Home / News / प्रवास / पदाधिकारीकै उत्तेजक प्रस्तुतिका कारण बीचैमा बिथोलियो एनआरएन अमेरिकाको कार्यक्रम

पदाधिकारीकै उत्तेजक प्रस्तुतिका कारण बीचैमा बिथोलियो एनआरएन अमेरिकाको कार्यक्रम

न्यूयोर्क, मंसिर १ । गत १६ तारिख आइतबार गैरआवासीय संघ अमेरिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा संघकै पदाधिकारीको उत्तेजनापूर्ण अभिव्यक्ति र प्रस्तुतिका कारण पत्रकार सम्मेलन नै बिथोलिएको छ । स्थानीय हिमालयन याक रेष्टुरेन्टमा अपराह्न संघको प्रगति विवरण तथा भावी योजनाको जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा पत्रकारले प्रश्न राख्न नपाउँदै कार्यक्रम रद्द भएको हो ।

कार्यक्रममा सहभागी एक पत्रकारले एनआरएन पदाधिकारीहरुको राजनीतिक संलग्नताका विषयमा प्रश्न राखेपछि संघकी उपाध्यक्ष बनिता कतिला एकाएक असहज प्रस्तुति प्रदर्शन गर्दै उत्तेजक शैलीमा जबाफ दिंदै आफ्नै समितिका सदस्यलाई सार्वजनिकरुपमा आरोप लगाउन थालेपछि फ्लोरबाट समेत हल्ला शुरु भएको थियो । त्यसपछि फ्लोरबाट उत्पन्न असहज परिस्थिति र केही सहभागीले एनआरएन पदाधिकारीहरुलाई अनियन्त्रित ढंगले गालीगलोज गर्दै हल्ला गरेपछि पत्रकार सम्मेलन नै रद्द गरिएको थियो ।

त्यसअगाडि संघको अध्यक्ष खगेन्द्र जिसीले छोटो समयमा उल्लेख्य काम गर्ने कोसिस गरिएको र नागरिकताको निरन्तरताका विषय, न्यूयोर्कमा अलग्गै नेपाली कन्सुलर सेवालगायतका विषयमा महत्वपूर्ण उपलब्ध हासिल गरिएको बताएका थिए । त्यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषद्का क्षेत्रीय संयोजक सोनाम लामाले भावी संविधानमा गैरआवासीय नेपालीहरुको माग ‘नागरिकताको निरन्तरता’ले स्थान पाउन लागेको स्मरण गराउँदै लामो समयको लगानी सार्थक भएको बताएका थिए । उनले नेपालका राजनीतिक दलहरुले प्रवासी नेपालीहरुको नेपाली नागरिकताको निरन्तरताका विषयमा देखाएको सदासयताको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा गैरआवासीय संघ अमेरिकाका सल्लाहकार राम खरेलले एनआरएनमा आफ्नो अनुभवसहितको मन्तव्य राखेका थिए भने सहकोषाध्यक्ष सञ्जीव श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत विश्व सम्मेलनमा अमेरिकी एनआरएनका तर्फबाट नेपालमा भोज आयोजना गर्दा खर्च भएको ७ हजार अमेरिकी डलर संघको निर्णयबमोजिम नै भएको प्रष्ट पारेका थिए । त्यसअगाडि संघका महासचिव कृष्ण पोखरेलले कार्यप्रगति विवरण तथा भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

Check Also

अमेरिकाको टेक्सासबाट परराष्ट्रमन्त्री महतको आग्रह– ‘गैरआवासीय नेपालीले अब नेपालमा लगानी भित्र्याउँ’

 माघ २ । संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा …