Home / News / अन्तर्राष्ट्रिय / सिरियामा शनिबारदेखि युद्धविराम

सिरियामा शनिबारदेखि युद्धविराम

फागुन ११, बेरुत, (एजेन्सी) । सिरियामा २८ फेब्रअरीदेखि लागू हुनेगरी युद्धविरामको प्रस्ताव गरिएको छ । आगामी शनिबारदेखि युद्धविरामका लागि सरकार र विद्रोही पक्षलाई अमेरिका र रसियाले सो प्रस्ताव गरेको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार यसअघिदेखि नै यी दुई देशले सिरियामा शान्ति स्थापनाका लागि पहल गरेको र सोही प्रयोजनका लागि युद्धविराम प्रस्ताव गरिएको हो । सिरियाली राजधानी दमासकसमा भएका शृङ्खलाबद्ध आक्रमणहरुमा परी कम्तीमा पनि १ सय ३४ जना सर्वधारणको ज्यान गएको एक दिनपछि सिरियामा यो युद्धविरामको प्रस्ताव आएको छ ।

तर, यस विषयमा सिरियाली सरकार र विपक्षीका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन । यस प्रस्तावले सिरियामा आतंककारी क्रियाकलाप मच्चाउँदै आएका इस्लामिक स्टेट्स र अल नुस्रा फ्रन्टका बारेमा भने केही बोलेको छैन । विश्लेषकहरुले सिरियामा आईएसको आतंक जारी नै रहेको र भूमिगत संगठनका रुपमा आतंक मच्चाएका यी संगठनका कारण भने हिंसा नरोकिन सक्ने जनाएका छन् । यसका साथै सिरियामा गएको पाँच वर्षदेखि आन्दोलन जारी राखेका विपक्षीहरुले पनि यस युद्धविरामका लागि शर्त अघि सारेका छन् ।

अमेरिका र रसियाले जारी गरेको विज्ञप्तिमा आगामी शुक्रबार मध्यरातदेखि सिरियामा युद्धविराम सुरु हुने जनाएका छन् । यस समाचारप्रति सिरियाली सरकारका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । अमेरिका र रसियाले यस युद्धविरामलाई सिरियामा शान्ति स्थापनाका लागि सुरु भएको एक पहलका रुपमा लिएका छन् ।

दुई हप्तामात्र अघि जर्मनीमा भएको विश्वका विभिन्न देशका गृहमन्त्रीहरुको बैठकमा सिरियामा शान्ति स्थापनाका लागि दुवै पक्षलाई युद्धविरामका लागि आग्रह गर्ने सहमति भएको थियो । सोही कार्यक्रमबमोजिम यी दुई देशको पहलमा यो प्रस्ताव आएको हो । तर, यसअघि जेनेभामा साउदी अरेबियाको समन्वय र राष्ट्रसंघको समध्यस्थतामा भएको शान्तिवार्ता भने सफल हुन सकेको थिएन ।

सिरियामा गएको करिब पाँच वर्षदेखि हिंसा जारी नै रहेको छ । त्यहाँको गृहयुद्धमा परी २ लाख ६० हजारभन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको छ । त्यसअघि पनि त्यहाँ शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ, साउदी अरेबियालगायतले निकै प्रयास गर्दै आएका छन् । तर सो प्रयास सार्थक हुन सकिरहेको छैन ।

यस पटकको यो युद्धविराम विपक्षी तथा सरकारी सेनाकै तर्फबाट पालना होला र सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि शान्तिको सार्थक प्रयास सफल होला भन्नेमा धेरैको आशङ्का नै रहेको बताइन्छ ।

Check Also

obama-trump2

ह्वाइट हाउसमा ट्रम्पलाई आबामाले गरे स्वागत, डेढ घण्टा छलफलमा के–के भयो ?

कात्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति बाराक ओबामाबीच निर्वाचनपछि पहिलो …