Home / News / प्रवास / एनआरएनएमा १० सल्लाहकार थपिए

एनआरएनएमा १० सल्लाहकार थपिए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहिलो बैठकले गरेका निर्णयपछि देखिएको एनआरएन विवाद पछिल्लो बैठकसँगै समाधानको दिशामा अघि बढेको छ । तर, पछिल्लो बैठकले फेरि १० जना सल्लाहकार मनोनित गरेपछि यसको वैधानिकताका विषयमा बहस थालिएको छ । ५२औं एनआरएन आईसीसी साइबर मिटिङले १० जनालाई सल्लाहकार मनोनित गरेको हो । एनआरएन आईसीसी पदाधिकारी तथा कार्यसमिति सदस्य गरी ७३ जनाभन्दा बढी साइबर मिटिङमा सहभागी थिए । ११ जनाभन्दा बढी सल्लाहकार मनोनित गर्न नपाउने विश्व सम्मेलनले पारित गरेको विधानविपरीत शनिबार सम्पन्न बैठकले दश जना थपेपछि फेरि विवाद हुने देखिएको हो ।

एनआरएनए आईसीसी अध्यक्ष शेष घलेले आफू अनुकूलका व्यक्तिलाई जिम्मेवारी दिन तथा पहिले गरिएको वाचा पूरा गर्न मनोनयनको प्रस्ताव ल्याएको र त्यही प्रस्ताव खासै छलफल नै नगरीकन पास गरिएको एक पदाधिकारीले जानकारी दिए । तर, बैठकमा वैधानिकताको कुरा उठेपछि घलेले अहिलेसम्म परराष्ट्र मन्त्रालयले विधान स्वीकृत नगरेकाले मनोनित गर्न मिल्ने जबाफ दिएका थिए । विधान आफूअनुकूल नभएका कारण अहिलेसम्म घलेले मन्त्रालयमा पेश गरेका छैनन् । तर, मन्त्रालयमा विधान पेश भएलगत्तै फेरि सल्लाहकारका विषयमा एनआरएनएभित्र विवाद देखिने भएको छ । यस्तो अवस्थामा एनआरएनएका सल्लाहकारहरुको जिम्मेवारीसमेत नैतिक हिसाबले विवादित बन्ने अवस्था सृजना हुनेछ ।

५२औं एनआरएनए आईसीसी बैठकले कतारमा रहेका टिबी कार्की र अमेरिकाका रतनकुमार झालाई सल्लाहकारमा मनोनित गरेको छ । त्यस्तै मन केसी अष्ट्रेलिया, यूकेका डम्बर घले, क्यानडाका राधा बस्नेत र मलेसियामा रहने शंकर पौडेललाई पनि सल्लाहकारमा मनोनित गरेको छ । त्यस्तै, नेपालमा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिलाई पनि एनआरएनएको सल्लाहकार बनाइएको छ । त्यसरी सल्लाहकार बनाउँदा राजनीतिक भागबण्डा मिलाउने प्रयास पनि गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, डा. गणेश गुरुङ, विश्वकान्त मैनाली र डा. जगत भुर्तेललाई सल्लाहकार बनाइएको छ । यसअघि थप ११ जनालाई सल्लाहकार मनोनित गरिएको थियो ।

संघको ५१औं बैठकले विभिन्न क्षेत्रमा मनोनित गरेपछि एनआरएनभित्र विवाद बढेको थियो । सहमति नभएपछि संघको बैठकबाट प्रमुख संरक्षकका रुपमा पूर्वअध्यक्ष जीवा लामिछानेलाई चयन गरिएको थियो भने डा. देवकाजी डंगोल, दिल गुरुङ, इन्द्रा वन र कुलचन्द्र गौतमलाई संरक्षकमा मनोनित गरेका थिए । एकनाथ खतिवडा, पुष्प थापा, नवराज गुरुङ, पीजी शेर्पा, चन्द्र रोकाहा, दीपक खड्का, कन्हैयालाल श्रेष्ठ, लोकभक्त राणा, विश्वआदर्श पण्डित, त्रिलोक गुरुङ र डा. हेमराज शर्मालाई उनले यसअघिको बैठकबाटै सल्लाहकारमा नियुक्त गरेका छन् । उनले सुनिता शर्मा, खगेन्द्र जिसी, नविन शेरचन, भुषण घिमिरे, सोमचाइ क्षेत्री, जयप्रकाश गुरुङ, सोम सापकोटा, जानकी गुरुङ, अस्मिन बेइगम, आरके शर्मा, धर्मराज अधिकारी, जमुना गुरुङ, क्रृषि कँडेल, भोमादेवी लिम्बु र योगेन क्षेत्रीलाई नियुक्त गरेपछि विवाद बढेको थियो ।

५१औं बैठकका निर्णयको वैधानिकताका विषयमा यस पटकको बैठकमा खासै छलफल नभएको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार विधान व्याख्या समितिले बैठकका निर्णयका विषयमा आफ्नो राय आगामी बैठकमा राख्ने भएको छ । विवादमा परेको ५१औं बैठकले नै विधान संशोधन समितिमा डा. हेमराज शर्मा र विधान व्याख्या समितिको अध्यक्षमा कुलचन्द्र गौतमलाई निरन्तरता दियो । घलेले आफू नेतृत्वमा विपत व्यवस्थापन समिति गठन गरेर कुलचन्द्र गौतम, डा. गणेश गुरुङ, रन्जु वाग्ले, जमुना गुरुङ, डा. भगवान कोइराला, इन्द्रा वन, शिशिर भट्ट र रजनी प्रधानलाई सदस्य बनाएपछि धेरै पदाधिकारी बिच्किएका थिए ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ५१औं बैठक एनआरएनएमा देखिएको विवाद समाधानको दिशामा अगाडि बढेको छ । पदाधिकारीमा अल्पमतमा पुगेका घलेले जीवा लामिछानेको सहयोगका कारण विवादबाट मुक्त हुने अवस्थामा पुगेका छन् । १५ नोभेम्बर सन् २०१५ को अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकमार्फत अध्यक्ष शेष घलेले चुनावमा पराजितलाई फेरि मनोनित गरेपछि एनआरएनभित्र विवाद शुरु भएको थियो । एनआरएनए आईसीसीका २४ पदाधिकारीमध्ये १८ जनाले अध्यक्ष घलेलाई पत्र लेखेर मनोनयन विधानविपरीत भएको भन्दै आपत्ति जनाएपछि घलेले पनि त्यसको बचाऊ गर्दै विधानअनुसार नै निर्णय लिएको जवाफ दिए । दोहोरो पत्राचारपछि विवाद सुल्झिनुको सट्टा झनै बल्झियो । विवाद बल्झिदै गएपछि यस पटकको बैठकबाट विधान व्याख्या समितिसम्म पुगिएको एक पदाधिकारीले जानकारी दिए ।

५२औं बैठक सम्पन्न हुनेबेलासम्म पनि विवाद समाधान त भएको छैन, तर समाधानको दिशामा छ । भित्रभित्रै एकले अर्कोलाई बदला लिनेगरी तयारी गरिएको दाबी पदाधिकारीले गरेका छन् । अध्यक्ष शेष घले र उपाध्यक्ष भवन भट्टलगायतको एउटा टोली बनेको छ भने अर्का उपाध्यक्ष कुमार पन्त र महासचिव बद्री केसीसहितकोे अर्को समूह भएको छ । विवाद कार्यसमितिमा मात्र नभएर संसारभर छरिएका नेपालीबीच पुगिसकेको छ । एनआरएनलाई साझा थलो बनाउनुपर्नेमा संसारभर रहेका नेपालीबीच विवाद थोपरिएको छ । त्यसैले वैधानिक निर्णय र त्यसको कार्यान्वयनका लागि संसारभरबाट दबाब दिन जरुरी छ ।

Check Also

wana-nagc-community

वाना र एनएजीसीद्वारा सामुदायिक केन्द्र भवन निर्माणकार्य शुभारम्भ

क्यालिफोर्निया । वेस्ट अमेरिका नेपलिज एसोसिएसन (वाना)ले सामुदायिक केन्द्र भवन निर्माणकार्यको शुभारम्भ गरेको छ । …