Home / News / साहित्य / लघुकथाः डा. सा’बका दाजु

लघुकथाः डा. सा’बका दाजु

० आचार्य प्रभा

जितबहादुर सधैं आफ्नो परिवार र छोराछोरीको प्रशंसा गरेर नथाक्ने । आज ऊ झनै फुरुङ छ– उसले काम गर्ने रेष्टुरेन्टमा नै उसका भाइ डा. महेश केसीलाई उक्त ठाउँका नेपालीहरुले स्वागत भेटघाट कार्यक्रम राखेकाले ।

जितबहादुर भाँडा माझ्दै आफ्नो इतिहास सुनाइरहेछ आफ्नो सहकर्मी साथी विश्वलाई ।

‘विश्व भाइ, जे होस् मैले सानैदेखि इन्डिया पसेर दुःख गरेर आफ्ना भाइबहिनी, भतिजाभतिजीलाई पढाइलेखाइ गराएँ । आफू अनपढ भएरै पनि । आज मेरा सन्तानहरु सबै एकसेएक छन् । भाइहरु कोही इन्जिनियर, कोही पुलिस अफिसर, यी आज आउने कान्छो भाइ नेपालकै टप डाक्टर । उसलाई अमेरिका सरकारले झिकाको रे ।’

उसको कुरो सुनेर विश्वले जबाफ दियो । ‘तपाईं त भाग्यमानी नि, यहाँ छोराछोरीहरु पनि उस्तै छन् । छोरा पढालेखा भएरै अमेरिका छिर्ने मौका मिल्यो ।’

उसले फूर्तिसाथ भन्यो– ‘हो नि यहाँ भाँडा नै मलेर भए पनि आफ्ना सन्तान माथिल्लो तहमा पुगेको देख्दा गर्व लाग्छ ।’

ऊ सधैंको भन्दा बडो फूर्तिले भाँडा माझ्ने काम गरिरहेथ्यो । बाहिर निकै नेपालीहरु भेला भइसकेका थिए । सबै टेबलकुर्सीहरु लाइनबद्धसँग राखिएका थिए । सबै डा. सा’बको प्रतीक्षामा आँखा तन्काइरहेका थिए । जितबहादुर त झनै दंग । पाँच–छ वर्र्षपछि भेट्न लागेको भाइ, त्यो पनि डा. को रुपमा जसको लागि उसले त्यहीं ठाउँमा भाँडा माझेरै पैसा पठाउने गर्दथ्यो ।

सबैले हल्ला गर्न थाले बाहिर । डा. सा’ब आउनु भो । फूलमाला स्वागतका लागि तयार थिए । बाहिरको हल्लाले ऊ पनि हतारका साथ बाँकी रहेका भाँडाकुँडा पखालेर हातभरि थालहरु लिएर बाहिर निस्किए । डा. सा’ब फूलमाला, अबिरले पुरिएर रातै भएका थिए । उसले यसो टाउको उठाएर हेर्यो । राम्रोसँग देख्न सकेन भाइलाई । बीचैमा कसैले उसलाई भन्यो । ‘हजुरको साक्खै भाइ ?’ उसले पुलुक्क आफ्नो मालिकलाई हेर्दै जबाफ दियो– ‘हो नि म जेठो, ऊ कान्छो ।’

डा. सा’ब एउटा कुर्सीमा बसेका थिए वरिपरि सबैले घेरेकाले दाजुले नजिकबाट भेट्न वा देख्न सकेन उसो त दाजु ड्युटीमै थिए त्यो समय ।

कसैले डा. सा’बलाई भनिरहेको थियो– ‘हजुरको दाजु पनि यहीँ काम गर्नुहुन्छ नि ।’ उसले स्वीकारोक्तिमा टाउको मात्र हल्लायो ।

डा. सा’बले मन्तव्यमा यसो भनिरहेका थिए– ‘आज म जे छु, आफ्नो मेहेनत, लगन, परिश्रम र यहाँहरुको सद्भावले छु । आज मलाई अमेरिकामा आएर एक नेपाली डा. भनेर चिनिएकोमा गर्व लागेको छ ।’

भाइ बाहिर सबैप्रति कृतज्ञ बनेर मन्तव्य दिइरहेका थिए । दाजु भित्र भाँडा माझ्दै आफै दंग थिए ।

खानपिनपछि डा. सा’ब बिदा हुन लागेका थिए । विश्व भित्र दगुर्दै पसेर ‘जिते दाइ डा. सा’ब जान लाग्नु भो भेट्ने होइेन ?’ भनेर भन्यो ।

दाजु हठातका साथ हात पुछ्दै भाइलाई भेट्न निस्कँदा डा. सा’ब बीएमडब्ल्युभित्र पसेर सबैलाई हात हल्लाइरहेका थिए । क्षणभरमै गाडी दौडियो । दाजु एकोहोरो भाइको गाडी ओझेल नभइञ्जेलसम्म हेरिरहेका थिए ।

Check Also

devi nepal

देश हार्दै छ आज

वैशाख ११ । हिड्ने चाल उही रवाफ छ उही पापी र लोभी उही बग्ने नाल …