चुनाव गरे पनि नेपालमा आफूलाई ढुक्कसँग लामो समय साथ दिने राजनीतिक दलको विकास गर्न भारतीय कर्मचारीतन्त्र खोजिरहेको छ । त्यसैले अहिले नेपालमा रेले चुनाव सारेर जानुपर्ने पक्षको वकालत गर्ने गरेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । तर नेपालमा भ्रमणमा रहेकी सिंहले भने जसरी भए पनि तोकिएको समयमै चुनाव हुनुपर्ने बताएकी छन् । भारतीय टकरावका कारण पनि संविधानसभा चुनाव तोकिएको मंसिर ४ को चुनाव हुने सम्भावना अत्यन्तै कम छ ।

एकीकृत नेकपा माओवादी र नेकपा माओवादी
पछिल्लो समय सबैभन्दा बढी चुनावमा होमिएको र तयारीका हिसाबले सबैभन्दा धेरै अगाडि रहेको एकीकृत माओवादीले बाहिर जे भने पनि भित्र संविधानसभा चुनाव नहोस् भन्ने चाहेको छ । फुटेर गएको नेकपा माओवादीसँग जनमत नभए पनि ऊसँग भएका मतहरु बहिष्कारमै परे भने चुनाव एकीकृत नेकपा माओवादीको पक्षमा नहुन सक्छ । त्यसैले अवस्था बुझेका एकीकृत माओवादी शीर्ष नेताहरुले यो कुरालाई नेकपा–माओवादीसँग लगेर जोड्ने गरेका छन् । त्यसैले एकीकृत माओवादीले नेकपा माओवादीलाई सकभर पार्टी एकता नभए पनि कार्यगत एकता गरेर चुनावमा सँगै लैजान चाहन्छ । यस्तो अवस्था बुझिसकेको नेकपा माओवादीले पनि बाटाहरु साँघुरा भए पनि तत्काल चुनावको विकल्प देखेको छैन । पोलिटब्यूरो बैठकमा चुनावमा भाग लिने भए पार्टी एकता गर्न दबाब परेपछि नेकपा माओवादी एकीकृत नेकपा माओवादीसँग पार्टी एकता वा कार्यगत एकताको पक्षमा छ । तर माओवादीलाई चुनाव सार्ने कुरा मनाउन पर्ने बाध्यता पनि छ । त्यसैले आजभोलि प्रचण्ड र मोहन वैद्य किरणबीच दैनिकजसो वार्ता हुने गरेको स्रोतको भनाइ छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको दुई माओवादीको वार्तापछि एकीकृत नेकपा माओवादीले नेकपा माओवादीलाई साथ दिन थालेको हो । त्यसो त नेकपा माओवादीको एउटा समूह अहिले पनि सशस्त्र विद्रोहको तयारीमा लागेको छ । त्यसैले पनि एकीकृत नेकपा माओवादी र नेकपा माओवादी चुनावको मंसिर ४ को चुनावको पक्षमा देखिएका छैनन् ।

कांग्रेस–एमालेको भूमिका
अहिले सबैभन्दा बढी चुनाव चाहिएको नेपाली कांग्रेसलाई छ । अघिल्लो संविधानसभा चुनावमा गुमाएका सिटमा आफ्नो विजयी सुनिश्चित हुने कांग्रेसको बुझाइ छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चुनावको मितिबाहेक अरु राजनीतिक विषयमा नेकपा माओवादी नेतृत्वको मोर्चासँग छलफल गर्न सकिने बताएका छन् । उनले कुनै पनि हालतमा चुनाव सर्न नहुने बताए । एमालेलाई भने अहिलेको चुनाव नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाउको अनुहार भएको छ । ०४६ सालपछि एमाले सबैभन्दा बढी कमजोर भएको छ । पूर्वी नेपाल संघीय समाजवादीले र अरु ठाउँमा विभिन्न जातीय संगठन तथा एकीकृत माओवादीले नेता कार्यकर्ता भित्राएपछि ऊ निकै नै कमजोर भएको छ । यस्तो अवस्थामा चुनावमा जानु भनेको एमालेका नेताहरुका लागि आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नुजस्तै हो । अझै एमालेलाई के थाहा छ भने दुई माओवादी एक भइदिएको अवस्थामा एमाले थप कमजोर बन्ने छ । तर त्यसैले उसले मंसिरको चुनावलाई अहिले बढी जोड दिएको छ । त्यसैले पनि चुनाव अनिश्चितजस्तै देखिन्छ ।

Check Also

gianni-infantino-fifa

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता …