Home / News / प्रवास / काठमाडौंमा अनौठो घर, आवश्यक वस्तु सबै घरमै उत्पादन

काठमाडौंमा अनौठो घर, आवश्यक वस्तु सबै घरमै उत्पादन

० विजय पौडेल

न्यूयोर्क । नेपालको सबै क्षेत्र भताभुंग छ । जनता पैसा तिरेरै पनि दैनिक आधारभूत आवश्यकताका वस्तुहरु सर्वसुलभ ढंगले प्रयोग गर्नबाट वञ्चित छन् । यसको अनभिज्ञ कोही छैन, सबैलाई थाहा छ । तर, जनताका लागि आधारभूत आवश्यकताका वस्तुहरु उपलब्ध गराउन होस् वा देशभित्र परिवर्तनका लागि कसले प्रयास ग¥यो ? फगत आलोचना गर्ने काम देशको शिरदेखि पुच्छरसम्म वर्षौंदेखि कायम रहे । विदेशको भिसा पाउनेहरु संसार जितेजस्तै विदेसिए, भिसा नपाउनेहरु नेपालभित्रै थन्किए । एकाधबाहेक गलत गरेर रवाफिलो जीवन बिताउन सकेकाहरु नेपालका नाइके भए । सत्य यही हो । तर, सिक्काको दुवै पाटो कहिल्यै अँध्यारो हुँदैन । आफ्नै देशभित्र केही गर्ने अठोट बोकेका २४ वर्षे एक युवा, जो आफ्नै देशको माटो खोस्रिएर मुलुक परिवर्तन गर्न चाहन्थ्यो । पढाइमा सधैं अब्बल त्यो युवा मुलुकभित्र सम्भावनाको खोजीमा दिन बिताउँथ्यो । उसलाई पनि नेपाली भूमिमा एक दिन विरक्त लाग्यो, जब उसले देशमा पढ्नका लागि एउटा पब्लिक लाइब्रेरीको सुविधासमेत भेटेन । उसलाई लाग्यो– जुन देशभित्र २१औं शताब्दीमा मनले चाहेको पुस्तक पढ्ने पब्लिक लाइब्रेरी छैन, मैले के सम्भावनाको खोजी गर्नु यो देशमा ।

अन्ततोगत्वा उसलाई पनि अरु नेपालीजस्तै भविष्य सुनिश्चित गर्ने महत्वाकांक्षाले छोप्यो अनि ऊ पनि सन् २००४ को थाइल्याण्डको सुनामीसँगसँगै उच्च शिक्षाको लागि थाइल्याण्ड पुग्यो । तिनै युवा अहिले संसारमै नभएको पहिलो प्रयोग नेपालमा गर्दै छन् । उच्च शिक्षाको अभिलाषा, उत्कृष्ट जीवनशैलीको सपना बोकेर आमनेपाली युवाजस्तै २४ वर्षे जोसमा थाइल्याण्डको भिसा बोकेर प्रवासिएका नुवाकोट, मदानपुरका किशोर लोहनी अहिले ३४ वर्षका भइसके । अधिकतम प्रवासीजस्तै उनी भने विदेशभित्रै रमाएनन् । उनी भन्छन्– ‘देशको माटोमा नै केही गर्ने सोचले मलाई हमेसा घच्घच्याइरह्यो ।’ त्यही घच्घच्याइले मलाई नेपाल फर्कायो भन्छन् उनी । नेपाल फर्किएपछि उनले आफ्नै पितापुर्खाको ३५ रोपनी नुवाकोटको जमिनलाई ६ वर्ष लगाएर पूर्णरुपमा रसायनमुक्त बनाए । त्यो जमिनलाई उनले रसायनमुक्त मात्र बनाएनन्, खुल्ला विश्वविद्यालयको अवधारणासहितको ‘सिड्स पर्मा कल्चर’ तालिम केन्द्रसहितको फार्म हाउस चलाएर देखाए । एउटा स्वस्थ मानवलाई आवश्यक पर्ने हरियो, सागसब्जी, डेरी प्रडक्ट र माछामासुलगायत खाद्य पदार्थ उत्पादन त्यही फार्म हाउसबाट गर्छन् उनी । डिप इरिगेसनको सिंचाइ, सोलारबाट बिजुली अनि बायोग्याससमेत सञ्चालन गरेका नुवाकोट, मदानपुरको सिड्स पर्मा कल्चर अहिले इकोसिष्टममा आधारित कृषि पेशा अंगाल्न चाहनेहरुका लागि साँच्चिकै एउटा विश्वविद्यालय नै हो । नेपाल नाम मात्रको कृषिप्रधान देश भयो भनेर चिन्ता व्यक्त गर्दै किशोर भन्छन्– ‘कुनै दिन छिमेकी देशलाई चामल बेच्ने हाम्रो देश आज कस्तो कृषि प्रणालीबाट गुज्रिंदै छ । तपाईं–हामी सबैलाई थाहा छ । नेपालमा ग¥यो भने कृषिबाट हामी आत्मनिर्भर हुन सक्छौं । मलाई यो कुरा नेपालमा प्रमाणित गरेर देखाउने चाहना छ । जुन मैले गरिरहेको छु ।’

नेपालमा केही गरेर देखाउने अठोट बोकेका किशोरको कथा नुवाकोटको मदानपुरको सिड्स पर्मा कल्चरमा मात्र सीमित छैन । उनको सोच, मेहनत र प्रतिबद्धताले काठमाडौं तार्केश्वर नगरपालिकाको साङ्ला खोला–किनारमा झण्डै १५ लाख अमेरिकी डलरको लगानीसहितको परियोजना बोकेको भवन निर्माण हुँदैछ । सन् २००४ मा थाइल्याण्डको सुनामीपीडितहरुलाई सहयोग र उद्धारको एउटै मिसनमा किशोरसँग भेटिएका अमेरिकाको कोलोराडो राज्यका क्रिष्टोफर गिसको सहयोगमा निर्माणाधीन त्यो भवन न कुनै सपिङ मल हो, न त सिनेमा हल नै । हेर्दा सामान्य लाग्ने ८ तले भवन मात्र साढे दुई रोपनी जमिनमा निर्माणाधीन छ । नेपालमा हरेक परिवार आफ्नै घरभित्र आफ्नै परिश्रम र मेहनतले आत्मनिर्भर हुन सक्छन् भनेर परिवर्तनको संवाहक ‘लालीगुराँस’ नामक त्यो भवनका आर्किटेक्चर भने न्यूयोर्क बेस कम्पनी एमओएसका माइकल मेरी र हिलारी स्याम्पल हुन् ।

कस्तो घर, के घर ? निर्माण हुँदैछ भन्नुभन्दा पहिले हिमालको काखमा अवस्थित नेपालमा नौलो कामको सुरुवातमा साथ दिने अमेरिकी नागरिक क्रिष्टोफर गिसको कथा जोड्नु आवश्यक छ । भनिन्छ– मानिसको मन परिवर्तन हुन कुनै गम्भीर चोट पर्नै पर्छ । क्रिष्टोफरको कथा किशोरले यसरी बेलिबिस्तार लाए– ‘मेरो साथी कृष र मेरो भेट थाइल्याण्डमा सुनामीपीडितहरुको उद्धार कार्यमा जुट्दै गर्दा भएको हो । कृषको अमेरिकाको लस भेगासमा सन् २००० मा गम्भीर गाडी दुर्घटना भएको रहेछ । दुर्घटनामा परेपछि कृषको लगातार दुई वर्ष अस्पतालमा उपचार भयो । दुर्घटनामा उसको मेदरुण्ड २७ ठाउँमा भाँचिएपछि स्टिलका पाताले लक गरेर उसलाई जीवन दिइएको रहेछ । दुई वर्षको लगातार अस्पताल बसाइपछि उपचार भएर निस्किएका कृषमा सामाजिक काम गर्ने प्रेरणा जाग्यो । सामाजिक कामकै सिलसिलामा सुनामीपीडितको उद्धार र सहयोगका लागि कृष सन् २००४ मा थाइल्याण्ड आएको थियो । यता म पनि सुनामीपीडितको उद्धारमा खटेकाले हाम्रो भेट त्यहीं भयो । हाम्रो मित्रताले प्रगाढ रुप लियो । सन् २००५ मा कृष नेपाल गयो । नेपाल जाँदा नेपालका विभिन्न बाल अनाथालयहरु देखेपछि कृष धरधरी रोएको थियो । तत्कालीन अवस्थामा कृष नेपाललाई देखेर संसारमा कुनै देश यसरी पनि चलेको रहेछ भन्थे । अमेरिका फर्किएपछि नेपालमा अन्तर्राष्ट्रिय स्तरको अनाथालय निर्माण गर्ने सोच कृषले त्यतिबेला बनाए । जसको निर्माणका लागि कृषले अमेरिकाको आफ्नो सम्पत्तिसमेत बेच्ने बचन दिए ।’

‘प्रकृतिको घर नेपाल’ नामक एनजीओमार्फत क्रिष्टोफर गिस र किशोर लोहनीको प्रयासमा साङ्ला खोलाको किनारमा निर्माणाधीन ‘लालीगुराँस’ भवनले पनि आफ्नै छुट्टै कथा र विशेषता बोकेको छ । लोहनी भन्छन्– ‘यो एउटा यस्तो घर हो, नेपाल समाज कल्याण परिषद्बाट योजना पास हुन मात्र एक वर्षभन्दा बढी समय लाग्यो ।’ ६६ फिट अग्लो, १९ हजार ५ सय वर्गफिटको त्यो भवन पूर्णरुपमा भूकम्प प्रतिरोधात्मक हो । जुन भवन निर्माण गर्नुअगाडि उद्देश्यअनुरुपको प्रकृति, हावाको बहाव र सूर्यको किरणको कोण र तापक्रमको अध्ययनका लागि मात्र ६ महिनासम्म हरेक दिन बिहान, दिउँसो र साँझ विभिन्न मापन गर्दै रिसर्च गरिएको थियो । यो भवन एउटा बाल अनाथालय हो । परियोजना शुरु भएपछि ५० जना अनाथ बालबच्चा त्यो भवनमा राखिनेछ । ती ५० जना बच्चासँगै १२ जना कर्मचारी पनि हुनेछन् । त्यो भवनमा बस्ने कुल ६२ जनालाई आवश्यक पर्ने विद्युत्, पानी त्यही घरमा उत्पादन हुनेछ । त्यहाँ आवश्यक पर्ने इन्धन त्यही भवनको फोहोर र अन्य बिकारबाट परिपूर्ति गरिनेछ । त्यो भवनमा बसोबास गर्ने सबैलाई आवश्यक पर्ने फलफूल, किसमिस, तरकारी, डेरी प्रडक्ट र मासु त्यही भवनमा उत्पादन गरिने छ । त्यति मात्र होइन जडिबुटीसमेत उत्पादन गरिने छ । जमिनमुनि संकलित पानीलाई छतमा तथा विभिन्न तल्लामा पु¥याउन त्यही भवनमा बस्ने बच्चाहरु घरवरिपरि चउरमा खेल्दाको प्रेसरबाट पम्प गर्दै माथि पु¥याइनेछ । जुन भवनको पहिलो तल्लामा सुविधासम्पन्न पब्लिक लाइब्रेरी र कम्युनिटी सेन्टरसमेत हुनेछ । उक्त परियोजना शुरु भएपछि झोर र साङ्लाका जनताले तथा ती गाउँका विद्यालय तथा विश्वविद्यालयलाई भने कम्युनिटी सेन्टर र लाइब्रेरी निशुल्क प्रयोग गर्न दिइनेछ, तर अन्यलाई भने दैनिक प्रशासनिक खर्च पूर्तिका लागि न्यूनतम शुल्क तोकिने लोहनी बताउँछन् । उनका अनुसार त्यो भवन अनाथालय मात्र नभएर घरभित्रको फोहोर व्यवस्थापन, बढ्दो पानीको संकट कसरी कम गर्ने, आफैंले आफ्ना लागि बिजुली र इन्धन उत्पादन, इकोसिष्टममा आधारित कृषि अवलम्बन गर्दै परनिर्भरता कम गर्दै कसरी खुसी जीवन जिउन सकिन्छ भनेर सिकाउने शिक्षण केन्द्रसमेत हुनेछ ।

सन् २०१३ बाट निर्माण शुरु भएको ‘लालीगुराँस घर’ निर्माणको क्रममा वैशाख ११ मा नेपालमा ठूलो भूकम्प गएपछि उक्त परियोजनाका लागि छुट्याइएकोे ७० लाख रुपैयाँ सिन्धुपाल्चोकका १५ सय भूकम्पपीडितहरुलाई भक्तपुरमा संरक्षण र पालनपोषण गर्ने काममा लगाएपछि विश्वकै उदाहरणीय परियोजनाका प्रमुख लोहनी यतिबेला फण्ड राइज गर्ने उद्देश्यले अमेरिकामा छन् । उक्त परियोजनाको भौतिक स्वरुपका लागि नेपालका चलेका इञ्जिनियर मनोहर राजभण्डारीले परियोजना लागत मूल्यको ४ प्रतिशत शुल्क लिएर काम गरिरहेका छन् ।

विश्वकै एउटा म्युजियमको रुपमा उभिन सक्ने लालीगराँस भवन निर्माणका लागि लगानीकर्ता अमेरिकी नागरिक क्रिष्टोफर गिसले कोलोराडोस्थित आफ्नो सम्पत्ति विक्रीसमेत गरिसकेको र थाइल्याण्डस्थित उनको घरसमेत बैंकमा धितो राखेर किशोर लोहनीको नेतृत्वमा उक्त उदाहरणीय भवन आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।

Check Also

अमेरिकाको टेक्सासबाट परराष्ट्रमन्त्री महतको आग्रह– ‘गैरआवासीय नेपालीले अब नेपालमा लगानी भित्र्याउँ’

 माघ २ । संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा …