Home / News / प्रवास / एनआरएन अमेरिकाको सल्लाहकार समिति चयन

एनआरएन अमेरिकाको सल्लाहकार समिति चयन

न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको कन्फ्रेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । गत शनिबार एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले अमेरिकामा गैरआवासीय योगदानलाई थप प्रभावकारी बनाउन समाजसेवी र विद्वत वर्ग रहेको सल्लाहकार समितिलाई पूर्णता दिइएको छ । एनआरएन अमेरिकाले रिक्त चार सल्लाहकार समितिमा राष्ट्रपति ओबामाका सल्लाहकार सञ्जिता प्रधान (आइवा), यम अधिकारी (न्युजर्सी), बाबुराम लामा (न्यूयोर्क) घन दवाडी (क्यालिफोर्निया)लाई चयन गरेको हो ।

साथै, अमेरिकामा रहेका नेपाली समुदायको हितमा काम गर्न भिन्न उद्देश्य रहेको कार्यदल गठन प्रक्रियासमेत सुरु गरेको छ । बैठकले मातृभूमि नेपालमा गएको प्रलयकारी भूकम्पलगत्तै संघका तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परीक्षण अभियानको समीक्षा गर्दै भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकमा रहेको सेती देवी मावि र तीनघरे संस्कृत उच्च मावि बाँडेगाउँको पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको छ ।

भूकम्पपीडितको स्वास्थ्यलाई ध्यानमा राखी मातृभूमि पुनर्निर्माण अभियानअन्तर्गत भूकम्पले अतिप्रभावित धादिङ र गोरखाका दुर्गम क्षेत्रमा अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत नेपाल सरकार र बीपी चिन्तन प्रतिष्ठानसँग निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न एनआरएन अमेरिकाले सहकार्य गर्ने निर्णय गरेको छ । बैठकले विश्व प्यारासाइक्लिङका अभियन्ता कालीप्रसाद भण्डारीलाई आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा ब्रेन ट्युमरका कारण अस्पतालमा उपचार गराइरहेका निश्चित श्रेष्ठलाई पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

प्रवासमा रहेका नेपालीहरूको सही डाटा संकलनका लागि एनआरएन अमेरिकाले हार्वर्ड विश्वविद्यालयका प्राध्यापक डा. शिव गौतमको अध्यक्षतामा उच्चस्तरीय समितिसमेत गठन गरेको छ । त्यसैगरी एनआरएन अमेरिकाले ग्रीन पेज व्यापार व्यवसायीहरुको समिति गठन गरी व्यापारीहरूलाई एउटै थलोमा उभ्याउने र विजनेस पत्रिकामा सम्पूर्ण जानकारी दिनेगरी उपाध्यक्ष रविना थापाको संयोजकत्वमा बृहत व्यापारी संयन्त्र गठन गरेकोे छ ।

एनआरएन अमेरिकाका महासचिव तिलक श्रेष्ठको अध्यक्षतामा सांस्कृतिक समिति र प्रसिद्ध नेपाली खेलाडी मोहन वाइवाको अध्यक्षतामा खेलकुद समिति, डा. देशराज संयोकको अध्यक्षतामा प्राविधिक समिति, पुरू घिमिरेको अध्यक्षतामा पर्यटन समिति गठन गरिएको छ । एनआरएन अमेरिकाले एनआरएनएद्वारा तनहुँको देवघाटमा शुरुवात गरिएको वृद्धाश्रमलाई भूकम्पबाट क्षति भएकोमा मर्मत र सञ्चालनमा सहयोगका लागि उपाध्यक्ष रबिना थापालाई संयोजक तोकेको छ । बैठकले महिला कोअर्डिनेटर राधा पौडेलद्वारा प्रस्तावित अन्तर्राष्ट्रिय महिला दिवससम्बन्धी कार्यक्रमलाई पनि पास गरेको छ । महिला समितिले नेपालको बैतडी जिल्लामा रहेका वादी महिलाहरुको सशक्तीकरणका लागि माइक्रोफाइनान्स कार्यक्रम सञ्चालन गर्नेछन् । बैैठक एनआरएन अमेरिकाका महासचिव तिलक श्रेष्ठले सञ्चालन गरेका थिए ।

Check Also

trumptower

ट्रम्पपत्नी तत्काल ह्वाइट हाउस नजाने

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासबाट उनकी पत्नी मलानिया ट्रम्प आफ्नो पतिले कार्यालय सम्हाल्न …