Home / News / प्रवास / अमेरिकादेखि यूरोपसम्म पृथ्वीनारायणको सम्झना

अमेरिकादेखि यूरोपसम्म पृथ्वीनारायणको सम्झना

पृथ्वी जयन्तीको माग, क्याविनेटमा घम्साघम्सी

न्यूयोर्क । लोकतन्त्रको घोषणापश्चात् नेपाल निर्माणकर्ता पृथ्वीनारायण शाहको जन्मदिवस पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा सरकारी तवरबाट मनाउन छाडिए पनि प्रवासमा भने सो दिन पृथ्वीनारायण शाहलाई व्यापक स्मरण गरियो । यूरोपदेखि अमेरिकाका अधिकांश शहरमा प्रवासी नेपाली एकता समाजको सक्रियतामा पृथ्वी जयन्ती मनाइए पनि कतिपय शहरमा भने जनस्तरबाट समेत पृथ्वीनारायण शाहलाई सम्झने काम भएको छ । नेपाल सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मान्यता दिन छाडे पनि प्रवासमा पृथ्वी जयन्तीका रुपमा आयोजित प्रायः सबै कार्यक्रमका ब्यानरमा राष्ट्रिय एकता दिवस लेख्न छुटाइएन ।

नेपालीहरुको बाक्लो आवादी रहेको न्यूयोर्क राज्यको कुइन्सस्थित शेर्पा गुम्बामा महावाणिज्य दूत नारायण मैनालीको प्रमुख आतिथ्यमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको ब्यानरसहित भव्य कार्यक्रम सम्पन्न भयो । प्रवासी नेपाली एकता समाज न्यूयोर्कका अध्यक्ष विदुर विष्टको सभापतित्वमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७२ नामांकन गर्दै मनाइएको कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठसमेत सहभागी थिए । त्यसैगरी गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेल पनि लामो दूरीको यात्रा तय गर्दै कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी थिए ।

खचाखच भरिएको शेर्पा गुम्बा सभाहलको मञ्चमा झण्डै तीन दर्जन वक्ताहरुले विभिन्न संघसंस्था र क्षेत्रको प्रतिनिधित्व गर्दै पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए । राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठले आगामी वर्षदेखि राज्यले पृथ्वी जयन्ती राष्ट्रिय पर्वका रुपमा मनाउने ठोकुवा गरे ।

कार्यक्रममा सहभागी अधिकांशलाई ढाका टोपी आयोजकका तर्फबाट वितरण गरिएको थियो । टोपी तथा खादा वितरण संस्थाका तर्फबाट पवनकुमारी श्रेष्ठले गरेकी थिइन् भने चार घण्टा लामो कार्यक्रमको सञ्चालन दिपु भुसालले गरेका थिए । कार्यक्रम १० जनवरी शनिबारका दिन आयोजना गरिएको हो ।

अमेरिकाकै अर्को राज्य टेक्सासमा पनि पृथ्वीनारायण शाहलाई विशेष कार्यक्रमका बीच स्मरण गर्ने काम भयो । प्रवासी नेपाली समाज टेक्सास च्याप्टरका अध्यक्ष गोविन्दसिंह ठाकुरको सभापतित्वमा सम्पन्न पुस २७ को अवसर पारेर १० जनवरीका दिन मनाइएको हो । नेपाली समाज टेक्सासका पूर्वअध्यक्ष डा. प्रेम अधिकारी, त्रिवि प्राध्यापक हिराकुमार श्रेष्ठ, इन्द्रेणी सांस्कृतिक केन्द्रका अध्यक्ष नेत्र पाण्डेलगायत एक दर्जन वक्ताहरुले टेक्सासमा पनि पृथ्वीनारायण शाहले विशाल नेपाल निर्माण गर्न पु¥याएको योगदानको चर्चा गर्दै राज्यले राष्ट्रिय पर्वकै रुपमा मनाउनुपर्ने माग गरे । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको शुभकामना पढेर सुनाइएको थियो ।

अमेरिकाकै पश्चिमी राज्य सानफ्रान्सिस्कोको बे एरियामा भने केही व्यवसायीहरु मिलेर पृथ्वी जयन्ती मनाएका छन् । स्थानीय काफल रेष्टुरेन्टमा आयोजित कार्यक्रममा व्यवसायी युवराज कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । प्रवासी समाजमा अबका दिनमा आपसी अस्तित्व स्वीकार गर्ने, सुख र दुःख बाँडचुँड गर्ने, सकारात्मक सोच विकास गर्ने, अग्रजलाई सम्मान गर्ने र प्राप्त उपलब्धि समानहरुपले वितरण गर्ने भन्दै पाँच बुँदामा ऐक्यबद्धता जनाउँदै पृथ्वी जयन्ती मनाइयो । कार्यक्रमको संयोजन सुजित सिंह, कौशलप्रताप जबरा, युवराज कार्की तथा सकुन राईले गरेका थिए ।

अमेरिकामा मात्र होइन बेल्जियममा पनि एकत्रित नेपाल निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पृथ्वी जयन्ती मनाइयो । प्रवासी नेपाली एकता समाजले राष्ट्र निर्माता एवम् राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणको योगदानको कदर गर्नुपर्ने भन्दै कार्यक्रम गरेको हो । जनवरी १० शनिबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले पृथ्वीनारायण शाह युगपुरुष भएको र उनलाई प्रत्येक नेपालीले सम्झनुपर्ने बताए । कार्यक्रममा अधिकांश वक्ताले विषम परिस्थितिबाट नेपाललाई माथि उठाउन पृथ्वीनारायण शाहको दिव्योपदेश आत्मसात गर्नुपर्ने बताएका थिए ।

क्याविनेटमा घम्साघम्सी

प्रवासमा पृथ्वी जयन्ती राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने चर्को आवाज उठिरहँदा नेपालमा गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा यस्तै विषय प्रस्ताव गरेका कारण उपप्रधानमन्त्री कमल थापा नीलोकालो हुनुपरेको स्रोतले बतायो । स्रोतका अनुसार, मन्त्रिपरिषद् बैठकको अन्त्यतिर थापाले पुस २७ लाई सरकारीरुपमा मनाउनुपर्ने प्रस्ताव राखेपछि प्रधानमन्त्री केपी ओलीले निकै लचकता देखाए, तर तत्कालै परिवार दलका अध्यक्ष तथा शान्ति तथा पुनस्र्थापनामन्त्री एकनाथ ढकाल निकै जंगिएर भने– ‘सत्ता समीकरणका बेला भएको सहमतिविपरीत यो के प्रस्ताव हो तपाईंको ?’ उपप्रधानमन्त्री त्यसपछि नीलोकालो भएर चुप बसे । उता अर्का उपप्रधानमन्त्री टोपबहादुर रायमाझी झनै कड्किएर भने– ‘सत्ता समीकरणका बेला परिवार दल र उपप्रधानमन्त्रीबीच केके सहमति भएको थियो, त्यो हामीलाई थाहा छैन, तर हाम्रो दृष्टिकोणमा पृथ्वीनारायण शाह भनेका विस्तारवादी, सामन्त हुन् ।’ बैठकमा दीपक बोहरा भने चुप बसे । स्रोत भन्छ– ‘धर्म निरपेक्ष राज्य बनाउने कुरामा सहमति जनाउन परिवार दलमार्फत उपप्रधानमन्त्री थापाले ठूलो रकम लिएका कारण एकनाथ ढकाल कड्किंदा थापा नीलोकालो भएका हुन् ।’

Check Also

NEW YORK, NY - JULY 06:  Donald Trump attends the 2015 Hank's Yanks Golf Classic at Trump Golf Links Ferry Point on July 6, 2015 in New York City.  (Photo by Andrew H. Walker/Getty Images)

पुनः मतगणना मागविरुद्ध ट्रम्पको ट्विट आक्रोश

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं गैरकानूनी मत हिलारी क्लिन्टनलाई प्रदान गरिएका कारण पपुलर …