Home / News / अन्तर्वार्ता / क्युबा–अमेरिकाको त सम्बन्ध स्थापित भयो भने नेपाल–भारतको किन हुँदैन ?

क्युबा–अमेरिकाको त सम्बन्ध स्थापित भयो भने नेपाल–भारतको किन हुँदैन ?

० मिलन तुलाधर, परराष्ट्रविद्

२७ वर्ष इसिमोडमा काम गरी डाइरेक्टर पदबाट केही वर्षअघि मात्र अवकाश लिएका मिलन तुलाधरले एमाले विदेश विभाग सदस्यका रुपमा समेत काम गरेका थिए। तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनका परराष्ट्र सल्लाहकार भएर काम गरेका तुलाधर विदेशनीति बुझेका व्यक्ति हुन्। वैदेशिक मामिलासम्बम्धी काममा संलग्न रहँदै आएका तुलाधरसँग विशेष गरेर छिमेक नीतिबारेमा मोहन बास्तोलाले गरेको कुराकानीः

अहिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री हुनुहुन्छ । यही बेला सबैभन्दा बढी विवाद छिमेकी मुलुक भारतसँग देखियो । यसलाई कसरी हेर्नुभएको छ ?

विश्वका अरु छिमेकी देशको अवस्थालाई हेर्ने हो भने पछिल्लो समय उनीहरुको सम्बन्धमा सुधार हुँदै आएको देखिन्छ । इजरायल र प्यालेस्टाइन हुन् वा अरू कुनै देश नै किन नहुन् तिनीहरूको सम्बन्ध सुध्रँदै गएको छ । विभाजित देशहरू एकीकृत हुँदै गएको वर्तमान अवस्थामा नेपालको छिमेक सम्बन्धमा सुधार नदेखिनु निश्चय पनि राम्रो कुरा होइन । नमिलेका देशहरू मिलेर बस्न थालेका छन् । क्युबा र अमेरिकाबीच ६० वर्षपछि पुनः सम्बन्ध स्थापित भएको छ । यस्तो समयमा नेपाल र भारतजस्ता सांस्कृतिक, ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध भएका देशमा कुनै हालतमा पनि सम्बन्ध खराब हुनुहँुदैनथ्यो । तर, खराब भयो, त्यो राम्रो कुरा होइन । लामो समयपछि प्रधानमन्त्रीको भारत भ्रमण भएको छ । यसले केही विवादित समस्या समाधानमा पनि सुधार होला भन्ने अपेक्षा गर्न सकिन्छ ।

एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार रहेका बेला तपाईं परराष्ट्र सल्लाहकारका रुपमा पनि काम गर्नुभयो । त्यसबेला भारतस“गको सम्बन्धमा केही समस्या देखियो । बेलाबेलामा नेपाल सम्बन्धमा यस्ता उतारचढाव देखा पर्नुलाई कसरी लिनु हुन्छ ?

यो सही प्रश्न हो । त्यतिबेला पनि केही समस्या भएको थियो । यो यथार्थपरक सम्बन्ध हुनुपर्नेमा त्यसो नभएकाले यस्तो भएको हो । यसमा नेपालका पनि केही कमजोरी होलान् तर मुख्यतः भारतको प्रशासनयन्त्रको नेपाललाई हेर्ने दृष्टिकोणकै कमजोरीले यस्तो भएको हो भन्न सकिन्छ । उनीहरूले आफ्ना कमजोरी कतिपटक त स्वीकार पनि गरेका छन् । भारतले सबै छिमेकी देशसँग राम्रो सम्बन्ध राखेर नै आफ्नो देशको विकास गर्नसक्छ । कुनै पनि देशसँग सम्बन्ध खराब गरेर कसैलाई पनि आफ्नो देशको विकासमा कुनै फाइदा पुग्दैन ।

नेपाल पूरै परनिर्भर रहेका बेला भारतले गर्ने यस्तो व्यवहारको असर त पर्ला नि ?

नेपालको अर्थतन्त्र वास्तवमा भन्ने हो भने ऊर्जामा आधारित अर्थतन्त्र हो । ऊर्जाबाटै नेपाल माथि उठ्ने हो । भारतको अहिलेको ऊर्जाको स्थिति हेर्ने हो भने कुल ऊर्जाको ६१ प्रतिशत ऊर्जा कोइलाबाट उत्पादन हुन्छ । जलवायु परिवर्तनको मूल कारण यही कोइलाको प्रयोग हो । संयुक्त राष्ट्रसंघमा भारतले कोइला हटाउने प्रतिबद्धता जनाई पनि सकेको छ । अहिले विश्वव्यापी रूपमै डिजेलको भाउ घटेको हुनाले डिजेलबाट ऊर्जा उत्पादनमा पनि आकर्षण बढेको छ । तर, अन्त्यमा सोलार, हाइड्रो, बायोग्याँसमा नगई सुखै छैन । यसले वातावरणलाई हानि पनि गर्दैन । तर, अहिले भारतको अधिकतम ऊर्जा कोइलामा निर्भर छ । हामीकहाँ भारतबाट आउने ऊर्जा पनि कोइलाबाटै उत्पादित ऊर्जा हो । हामी सबैको चासो भनेको हाइड्रोबाट ऊर्जा उत्पादन गर्ने हो । त्यसका लागि नेपालमा ठूलो सम्भाव्यता छ । नेपालमा हाइड्रोबाट ऊर्जा उत्पादन गर्नु भनेको नेपालका लागि, भारतका लागि मात्र होइन कि विश्वकै वातावरणका लागि पनि फाइदाको कुरा हो । त्यसकारण पनि यो विश्वकै चासोको विषय हो । नेपालले कुनै चीज बेच्छ भने बार्गेनिङ गरेर सकेसम्म बढी फाइदा लिनुपर्छ । बेच्नेले सकेसम्म धेरै फाइदा लिन खोज्छ नै । आफ्नो माल कसैले सित्तैमा दिँदैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै हामी पैसा तिरेर किन्छौं भनेका थिए । विद्युत्मा उनीहरूले आँखा गाडे भनेर टाउको दुखाउनु आवश्यक नै छैन । दुवैलाई विन–विन हुने गरी गयो भने दुवै देशको हित हुन्छ । यसका लागि हामीले भारतलाई अझ कज्याउन सक्नुपर्छ । हामीले हात माथि गर्ने अवस्था आउनेबित्तिकै भारत झुक्छ । अहिले इन्धन आपूर्तिमा केही समस्या हुँदा नेपालमा कति समस्या भयो । यस्तो अन्त्यका लागि पनि हामीले ऊर्जामा आत्मनिर्भर हुनु आवश्यक छ । त्यसका लागि नेपालले भारतसँग कूटनीतिक पहल गर्नुपर्छ ।

तर, नेपालको कूटनीति नै असफल भएका कारण समस्या भएको हो भन्ने आरोप छ नि ?

हामीले कुनै पनि देशसँग आर्थिक सम्बन्ध राख्दा पारस्परिक लाभ र समानताका आधारमा राख्नुपर्छ । हामी एउटा सार्वभौम देश भएपछि हामीले आफ्नो स्वाधिनता खोज्छौं, समानता खोज्छौं, पारस्परिक लाभ खोज्छौं । भारतले पनि त्यो कुरा खोज्छ, त्यो स्वाभाविक कुरा हो । तर, हाम्रो संवेदनशीलतालाई भारतले बुझ्नुपर्छ । किनभने, हाम्रो देश सानो छ । यसो भन्दैमा हामी पनि साना छौं भनेर मात्र बस्ने होइन । हामी पनि स्मार्ट हुनुपर्छ । स्विट्जरल्यान्ड हामीभन्दा सानो छ । ऊ स्मार्ट भएरै त्यहाँ वरपरका ठूला देशबाट फाइदा उठाइरहेको छ । स्विट्जरल्यान्डको वरिपरि जर्मनी, इटाली, फ्रान्सजस्ता ठूला देश छन् । आफ्नो स्मार्टपन देखाएर उसले ती ठूला देशबाट फाइदा लिइरहेको छ । हामीले पनि त्यस्तो स्मार्टपन देखाएर चीन र भारतबाट फाइदा उठाउनुपर्छ । अबको कूटनीति विकासका एजेन्डालाई अगाडि बढाउन केन्द्रित हुनुपर्छ । त्यसका लागि सम्बन्ध सामान्यीकरण गर्ने, मित्रता बढाउने गर्नुपर्छ । यसो गरेपछि अन्ततः हाम्रो आर्थिक सम्बन्ध पनि पारस्परिक लाभका आधारमा हुनेछन् । मलाई लाग्छ, प्रधानमन्त्रीको भ्रमणपछि दुई देशबीचको व्यापारमा देखा परेका समस्या पनि सामान्य बन्दै जाने र भविष्यका लागि विकासको बाटो खुल्ने अपेक्षा गर्न सकिन्छ । सम्बन्ध विकास गर्ने भनेको अन्ततोगत्वा व्यापार वृद्धि र आर्थिक सुधारका निम्ति नै हो । त्यस्तो सम्भावना मैले देखेको छैन । राष्ट्रियताको मामिलामा ओली सरकारले जुन अडान लिएको छ, त्यही अडानका कारण नै नेपालले नयाँ भिजन पनि देखेको छ । इन्धनमा एक देशमा मात्र निर्भर नहुने, भारतबाहेकका अरू देशसँग पनि पारवहन सन्धि गर्ने र नेपाललाई पनि आत्मनिर्भर बनाउने कुरा आएका छन् । यो सकारात्मक पक्ष हो ।

के अब भारतसँगको सम्बन्ध सुधार हुनेमा तपाईं आशावादी हुनुहुन्छ ?

दुइटा छिमेकीका बीचमा सम्बन्ध बिगारेर, सधैं झैझगडा गरेर मात्र बसेर कसलाई फाइदा हुन्छ ? त्यसले कसैलाई फाइदा हुँदैन । नहुनुपर्ने घटनाहरू भए त्यसमा दोषी को हो भन्ने सबैलाई थाहा छ । तर, उहाँहरूले गल्ती सच्याइसकेपछि हामीले घरिघरि त्यही कुरा कोट्याइरहनुपर्ने आवश्यक छैन । कुनै पनि देशप्रति कुनै पनि देशले विरोधी भावना राख्ने भन्ने कुरा स्थायी हुँदैन । क्युबा र अमेरिकाबीच त सम्बन्ध सामान्यीकरण भयो । सन् १९६० को दशकमा मिसाइल क्राइसिस भयो । क्युबाले त्यत्रो मिसाइल ल्याएर राख्यो । अमेरिकाले त्यहाँ न्युक्लियर बम नै खसाल्ने हो कि भन्ने कुरा पनि आए । ती देशमा त सम्बन्ध सामान्य भयो भने हामी त झन् सम्बन्ध सामान्य नभई बस्नै सक्दैनौं । सधैं निहुँ खोजेर भारतसँग झगडा गरेर बस्ने होइन । भारतले थिचोमिचो ग¥यो भने आफू स्मार्ट बनेर त्यसलाई परास्त गर्नुपर्छ । स्विट्जरल्यान्डमाथि पनि थिचोमिचो भएको थियो । उसले त्यो थिचोमिचोलाई अवसरमा बदल्यो, हामीले पनि अवसरमा बदल्न सक्नुपर्छ ।

Check Also

घरभित्र झगडा भएपछि छिमेकीले चासो व्यक्त गर्नु स्वाभाविक हो

डा. प्रकाशचन्द्र लोहनी पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका व्यक्ति हुन्। उनले पटक–पटक परराष्ट्र, अर्थजस्ता महत्वपूर्ण …