Home / News / प्रवास / अमेरिकाकै आमचुनावमा चासो छैन अमेरिकामा बस्ने नेपालीलाई

अमेरिकाकै आमचुनावमा चासो छैन अमेरिकामा बस्ने नेपालीलाई

नेपालको दलीय राजनीतिमा फस्यो अमेरिकी नेपाली समाज

विजय पौडेल
न्यूयोर्क ।

अमेरिकामा संख्यात्मक हिसाबले बढिरहेको नेपाली समुदाय अमेरिकाकै आन्तरिक राजनीतितर्फ भने सुस्त देखिएको छ । उज्ज्वल भविष्य र सहज जीवनयापनको कल्पनाले झण्डै ८ हजार माइल्सको दूरी तय गर्दै विपरीत गोलार्धमा आइपुगेको नेपाली समुदाय अमेरिकाको मूलधारको राजनीतिमा भने अपेक्षाकृत सक्रिय देखिंदैन । उक्त कुरा साउथ क्यारोलिनास्थित बेनेडिक कलेजका मनोविज्ञान विषयका प्रोफेसर डा. रामचन्द्र बराल पनि स्वीकार गर्छन् । ‘अमेरिकाको मूलधारको राजनीतितर्फ नेपाली पछाडि परेकै देखिन्छ’, डा. बराल भन्छन्– ‘जबसम्म अमेरिकामा बस्ने नेपालीहरुलाई बल्खु र सानेपाको राजनीतिक नसाले छाड्दैन, तबसम्म अमेरिकी मूलधारको राजनीतिमा सन्तोषजनक नेपाली प्रतिनिधित्व हुँदैन ।’ अमेरिका बसेर कांग्रेस, एमाले र माओवादीको राजनीति गरेर दह्रो ‘रेजुमी’ बनाउँछु अनि नेपाल गएर सांसद बन्छु भन्ने गलत सपना र राजनीतिक चेतनाको कमीले गर्दा पनि अमेरिकी राजनीतिमा अपेक्षाकृत नेपालीको संलग्नता कमी महसुस गर्छन् डा. बराल ।

डा. बरालले भनेजस्तै यही महिना टेक्सास राज्यको डल्लासमा सम्पन्न हुन लागेको कांग्रेस प्रवास संगठन जनसम्पर्क समितिको अधिवेशन र नेतृत्वका सम्बन्धमा नेपाली समुदाय अमेरिकामा जति तातेको छ, यही नोभेम्बर महिनाको ४ तारिख मंगलबार अमेरिकामा तय भएको आमनिर्वाचनले भने नेपाली समुदायलाई छुनसमेत सकेको छैन । अमेरिकी कंग्रेसको आगामी ६ वर्षे कार्यकालका लागि अमेरिकाभरिबाट ३३ जना सिनेटर (माथिल्लो सदन) र ४ सय ३५ जना हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन)का लागि नोभेम्बर ४ तारिख निर्वाचन हुँदैछ । र, कतिपय राज्यहरुमा गभर्नरसमेत चुनिंदैछन् । तर, छिटपुट क्रियाकलापलाई छाडेर अमेरिकाको नेपाली समुदाय बेखबरझैं बसेको छ । बरु जनसम्पर्क समितिको निर्वाचनको चर्चा र क्रियाकलाप भने केन्द्रमा नै छ ।

अमेरिका बसेर नेपाली दलीय राजनीति गर्नुको तुक नभएको बताउँदै न्यूयोर्कका युवा कानून व्यवसायी डिल्ली भट्ट भन्छन्– ‘अमेरिकामा नोभेम्बर ४ मा आमचुनाव हुँदैछ । अन्य समुदायका मान्छे निर्वाचनको क्रियाकलापमा सक्रिय छन्, तर नेपालीको सक्रियता शून्य देखिन्छ ।’ यसले नेपाली समुदायलाई फाइदा नगर्ने बताउँछन् उनी । ‘आफू बस्ने ठाउँ अनि आफ्नो दैनिक सरोकारका विषयसँग सम्बन्धित जनप्रतिनिधि चुन्ने तथा छान्ने प्रक्रियामा सहभागी नहुन र चासो नदेखाउनु दुर्भाग्य हो’, कानून व्यवसायी भट्ट भन्छन्– ‘भोलि आवश्यक पर्दा आफ्ना लागि बोलिदिने जनप्रतिनिधि हामीलाई अवश्य पनि चाहिन्छ ।’

डा. रामचन्द्र बराल र कानून व्यवसायी डिल्ली भट्टजस्तै अमेरिकामा बसेर नेपालको राजनीतिमा नेपालीहरुको संलग्नता अलि बढी नै भएको कुरामा अधिकार संस्थाकी कार्यकारी निर्देशक लुना रञ्जित पनि स्वीकार गर्छिन् । उनी भन्छिन्– ‘अमेरिका आउने प्रत्येक नेपाली प्रारम्भमा स्थायीरुपमा अमेरिकामा बस्छु भनेर सोच्दैनन् । दुईचार वर्ष बस्छु अलिअलि पैसा कमाउँछु अनि नेपालमै जान्छु भनेर सोच्ने गर्छन् ।’ सायद त्यही भएर पो हो कि नेपालको आन्तरिक राजनीति र सरोकारका विषयमा अमेरिकामा नेपाली समुदाय अलि बढी नै संलग्न देखिन्छन् । ‘गत अमेरिकी जनगणनामा नेपालीहरुको संख्या साह्रै कम देखिएर पनि होला हामीलाई अमेरिकामा नेपाली समुदायको पनि दह्रो उपस्थिति छ है भनेर देखाउनसमेत गाह्रो परेको छ’, लुना भन्छिन् । नेपाली राजनीतिमा बढी लगाव देखिए पनि अमेरिकी राजनीतितर्फ शून्य सहभागिता भने छैन भन्छिन् उनी । नयाँ समुदाय हो कतिपय नेपालीलाई कहिले भोट हाल्ने, कहाँ भोट हाल्नेसम्म थाहा छैन । बिस्तारै सहभागिता बढ्ने कुरामा लुना आशावादी छिन् । नोभेम्बर ४ को आमनिर्वाचनको मतदानमा सहभागी हुन जनचेतनाका लागि झण्डै एक हजार जनालाई अधिकारले फोनबाट समेत सम्पर्क गरेको उनी बताउँछिन् ।

सन् २०१० को अमेरिकी जनगणनालाई मात्र आधार मान्ने हो भने पनि तत्कालीन समयमा अमेरिकामा नेपालीहरुको संख्या ५१ हजार ९ सय ७ थियो । अहिले त सन् २०१४ को अन्त्य भइसकेको छ । सन् २०१० को जनगणनाको त्यो तथ्यांकभन्दा झण्डै ६ दोब्बर नेपाली अमेरिकामा बसोबास गरिरहेको अप्रमाणित तथ्यांक छ । न्यूयोर्क राज्यमा मात्र ४० हजारको हाराहारीमा नेपाली रहेको आँकलन गरिन्छ । टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड, एटलान्टालगायत राज्यहरुमा पनि नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । सबैभन्दा धेरै नेपाली बसोबास गर्ने न्यूयोर्क राज्यमा नेपाली समुदायले यसपटकको निर्वाचनको सिलसिलामा कुनै सक्रियता देखाएन । न्यूयोर्कको नेपाली समुदायले आफ्नो प्रतिनिधिका रुपमा कुनै पनि उम्मेदवारको पक्षमा प्रचारात्मक कार्यक्रम पनि गरेन । एकप्रकारले भन्नुपर्दा न्यूयोर्कको नेपाली समाज अमेरिकी आमनिर्वाचनको सम्बन्धमा बेखबरझैं रह्यो । बरु यसबीचमा गैरआवासीय नेपाली संघ अमेरिका, कांग्रेस प्रवास संगठन जनसम्पर्क समिति, एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्चका थुप्रै कार्यक्रम आयोजना भए । तर, अमेरिकाकै आमचुनावी प्रक्रियासँग सम्बन्धित एउटा कार्यक्रम पनि भएनन् । न त कुनै उम्मेदवारको पक्षमा नै नेपाली समुदाय देखियो । अमेरिकी तल्लो र माथिल्लो सदनको निर्वाचनमा न्यूयोर्कको नेपाली समुदाय शतप्रतिशत सुस्त देखिए पनि डिसी महानगर क्षेत्रका नेपालीहरुले भने सामान्य क्रियाशीलता देखाएका छन् । यसै सिलसिलामा गत २९ तारिख बुधबार डिसी महानगर क्षेत्र १० का उम्मेदवार जन फाउस्टसँग नेपाली समुदायले भेटघाटसमेत ग¥यो भने डेमोक्रेटिक पार्टीका उम्मेदवार फाउस्टलाई नेपालीहरुले खुलेर समर्थनसमेत गरे । त्यस्तै, क्यालिफोर्नियाका नेपालीहरुले भारतीय मूलका कांग्रेसम्यान उम्मेदवार रोखन्नाको समर्थनमा सानो कार्यक्रमसमेत आयोजना गरेको छ भने जर्जियास्थित नेपाली मूलकी डा. अमृता रेग्मीको समर्थनमा नेपालीहरु सक्रिय देखिएका छन् । डिसी महानगर क्षेत्र, जर्जिया र नर्दन क्यालिफोर्नियाका एकदुई कार्यक्रम छाडेर यस पटकको अमेरिकाको आमनिर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रम नेपाली समुदायभित्र आयोजना गरिएन । अमेरिकाको मूलधारको राजनीतिमा अमेरिकामा नेपाली समुदाय यति सुस्त र गैरसरोकारवाला जस्तो बन्नुलाई मेरिल्याण्ड राज्यको डिष्ट्रिक्ट–८ मा डेमोक्रेटिक पार्टीबाट तीन पदका लागि भएको प्राइमरी निर्वाचनमा चौथो भएर पराजित हुन पुगेका उम्मेदवार एचबी भण्डारी ‘डिजास्टर’को संज्ञा दिन्छन् । साउथ एसियाका अन्य मुलुकका मान्छे नेतृत्वदायी भूमिकामा पुग्दा नेपाली समुदाय भने अमेरिकामा कांग्रेस र एमालेको राजनीतिमा रुमल्लिनु सही बाटो होइन भन्छन् भण्डारी । यदि नेपाली समुदाय अमेरिकामा यसैगरी बस्ने हो भने आगामी ६०–७० वर्षसम्म दोस्रो दर्जाकै नागरिकका रुपमा बस्नुपर्ने बताउँछन् उनी । ‘नेपालका राजनीतिज्ञहरु अमेरिकामा बस्ने नेपालीहरुलाई आआफ्ना स्वार्थअनुकूलका कार्यकर्ताकै हैसियत रहेको देख्न चाहन्छन् । किनकि उनीहरुलाई निर्वाचनलगायतका विविध क्रियाकलापमा पैसा चाहिन्छ । त्यो पूर्ति गर्न अमेरिका कार्यकर्ताहरुले सक्छन् भन्ने उनीहरुलाई थाहा छ’, भण्डारी भन्छन्– ‘त्यसैले यहाँका नेपालीले आफ्नो दायरा आफैंले खुम्च्याएको अवस्था छ ।’ धेरैले ६–७ वर्ष अमेरिका बसेर नेपाल फर्किएर सांसद–मन्त्री बन्ने विपरीत सपना देखेका कारण पनि अमेरिकी मूलधारको राजनीतिमा फड्को मार्न नसकेको हो कि भन्ने आशंका व्यक्त गर्छन् उनी । भण्डारी भन्छन्– ‘अमेरिकामा बस्ने कतिपय नेपालीहरुलाई आफू बस्ने डिष्ट्रिक्ट (वडा)को नम्बरसमेत थाहा छैन । तर, ऊ चाहिं नेपाली राजनीतिक दलको अमेरिकामा प्रभावशाली नेतामा गनिन्छन् ।’

भण्डारीजस्तै सन् २००६ मा क्यालिफोर्नियास्थित ट्रायासी सिटीको सिटी काउन्सिलका उम्मेदवार रोजर अधिकारी पनि अमेरिका बसेर उग्ररुपमा नेपाली राजनीतिक दलहरुलाई सपोर्ट गर्ने काम नेपालीहरुबाट भइरहेको बताउँछन् । ‘दुईवटा डुङ्गामा खुट्टा हाल्ने काम अमेरिकामा बस्ने नेपालीहरुबाट भइरहेको छ’, अधिकारी भन्छन्– ‘यदि आइडिया छ, आफूसँग स्रोतसाधन छ भने आफ्नो देशका लागि राम्रो गर्नैपर्छ, तर उग्ररुपमा अमेरिका बसेर नेपाली दलीय राजनीति गर्नु राम्रो होइन ।’ यो देशमा कसरी प्रभावशाली बन्ने ? कसरी सफल हुने ? त्यो सोच्नु जरुरी ठान्छन् उनी । त्यस्तै जर्जियास्थित ९५ डिष्ट्रिक्टकी डेमोक्रेटिक पार्टीकी अमेरिकी तल्लो सदनकी उम्मेदवार डा. अमृता रेग्मी पनि नेपाली समुदाय अमेरिकाको मूलधारको राजनीति त्यति सक्रिय नभएको स्वीकार गर्छिन् । अमेरिका बसेपछि, यतैको नागरिक भएपछि प्रत्येक व्यक्तिले राजनीतिमा चासो राख्नुपर्ने बताउँछिन् उनी । जहाँ बसे पनि आफू बस्ने कम्युनिटीका लागि सरोकार राख्नुपर्ने रेग्मीको भनाइ छ । उनले नेपाली समुदायलाई सजग गराउँदै भनिन्– ‘नत्र हकअधिकारबाट वञ्चित हुनुपर्ने सम्भावित खतरा निम्तिन्छ ।’

गतवर्ष सम्पन्न मेयरको निर्वाचनमा सामान्य चासो देखाएको न्यूयोर्कस्थित नेपाली समाज यो वर्षको आमनिर्वाचनमा भूमिकाविहीन देखिनु र उता नेपाली राजनीतिक दलहरुका क्रियाकलापमा सक्रियता बढ्दै जानुलाई न्यूयोर्क नेपाली समाजका अग्रज डा. तारा निरौला हामी राजनीतिज्ञ हौं भन्दै अमेरिका बसेर नेपालको राजनीति गर्नेलाई रत्नपार्कमा गएर राजनीति गर्न सल्लाह दिन्छन् । ‘नेपालको दैनिक राजनीति यहाँ बसेर गर्नुको मतलब छैन, डा. निरौला भन्छन्– ‘यदि सकिन्छ भने नेपालको विकासमा सहभागिता जनाऊ, नेपालको दैवीप्रकोप र विपत्तिमा सारथि बन नत्र त्यहाँको राजनीति गर्ने भए रत्नपार्कमा जाऊ ।’

सकारात्मक सुरुवात

एकातिर अमेरिकामा औसतभन्दा ठूलो नेपालीको हिस्सा अमेरिका बसेर नेपाली राजनीतिमा दिनरात खटिइरहेकै छ । अर्कोतर्फ अमेरिकामा नागरिकता लिएका नेपाली अमेरिकनहरुको एउटा सानो हिस्सा भने अमेरिकी राजनीतिक मूलधारमा प्रवेश गर्ने क्रम पनि शुरु भएको छ । यसै सिलसिलामा नोभेम्बर ४ तारिखको अमेरिकी आमचुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट जर्जियास्थित हाउस अफ रिप्रिजेन्टेटिभ पदका लागि नेपाली मूलकी डा. अम्रिता रेग्मी खाता खोल्ने सुरसारमा छिन् । उक्त निर्वाचनमा यदि रिपब्लिकन पार्टीका उम्मेदवारलाई पराजित गरिन् भने डा. रेग्मी अमेरिकामै पहिलो नेपाली मूलकी प्रतिनिधिसभा सदस्य हुनेछिन् । उनले डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचनमा विजय हासिल गरेर उक्त स्थानमा पुगेकी हुन् ।

गोर्खामा जन्मिएकी डा. रेग्मी काठमाडौं, कालिस्थानकी स्थायी बासिन्दा हुन् । उनले लामो समय अन्तर्राष्ट्रिय विकास परामर्श दाताको रुपमा काम गर्दै आएकी थिइन् । जर्जियास्थित ‘पिचट्री कर्नर जोनिङ्ग बोर्ड अफ अपिल’ तथा अन्य संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी रेग्मीले २० वर्षदेखि जर्जियास्थित विभिन्न सामुदायिक क्रियाकलापमा संलग्न छिन् ।

त्यसैगरी मेरिल्याण्ड राज्यबाट डेमोक्रेटिक पार्टीका उम्मेदवारका रुपमा गत जुन १४ तारिख नेपाली मूलका एचबी भण्डारीले प्राइमरी निर्वाचन प्रतिस्पर्धा गरिसकेका छन् । तीन पदका लागि गरिएको निर्वाचनमा कुल मतको १५ दशमलव ६ प्रतिशत मत ल्याई उनी चौथो स्थानमा पुग्न सफल भए । डेमोक्रेटिक पार्टीका तर्फबाट लगातार निर्वाचन क्याम्पेनमा लागिरहने भण्डारीले बताएका छन् । त्यस्तै, वासिङ्टन राज्यबाट सन् २०१२ मा डेमोक्रेटिक पार्टीका तर्फबाट पहिलो कंग्रेसनल डिष्ट्रिक्टमा दर्शन रौनियारले प्रथम चरणको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

Check Also

wana-nagc-community

वाना र एनएजीसीद्वारा सामुदायिक केन्द्र भवन निर्माणकार्य शुभारम्भ

क्यालिफोर्निया । वेस्ट अमेरिका नेपलिज एसोसिएसन (वाना)ले सामुदायिक केन्द्र भवन निर्माणकार्यको शुभारम्भ गरेको छ । …