Home / News / साहित्य / लघुकथाः अग्लो घरको प्रतिष्ठा

लघुकथाः अग्लो घरको प्रतिष्ठा

० आचार्य प्रभा

भूकम्प गएको केही दिनपश्चात पाँच–छ जना महिला एकआपसमा कुरा गरिरहेका थिए– त्यही गएको भूकम्पबारे नै ।

पहिलो महिला– ‘आम्मामा मेरो त सातो नै उड्यो । म त सास न बास गुजुल्टो परेर कोठामै बसिछु । भरै पो होस् आयो । घर नै लडेको भए मेरो के हालत हुन्थ्यो ? भनेर ।’

दोस्री महिला– ‘मलाई त केही भन्न आएन । एकैचोटी राम राम भन्न मात्र आएछ ।’

तेस्री महिला– ‘अरुभन्दा नि आफ्नो त घर कमजोर । सम्पत्तिको नाममा यही सानो टाउको लुकाउने छहारी छ यही पनि ढलेको भए हाम्रो के हुन्थ्यो होला ? भन्ने सोंच आयो ।’

चौथी महिला– ‘तिमीहरु घर हुनेको पो ढल्ने थियो । आफू त सुकुम्बासी के नै हुन्थ्यो र ? तर आफ्नोभन्दा नि मैले त ती कच्ची घर हुनेहरु र अग्लाअग्ला महल ठड्याउनेहरुको पो के हालत हुने हो ? भनेर सोंच्न थालीछु ।’

पाँचौं महिला– (उनी अलिक अभिमानी स्वभावकी र सम्पत्ति अनि अग्लो घरको अहमताले उनलाई धपक्क बालेको नै थियो)ले भनिन्– ‘मलाई त अरु केही पीर लागेन बल्लबल्ल मेरो बुढाले कति गरेर अग्लो घर बनाइराखेको प्रतिष्ठा पो घर ढलेर जाने हो कि भनेर पीर लाग्यो ।’

छैटौं महिला– ‘आ… मलाई त न आफ्नो अग्लो घर ढलेर प्रतिष्ठा ढल्ला भन्ने नै लाग्यो न त आफ्नो ज्यानको नै पीर मलाई यति चाहिं पीर लाग्यो कि अब हाम्रो देशको प्रतिष्ठा कसरी उच्च बनाउने ? भन्नेतिर मन गयो । हामी आफ्नो अग्लो घरको प्रतिष्ठा र इज्जतका बारेमा त सोंच्छौं नि तर देशको प्रतिष्ठा नै ढल्यो भने सिंगो आफ्नो घर मात्र अग्लिएर रहनुको के औचित्य ?’

सबैको कुरा सुनेपश्चात् म चुपचाप आफ्नो बाटो लागें र यही कुराहरु सोंच्न थालें । ‘मान्छे सबैलाई आफ्नोबारेमा चिन्ता र आफ्नो खोक्रो आडम्बरमा मात्र अहमता रहेछ । कोहीकोही मात्र रहेछन् देशको चिन्ता गर्ने । प्रतिष्ठा भन्ने कुरा के अग्लो र ठूलो महलका मान्छेहरुमा मात्र हुन्छ र ?’ यही प्रश्न मनमा खेलाउँदै म कतिखेर आफ्नो डेरामा पुगें पत्तो नै पाइन ।

Check Also

devi nepal

देश हार्दै छ आज

वैशाख ११ । हिड्ने चाल उही रवाफ छ उही पापी र लोभी उही बग्ने नाल …