Home / News / साहित्य / नयाँ वर्षमा महाभूकम्प

नयाँ वर्षमा महाभूकम्प

० गीता खत्री, न्यूयोर्क

नयाँ वर्षको आगमनसँगै मान्यजन, आफन्त तथा साथीभाइहरुबीच सदा प्रगति, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा सदा सबैको मंगलमयताको कामना गर्दै शुभकामनाहरु आदानप्रदान गर्ने चलन संसारका सबै मानिसहरुमा रहिआएको छ । म सानै छँदा हाम्रो नयाँ वर्षको पहिलो दिन वैशाख १ गते सरकारी बिदा र राष्ट्राध्यक्षको सन्देशबाहेक अन्य केही भए गरेजस्तो लाग्दैन । साथीभाइबीच शुभकामना आदानप्रदान गरेको पनि मलाई थाहा भएन । कामदारहरु, कर्मचारीहरु तथा धनाढ्यहरु तथा उपल्लो दर्जाकाहरुले भव्यताका साथ मनाउँथे होलान् । समयसँगै नयाँ वर्षलाई हर्षोल्लासका साथ मनाउन थालियो । यसैक्रममा नेपाली नयाँ वर्ष विक्रम सम्बत् मात्रलाई नमनाएर नेवारी सम्बत् जसलाई नेपाल सम्बत् पनि भनिन्छ नेपाल सम्बत्को नयाँ दिनका साथै इस्वी सन्को प्रथम दिनलाई पनि धूमधामसँग मनाइन थालियो । यी तीनैथरिका नयाँ वर्षका अवसरमा पुरानो सालको दिन बेलुकीदेखि रमाइलो भोजभतेर सुरु गरेर नयाँ वर्ष लाग्दासम्म धेरै मान्छेहरु रमाइलोमा डुब्न थाले । साँच्चै नेपालीको जीवनस्तर माथि गएको हो वा देखासिकी गरेको । वर्षको पहिलो दिन रमाइलोमा डुब्न सक्यो भने वर्षभरि नै नै रमाइलोमा डुब्न पाइन्छ भन्ने जनविश्वास सबैले पालेका छन् । करिब दुई तीन दशकदेखि यसको माहौल बढिरहेको मेरो अनुभव छ ।

वर्षहरु यसरी नै आउँथे, जान्थे । तर विक्रम सम्बत् २०७२ यस्तो भएन । विस २०७२ रमाइलोपनलाई लोभ्याउँदै हाम्रो आँगनमा आइपुग्यो । सबै रमाउँदै थियौं, एकआपसमा सुखसमृद्धिका कामनाहरु गर्दै थियौं, आगामी योजनाहरु तयार गर्दै थियौं, वर्षभरि गरिने प्रतीज्ञाहरु बुन्दै थियौं । वैशाख १२ गते शनिबारको दिन थियो । घाम झलमल्ल लागिसकेको थियो । सबैजना आआप्mना काममा लागिसकेका थिए । बिदा बसेका कर्मचारीहरु पनि पूजापाठ सकेर आप्mनो घरतिर पुगिसकेका थिए । बिहान ११ बजेर २६ मिनेटमा एक्कासि आफू बसेको जमिन थर्किन थाल्यो । सडकतिर हिंड्ने, खेतबारीमा काम गर्नेहरुलाई पहिलो झड्काले त्यति अत्याएन होला, तर घरभित्र बस्नेलाई भने भुइँचालोको आभास भइहाल्यो होला । चार पाँच रेक्टर स्केलको भुइँचालोको कम्पन त मैलै पनि व्यहोरेको छु । सबै मान्छे बाहिर सडकमा पुग्दा पनि मलाई त्यति डर नलागेर म घरभित्रै बसेको थिएँ । तर यस पटकको यो कम्पन जिस्क्याउने खाले नभएर हत्याउने, अत्याउने, लत्याउने र विनाशकारी थियो । यसपालीको भुइँचालोले सबैखाले विध्वंसात्मक काम गर्न भ्यायो । पृथ्वीभित्रको कम्पन ११ बजेर २६ मिनेटमै जान्छ भन्ने ज्ञान मान्छेलाई भइदिएको भए कति जाती हुने थियो । दिउँसोको बेला थियो, आप्mनो भएभरको सुनचाँदी, हिरामोती, पैसाको बिटो जेजति छ च्यापेर सबै आप्mनो घर अगाडिको बारीका पाटामा बस्थे होलान्, बारी नहुने आँगनमा बस्थे, आँगन नहुने सडकमा पुग्थे, सडक पनि नहुने पार्कमा पुग्थे होलान् । यहाँभन्दा पर जानुपर्ने थिएन मान्छेको जीवन बचाउन । पुगीसरी आउनेहरु र सक्नेहरु देशभित्रको खराब समयबाट बच्नका लागि विदेश पनि पुग्थे होलान् । तर त्यो ज्ञान कसैलाई पनि भएन । नेपालमा यस्तो भविष्यवाणी गर्न सक्ने कुनै वैज्ञानिक थिएन, न यस्तो ज्ञान राख्ने । जनतालाई समयमा सचेत गराउन सक्ने ज्ञान र तागत सरकारसँग पनि थिएन । सबै ज्योतिषाचार्यहरु कुण्डली मात्रै हेर्न जान्ने, उमेर पुगेका केटाकेटीहरुको विवाहको लग्न, तिथि, मिति भन्न सक्ने, काम गर्ने उमेर भएका केटाकेटीहरुको जागीर अब छिट्टै मिल्ने छ भन्न सक्ने, अनि विदेशमा काम गर्न जानका लागि छिट्टै भिसा लाग्दै छ भन्न सक्ने मात्रै हुन् । पृथ्वीको गर्भभित्र लुकेका भनौं वा मानवजातिप्रति ईश्वरीय कुदृष्टिको संकेत गर्ने विद्या आर्जन अभैm कसैले गर्न सकेका छैनन् । त्यसैले कसैलाई थाहै नदिई ११ बजेर २६ मिनेटमा नेपालको गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भुकम्पको कम्पन सुरु भयो । नेपाली इतिहासमा यो सबैभन्दा ठूलो भूकम्प त थिएन । तर पनि यसको विनास नेपालको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो हुन जानेछ । विस १९९० साल माघ २ गते गएको भूकम्प ८.४ रेक्टर स्केलको थियो । जनसंख्याको कमी, जनघनत्वको कमीका कारण र विकासक्रम धेरै पछाडि भएकोले संंख्यात्मक रुपमा धनजनको क्षति अहिलेको तुलनामा नगन्य नै हुनुपर्छ ।

सन् २०११ को मार्चमा जापानमा गएको भूकम्प सबैभन्दा ठूलो भूकम्प हो जस्तो मलाई लाग्छ । त्यो भूकम्प ९.० रेक्टर स्केलको थियो । जसले गर्दा जापानमा सुनामी उत्पन्न भएर ठूलो धनजनको क्षति भयो । फुकिसीमामा बनाइएको न्युक्लियर रियाक्टरका केन्द्रहरुसमेत बिग्रिएर त्यसको रेडिएशन आन्ध्र महासागर हुँदै न्यूयोर्कमा समेत आइपुगेको जानकारी दिइएको थियो ।

कुनै पनि भुइँचालो ३ रेक्टर स्केलभन्दा कमको आएमा त्यसको गणना नै गर्दैनन् तर ७ रेक्टर स्केलभन्दा माथिको भुइँचालो संसारभरकै लागि विनाशकारी हुन सक्छ । त्यसैले ती भुइँचालो ठूला भुइँचालामा गनिन्छन् । भुइँचालो के हो ? भूकम्प भनेको जमीन हल्लिनु, कहिलेकाहीं एकातिरको जमीन अर्कोतिर पुग्नु, कहिलेकाहीं जमीन तल जानु, कहिलेकाहीं अर्कोतिरको जमीन माथि उठ्नु, खासमा भन्ने हो भने स्थीर पृथ्वीको हलचल हुनु हो । भूकम्पको कम्पनपछि भीषण वर्षा हुनु, बाढी आउनु, पहिरो जानु, कहिलेकाहीं ज्वालामुखी निस्कनु स्वाभाविकै हो । ठूलो भूकम्पपछि कहिलेकाहीं महिनांैसम्म सानातिना धक्काहरु गइरहनु स्वाभाविकै पनि हो । एकपटक नराम्रोसँग हल्लिएको पृथ्वी टम्म भएर मिल्न अर्थात् पुनः आप्mनै स्थानमा बस्नका लागि यसरी ससाना भुइँचालो भनौं वा धक्काहरु गइरहेका हुन्छन्, त्यसलाई भुइँचालो नभनेर पराकम्पनभन्दा राम्रो हुन्छ होला । त्यसैले यसपालि नेपालमा १५० भन्दा बढी ४ रेक्टर स्केलभन्दा माथिका पराकम्पन गएको रेकर्ड छ । भुइँचालो जानुका अरु कारणहरुमा ज्वालामुखीको विष्फोटन, बाढीपहिरो, खानीमा विष्फोटन, न्युक्लियर परीक्षण तथा पृथ्वीमा रहेका ठूलाठूला चट्टानहरुको विस्थापन आदिआदि ।

पहाडी मुलुक नेपालमा नै भूकम्प किन गएको होला । ठाउँठाउँमा खानी खनेर पृथ्वीमा भएको खनिज पदार्थ बाहिर निकालेर खाली भएको खाडल पुरिनका लागि पनि भुइँचालो जानसक्छ । बाढीपहिरोबाहेक हाम्रो आँखाले देखिने अन्य काम त नेपालमा भएकै छैन । पृथ्वीको गर्भमा भएको विशाल टेक्टोनिक प्लेटहरु जुधेर वा विस्थापनको धक्काबाट यो भुइँचालो गएको होला भनेर अनुमान गर्नेबाहेक अरु के हुन सक्ला र । सगरमाथा क्षेत्रमा गएको हिमपहिरो (आभलान्च) देख्दा त चट्टानहरुको विस्थापन पनि नहोला भन्न सकिन्न । यो महाभूकम्पको सामान्यीकरण भइसकेपछि सगरमाथालगायत अन्य पहाडहरुको उचाइमा पनि फरक हुन सक्छ अनि समुद्रको गहिराइमा पनि फरक आउन सक्छ जस्तो मलाई लाग्छ ।

भुइँचालो जानु प्राकृतिक नियमै हो । नेपालमा भुइँचालोको इतिहास हेर्ने हो भने विस १२१८ देखिको जानकारी राखिएको देखिन्छ तर पनि लिखित अभिलेख भेटिएका छैनन् । विस १२१८ मा आएको भूकम्प अन्दाजी ७.७ रेक्टरको थियो रे । तत्कालीन राजा अभय मल्ल सोही भुइँचालोमा मरेका थिए । एक महिनासम्म उक्त भँइँचालोको धक्का महसुस गरिएको थियो रे । विस १३१६ मा पनि ठूलो भुइँचालो गएको थियो । यस भुइँचालोले देशभरि महामारी र अनिकालको सिर्जना गराएको थियो । अर्को भुइँचालो विस १४६५ गयो । विस १७३७ मा गएको भुइँचालोमा राजा श्रीनिवास मल्ल घाइते भएका थिए रे । विस १८६७, १८८०, १८९० र १८९१ मा पनि ठूला भंइँचालो गएको थियो । भुइँचालोले नेपालको लागि सबैभन्दा बढी हानी विस १८ सयमा पुर्याएको कुरा इतिहासले बताउँछ । त्यसपछिको ठूलो भूकम्प विस १९९० साल माघ २ गतेको थियो । यो भूकम्पले करिब ८ हजार ५ सयभन्दा बढी मान्छेहरुलाई लिएर गएको र करिब एक लाखभन्दा बढी घाइते भएको कुरा इतिहासमा देखाइएको छ । त्यसपछि विस २०१८ सालमा भूकम्प आउने ठूलो भविष्यवाणी थियो तर केही भएन । विस २०३७ सालमा ६.४ रेक्टर स्केलको भुकम्प सुदूरपश्चिम नेपालको बझाङ केन्द्रबिन्दु बनाएर आएको थियो । विस २०४५ साल भदौ ५ गते बिहानै ६.७ रेक्टर स्केलको भूकम्प गएको थियो, यसले पनि नेपालको पूर्वी क्षेत्रमा नोक्सानी पुर्याएको थियो । विस २०६८ साल असोज ५ गते आएको भूकम्पको महसुस भारतीय सिक्किम क्षेत्रमा बढी भएकाले नेपालतर्फ ठूलो धनजनको क्षति भएन तर सिक्किमतिर भने पाँच जना मरेको जानकारी दिइएको थियो । यो ऐतिहासिक विवरणले के देखाइरहेको छ भने नेपाल पनि भुइँचालो जाने क्षेत्रमै पर्दछ । हरेक ८०–९० वर्षको फरकमा नेपालमा महाभूकम्प गएकै देखिन्छ । वैशाख १२ को भूकम्पले अहिलेसम्म ८ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको जानकारी आएको छ । उद्धार कार्य जारी नै छ । जापानले आपूmलाई भुइँचालो जाने क्षेत्रमा परेको ठानेर आप्mना सबै विकास निर्माणका कामदेखि व्यक्तिगत घर निर्माणहरु पनि भुइँचालोको धक्काले सकेसम्म नभत्कने र भत्किइहालेमा पनि सकेसम्म मान्छे बच्न सक्ने किसिमको क्षमता राखेर बनाइएको हुन्छ भन्छन् । तर पनि सन् २०११ को मार्चमा गएको महाभूकम्प र त्यसले जन्माएको सुनामीले जापानीलाई निकै कष्ट पु¥याएको थियो । नेपालमा गएको भूकम्पलगत्तै दश दिनको मे ५, २०१५ का दिन प्रशान्त महासागरको छेउमा रहेको देश पपुवा न्युगिनीमा ७.५ रेक्टर स्केलको भुइँचालो गयो । तर त्यहाँ ठूलो धनजनको क्षति भएन ।

भुइँचालो गएको करिब १ महिना बित्न लागिसकेको छ । उद्धारकार्य बुद्धि र विवेक र औकातले भ्याएसम्म भइरहेको देखिन्छ । देशभित्रका सबै सक्षम व्यक्तिलगायत संसारका विभिन्न देशहरुहरुबाट दैवी विपत्तिमा काम गरेर सिपालु भएका साहसी व्यक्ति नेपाल पुगेर उद्धार कार्यमा दिनरात जुटिरहेका पनि छन् । पहाडी मुलुक भएकाले अति दुर्गम ठाउँमा उद्धार कार्य अभैm पुग्न नसकेको सुनिन्छ । नेपाल छोडेर विदेश गएर बसेकाहरु पनि आप्mनो देशको मायाले, आप्mनो गाउँठाउँको मायाले, आप्mना नेपाली दाजुभाइ दिदिबहिनीहरुको मायाले मद्दतका लागि राहतको पोको बोकेर नेपाल पुगिसक्नुभएको छ । कति मित्रहरु त एयरपोर्टमा सुटकेस गुडाउँदै नेपाल जान लागेको जानकारी सबैलाई मोबाइलबाट दिंदै पनि हुनुहुन्छ । कसैले आफू आबद्ध संघसंस्थाको नाम र लोगो छापिएको टी शर्टहरु लगाएर वितरण कार्यमा खटिनुभएको छ भने कसैले सुन्तला रंगको इष्टकोट लगाएर काममा खटिनु भएको देखिन्छ । काम गर्न लागेका तस्वीरहरु सामाजिक सञ्जालमा हरेक मिनेटजस्तो पोष्टिङ भइरहेका छन् । कति बुद्धिजीविहरु त सामाजिक सञ्जालमा बसेर उद्धार कार्यमा खटिनु हुने सबै उद्धारकर्मीहरुलाई सुझाउ र सल्लाह पोष्टिङ गरिरहनुभएको पनि देखिन्छ । काममा आफू खटिनभन्दा नेपालीहरु अरुलाई सल्लाह र सुझाउ दिन धेरै सिपालु पनि हुनुहुन्छ । पहिलो भूकम्पको सत्रौं दिनको दिन अर्को भूकम्प गयो वा पराकम्पन गयो जुन ७.३ रेक्टर स्केलको थियो त्यो । अलिअलि बचेका घरहरुको जग पनि यो पराकम्पनले पछारिदियो, पहिलो भुइँचालोबाट बचेका मान्छेलाई निर्जीव बनाउन सफल भयो । यो विपत्ति नेपाल र नेपालीको ठूलो दुर्भाग्य मान्नुपर्छ ।

विपत्तिको घाउ बिस्तारै निको हुनै पर्छ । हुन्छ पनि । अब नयाँ नेपालको उदय हुनुपर्छ । पुनर्निर्माणको कार्य छिटै सुरु हुन्छ होला । विश्वका शक्तिशाली राष्ट्रहरुले नेपाललाई मद्दत गर्न तयार रहेको जनाइरहेका छन् । पुनर्निर्माण गरिने नेपालका घरहरु ९ वा १० रेक्टर स्केलको भुइँचालोबाट पनि बच्न सक्ने बनाउन आवश्यक छ । भुइँचालो आएको बेलामा भाग्नका लागि आप्mनो घर टोल छिमेकमा पार्क वा खाली जमीन राख्न पर्ने सद्बुद्धि सबैको आउनुपर्छ । घर अगाडि कम्तिमा पनि १२ फिटको खुल्ला बाटोघाटो हुनुपर्ने रहेछ भन्ने विचार सबै नेपालीमा आउनुपर्छ । जेजति अकुत सम्पत्ति भए तापनि आखिरमा दुःख परेका बेलामा र विपत्तिमा त्यही सडक नै काम लाग्ने रहेछ ? ठूलाठूला महल, भवन र दरबार त काम लागेन । छोडेर भाग्नु पर्यो । त्यसैगरी ऐतिहाससिक महत्वका दरबार, मन्दिर, स्तम्भहरुको निरन्तर जिर्णोद्धार, मर्मतसम्भार गरी तथा कहिलेकाहीं आवश्यक परेको खण्डमा पुनर्निर्माणसमेत गरिनु पर्ने रहेछ भन्ने कुराको सद्बुद्धि उच्च ओहोदामा बस्ने र सबैमा नेपाली नागरिकमा आउनुपर्छ । यदि यो बेलामा पनि यस्ता कुराहरुको ख्याल नगरी हिजोको जस्तै भद्रगोल विनायोजनाको पुनर्निर्माण कार्य सम्पन्न भयो भने यति बेलाका हामी नेपाली जनतालाई आउने पुस्ताले धिक्कार्ने छन् । इतिहासको पानामा मूर्ख नेपाली भएर बस्नु पर्नेछ ।

नेपाल सरकार र नेपाली जनतालाई यो विनासकारी महाभूकम्पले के पाठ दिन सक्ला ? मेरो मनमा एउटा ठूलो खुल्दुली भइरहेको छ । ठूलासाना दैवी विपत्ति त हरेक देशमा, हरेक समाजमा समयसमयमा आई नै रहन्छन् । यस्तो अवस्थामा केकसरी काम गर्नुपर्छ, कस्ता योजनाहरु जनतासामु हुनुपर्छ, पीडितहरुले कस्ता विचार मनमा लिनुपर्छ, कसरी आफू जीवित उम्कने, कसरी आफूसँगै पीडितलाई उद्धार गर्ने, कसरी आफूले धैर्य लिने, कसरी अरुलाई धैर्य गर्नका लागि सान्त्वना दिने । यस्तो विपत्तिको काममा कसले नेतृत्व गर्ने हो । यस्ता विपत्तिका अवस्थामा सुरक्षितसँग धेरै मान्छेहरु बस्न सक्ने ठाउँको व्यवस्था गर्न सकिएला । विकसित देशहरुमा त धेरैजसो स्कूलहरु सुरक्षित मानिन्छन्, ठूलो पनि हुन्छ र स्कूललाई नै अस्थायी आश्रय स्थल कायम गर्ने गर्छन् । नेपालमा पनि हरेक गाउँमा कम्तीमा पनि एउटा बलियो र ठूलो स्कूल बनाउने प्रयास गर्न सकिंदैन होला । बिस्तार गर्दै जाने हो भने सरकारलाई मात्र ठूलो आर्थिक व्ययभार पनि पर्दैन । तर योजना त बन्नु प¥यो । विपत्तिका अवस्थामा प्रथम चरणमा कुन सरकारी निकाय उपस्थित हुनुपर्छ, त्यो निकायलाई अन्य कुन निकायहरुले थप सहयोग गर्नुपर्छ । कुन कामले प्राथमिकता पाउनुपर्छ, जीवन बचाउने काम वा सम्पत्ति बचाउने । दोस्रो चरणमा औषधी उपचारको प्रबन्ध कसरी गर्न सकिन्छ । त्यसपछि बस्ने बासको व्यवस्था कसरी गर्नु पर्छ, त्यसपछि सजिलो र सुविधायुक्त खानाको व्यवस्था कसरी गर्न सकिन्छ । एकैपटक धेरैतिर विपत्ति पर्यो भने कसरी विभिन्न निकायहरु बाँडिनु पर्छ, आवश्यक सरसामानको वितरण हुनुपर्छ । यस्ता कुराको तालीम दिने, जनतालाई सुसूचित गर्ने काम सरकारको उत्तरदायित्व हो । के नेपाल सरकारले कुर्ची तानातानको खेलमा कमी गरेर देशको पुनर्निर्माण जस्ता अति आवश्यक कुराहरुमा ध्यान पुर्याउन सक्ला ।

Check Also

लघु कथा- आतंक दिवस

हजुरबुबा उमेरमा ७५ नाघ्नु भए पनि सम्झना र सोचाइमा हामीभन्दा तीक्ष्ण नै हुनुहुन्थ्यो । म …