Home / News / मनोरञ्जन / ब्युटी टिप्सः चायाँबिनाको चिटिक्क अनुहार

ब्युटी टिप्सः चायाँबिनाको चिटिक्क अनुहार

० सुनिता श्रेष्ठ, मेकओभर ब्युटिपार्लर एण्ड टे«निङ सेन्टर

आजकालका युवायुवती आफ्नो स्वास्थ्य र सौन्दर्यलाई लिएर धेरै नै चनाखो हुने गर्दछन् । आफ्नो सौन्दर्यलाई कसरी निखार ल्याउने र कसरी आकर्षक देखिने भनेर उनीहरु विभिन्न खाले सौन्दर्यका सामग्रीहरु प्रयोग गर्ने गर्दछन् । यसका बाबजुद पनि आफूले सोचेजस्तो परिणाम नआउँदा उनीहरु निराश हुने गर्दछन् र समय र पैसाको नोक्सानीसमेत बेहोर्न बाध्य छन् । केही सामान्य कुराको जानकारी नहुँदा उनीहरु धेरै समस्यामा पर्ने गरेका छन् ।

चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाश छालामा परिरहने, जथाभावी रुपमा फुटपाथे सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ । महिला हुन् वा पुरुष जोसुकैलाई पनि कालो पोतो अर्थात् चाया आउन सक्छ । पुरुषले यसलाई खासै वास्ता नगरे पनि महिलालाई यो कुराले बढी नै चिन्तित तुल्याएको हुन्छ । तर अब यसरी चिन्ता लिएर बस्नुपर्ने अवस्था छैन । प्रायः हरेक अस्पतालमा स्किन उपचारको छुट्टै युनिट खुलेको छ भने छालाको मात्रै उपचार गर्ने क्लिनिकहरु पनि सहर–बजारमा देखिएका छन् । अझ भन्ने हो भने विशेष ब्युटिपार्लरहरुमा समेत कालो पोतो हटाई अनुहारको सौन्दर्य बढाउने गरिन्छ ।

ख्यातिप्राप्त अस्पतालमा चर्मरोगकै विशेषज्ञ डाक्टर र ब्युटिपार्लरमा तालिमप्राप्त एवम् अनुभवी ब्युटिसियनहरुद्वारा सेवा प्रदान गरिने भएकाले हानिरहित उपचार सेवा पाउन सकिन्छ । तर, जथाभावी खुलेका क्लिनिक एवम् ब्युटीपार्लरमा उपचार गराउँदा छाला बिग्रन सक्ने भएकाले यसमा शतर्कता भने अपनाउनै पर्ने हुन्छ । बजारमा पाइने चायाँ हटाउन प्रयोग गरिने केमिकलयुक्त क्रिम आफूखुशी प्रयोग गर्नुहुँदैन । यसले एलर्जी भई अर्को समस्या ल्याउन सक्ने भएकाले प्रयोग गर्नुपूर्व कतै छालामा लगाएर परीक्षण गर्नुपर्छ ।

चायाँ आउने कारण

छालामा मेलामाइन भन्ने तत्व हुन्छ । यसले छालालाई प्राकृतिक रंग दिने काम गर्छ । यदि यस तत्वमा गड्बडी भयो भने छालामा हुनुपर्ने रंग नभई अर्कै देखिन्छ । विभिन्न थेग्लाथेग्ली, टाटाटाटी पनि देखिन सक्छ । त्यसैले मेलामाइनको गडबडीले पनि कालो पोतो आएको जस्तो देखिन सक्छ । त्यस्तै महिनावारी बन्द हुने समयमा हर्मोनको गडबडीले चायाँ आउन सक्छ । गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालो पोतो देखिन सक्छ । चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाश छालामा परिरहने, जथाभावीरुपमा फुटपाथे सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ ।

यसैगरी छालाको सरसफाइमा ध्यान नदिने, ब्लिच–ह्वाइटनिङ क्रिम बढी प्रयोग गर्ने, नकारात्मक सोचाइ गरिरहनेहरुमा छालाको समस्या हुन सक्ने हुँदा कालोपोतो आउन सक्छ । साथै कुपोषण भएका, पेट सफा नहुने अर्थात् कब्जियत भइरहने, छाला अति नै सुख्खा हुने वा अति नै तैलीय हुनेहरुमा पनि कालो पोतो देखिन सक्छ । परिवार नियोजनका लागि प्रयोग हुने पिल्स चक्की सेवन गर्नेहरुमा पनि कालोपोतो आउने गरेको पाइन्छ । यस्तै हर्मोनयुक्त अन्य औषधिको सेवन गरेको छ भने यसले हर्मोनमा गडबडी ल्याउने हुँदा छालामा असर परी कालो पोतो आउने हुन्छ । यी बताइएकामध्ये कुन–कुन कारणले कालोपोतो आएको हो भन्ने अनुमान गर्न सकिएमा बचावट एवम् नियन्त्रण गर्न सकिन्छ ।

चायाँ हटाउने उपाय

चायाँ अर्थात् कालोपोतो हटाउन मात्र नभएर पूरै अनुहार सफा बनाउन विभिन्न घरेलु फेसप्याकहरु प्रयोग गर्न सकिन्छ । यस्ता फेसप्याकले दाग, खटिरा, फोहोर र मृतछालासमेत हटाउन मद्दत मिल्छ । जुनसुकै व्यक्तिले जुनसुकै समयमा पनि फेसप्याक लगाउन सक्छन् । तर अनुहारमा घाउ वा जटिलता भएमा विशेषज्ञ डाक्टरबाट उपचार गराउनुपर्छ ।

फेसप्याक धेरै किसिमले बनाउन सकिन्छ । जौको पीठो, मुगको दाल, अण्डाको सेतो भाग र दूध मिलाएर बनाएको फेसप्याकले हानिरहित अनुहार सफा बनाउन सकिन्छ । छालाको बाहिरी भागमा रहेको कालोपोतो हटाउन यस किसिमको फेसप्याक उपयोगी हुन्छ । यस्तो फेसप्याक अनुहारमा लगाएको १५ मिनेटपछि दूधले भिजाउँदै मसाज गर्नुपर्छ । त्यसपछि पानीले पखाल्नुपर्छ । यस बेला कुनै पनि साबुनको प्रयोग गर्नुहुँदैन । बरु नियमित म्वाइस्चराइजरको प्रयोग गरेमा छाला सुन्दर देखिनुका साथै स्वस्थ हुन्छ ।

त्यस्तै गाँजर, आलु र काँक्रो मसिनो गरी कोरेसोमा कोरेर बटर मिसाएमा राम्रो फेसप्याक बन्छ । मुसुरोको दालको पीठो दूधमा मिसाएर पनि फेसप्याक बनाउन सकिन्छ । फेसप्याक जसरी बनाए पनि माथि बताएबमोजिम अनुहारमा प्रयोग गरी पखाल्नुपर्छ । यस किसिमका फेसप्याकले छालाको बाहिरी सतहमा भएका फोहोर पदार्थ हटाई अनुहारको सुन्दरता बढाउने हुन्छ ।

ब्युटिसियनको सल्लाहअनुसार तयारी फेसप्याक पनि किन्न सकिन्छ । चाया हटाउने नाममा तयारी केमिकलयुक्त क्रिमहरु प्रयोग गर्ने हो भनेचाहिं विचार गर्नै पर्छ । यसरी आफूखुशी क्रिम प्रयोग गरी छाला बिगारेर ब्युटीपार्लर आउनेहरु पनि हुन्छन् । उनीहरुलाई हामीले कुरा बुझाएर उपचारका लागि डाक्टरकोमा जान सल्लाह दिने गरेका छौं ।

मुख्य कुरा चायाँ हटाउन वा यसबाट बच्न सूर्यको किरणबाट बच्नुपर्छ । घाममा निस्कँदा सन स्क्रिन लोसन लगाउनुपर्छ । छालाको प्रकृतिअनुसारको स्याहार गर्नुपर्छ । कुनै जटिल समस्या भएमा छालाको डाक्टरबाट उपचार गराउनुपर्छ । त्यसै गरी ताजा तरकारी, फलफूल, सागसब्जी सन्तुलित रुपमा खाने गर्नुपर्छ । मेकअप सामग्रीमा पाउडर–ब्लसरको सामग्री प्रयोग नगर्नु राम्रो हुन्छ । अनुभवी ब्युटिसियनबाट मात्र सौन्दर्य सेवा लिने गर्नुपर्छ ।

सफा अनुहार स्वस्थताको प्रतीक हो । यदि अनुहारमा कालोपोतो अर्थात् चायाँ आएको छ भने कुनै अन्य रोगले पनि यस्तो भएको हुन सक्छ । त्यसैले अन्य रोगको उपचारपछि बिस्तारै चायाँ पनि हराएर जान्छ । विशेष गरी गोरो छालामा चायाँ स्पष्ट देखिन्छ तर कालो छालामा त्यति देखिँदैन ।

Check Also

kamala-sapkota-darling-1

कमलाको डार्लिङ

केही दिनयता बेली डान्सर गायिकाको नामले चर्चित कमला सापकोटाले अरुका श्रीमान्, दाजुभाइलाई ठाडै डार्लिङ भनेर …