Home / News / प्रवास / शेर्पा किदुगद्वारा सर्वोच्च गुरुको परिनिर्वाण पूजा

शेर्पा किदुगद्वारा सर्वोच्च गुरुको परिनिर्वाण पूजा

न्यूयोर्क । शेर्पा किदुग अमेरिकाले ङिङ्मा सम्प्रदायका सर्वोच्च गुरु ताक्लुङ चेट्रुल रिन्पोछेको शीघ्र पुनर्जन्मको कामनासहित भव्य पूजा आयोजना गरेको छ । गुरु ताक्लुङ चेट्रुल रिन्पोछे गत डिसेम्बर २१ तारिखका दिन भगवान बुद्धले ज्ञान प्राप्त गरेको पवित्र स्थल बुद्धगया पुगी समाधिमा लीन हुँदै देह परित्याग गरेका थिए । तीन दिनसम्म ध्यान मुद्रामा रहेपछि उनी समाधिबाट मुक्त भएका थिए ।

आफ्ना सर्वोच्च गुरुको देहावसानको खबर प्राप्त हुनासाथ शेर्पा किदुगले पूजा आयोजना गर्ने निर्णय गरेको थियो । डिसेम्बर २७ तारिख बिहानैदेखि शुरु भएको पूजामा गुरु पद्म सम्भवको सात पद स्तुतिका साथ गुरुयोग साधना, गणचक्र पूजा र गुरुको शीघ्र पुनर्जन्मको प्रार्थना गरेका थिए । शेर्पा समुदायका प्रमुख गुरु उर्गेन छोतर रिन्पोछे, श्यार्वी रिग्यश्युङ लोप्टाका गुरु लोपेन ग्यर्मे छोडाकलगायत लामा गुरुहरु, रिग्श्युङ लोप्टाका विद्यार्थीहरु र ठूलो संख्यामा उपस्थित उपासक उपासिकाहरुले संयुक्तरुपमा प्रार्थना गरेका थिए ।

कार्यक्रममा शेर्वी रिग्युङ लोप्टाका गुरु लोपेन ग्यमुै छोछाकले गुरु ताक्लुङ चेट्रुल रिन्पोछेको जीवनी सुनाउनुका साथै मानव कल्याण र विश्वशान्तिको प्रवद्र्धनमा उनले प्रदान गरेको अतुलनीय योगदानको चर्चा गरेका थिए । शेर्पा किदुगका अध्यक्ष दावा जाङ्वु शेर्पा गतवर्ष शेर्पा किदुगको अनुरोधमा न्यूयोर्क आएका गुरु चेट्रुल रिन्पोछेले शेर्पा गुम्बाको प्राण प्रतिष्ठा गर्नुका साथै गुरु पद्म सम्भवको साधना गर्न चाहनेहरुलाई अभिषेक प्रदान गरेकामा कृतज्ञता व्यक्त गरेका थिए ।

उपस्थित उपासक उपासिकाहरुले स्वेच्छानुसार शाकाहारी भोजन, चिया, पानी, जुस, फलफूल र नगद दान गरेका थिए । बिहान ९ बजे शुरु भएको कार्यक्रम साँझ ४ बजेसम्म प्राणी कल्याण र विश्व शान्तिका प्राणिधान गर्दै समापन भएको थियो ।

Check Also

द होप लोकार्पण

अस्टिन, टेक्सास । प्रख्यात टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक ‘द होप’को आइतबार टेक्सासको अस्टिनमा …