Home / News / प्रवास / न्यूयोर्कमा प्रथम शहीद लखन थापाको १३९औं स्मृति दिवस सम्पन्न

न्यूयोर्कमा प्रथम शहीद लखन थापाको १३९औं स्मृति दिवस सम्पन्न

० प्रशान एलुङ् राई

न्यूयोर्क । नेपालको प्रथम शहीद लखन थापामगरको १ सय ३९औं स्मृति दिवस गत फेबु्रअरी १२ तारिख न्यूयोर्कमा एक कार्यक्रमबीच मनाइएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम न्यूयोर्कको म्यानहाटनमा अवस्थित दूतावास कार्यालयमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृसु क्षेत्रीले शहीद लखन थापामगरलाई नेपालको प्रथम शहीद घोषणा गर्नमा सम्बन्धित पक्षले नै चर्काे दबाब दिएको बताउँदै ढिलै भए पनि नेपाल सरकारले थापामगरलाई औपचारिक रुपमा नेपालको पहिलो शहिद घोषणा गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा दूतावासका उपवाणिज्य दूत प्रवीण भट्टराईले भविष्यमा प्रथम शहीद लखन थापामगरको स्मृति दिवसलाई अझ बृहत् रुपमा मनाउनुपर्ने र यसका लागि विदेशमा रहेका नेपाली नियोग र अन्य कार्यालयले सहयोग गर्ने बताए ।

स्मृति दिवसकै अवसरमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लुइसाङ वाइवा तामाङले राज्यले वर्षौंदेखिको माग पूरा गरेको र प्रथम शहीद थापामगरको स्मृति दिवसमा दूतावास स्वयम् आयोजक भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा महिला अधिकारकर्मी विष्णुमाया परियार, सञ्चारकर्मी शैलेस श्रेष्ठ, मगर संघ अमेरिकाका महासचिव मान बहादुर रानामगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापालगायतले लखन थापामगरका बारेमा चर्चा गरेका थिए ।

सोही कार्यक्रममा मगर संघ अमेरिकाले नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै नेपालका प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूतिको घोषणा गर्नुपर्ने, उनले सहादत प्राप्त गरेको फागुन २ गते सार्वजनिक बिदा दिइनुपर्ने र सोही दिनलाई शहीद दिवसका रुपमा मनाउनुपर्नेलगायतका ६ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा लखन थापामगरको परिवारलाई पुनस्र्थापना तथा क्षतिपूर्तिको व्यवस्था, काठमाडौंको शहीद गेटमा लखन थापामगरको सालिक प्रतिस्थापन गर्नुपर्नेलगायतका माग रहेका छन् ।

जहानिया राणा शासनविरुद्ध आन्दोलन गरेका लखन थापा मगरलाई विस १९३३ साल फागुनको पहिलो साता ४२ वर्षको उमेरमा गोर्खा जिल्लामा झुण्डाएर मारिएको थियो । थापामगरलाई २०७२ साल असोज ३ गते बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रुपमा नेपालको प्रथम शहीदको घोषणा गरेको हो ।

Check Also

अमेरिकाको टेक्सासबाट परराष्ट्रमन्त्री महतको आग्रह– ‘गैरआवासीय नेपालीले अब नेपालमा लगानी भित्र्याउँ’

 माघ २ । संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा …