Home / News / प्रवास / बागलुङ सेवा समाज अमेरिकाको अन्तरक्रिया

बागलुङ सेवा समाज अमेरिकाको अन्तरक्रिया

० प्रशान एलुङ राई
न्यूयोर्क । अमेरिकामा बस्दै आएका बागलुङ जिल्लाबासीहरुको साझा संस्था बागलुङ सेवा समाज अमेरिकाले गत फेब्रुअरी १२ तारिख न्युयोर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समाजले आईएमई ग्रुपका अध्यक्ष एवं उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम न्यूयोर्कको कुइन्सस्थित चौतारी रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष ढकालले नेपालमा अवसरहरु पर्याप्त भएको र सानै स्केलमा भए पनि स्वदेशमै लगानी गर्न सबैलाई आग्रह गरे । हाल आफूले काठमाडौंको चन्द्रागिरीमा केवल कारको निर्माण र एनआरएनसँग मिलेर २७ मेगावाटको हाइड्रोपावरमा लगानी गरेको बताउँदै यी दुईलाई मोडेल प्रोजेक्टका रुपमा काम अघि सारेको बताए । अढाई दशकअघि काठमाडौंको ठमेलबाट कार्गाे व्यवसाय हुँदै रेमिटेन्स, वित्तीय र बैंकिङ, पर्यटन हुँदै हाल हाइड्रोपावरमा लगानी गरेका ढकाल नेपालका निजी क्षेत्रबाट सफल र धनीमध्येमा अग्रपंक्तिमा पर्दछन् ।

अन्तरक्रिया कार्यक्रममा एनआरएन आईसीसी सदस्य एवं एनआरएन अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जिसी, समाजका अध्यक्ष हरि शर्मा, सल्लाहकार गंगा जिसीलगायतले बोलेका थिए । बागलुङबासीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार एवं कलाकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि ढकालले सहभागीहरुको जिज्ञासाको जवाफसमेत दिएका थिए ।

Check Also

विश्वभर छरिएका तामाङहरुलाई एउटै मालामा गाँस्न अमेरिकामा सम्मेलन

आउँदो सेप्टेम्बर २ र ३ मा अमेरिकाको न्यूयोर्कमा अमेरिका र क्यानडामा रहेका तामाङहरु एकै ठाउँमा …