Home / News / प्रवास / मगर संघले मनायो न्यूयोर्कमा माघे संक्रान्ति

मगर संघले मनायो न्यूयोर्कमा माघे संक्रान्ति

० प्रशान एलुङ् राई

न्यूयोर्क । मगर संघ अमेरिकाले न्यूयोर्कमा माघे संक्रान्ति मनाएको छ । मगर संघले कुइन्सस्थित गुल्सन टेरेसमा विविध सांस्कृतिक कार्यक्रमसहित माघे संक्रान्ति मनाएको हो ।

संस्थाका अध्यक्ष रुद्र आलेमगरको सभापतित्वमा आयोजित उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका प्रमुख नारायणप्रसाद मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । महावाणिज्य दूत मैनालीले विविध धर्म, जाति र समुदायले बनेको नेपालमा सांस्कृतिक एकता र सहिष्णुता सदियौंदेखि कायम रहँदै आएको र मगर समुदायले परम्परागत रुपमा मनाउँदै आएको माघे संक्रान्तिका बारेमा चर्चा गरेका थिए । लोकतन्त्र हुँदै गणतन्त्र प्राप्तिपछि सम्पूर्ण जाति, धर्म र समुदायले आफ्नौ मौलिक चाड, पर्व र संस्कृतिलाई सरकारले समान रुपमा मान्यता दिएको बताउँदै मैनालीले मगर जातिकै नेपालका प्रथम शहिद लखन थापामगरका बारेमा पनि चर्चा गरे ।

संस्थाका अध्यक्ष रुद्र आलेमगरले नेपालका प्रथम शहिद लखन थापामगरको तस्वीर अंकित फोटोफ्रेम महावाणिज्य दूत मैनालीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा तामाङले बहुभाषिक र बहुसांस्कृतिक नेपालमा एकीकरणको नाममा देशलाई साझा फूलबारीको सट्टा एकात्मकवादी भाषा र संस्कृतिलाई मात्रै मान्यता दिएकोमा राज्य र सरकार पक्षको कटाक्ष गरे । साथै, उनले मगर संघ अमेरिकाले प्रवासमा विगत ११ वर्षदेखि नियमित रुपमा माघे संक्रान्तिलगायत अन्य मौलिक पर्वहरुलाई खास महत्वका साथ मनाउँदै आएको बताउँदै संघको नियमित क्रियाकलापको प्रशंसा गरे ।

त्यस्तै, कार्यक्रमका संयोजक एवं संस्थाका सचिव नरेन्द्र थापामगरले माघे संक्रान्तिको ऐतिहासिक महत्वको विषयमा प्रकाश पारेका थिए ।

दोहोरी तथा सांस्कृतिक झलक

माघे संक्रान्तिको अवसरमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा चर्चित गायक जगदिश समाल, राजेश थापा मगर, संगीत थापामगर, ज्योति गुरुङ, कुमार थापा, दीलिप शिरिष मगरलगायतले विभिन्न गीत–संगीत प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा वसन्त डान्स सेन्टरका सञ्चालक एवम् नृत्य निर्देशक विजय नकर्मीको कोरियोग्राफीमा रुकु रानामगर, तारादेवी चिढीमगर, रस्मिता पुनमगर, दीपिका छन्त्याल, युनिका काम्छामगर, गरिमा रानामगर, सुखराम गोले, नरबीर गुरुङ, कुल बहादुर मगर, नरेन्द्र थापामगर र मान रानामगरलगायत कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
तस्वीरः प्रेस चौतारी डटकम

Check Also

trumptower

ट्रम्पपत्नी तत्काल ह्वाइट हाउस नजाने

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासबाट उनकी पत्नी मलानिया ट्रम्प आफ्नो पतिले कार्यालय सम्हाल्न …