Home / News / अर्थ / उच्च पदस्थ ६३ माथि अख्तियारको छानबिन

उच्च पदस्थ ६३ माथि अख्तियारको छानबिन

माघ १३।अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला ६३ उच्च पदस्थ कर्मचारीमाथि छानबिन थालेको छ । नेपाल सरकारका ६ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितीय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको हो । एकैपटक यति ठूलो संख्यामा बहालवाला कर्मचारीमाथि अख्तियारले छानबिन थालेको यो पहिलोपटक हो ।
अख्तियारले छानबिनमा परेका सबै कर्मचारीको बैंक खाता तथा लकर रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार अख्तियारको पत्रपछि देशभरका बैंक, फाइनान्स कम्पनी तथा सहकारीमा रहेका सबै खाता र लकर रोक्का गरिएको र गर्ने क्रम जारी रहेको छ ।
अख्तियारले यी सबै ६३ जना कर्मचारीलाई झन्डै एक महिनाअघि अकुत सम्पत्ति कमाएको आरोपमा छानबिनको निर्णय गरेको थियो । निर्णयसँगै अख्तियारले सबैलाई तीनपुस्ते सम्पत्ति विवरण बुझाउन पत्र पठाएको स्रोतले बतायो । अधिकांश उच्च पदस्थ अधिकारीले विवरण बुझाइसकेको स्रोतको भनाइ छ ।
अख्तियारको पत्र बुझेका केही उच्च प्रशासकले अकुत सम्पत्तिमा आफूमाथि छानबिन थालिएको भन्दै आफन्त तथा निकटका व्यक्तिलाई आवश्यक परे सहयोग गर्न आग्रह गरिसकेका छन् । तर, अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले उच्च पदस्थ कर्मचारीको अकुत सम्पत्ति छानबिनबारे आफूलाई जानकारी नभएको बताए ।
कुनै व्यक्तिविशेषविरुद्ध उजुरी परेमा वा पदमा रहेर अकुत सम्पत्ति आर्जन गरेको आशंका लागेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा बहालवाला वा सेवानिवृत्त व्यक्तिमाथि अकुत सम्पत्तिमा छानबिन गर्न सक्छ । छानबिन थाल्नुअघि अख्तियारले आफ्ना गुप्तचर प्रयोग गरेर सम्बन्धित व्यक्ति वा पदाधिकारीबारे विस्तृत अनुसन्धान गर्छ ।
यसक्रममा घरपरिवार, नातागोताको गोप्य रूपमा पहिचान हुन्छ । आरोपी व्यक्तिको उठबस, परिवारका सदस्य, आफन्त कति विलासी छन् र कुन–कुन क्षेत्रमा लगानी छ भन्नेबारे गोप्य अनुसन्धान हुन्छ । अनुसन्धानमा अकुत सम्पत्ति कमाएर अस्वाभाविक र विलासी जीवन बिताएको देखिएमा अख्तियारले छानबिन अगाडि बढाउँछ । यसक्रममा अख्तियारले सम्बन्धित व्यक्तिको विदेशका बैंकमा खाता भए–नभएको अनुसन्धान गर्छ ।
अख्तियारले छानबिन थालिएका व्यक्तिलाई पत्र काटेर बोलाएर तीनपुस्ते सम्पत्ति विवरणसम्म भर्न लगाउाछ । यस क्रममा बैंक खाता र लकर रोक्का गरेर अनुसन्धान थालिन्छ । सम्पत्ति विवरण भर्दा सबै सम्पतिको स्रोत र खर्च विवरण तथा प्रमाणसहितको कागजात पेस गर्नुपर्छ ।
अनुसन्धानको दायरामा परेका व्यक्तिले बुझाएका सबै विवरणबारे अख्तियारले विषयगत विज्ञबाट प्राविधिक रूपमा सूक्ष्म छानबिन गर्ने गर्छ । सबै छानबिनका तथ्य, प्रमाण र परीक्षणमा अकुत सम्पत्ति आर्जन गरेको खुलेपछि अख्तियारले अकुत सम्पत्तिमा भ्रष्टाचार मुद्दा दायर गर्ने नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Check Also

महराले भने– ‘आर्थिक समृद्धि अहिलेको आवश्यकता’

कात्तिक २७ । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले तत्काल स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताए …