Home / News / प्रवास / प्रवास वार्ता: अमेरिकामा नेपाली समाजसँग सबैलाई स्वीकार्य हुने सामुदायिक केन्द्र छैन

प्रवास वार्ता: अमेरिकामा नेपाली समाजसँग सबैलाई स्वीकार्य हुने सामुदायिक केन्द्र छैन

० नारायणप्रसाद मैनाली, महावाणिज्य दूत, न्यूयोर्क

३६ वर्ष नेपाल सरकारको परराष्ट्र सेवामा काम गरेका नारायणप्रसाद मैनाली हाल न्यूयोर्कस्थित महावाणिज्य दूतका रुपमा कार्यरत छन्। नेपाल सरकारले साधारणतया सहसचिवलाई महावाणिज्य दूतको पदमा नियुक्ति गर्ने परम्परा भए पनि न्यूयोर्कको वाणिज्य दूतको कार्यालयको प्रमुख मैनाली भने उपसचिवस्तरीय कर्मचारी हुन्। उनी वर्तमान अवस्थामा कार्यबाहक महावाणिज्यदूतका रुपमा न्यूयोर्कबाट सेवा पु¥याइरहेका छन्। झण्डै ८० को संख्यामा नेपाली संघसंस्था भएको न्यूयोर्कका अधिकांश कार्यक्रमहरुमा सधैं देखिने गरेका महावाणिज्य दूत मैनालीसँग विजय पौडेलले गरेको कुराकानीः

न्यूयोर्क आउनुअगाडि कता हुनुहुन्थ्यो ?

वासिङ्टन डिसीस्थित राजदूतावासमा मिनिस्टर काउन्सिलरको रुपमा कार्यरत थिएँ ।

कहिलेदेखि परराष्ट्रसेवामा लाग्नुभयो ?

२०३६ सालदेखि परराष्ट्र सेवामा छु ।

परराष्ट्र सेवाअन्तर्गत कुनकुन देशमा बसेर सेवा पु¥याउनुभयो ?

अमेरिकाबाहेक स्विजरल्याण्ड, बर्मा, थाइल्याण्ड र अष्ट्रेलियामा बसेर काम गरेको छु ।

अन्य देशहरुमा बसेर काम गर्दा त्यहाँको नेपाली समाज र न्यूयोर्कको नेपाली समाजबीच के फरक पाउनुभयो ?

न्यूयोर्कमा नेपालीहरुको संख्या निकै ठूलो छ । म न्यूयोर्कको नेपाली समाजलाई मिनी नेपाल नै भन्न रुचाउँछु । अमेरिकाको अन्य राज्यमा यस्तो महसुस हुन्न, तर न्यूयोर्क आएपछि नेपालको सबै चिज पाइन्छ । नेपाली रेष्टुरेन्टमा बसेर नेपालकै खाना खान पाइन्छ अनि नेपाली भाषाका नेपाली पत्रिका पढ्न पाइन्छ । अन्य राज्यबाट न्यूयोर्क आइपुग्ने नेपालीले समेत न्यूयोर्क पुगेपछि नेपाल नै पुगेको महसुस गर्ने गरेका छन् । न्यूयोर्कका नेपालीहरु सामाजिक र परोपकारी काममा समेत निकै सक्रिय देखेको छु ।

न्यूयोर्कको नेपाली समुदायको नकारात्मक पक्षचाहिं के–के देख्नुभयो नि ?

अलि ठूलो समाज भएर पनि यहाँ सबैलाई स्वीकार्य हुने सामुदायिक केन्द्र छैन । धेरै कार्यक्रमहरु हुन्छन्, तर सधंस अरु समुदायको हलमा भाडा तिरेर गर्नुपर्छ । शेर्पा किदुकले एउटा गुम्बा खोलेको छ, त्यो राम्रो र प्रशंसायोग्य काम हो । सबैलाई समेट्ने सामुदायिक केन्द्र नेपालीको नहुनु त्यति राम्रो भएन । अर्को कुरा अंग्रेजी भाषामा नेपालीले पत्रिका निकालेको पाइएन । नेपालको ट्रेड र टुरिजमको प्रवद्र्धन गर्न तथा अंग्रेजी समुदायमा नेपालीको सूचना पु¥याउन पनि अंग्रेजी पत्रपत्रिका हुनुपर्ने हो, त्यो छैन ।

अरु पनि केही छन् कि ?

नेपालीहरुबीच एकता चाहिं हुनै पर्छ । र, राम्रो काम गरेको छ भने जसले गरेको भए पनि प्रशंसा गर्नुपर्छ र सहयोग गर्नुपर्छ ।

अमेरिकामा पनि नेपालकै फोटोकपीका रुपमा राजनीतिक दलका विभिन्न भ्रातृ संगठन सक्रिय छन्, यसलाई के भन्नुहुन्छ ?

प्रवासमा पहिलो पुस्ताका नेपालीलाई नेपालको त्यो संलग्नताले झट्टै छाड्दैन । अर्को पुस्तादेखि यो सबै हराउँदै जान्छ । नेपालबाटै बोकेर ल्याएको आस्थालाई नियमित ग¥या होलान् । संस्था खोल्नुचाहिं नराम्रो म भन्दिन । तर, नेपालमा जस्तो सत्ता प्राप्तिका लागि लड्नु–भिड्नु भएन ।

दिनभर लगाएर मतदान हुन्छ, मतदाता लामबद्ध भएर मत हाल्छन्, अमेरिकामा यस्तो क्रियाकलापलाई के भन्नुहुन्छ ?

आफ्नो संस्कृति जोगाउन वर्षमा एक दिन कार्यक्रम गर्नु, आफ्नो भेषभूषासहित रहनसहन, रीतिरिवाज झल्कने कार्यक्रम गर्नु अत्यन्त सराहनीय हो । तर प्रतिस्पर्धा गरेर, पदका लागि लडाइँ गरेर अमेरिकाजस्तो ठाउँमा सामाजिक कामको नेतृत्व गर्न मतदान नै गर्ने परिपाटिचाहिं ठीक होइन । पाउनु केही छैन । सामाजिक कार्यका लागि यस्तो गर्नुहुन्न ।

एनआरएनमा त झन् ४–५ दिन लगाएर निर्वाचन हुन्छ । अहिले त झन् मुद्दा मामिलासमेत भएको छ ?

मैले त पटकपटक भनेको छु । एनआरएनमा पनि सर्वसम्मत हुनुपर्छ । जित्नकै लागि एनआरएनमा पनि अनेक क्रियाकलाप हुनु ठीक हुँदै होइन ।

भूकम्पपीडितका लागि संकलित ठूलो रकम अमेरिकाका विभिन्न संस्थाले विभिन्न बहानामा अमेरिकामा नै रोकेका छन् । यसलाई के भन्नुहुन्छ ?

तत्कालीन अवस्थामा परोपकारी काममा उठाइएको त्यो रकम त्यही शीर्षकमा खर्च गर्नुपर्ने हो ।

न्यूयोर्कको वाणिज्य दूतावासमा नेपाल सरकारले गाडी नै दिएको छैन भन्ने सुनिन्छ नि, त्यो सत्य हो ?

गाडी माग गरेका छौं । दिएको छैन । जता गए पनि ट्रेन र ट्याक्सी प्रयोग गरेर काम चलाउने गरेका छौं । दुई महिना जति गाडी भाडामा लिएर पनि चलायौं, तर त्यो शीर्षकको बजेट नभएको हुँदा अहिले ड्राइभर पनि निकाल्यौं । कहिलेकाहीं नेपाली नियोगसँग अनुरोध गरेर गाडी माग्छौं तर नियोगको तीन वटै गाडी प्रायः त्यहीं व्यस्त हुन्छ ।

पासपोर्टका लागि केकस्तो व्यवस्था छ ?

हालसम्म पोसपोर्टका लागि दर्खास्त दिन आउने व्यक्ति आफैंले फोटो खिचेर आउनुपर्ने, फर्म भरेर ल्याएपछि कन्सुलेटले लट–लटमा नेपाल पठाउँदा पासपोर्ट बनेर आउन निकै समय लाग्ने हुन्थ्यो, तर यसै हप्तादेखि हामीले छिटो र प्रभावकारी बनाउँदैछौं ।

कसरी नि ?

अब पासपोर्टका लागि निवेदन दिन आउनेले फोटो ल्याउनुपर्दैन । कन्सुलेटमा नै खिच्ने व्यवस्था छ र फर्म पनि कन्सुलेटबाटै सिधा अनलाइनबाट जाने व्यवस्था यसै हप्ताबाट शुरु हुन्छ । अब पहिलेजस्तो लामो समय लाग्दैन ।

Check Also

विश्वभर छरिएका तामाङहरुलाई एउटै मालामा गाँस्न अमेरिकामा सम्मेलन

आउँदो सेप्टेम्बर २ र ३ मा अमेरिकाको न्यूयोर्कमा अमेरिका र क्यानडामा रहेका तामाङहरु एकै ठाउँमा …