Home / News / विचार / तपाईं आस्तिक कि नास्तिक ?

तपाईं आस्तिक कि नास्तिक ?

० मिलनकुमार शाही

भनिन्छ– जब चारैतिर बाटो बन्द हुन्छ, निराशा छाउँछ अनि मानिसले आफूलाई भगवानको भरोसामा छोड्दछ, मन्दिर धाउँछ, भगवानसँग प्रार्थना गर्दछ । आफ्नो जिन्दगीका सही र सुखका मार्गहरु पहिल्याउन मद्दत माग्दछ । मान्छे स्वार्थी हुन्छ । जबसम्म पुगेसरी हुन्छ, आफ्नो मिहिनेत र भाग्यले सो प्रगति गरेको घमण्ड गर्दछ । तर, जब दुःख पर्दछ अनि आफ्नो भाग्यलाई दोष दिन्छ । नियतिले ममाथि नराम्रो खेल खेल्यो भनी संसारकै अभागी मान्छे ठान्दछ आफूलाई ।

संसारमा यस्ता धेरै मनिस छन्, जसले आफूलाई संसारकै अभागी ठान्छन् । चप्पलसम्म लगाउन नपाउनेले खुट्टा नै नभएको मान्छेलाई हेरेर आफू त भाग्यमानी रहेछु, कम्तीमा चप्पल भएमा लगाउने खुट्टा त छन् मसँग भनेर कर्म गर्नतर्फ लाग्नुपर्छ । हामीले भाग्यमा होइन कर्ममा विश्वास गर्नुपर्दछ भन्ने थाहा पाउँदापाउँदै पनि बिर्सन्छौं । गाउँघरतिर एउटा कहावत छ– भाग्य छ भन्दैमा चाल्नामा दूध दोएर दूध अडिंदैन । त्यसैले भाग्यलाई यथार्थ बनाउन कर्म गर्नुपर्दछ । भाग्यलाई बलियो बनाउने कर्म नै हो ।

हामी भगवानको पूजा–आराधना गर्छाैं । के साँच्चै भगवान छन् त ? यसको जबाफ सायद अनुत्तरित नै छ । यो त आस्था, श्रद्धा तथा विश्वासको कुरा हो । भगवान भनेर विभिन्न रुपको कल्पना गरेर बनाइएका प्रतिमा र तस्वीर मानव समाजमा आस्था, श्रद्धा र विश्वासका धरोहर हुन्, नियम कानून हुन् । जुन पाप र पुण्यको भय देखाई मानव समाजको रक्षकका रुपमा प्रतिस्थापन गरिएको छ । जसबाट पुण्य गरे स्वर्ग र पाप गरे नर्कको बास हुन्छ भन्ने पुराणमा उल्लेख गरिएअनुरुप त्यसैलाई परापूर्वकालदेखि अदृश्य दैवी न्याय प्रणालीका रुपमा स्थापित गरेर मानव मात्रलाई आचारसंहितामा बाँधेर सामाजिक न्याय प्रणालीको व्यवस्था गरिएको पाइन्छ । मानव कल्याणका लागि दैवी शक्तिलाई ईश्वरीय शक्तिका रुपमा हरेक तहका नैतिक, सामाजिक, आध्यात्मिक र भौतिक सिद्धान्तको प्रतिपादन गरी भौतिकवाद, सांसारिक र मानववादको संरचना गरिएको छ । चाहे त्यो भिन्नभिन्न देश होस् या धर्म, चाहे त्यो एउटै समुदायका जातजाति । हरेक क्षेत्र, समुदाय, धर्म र देशमा परापूर्व कालदेखि नै धर्मग्रन्थहरु निर्माण गरी जन्मनुपूर्वदेखि मृत्युपर्यन्तसम्मका कर्मकाण्ड तथा रीतिरिवाज पूरा गर्ने गरिन्छ ताकि मानिसले हरेक व्यक्ति, परिवार र समुदायसँग सम्बन्ध बनाइरहोस् ।

यिनै ग्रन्थलाई आधार मानेर बनाइएका नियम–कानून अहिले एक्काइसौं शताब्दीमा विकासोन्मुख देशहरुमा सानालाई ऐन र ठूलालाई चैन पनि भएको छ भने ठूला र विकसित देशमा यसको कठोरताका साथ पालना गरिएको पाइन्छ । ऋषिमुनि, पतिव्रता नारी तथा असल चरित्र भएकाहरुले दिएको श्राप दण्ड हुन्थ्यो, त्यसरी नै आफूले आफ्नो जीवनमा गरेको कर्मको फल मृत्युपश्चात् त्यसैअनुरुप पुरस्कार वा सजायका रुपमा भोग्नुपर्ने कुराबाट समाजलाई सही दिशातिर निर्देश गर्ने प्रयत्न गरिएको पाइन्छ । त्यसैलै त न्याय प्रणालीमा सुधार गरी सजायअन्तर्गत बिगो भराउने, काराबास तथा मृत्युदण्ड आदि सजायको व्यवस्था गरी मानव समाजलाई एकअर्काप्रतिको उत्तरदायित्व र सम्बन्ध असल र दिगो बनाउन उत्प्रेरित गरिएको छ ।

धर्मग्रन्थ र नियम–कानूनमा जे–जति उल्लेख गरिए पनि असल आचरण, असल सम्बन्ध र एकअर्काप्रतिको विश्वासले सभ्य समाजको निर्माण हुन्छ जहाँ ईश्वरलाई सृष्टिकर्ता, पालनकर्ता, रक्षक, दुःखहर्ता जेसुकै भनी वर्णन गरिए पनि हामीले ईश्वरलाई एक साझा अभिभावकको रुपमा हृदयमा राख्नुपर्दछ । जसरी अभिभावक नभएका बालबच्चाले बाटो बिराउने सम्भावना बढी हुन्छ, त्यसरी नै ईश्वरलाई अभिभावकका रुपमा आस्थापूर्वक हृदयमा राख्नाले गलत काम गर्न हामीमा डर पैदा हुन्छ, जसले गर्दा सभ्य समाजको निर्माणमा सहयोग मिल्छ ।

ईश्वरका नाम, रुप जे–जति वर्णन गरिए पनि हामी सबैको साझा भगवान एउटै छन् भन्ने विश्वास गरिन्छ । हामी जति शिक्षित भए पनि ढुंगाको मूर्तिमा विश्वास गर्ने गर्छौं । यसको एउटै कारण हो– ईश्वरलाई कसैले देखेको हुँदैन । त्यसैले ईश्वर हामीमाझ छन् भन्ने विश्वास दिलाउनका लागि मूर्ति बनाई पुज्ने गरिन्छ, जसले गर्दा हामीमा ईश्वरप्रतिको आस्था र मनमा भय पैदा हुन्छ र त्यही भयलाई हामी ईश्वर भनी पुज्छौं ।

हरेक धर्मका धर्मग्रन्थ हुन्छन् । जसले मानव समाजलाई मार्गदर्शनका रुपमा स्थापित गरिराखेको हुन्छ । जसमा जन्म, मृत्यु र जीवनका नियमहरु वर्णन गरिएका हुन्छन् । माता–पिता, छोरा–छोरी, पति–पत्नीबीचको सम्बन्धको नियम बनाइएका हुन्छन् । जन्मदेखि मृत्यु पर्यन्तसम्मका क्रियाकलापलाई नियम बनाई कठोरताका साथ पालन गर्न उत्प्रेरित गरिन्छ । यदि यस्ता नियमहरुको पालना गरिएन भने मनुष्य, मनुष्य रहँदैन । पशुका लागि नियम पालना पनि गर्नु पर्दैन ।

भगवान मान्नु र नमान्नु, आफू आस्तिक या नास्तिक जे भए पनि जुन व्यक्तिमा ‘भय’ हुँदैन, त्यो व्यक्ति अभिभावकबिनाको घर, शिक्षकबिनाको विद्यालय र असल नेताविनाको देशजस्तै हुन जान्छ । परिवारमा अभिभावकको भय, समाजमा कानूनको भय र संसारमा ईश्वरीय दैवीशक्तिको भय हुनु अनिवार्य हुन्छ अनि मात्र सभ्य समाजको निर्माण हुन्छ । त्यसैले हामी सबै मिलिजुली सभ्य समाजको निर्माणमा योगदान पु¥याऔं, यसमा मानव जगतको कल्याण छ ।
न्यूयोर्क

Check Also

राष्ट्रको विकास र गैरआवासीय नेपालीको भूमिका

राष्ट्र परिचय, विश्वमा आफूलाई परिचित गराउने आधार हो । यही राष्ट्रको विकास वा निर्माणसँग जोडिएको …