Home / News / प्रवास / बीपीपुत्र शशांकले सभापतिमा उम्मेदवार दिने संकेत

बीपीपुत्र शशांकले सभापतिमा उम्मेदवार दिने संकेत

न्यूयोर्क । नेपाली कांग्रेसको आगामी फागुन २०–२३ गते काठमाडौंमा हुने भनिएको १३औं महाधिवेशनमा बीपीपुत्र डा. शशांक कोइरालाले सभापतिमा उम्मेदवारी दिने संकेत गरेका छन् । ‘मेरो पनि सभापतिमा उम्मेदवारी आउन सक्छ, तर यो वा त्यो पक्ष भनेर होइन’, डा. कोइरालाले विश्व न्यूजसँगको फोन सम्पर्कमा भने– ‘मेरो सभापतिमा उम्मेदवारी आयो भने नेपाली कांग्रेसका लागि आउनेछ ।’

आफ्नो ठाउँ मात्र सुरक्षित गर्नुपर्छ, आफूले मात्रै पद ओगट्नुपर्छ भन्ने मान्यतामा आफू कहिल्यै नरहेको बताउँदै डा. कोइरालाले नेपाली कांग्रेसभित्र उठेको ६०–४० को भागबण्डाको राजनीतिले आफूलाई एलर्जी गराएको बताएका छन् । उनले भने– ‘अब पनि ६०–४० को कुरा उठ्नुहुन्न । यसको अन्त्य सदाका लागि हुनुपर्छ ।’ नेता डा. कोइरालाले अबको १३औं महाधिवेशनले नेपाली कांग्रेसको ७० वर्षको इतिहास केलाउनुपर्ने र केकस्ता गल्तीहरु यो ७० वर्षमा भए पहिल्याउँदै कस्तो नेतृत्व स्थापित गराउँदा नेपाली कांग्रेस तथा मुलुकको हित हुन्छ, त्यो प्रमुख कुरा भएको बताएका छन् ।

कांग्रेसको नीति र नेतृत्वले सिंगो मुलुक अनि अन्य राजनीतिक दललाई समेत तरंगित पार्ने हुँदा नेपाली कांग्रेसलाई भावनात्मकरुपमै एक बनाउनुपर्ने अहिलेको चुनौती भएको डा. कोइरालाले बताए । उनले भने– ‘यदि पार्टी भावनात्मक रुपमा एक हुन्छ, ६०–४० को घेरा तोडिन्छ भने म मेरो सिद्धान्तको लिगेसी बोकेर पार्टी सभापतिमा उम्मेदवारी दिन सक्छु ।’ उनले २० गतेसम्ममा यो कुरो टुंगो लाग्ने बताए ।

डा. कोइरालाले नेपाली कांग्रेस, विभिन्न राजनीतिक दललगायत कार्यपालिकामा समेत पद ओगट्ने काम मात्र भएको बताए । लामो समयदेखि नेपालमा एउटै अनुहारका मन्त्री, प्रधानमन्त्रीसमेत भएको प्रसंग कोट्याउँदै उनले राजनीतिक दलमा पनि वर्षौंदेखि पद ओगट्ने सिलसिला चलिरहेको बताए । ‘त्यसैले अहिले मुलुकमा परिवर्तनको खाँचो छ । धनी र गरिबबीचको खाडल पुर्नु जरुरी छ’, नेपाली जनताले परिवर्तन देख्न नपाएकोमा गुनासो गर्दै उनले भने– ‘अबको नेपाली कांग्रेसमा मुलुक र जनताकै परिवर्तन गर्न सक्ने नेतृत्व स्थापित गर्नुपर्छ । फगत पद ओगट्नका लागि होइन ।’ डा. कोइरालाले बीपीको समाजवादी चिन्तन हराउँदै गएकाले अब नेपाली कांग्रेसलाई नयाँ जीवन दिनुपर्ने बताए ।

आफ्नो नैतिकता नै धरापमा पारेर जसरी पनि पार्टी सभापति हुने आकांक्षा नपालेको उनले बताए । डा. कोइरालाले भने– ‘समग्र कांग्रेस एक हुन्छ, मुलुकलाई गतिशील दिशा निर्दिष्ट गर्न सकिन्छ, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिले मेरो नेतृत्व माग गरेको खण्डमा अवश्य पनि म पछाडि हट्दिन ।’ उनले अब नयाँ अध्याय शुरुवात गर्न जरुरी भएको बताए । ‘यो नै स्व. सुशील कोइरालाप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ’, उनले भने ।

Check Also

अमेरिकाको टेक्सासबाट परराष्ट्रमन्त्री महतको आग्रह– ‘गैरआवासीय नेपालीले अब नेपालमा लगानी भित्र्याउँ’

 माघ २ । संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा …