Home / News / प्रवास / सम्झनामा तस्वीर

सम्झनामा तस्वीर

० प्रवीण भट्टराई

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आउने प्रतिनिधिमण्डलका नेता तथा उनीहरुका स्पाउसलाई होस्ट कन्ट्री अर्थात् संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा फष्र्ट लेडीले एक रिसेप्सनको आयोजना गर्ने परम्परा रहेको छ । प्रतिनिधिमण्डलका नेतामा राजा, महाराजा, रानी, राजकुमारीदेखि लिएर राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, मन्त्रीहरु, परराष्ट्रसचिवदेखि स्थायी प्रतिनिधिसमेत पर्न सक्छन् ।

यस्तै, ६९औं महासभामा पनि सरकार प्रमुखको हैसियतले नेपाली प्रनिनिधिमण्डलका नेता प्रधानमन्त्री सुशील कोइरालाले भाग लिनुभएको थियो । २३ सेप्टेम्बर २०१४ को साँझ, म्यानहाटनको सबैभन्दा महँगो होटल वालड्रोफ अस्ट्रोरियामा विश्वका १ सय २० भन्दा बढी मुलुकका प्रनिनिधि उक्त कार्यक्रमका निम्तालु थिए । ह्वाइट हाउसबाट निमन्त्रणा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको नाममा प्राप्त भएको थियो । त्यसलाई सच्याउन पत्राचार पनि भएको र समयको अभावमा हार्ड कपी निमन्त्रणा प्राप्त नभए पनि इमेलमा उक्त कुरा सच्याइएको थियो । २३ सेप्टेम्बर अपराह्न शिष्टाचार महापालले उक्त निमन्त्रणाको हार्ड कपी लिएर गए, तर त्यसमा प्रोटोकलमार्फत नाम सच्याइएको इमेल संलग्न रहेनछ । उनले स्वाभाविक रुपमा उक्त निमन्त्रणा प्रधानमन्त्रीलाई पेश गरे । निमन्त्रणा हेर्नासाथ प्रधानमन्त्रीले शिष्टाचार महापाललाई भने– ‘यो निम्ता त मलाई होइन रहेछ, मेरो नाम नभएको निम्ता बोकेर म कसरी त्यहाँ जाऊँ ।’ केही क्षणमै मेरो फोनको घण्टी बज्यो– ‘फलानाले फोन उठाउनुभएन, कुरो निकै अप्ठेरो छ, तपाईं र सम्बन्धित अधिकारी तुरुन्त प्रधानमन्त्रीकहाँ आउनु होला ।’

कुरो के हो, सामान्य सोधखोज गरेर बुझेपछि नायब स्थायी प्रतिनिधि र म दौडेर त्यहाँ पुग्यौं । एक किसिमले त्यस रिसेप्सन पार्टीमा नजाने सोचमा पुगिसकेका प्रधानमन्त्री कोइरालालाई इमेल देखायौं । इमेलमा नाम सच्चिएको, तर डाक्टर सुशील कोइराला भन्ने उल्लेख रहेछ । वास्तवमा मैले त्यो पार्ट हेरेको थिइन, अर्थात् मलाई हेर्न भनिएको थिएन । कोइराला अत्यन्त इमानदार र सालिन मिजासका थिए । नभएको पगरी डाक्टर फलाना भनेर सम्बोधन गरेमा मात्र पनि मख्ख पर्ने हाम्रो सामाजिक यथार्थलाई कोइरालाले स्वीकारेनन् । झुक्किएर सच्चाउन बिर्सेको त्यो डाक्टर उल्लेख भएको निम्ता लिएर प्रधानमन्त्री कोइराला जान मान्नुभएन । शिष्टाचार महापाल, नायब स्थायी प्रतिनिधि र मैलेसमेत निकै अनुरोध गरेपछि बल्ल–बल्ल उहाँ जान तयार हुनुभयो । मैले केही वर्षयता सेक्रेट सर्भिससँग समन्वय गर्दै आएको हुँदा त्यहाँका कमाण्डरसँग सबै कुरा गरेर मिलाएपछि शिष्टाचार महापाल र म दुवै जना प्रधानमन्त्रीलाई लिएर होटल गयौं । गाडीबाट झर्नासाथ स्वागतमा खटिएका अधिकारीले ‘वेलकम प्राइम मिनिष्टर कोइराला’ भनेर स्वागत गरेको हामीले सुनेपछि शिष्टाचार महापालले भने– ‘सबै कुरा मिलिसकेको छ, हामीले सबै मिलाएका थियौं सम्माननीय प्रधानमन्त्रीज्यू ।’ त्यसैले ह्वाइट हाउसका प्रोटोकल अफिसरले हजुरको सही नाम र टाइटल भनेर स्वागत गरेको प्रधानमन्त्री कोइरालालाई अवगत गराएपछि बल्ल उहाँको अनुहारमा खुसी छाएको थियो । कुरो मिलेकोमा हामी दुवै जना दंग थियौं । हामी खुसी भएर फर्केर ह्यात होटल नजिकै २ घण्टा प्रधानमन्त्री कोइरालालाई कुरेर बस्यौं ।

यसबीचमा केहीले प्रधानमन्त्री कोइरालालाई निमन्त्रणामा भएको गल्ती देखाउँदै विभिन्न कुरा लगाएर उक्त रिसेप्सनमा जानुहुन्नसमेत भन्न भ्याएछन् । स्थायी नियोगका मान्छेहरु सबै परराष्ट्रमन्त्रीको पछि लागेर प्रधानमन्त्रीलाई बिर्सेको समेत भनेछन् । तर, कोइरालाको स्वास्थ्योपचारमा विगत वर्षदेखि खटिंदै आएकाले पनि उहाँलाई हामीप्रति विश्वास थियो ।

शिष्टाचार महापाल कालीप्रसाद पोखरेल र म गएर उहाँलाई उक्त होटलबाट हामी कुरेर बसेको स्थानमा लिएर आयौं । मैले सोधें– ‘सम्माननीय प्रधानमन्त्रीज्यू, रिसेप्सन कस्तो रह्यो, ओबामासँग के कुरा भयो ?’ उहाँले सरल किसिमले भन्नुभयो– ‘३० मिनेट जति म ओबामा मेरै ठाउँमा आउला भनेर अरु मानिसहरुसँग कुरा गरेर बसें, पछि बंगलादेशका प्रधानमन्त्रीले किन यता पीएम, लेट्स गो टु मिट द प्रेसिडेण्ट एण्ड फष्र्ट लेडी भनेपछि म पनि उनलाई भेट्न गएँ ।’ सामान्य कुरा भएको र सँगै तस्वीर खिचेर फर्केको कोइरालाले बताए । मैले उहाँलाई त्यहाँ हामीमध्ये कोही गएको छैन, भित्र के व्यवस्था हुन्छ भन्ने कुरा कसैले ब्रिफ गरेको हुन्न, त्यसैले माफ पाउँ सम्माननीय प्रधानमन्त्रीज्यू भने । उहाँले हाँसेर ‘भइगो नि’ भन्नुभयो ।

घर आएर मैले आफ्नो सम्पर्क सूत्रमार्फत उक्त अवसरको फोटो प्राप्त गर्ने कोसिस गरें । केही क्षणमै उक्त फोटोको लिंक ह्वाइट हाउसबाट पाएँ । मैले प्रधानमन्त्री कोइरालाको फोटो सर्च गरें । त्यहाँ भएका सयौं फोटोमध्ये एउटा विशेष लाग्यो– प्रधानमन्त्री कोइराला, राष्ट्रपति बाराक ओबामा र फष्ट लेडी तीनै जनाको मुस्कानसहितको गज्जब तस्वीर थियो त्यो । हवाइट हाउसले त्यस दिन रिलिज गरेका सयौं फोटोमध्ये त्यो फोटो फरक थियो ।

बिहान ५ बजे नै उक्त फोटोलाई प्रिन्ट गरेर उहाँलाई भेट्न गएँ । फोटो हेरेर प्रधानमन्त्री कोइराला मुस्कुराउनुभयो । मैले हिजोका फोटामध्ये सबैभन्दा राम्रो भएको अवगत गराएँ । उहाँले धन्यवाद भन्नुभयो । त्यसपछि मैले उक्त फोटो भ्रमण दलका अन्य साथीहरुलाई बाँडें । नेपालका सञ्चारमाध्यमहरुमा पठाउने काम भयो । नेपालमा उक्त फोटा छापियो । उनीहरुले उक्त फोटोलाई जसले पठायो, उसकै नाम फाटोग्राफरमा छापिदिए । अच्चम ह्वाइट हाउसले दिने रिसेप्सनमा खिचिने यो तस्वीर २० माइल टाढाबाट होटल हेर्ने मात्र अनुमति हुने हामीजस्ता मान्छेहरुले खिचेको भनेर कसरी पत्याउने ? यदि ह्वाइट हाउसका अफिसियल फोटोग्राफर लरेन्स ज्याक्सनले नेपाली पढ्न सकेका भए कपी राइटको मुद्दाले कुन पाटो लिन्थ्यो, कुरा सोचनीय छ ।

होटलको सुइटबाट बाहिर निस्कनुअघि मैले प्रधानमन्त्री कोइरालालाई विगत केही वर्षयता ह्वाइट हाउसले अटोग्राफसहितको तस्वीर पठाउन छाडेको अवगत गराएँ । यो नै अफिसियल तस्वीर भएकाले कलेक्सनका लागि हजुरलाई मैले छापेर ल्याइदिएको भने । उहाँले मलाई पुनः धन्यवाद दिनुभयो । थाहा छैन, मैले छापेका यो तस्वीर र संयुक्त राष्ट्रसंघका महासचिवसँग अन्य दुई अवसरमा खिचेका तस्वीरहरु कतै झुण्डिएका छन् कि छैनन् ? मेरो स्मृतिमा ती तस्वीर आज एकाएक उपस्थित भए ।

(लेखक न्यूयोर्कस्थित नेपालका लागि वाणिज्य दूतावासको कार्यालयमा उपवाणिज्य दूतका रुपमा कार्यरत छन् ।)

Check Also

विश्वभर छरिएका तामाङहरुलाई एउटै मालामा गाँस्न अमेरिकामा सम्मेलन

आउँदो सेप्टेम्बर २ र ३ मा अमेरिकाको न्यूयोर्कमा अमेरिका र क्यानडामा रहेका तामाङहरु एकै ठाउँमा …