Home / News / विचार / पुष्पकमल र बाबुराम वाक युद्ध

पुष्पकमल र बाबुराम वाक युद्ध

० सुरज भण्डारी
journalistsuraj@gmail.oom

अहिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति अभियानका संयोजक पूर्वएमाओवादी नेता डा. बाबुराम भट्टराईबीच वाकयुद्ध चलिरहेको छ । कहिले बाबुराम रक्षात्मक देखिन्छन् भने कहिले पुष्पकमल रक्षात्मक शैलीमा देखिन्छन् । आफू अनुकूलको मञ्च पाउँदा एकले अर्कोलाई खुइल्याउन दुवै हदैसम्मको आक्रामक शैलीमा प्रस्तुत हुन्छन् । हुन त पार्टी कमजोर बनाउने गरी बाबुरामले अर्को उनकै शब्दमा शक्ति बनाएपछि त्यसको रिस पुष्पकमलमा हुनु स्वाभाविकै नै होला अर्कोतर्फ आफूले भनेबमोजिम एमाओवादी चल्ने छाँट नदेखिएपछि बाहिरिनुपर्ने अवस्थाको दोषी पुष्पकमललाई बाबुरामले देख्नुको प्रतिस्वरुप यसरी वाकयुद्ध भैरहेको हुनुपर्दछ । जसरी जसको भागिदार नेतृत्वकर्ता हुन्छ स्वभावतः अपजसको जिम्मेवार पनि नेतृत्वकर्ता नै हुने भएकाले प्रहार नेतृत्वकर्तामा केन्द्रित गरिएको हुनुपर्दछ । अथवा नेतृत्वकर्तालाई खुइल्याउन सके आफ्नो समूह बलियो भैराख्ने र आलोचनामा आफ्नो शाख बच्ने मनोविज्ञानले पुष्पकमल र बाबुरामको हकमा पनि काम गरेको हुनसक्दछ ।

प्रचण्ड र लालध्वजबाट परिचय बनाउने समयदेखिको एमाओवादीभित्र पुष्पकमल दाहाल र बाबुराम भट्टराईको सम्बन्धमा पार्टीगत रुपमा मात्र नभई व्यक्तिगत रुपमा पनि यतिबेला दरार देखिएको छ । हुन त यी दुईबीचको सम्बन्ध नेकपा माओवादी नाम रहँदा सशस्त्र युद्धको समय अघिदेखि नै कहिले पनि सुमधुर र एकनासले अघि नबढेको एमाओवादीको दस्तावेजले देखाउँछ । बाबुरामलाई कारबाही गर्नेदेखि लिएर कहिले बाबुरामकै नीतिअनुरुपको निर्णय गरेर एमाओवादी अघि बढेको दस्तावेजबाट पुष्टि हुन्छ । चुनवाङ बैठक हुँदै पालुङटार बैठकको निर्णयले एमाओवादी जुन हिसाबले अघि बढेको छ, त्यसमा डा. बाबुराम भट्टराईको नीतिले काम गरेको देखिन्छ । त्यसअघि बाबुराम पार्टीमा रक्षात्मक नै देखिएको भए पनि त्यसपछि उनी आक्रामक बन्ने अवस्था दस्तावेजले देखाउँछ ।

नेकपा माओवादी हुँदै एमाओवादी बन्दासम्म गरिएका तात्कालिक र दीर्घकालीन निर्णयले पुष्पकमललाई एमाओवादीका तत्कालीन नेताहरु मोहन वैद्य र बाबुराम भट्टराईमध्ये दुवैले सँगै साथ दिएको पाइँदैन । कहिले वैद्य, पुष्पकमलको नजिक हुन्छन् र त कहिले बाबुराम, पछिल्लो पालुङटार बैठकपछि भने बाबुराम स्थायी जस्तै देखिँदा वैद्यले पार्टी नै फुटाए, यसबीचमा नारायणकाजी पुष्पकमलसँग नजिकिए, वैद्य सँगै गएका नेत्रविक्रम चन्दले अर्को पार्टी खडा गरे, यिनीहरुभन्दा पहिला पार्टी छाडेका र पार्टीले कारबाही गरेका रविन्द्र श्रेष्ठ, मातृका यादवलगायत कोही अर्को पार्टीमा गए त केहीले नयाँ पार्टी जन्माए ।

यसरी हेर्दा नेकपा माओवादी हुँदै एमाओवादी बनेर अघि बढिरहेको यो पार्टी धेरै पटक चोइटिएको छ, चोइटिएको असर पनि संविधानसभा भाग २ मा प्राप्त मतले देखाएको छ ।

धेरै पटक पार्टी चोइटिंदा परेको असरले पार्टी नेतृत्वकर्ता पुष्मकमल दाहाललाई समय–समयमा उत्तेजित पार्नुमा रिस वा चिन्ताले काम गरेको हुनुपर्दछ । तर, अहिले त्यो रिस र चिन्ता पुष्पकमलमा अलि बढी देखिएको देखिन्छ । अरु मातृका यादवलगायतका नेताले पार्टी छाड्दा त्यसलाई महत्वहीन जस्तै ठानेका पुष्पकमलले मोहन वैद्य, नेत्र विक्रम चन्दलगायतले पार्टी फुटाउँदा आलोचनात्मक टिप्पणी गरे पनि बाबुरामको साथ रहेकाले हुनसक्दछ खरो रुपमा प्रस्तुत भएनन् । तर अहिले पालो बाबुरामको छ र उनले पार्टी छाडेर बिस्तारै आफूतर्फ आफ्नो पार्टीमै रहँदादेखिको समूह तान्ने अवस्था देखिएको छ, यसले पुष्पकमललाई निकै उत्तेजित पारिरहेको छ ।

यतिसम्म उत्तेजित देखिन्छन् पुष्पकमल कि अहिले बाबुरामलाई व्यक्तिगत रुपमा लाञ्छना लगाउनमा नै आफ्नो मन्तव्यको धेरै समय खर्चिरहेका छन् । उसो त बाबुराम पनि के कम मौका मिल्दा पुष्पकमललाई खुइल्याउन लागि नै परेका छन् । यो लेखक न स्वघोषित नयाँ शक्तिको समर्थन गर्छ, न एमाओवादीको विचारको वकालत नै, न बाबुरामलाई दोषरहित नेता मान्छ, न पुष्पकमललाई व्यक्तिगत रुपमा बेठिक ठान्छ तर नेपालको परिदृश्यमा विगतदेखि एउटा समस्या छ जुन समस्या अहिले फेरि बाबुराम र पुष्पकमलमा देखिएको छ । पार्टीमा सँगै रहँदा उसको आलोचना गर्न कञ्जुस्याइँ गर्ने, उसका गलत नीति र गलत तरिकाको न त खुल्लमखुल्ला बहस गर्ने, न त उसका कमजोरी सच्याउन पहल गर्ने, न त उसका गलत रवैयाका कारण पार्टी र देशका लागि पर्ने असरलाई रोक्न पहलकदमी नै गर्ने तर जब सम्बन्ध केही नराम्रो हुन्छ वा आफूसँग नजिक नहुने अवस्था रहन्छ अनि हदैसम्म तल झरेर व्यक्तिगत लाञ्छना लगाउन पछि नपर्ने परिपाटी नेताहरुमा रहेको देखिन्छ । यो अहिले बाबुराम र पुष्पकमलमा मात्र होइन, कांग्रेसभित्र गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा, एमालेभित्र झलनाथ खनाल, माधव नेपाल, केपी ओली र तत्कालीन मालेको अध्यक्ष हुँदा वामदेव गौतममा पनि लागू भएको थियो । सँगै रहँदा उसको खराब प्रवृत्तिको आलोचनाभन्दा पार्टीगत वा व्यक्तिगत रुपमा लाभको विषयसँग दाँजेर मौन बस्ने, पार्टी छाडेपछि या दूरी बढेपछि मानमर्दन नै छाडेर लाञ्छित गर्ने काम विगतदेखि नै भएको देखिन्छ । टिप्पणी विचार र नीतिगत तहमा भएका निर्णयको आधारमा गरिनुपर्दछ, न कि उसको व्यक्तिगत चारित्रिक गुणको आधारमा, आलोचना हुनुपर्दछ तर मर्यादित ढंगले र स्वच्छ रुपबाट आलोचना गरिनुपर्दछ । दोष र समस्या आफूसँग नहुँदा मात्र होइन हुँदा पनि देख्न सक्नुपर्दछ र सच्याउन आवश्यक परे दबाब पनि दिनुपर्दछ, त्यसो नगरी पार्टी छाडेकै आधारमा र पार्टी छोडेकै कारणले व्यक्तिगत रुपमा लगाइने लाञ्छनाले नेतृत्वको हित गर्दैन न त त्यसले पार्टी नै बलियो बनाउन मद्दत गर्दछ । एकछिन रिस शान्त त होला, ताली त पाइएला तर त्यसको असर पुस्तान्तरसम्म रहन्छ ।

अहिले पुष्पकमलले बाबुरामलाई राष्ट्रघाती बनाउन उद्दत देखिन्छन्, बाबुराम प्रधानमन्त्री हुँदाको समय र त्यसअघिको समयमा समेत उनको अगुवाइमा भए–गरेका सम्झौताले उनीमाथि प्रश्न उभ्याउने थुप्रै ठाउँहरु देखिन्छन् । तर, त्यो अवस्थामा पनि पुष्पकमल नै बाबुरामको नेता थिए, उनी नै नेतृत्वमा थिए त्यतिखेर यी सबै कुरा किन देखेनन्, देखेको भए किन रोकेनन् यो प्रश्न पुष्पकमलतर्फ सोझिने निसन्देह छ । अर्कोतर्फ पुष्पकमलले नेतृत्व दिन सक्दैनन्, एमाओवादीले अबको देशको आवश्यकता पूरा गर्न सक्दैन भनेर संविधान बनाउने ऐतिहासिक कामको बेलामा असहयोगी भूमिका देखाएर बाहिरिएका बाबुरामले किन यो बेलामा आएर पुष्पकमललाई रुचाएनन्, यतिका वर्षसम्म उनको नेतृत्व मानेका उनले अकस्मात अहिले नमान्नु पर्ने कारण के थियो, तर एउटा शाश्वत सत्य के हो भने विचार र नेतृत्व नमान्ने अधिकार सबैमा हुन्छ बाबुराम बर्हिगमनलाई पुष्पकमल र उनको पार्टीले त्यही रुपमा बुझ्नुपर्दछ ।

सँगै हुँदाको त्यो अवस्थामा दुवै चुप बस्ने अहिले विचार मिलेन वा आफ्नो नेतृत्व नमानेर अलग्गिएपछि अहिले पुष्पकमल दाहाल, बाबुराम भट्टराईमाथि र आफूले भनेअनुरुप पार्टीले निर्णय नगर्दा वा निर्णय गराउन नसक्दा पार्टी छाडेर अर्को उनकै भाषामा शक्ति बनाएर पुष्पकमल माथि बाबुराम यसरी खनिंदा जनतामाझ धेरै विषय त उदांगो त हुन्छ तर यसले भविष्यमा पार्टीहरुलाई सही दिशाको रेखांकन गर्न सक्दैन, व्यक्तिगत टिप्पणी नभई एकले अर्कोलाई पार्टीले गर्ने तात्कालिक निर्णय, अँगाल्ने दीर्घकालीन विचार र व्यक्तिगत रुपमा देशसँग जोडिने सन्दर्भमा दिने अभिव्यक्ति र गर्ने व्यवहारमा केन्द्रित रही व्यक्तिगत लाभ वा हानिभन्दा पर गई दुवै प्रस्तुत हुनु बुद्धिमानी हुनेछ ।

Check Also

sarad-pokhrel

ब्रेजिक्ट र ट्रम्पको उदय

स्वदेश र विदेशका विज्ञहरुको अंक गणितीय प्रक्षेपणलाई गलत साबित गर्दै ७० वर्षीय डोनाल्ड ट्रम्प अमेरिकी …