Home / News / अन्तर्वार्ता / कांग्रेसलाई हाँक्ने अब देउवाले नै हो, यसमा शंका छैन– डा. महत

कांग्रेसलाई हाँक्ने अब देउवाले नै हो, यसमा शंका छैन– डा. महत

० डा. प्रकाशशरण महत, कांग्रेस नेता

कांग्रेसको १३औं महाधिवेशन आइसक्यो । कांग्रेसमा नीतिगतभन्दा नेतृत्वको छलफल बढी हुने गरेको छ । चुनावी तयारी के–के गर्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको मूल नेतृत्वले व्यक्तिभन्दा पनि एजेण्डालाई प्राथमिकता दिनुपर्ने हो । तर, अहिलेसम्म कांग्रेस महाधिवेशनमा नीतिगत छलफल हुन सकेको छैन । मूल नेतृत्व नै त्यसलाई कार्यान्वयन गर्ने कुरा गम्भीर देखिंदैन । त्यसैले पनि मूल नेतृत्वले यस्ता कुरालाई ध्यान दिनुपर्छ । त्यसो त महासमिति बैठक, जिल्ला सभापतिको भेलामा नीतिगत कुरा नै छलफल हुने गरेका छन् ।

यस पटकको महाधिवेशनमा अब नीतिगत कुरा त छलफल हुने सम्भावना कम छ । नेतृत्वको दौडमा तपाईं कहाँ हुनुहुन्छ ?

व्यक्तिगत रुपमा मैले भन्दा कांग्रेस बनाउनुपर्छ भन्ने हो । व्यक्तिगत हिसाबले कुरा गर्दा म केन्द्रीय नेतृत्वमा लड्छु । त्यसो त मेरो दाबी पदाधिकारी नै रहन्छ । लामो समयदेखि पार्टीको केन्द्रमा बसेर काम गरेको छु । कांग्रेसको मूल नेतृत्व पार्टीमा परिवर्तन गर्ने, पार्टीमा सुधार गर्ने खालको आवश्यक छ । म सबल नेतृत्वको पक्षमा छु । सबल नेतृत्व भयो भने सुदृढ कांग्रेस बन्छ । सुदृढ कांग्रेस भयो भने मात्र नेपाली कांग्रेसले संविधान कार्यान्वयन गर्न सक्छ । त्यसैले संविधान कार्यान्वयनका लागि सबल कांग्रेस बनाउने मेरो उद्देश्य हो ।

मूल नेतृत्वमा कसलाई अगाडि सार्दा कांग्रेस तपाईंले भनेजस्तो सबल बन्छ ?

सबल नेतृत्व स्थापनाका लागि मूल नेतृत्वलाई सहयोग गर्ने हिसाबले म लागिरहेको छु । कांग्रेसलाई सक्षम नेतृत्व दिने अहिले देउवाजीले नै हो । सबै कार्यकर्ताले उहाँलाई भरोसाका नजरले हेरेका छन् । पार्टीका शुभचिन्तक, समर्थक सबैको नजर मूल नेतृत्वमा देउवाजीकै आशा–भरोसामा छन् । त्यसमा कुनै दुविधा छैन । मेरो पनि पदाधिकारी दाबी रहन्छ नै । तर, हामी देउवाजीलाई सहयोग गर्न लागिपरेका छौं ।

सबै चुनावमा लाग्ने महाधिवेशनका लागि बनाएका समिति पनि चुनावमै केन्द्रित हुने हुँदा समस्या पर्दैन ?

समग्र तयारीमा हामी जुटिरहेका छौं । विभिन्न पदका आकांक्षीहरु छन् । उनीहरु महाधिवेशनको तयारीसँगसँगै आफ्नो चुनावको तयारीमा छन् । विभिन्न पदका आकांक्षीहरु अगाडि आएका छन् । प्रतिनिधि चयनको प्रक्रिया चलिरहेको छ । समग्र तयारीको कुरा अगाडि नै बढेको छ । केन्द्रीय तहमा पनि सचिवालयले सबै तयारीको काम गरिरहेको छ । मंगलबार केन्द्रीय कार्यसमितिको बैठक पनि छ । त्यहाँ पनि महाधिवेशनको तयारी विषयमा छलफल हुनेछ । त्यसैका लागि बैठक राखिएको हो ।

अहिले समावेशिताको कुरा त छँदैछ । पार्टीभित्र पनि विभिन्न क्षेत्रबाट प्रतिनिधित्वको कुरा आउँला, कसरी टिम बनाउँदै हुनुहुन्छ ?

हामीले सक्षम र सबल नेतृत्व छान्नुपर्छ । जसले देशकै बाटो देखाउन सकोस् । हामी त्यस्तै खालको नेतृत्व ल्याउनुपर्छ भन्नेमा छौं । यहाँ समावेशिताको कुरा पनि आइहाल्छ । नेपालमा पार्टीहरुमा देउवाजीले नै हो समावेशिताको शुरुवात गर्नुभएको । त्यसैले ट्रेड युनियनको पृष्ठभूमि, विद्यार्थीको पृष्ठभूमिलगायतका क्षेत्रलाई पनि हामीले समेट्नुपर्छ । महिला, आदिवासी जनजाति र मधेसीलगायतको समावेशितालाई त विधानले पनि समेटेको छ । अरु क्षेत्रगत हिसाबले समावेशी बनाउनका लागि हामीले विधान संशोधन गर्नुपर्छ । हामीले त्यो पहल गर्छौं । विदेशमा रहेका जनसम्पर्क समितिहरुलाई पनि कसरी नेतृत्वमै आउन नपाए पनि उनीहरुको सहभागिताको सुनिश्चिताको बाटो हामी खोजिरहेका छौं । यहाँ आफू अनुकूलमा विधान संशोधनको कुरा पनि आएको छ । स्थानीय तहमा विधान संशोधन आवश्यक नहुने आफूलाई केन्द्रमा नेतृत्व मिलाउनुपर्ने अवस्थामा मात्र विधान संशोधन गर्नुपर्ने कुरा मिल्ने कुरा हुन सक्दैन । तर, प्रादेशिक संरचनामा जान भने पछि हट्नु हुँदैन । विधान संशोधन गर्ने बेलामा अञ्चलका ठाउँमा प्रदेशहरुको संरचनाको कुरा राख्न उत्तम हुन्छ ।

तपाईंलगायत कांग्रेसका धेरै नेताहरुले कांग्रेसले अरु पार्टीहरुलाई मिलाएर लैजाने भन्नुहुन्छ । तर, कांग्रेसलाई कसले मिलाइदिने ? संस्थापन र देउवा पक्ष भन्ने कांग्रेसमा कहिलेसम्म ?

तपाईंले महत्वपूर्ण कुरा उठाउनुभयो । पहिलेको विभाजनलाई स्मरण गराउने कोसिस जबर्जस्ती गरिन्छ । यसलाई त संस्थापन भनिने साथीहरुले सोच्नुपर्ने कुरा हो । निर्वाचनबाट निर्वाचित भएर आउने साथीहरुले नै न्याय गर्नुप¥यो । उनीहरुले काम गरेकोमा राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रत्याभूति खोजेका छन्, दिनुपर्छ । कार्यकर्ताले नेतृत्वको छहारी खोज्छ । नेतृत्वले त्यो दिनु पनि पर्छ । क्रियाशिलता र लोकप्रियतालाई ध्यान दिंदै मकहाँ कतिपटक आउँछ होइन जनताकोमा कति पटक गयो भनेर मूल्यांकन गर्नुपर्छ । तलैबाट यो यस्तो यो अर्को भन्ने कुराको अन्त्य गर्नुपर्छ । त्यो कुरा स्थापित गर्नका लागि १३औं महाधिवेशन सफल हुन्छ भन्ने लाग्छ मलाई ।

त्यसका लागि त नेतृत्वको दाबी गर्ने व्यक्तिले पनि मिलाउनुपर्ने होइन । अहिले संस्थापन पक्षलाई पनि विश्वासमा ल्याएर नेतृत्व लिनुपर्ने होइन र ?

संस्थापन र गैरसंस्थापन भन्ने कुरा मेट्नुपर्छ । त्यसैका लागि देउवाजीले प्रयास गरिरहनुभएको छ । उहाँले कोइराला परिवारसँग पनि पटक–पटक छलफल गर्नुभएको छ । नेपाली राजनीतिमा कोइराला परिवारको पनि महत्वपूर्ण भूमिका छ । त्यहाँ पहिलो नेतृत्व लिने उचाइको नेता नभए पनि योग्यताअनुसार उहाँहरुलाई पनि स्थान दिनुपर्छ । सबैलाई मिलाएर जाने सोच राखिएको छ । त्यसैका आधारमा टिम बनाउने विषयमा देउवाजी पक्ष–विपक्षका नेताहरुसँग छलफल गरिरहनुभएको छ । सकभर त सबैलाई मिलाएर सभापति पनि सहमतिमै तय गर्दा पार्टी एकता मजबुत हुन्छ । अरु साथीहरु पनि सभापतिका लागि सक्षम भए पनि देउवाजी अहिलेको आवश्यकता पनि हो ।

Check Also

mahendra-bd-shahi-interviewq

नसुध्रिएपछि लोकमानको यो हविगत भयो

भर्खरै मन्त्रिपरिषद् अध्यक्ष निर्वाचित भएका खिलराज रेग्मीलाई निकै दबाब दिएर तत्कालीन नेपाली कांग्रेस, नेकपा एमाले …