Home / News / प्रवास / उग्रराष्ट्रवादले राष्ट्रियता बलियो हुँदैनः रञ्जित कर्ण

उग्रराष्ट्रवादले राष्ट्रियता बलियो हुँदैनः रञ्जित कर्ण

न्यूयोर्क । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं सांसद रञ्जित कर्णले गत बुधबार उग्र राष्ट्रवादले नेपालको राष्ट्रियता बलियो हुन नसक्ने औंल्याएका छन् । नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरले न्यूयोर्क, ज्याक्सन हाइट्सस्थित स्थानीय चौतारी रेष्टुरेन्टमा आयोजना गरेको एक बृहत अन्तरक्रिया कार्यक्रममा उनले प्रवासी नेपालीले नेपाललाई माया गरेको देखेर आफू अत्यन्तै भावुक बनेको बताए । ‘नेपालको समसामयिक राजनीति र मधेश आन्दोलन’ विषयक अन्तरक्रियामा प्रमुख अतिथि कर्णले उत्तेजनाबाट नभई चेतनाका माध्यमबाट नेपालको समस्याको समाधान खोजिनुपर्ने सुझाव दिएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा सांसद कर्णले अहिले मुलुकमा उब्जिएका सामूहिक विचारलाई नेतृत्व दिन सक्ने नेताको खाँचो रहेको औंल्याए । त्यस्तो नेता कांग्रेसले आउँदो अधिवेशनबाट चयन गर्ने बताउँदै उनले भने– ‘मधेशमा देखिएका उचित मागलाई कांग्रेसको नेतृत्वमा संविधान संशोधनमार्फत सम्बोधन गरिनेछ ।’ संविधान कार्यान्वयनको नेतृत्व पनि अब कांग्रेसले नै गर्ने उनको भनाइ थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आफूले प्रतिनिधित्व गरेको संस्था विशुद्ध सामाजिक संस्था र राजनीतिसँग आबद्ध संस्था भएकाले सोही ढंगले अगाडि बढ्ने बताए । विभिन्न समयमा संस्थाले सामाजिक कार्य गर्दै आएको स्मरण गराउँदै यस पटक पनि जाडोका कारण पीडित दोलखाका बासिन्दालाई सहयोगस्वरूप कम्बल बाँड्न लागेको सभापति विष्टले बताए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्वाङले नेपालीहरूले गरेको अहिलेसम्मको आन्दोलन आफ्नो अधिकार र लोकतन्त्र प्राप्तिका लागि मात्रै भएकाले अबको आन्दोलन मुलुकको आर्थिक उन्नतिका लागि हुनुपर्ने बताए । नेपाली जनताको संघर्षबाट प्राप्त अधिकारलाई संस्थागत गर्दै निर्माण गरिएको यो संविधानलाई संशोधन गरेर भए पनि मुलुकमा देखिएको समस्याबाट निकास दिनुपर्ने धारणा राखेका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान संयोजक विष्णु सुवेदीले कांग्रेसमा धेरै युवानेताले नेतृत्वको चाहना राखेको बताउँदै आगामी महाधिवेशनबाट कुनै एक युवा नेताले नेतृत्व लिने बताए । त्यसैगरी, नेपाली कांग्रेसका नेता वंशलाल तामाङले कांग्रेसलाई अब नयाँ सोचका साथ अगाडि लानुपर्ने कुरा राखेका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख मान्ती शाहले महिलालाई अब पार्टी नेतृत्वले संरक्षण गरेर भए पनि नेतृत्वमा ल्याउनुपर्ने जिकिर गरिन् । त्यस्तै, केन्द्रीय सदस्य प्रमोद सिटौलाले जनसम्पर्क समितिहरूलाई पार्टीले मूल्यांकन गरेर आउँदो अधिवेशनबाट राम्रो जिम्मेवारी दिनुपर्ने कुरा बताए । बौद्धिक नेता अंगराज तिमल्सिनाले आउँदो अधिवेशनबाट कांग्रेस पार्टीले एउटा स्पष्ट नीति र कार्यक्रम लिएर अघि बढ्नुपर्ने सुझाए ।

कार्यक्रममा लङ आइल्याण्ड नेपाली समाजका अध्यक्ष दुर्गेश कार्की, रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला, कांग्रेस नेता कान्छा लामा, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, सल्लाहकार सुनील शाहलगायत वक्ताले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा छिरिङ तोप्के लामा, सञ्जिव श्रेष्ठ, एनआरएनका सल्लाहकार डा. विनोद साह, सदस्य सतेन्द्र साह, आईसीसीका मेम्बर नविन शेरचनले प्रमुख अतिथिलाई प्रश्न सोधेका थिए ।

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका उपसभापति अमर तामाङले गरेका थिए ।

Check Also

NEW YORK, NY - JULY 06:  Donald Trump attends the 2015 Hank's Yanks Golf Classic at Trump Golf Links Ferry Point on July 6, 2015 in New York City.  (Photo by Andrew H. Walker/Getty Images)

पुनः मतगणना मागविरुद्ध ट्रम्पको ट्विट आक्रोश

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं गैरकानूनी मत हिलारी क्लिन्टनलाई प्रदान गरिएका कारण पपुलर …