Home / News / प्रवास / नेपाल–अमेरिका एकता समाजको अधिवेशन सम्पन्न

नेपाल–अमेरिका एकता समाजको अधिवेशन सम्पन्न

लस एञ्जलस । नेपाल–अमेरिका एकता समाजको आइतबार आर्टेसियामा वार्षिक अधिवेशन सम्पन्न भएको छ । सन् २००५ मा स्थापित संस्थाले ४ सयभन्दा बढी सदस्य बनाएको छ । संस्थाले लामो समयदेखि साउदर्न क्यालिफोर्नियामा विभिन्न रचनात्मक कार्यहरू गर्दै आइरहेका छन् ।

अधिवेशनमा वार्षिक प्रगति प्रतिवेदन महासचिव इन्दिरा त्रिपाठीले प्रस्तुत गरेकी थिइन् भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष झमक निरौलाले प्रस्तुत गरेका थिए । नेपाल सरकारका वाणिज्य दूत ऋषि ढकाल प्रमुख अतिथि रहेको कार्यक्रम अध्यक्ष शारदा श्रेष्ठको सभापतित्वमा भएको थियो भने सञ्चालन महासचिव इन्दिरा त्रिपाठीले गरेकी थिइन् ।

कार्यक्रममा चक्रपाणि मिश्रलाई विगतमा गरेको उत्कृष्ट कार्यवापत प्रेसिडेन्ट पदकद्वारा सम्मान गरिएको थियो । समारोहमा संस्थाका आजीवन, सल्लाहकारलगायत विभिन्न व्यक्तिलाई उनीहरूको कामको कदर गर्दै सम्मान गरिएको थियो ।

त्यसैगरी अधिवेशनले नयाँ कार्यसमितिको अनुमोदनसमेत गरेको छ । नवगठित कार्यसमितिमा अध्यक्ष सूर्य प्रसाईं, प्रथम उपाध्यक्ष टेकबहादुर लामा, द्वित्तीय उपाध्यक्ष डिल्ली सिलवाल, महासचिव डोल्मा लामा, कोषाध्यक्ष अञ्जना बस्नेत र सदस्यहरूमा बद्री बराल, बीरवल बुढाथोकी, चक्रपाणी मिश्र, चन्द्रप्रसाद सिवाकोटी, देवीचरण घिमिरे, दीपा पौडेल, ज्ञानेन्द्र गुरुङ, नवीन पोखरेल र तुलसा कार्की रहेका छन् । लस एन्जल्स क्षेत्रमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले अधिवेशन सफलताका लागि शुभकामना प्रदान गरेका थिए ।

वर्तमान कार्यसमितिमा समाज सेवा गर्नका लागि पदको महत्व हुँदैन भन्दै विगत कार्य समितिका प्रथम उपाध्यक्ष देवीचरण घिमिरे र सचिव चक्रपाणि मिश्र नयाँ कार्य समितिमा सदस्यको रूपमा रहेका छन् । सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका इन्दिरा त्रिपाठी र झमक निरौलाले एकता समाजलाई भावी दिनमा साँचो अर्थमा यस क्षेत्रको नेपालीबीच एकता गर्ने संस्थाको रूपमा विकास गर्नका लागि आफूहरुले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

नवगठित कार्यसमितिका अध्यक्ष सूर्य प्रसाईंले विगतका रचनात्मक कार्यहरुलाई निरन्तरता दिँदै अल्पकालीन र दीर्घकालीन योजनाका साथ नयाँ कार्यसमितिले स्थानीय रूपमा रहेका सम्पूर्ण संघसंस्थासँग हातेमालो गर्दै कार्य शुरु गर्ने बताए ।

Check Also

विश्वभर छरिएका तामाङहरुलाई एउटै मालामा गाँस्न अमेरिकामा सम्मेलन

आउँदो सेप्टेम्बर २ र ३ मा अमेरिकाको न्यूयोर्कमा अमेरिका र क्यानडामा रहेका तामाङहरु एकै ठाउँमा …