Home / News / प्रवास / देशको मायाका कारण नेतामाथि आक्रोशः सभासद् कर्ण

देशको मायाका कारण नेतामाथि आक्रोशः सभासद् कर्ण

अस्टिन । नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति एवम् सभासद् रञ्जित कर्णले चाँडै तराई–मधेशको समस्या अन्त्य हुने दाबी गरेका छन् । नयाँ वर्ष २०१६ को अवसर पारेर नेपाली जनसम्पर्क समिति (नेजस) अस्टिन च्याप्टरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा बीपीको ४०औं राष्ट्रिय मेलमिलाप दिवस, देशको वर्तमान समसामयिक राजनीतिक अवस्था विषयक कार्यक्रममा प्रमुख अतिथि कर्णले नयाँ संविधानबारे मधेशवादी नेताहरुले गलत ढंगले व्याख्या गरेकाले मधेश आन्दोलन उब्जिएको बताए ।

जनवरी १०, शनिबारका दिन टेक्सासको स्थानीय एसियन अमेरिकन रिसोर्स सेन्टरको हलमा आयोजना गरिएको कार्यक्रममा सभासद् कर्णले नेपालमाथि आइपरेका सबै किसिमका समस्याको नेपाली कांग्रेसले समाधान गर्दै आएको प्रसंग कोट्याउँदै संविधान निर्माणपछि देखिएको तराई–मधेशको समस्या पनि नेपाली कांग्रेसले नै हल गर्ने बताए । साथै, उनले आफ्नो देशको माया र चिन्ताका कारण प्रवासी नेपालीले नेतामाथि आक्रोश पोख्ने गरेको अमेरिका आएपछि थाहा पाएको बताए ।

विशेष अतिथि नेजस अमेरिकाका सभापति आनन्द विष्टले अमेरिकामा आफ्नो संस्था विशेष गरी सामाजिक कार्यमा अग्रसर रहेको बताउँदै नेपालमा गएको महाभूकम्पका बेला पनि नेपालमा पुगेर विभिन्न ठाउँका भूकम्पपीडितलाई सकेको सहयोग पु¥याएको स्मरण गराएका थिए । उनले नेजस अमेरिका नेपाली कांग्रेसको भातृ संस्था नभई एउटा अंग मात्र भएको बताए । विष्टले बीपी प्रवासमा रहेकै बेला यो संस्थाको स्थापना भएको कुरासमेत उल्लेख गरे ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङले मुलुकको राष्ट्रियता र लोकतन्त्र अहिले अत्यन्तै कमजोर बन्दै गइरहेकाले सारा नेपालीहरू यतिबेला आफ्नो आस्था र संस्थाभन्दा माथि उठेर राष्ट्रिय एकताका निमित्त एक ढिक्का हुनुपर्ने बताए । उनले बीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिबारे चर्चा गर्दै नेपालको राष्ट्रियता र लोकतन्त्र कमजोर हुनुमा नेपालका राजनीतिक पार्टीमा लोकतान्त्रिक, सामाजिकीकरण र आधुनिकीकरण हुन नसक्नु पनि प्रमुख कारण भएको आरोप लगाए ।

त्यसैगरी सल्लाहकार चन्द्रशेखर यादवले नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याई अझ एक स्टेप माथि उक्लिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा नेजस अमेरिकाका केन्द्रीय सदस्य ओम भट्टराई, सुवेन्द्र राणाभाट, हरिबोल भण्डारी, अमृत भट्टराई, रविन बस्नेत, एनआरएन अमेरिकाका सचिव शंकर खड्का, कोषाध्यक्ष वेद बस्नेत, गौरी जोशी, सल्लाहकारहरू अमृत सापकोटा, भुवन आचार्य, अर्जुन बन्जाडे, उपसभापतिहरू धर्मराज श्रेष्ठ, भगवान मैनाली, केन्दीय सदस्य ज्ञानेन्द्रराज कार्की, संस्थापक महासचिव एवं नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, ग्रेटर समाज अस्टिनका अध्यक्ष गेहेन्द्र केसी, नेता युवराज खाती, नेतृ पुष्पलता भण्डारी, युवानेता हेमराज भट्ट, एनआरएन अमेरिकाका सल्लाहकार सुनील शाह, उपाध्यक्ष रामचन्द्र पोखरेललगायतको उपस्थिति थियो ।

अस्टिन च्याप्टरका सभापति प्रेमकुमार पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अस्टिन च्याप्टरका महासचिव कौशल यादवसँगै केन्द्रीय उपाध्यक्ष सीपी पौड्यालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिलगायल अस्टिनबासी नेपालीको बाक्लो उपस्थिति रहेको थियो ।

Check Also

wana-nagc-community

वाना र एनएजीसीद्वारा सामुदायिक केन्द्र भवन निर्माणकार्य शुभारम्भ

क्यालिफोर्निया । वेस्ट अमेरिका नेपलिज एसोसिएसन (वाना)ले सामुदायिक केन्द्र भवन निर्माणकार्यको शुभारम्भ गरेको छ । …