Home / News / अन्तर्वार्ता / बिरासत योग्यता, क्षमताबाट स्थापित हुने कुरा हो

बिरासत योग्यता, क्षमताबाट स्थापित हुने कुरा हो

० अर्जुननरसिंह केसी, नेता, नेपाली कांग्रेस

अर्जुननरसिंह केसी संस्थापन पक्षका नेता हुन्। तर, १३औं महाधिवेशनमा उनी शेरबहादुर देउवाको टिमबाट महामन्त्रीमा उठ्ने भएका छन्। पछिल्लो समय कोइराला परिवारबाट नेतृत्व बाहिर जान लागेको चर्चा चलिरहेका बेला केसीले नै संस्थापनको साथ छाड्नुलाई देउवा समूह बलियो भएको रुपमा पनि लिइएको छ। केसी अहिले नेपाली कांग्रेसले देउवाको नेतृत्व खोजेको बताउँछन्। अहिलेको आवश्यकता पनि त्यही भएको उनको तर्क छ। केसीसँग मोहन बास्तोलाले गरेको कुराकानीः

१३औं महाधिवेशनले नेपाली कांग्रेसलाई छपक्क ढाकेको छ । तपाईंलाई यो महाधिवेशनले कत्तिको छोएको छ ?

नेपालको सबैभन्दा ठूलो दल हो, नेपाली कांग्रेस । अझ भन्ने हो भने नेपालको इतिहासमा सबैभन्दा पुरानो दल पनि नेपाली कांग्रेस नै हो । यस्तो इतिहास बोकेको दलको महाधिवेशनले हामी का्रग्रेसमा आबद्ध भएकालाई मात्र होइन सारा नेपालीलाई महाधिवेशन लागेको जस्तो छ । त्यसैले मलाई लाग्नु स्वाभाविक हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा चासो राख्ने अन्तराष्ट्रिय क्षेत्रलाई पनि यसको चासो छ । महाधिवेशनबाट गरिने नीतिगत निर्णय र यसको नेतृत्वबारे सबैको चासो हुनु स्वाभाविक नै हो ।

तपाईं महामन्त्रीमा लड्ने तयारीमा हुनुहुन्छ । त्यसमा पनि वरिष्ठ नेता शेरबहादुर देउवाको तर्फबाट तपाईंको चर्चा छ । संस्थापनलाई छाड्नुभएको हो ?

म पार्टी संस्थापन र प्रजातान्त्रिक पक्ष भन्ने कुरा नै मान्दिन । समग्र कांग्रेस नै कांग्रेस हो । निर्वाचनका बेला समूहहरू निर्माण हुन्छन् । त्यो स्वाभाविक पनि हो । हरेक पार्टीमा यस्तो हुन्छ । त्यसैले म नेपाली कांग्रेसको महामन्त्रीका रूपमा लड्दै छु । म सकेसम्म पार्टीमा छलफल गरौं र अघि बढौं भन्दै आएको छु । तर, पार्टीलाई एक ढिक्का बनाएर लैजाने सन्दर्भमा समस्या भयो भने कसैसँग एलायन्स गर्नु नै पर्छ । त्यस्तो अवस्थामा जोसँग वैचारिक रूपमा सामिप्य हुन्छ, उससँग एलायन्स गरेर महामन्त्रीमा लड्छु । पछिल्ला घटनाक्रमले एलायन्स गरेर महामन्त्री लड्ने सम्भावनातिर बढ्ता धकेलिरहेको छ ।

तर, महामन्त्रीमा तपाईंका ज्वाइँ गगन थापाको पनि चर्चा छ नि ?

मलाई विश्वास छ । उहाँ युवापुस्ताको जबर्जस्त र जनप्रिय व्यक्ति हुनुहुन्छ । मैले मेरा ज्वाइँको दृष्टिकोण न्यूनीकरण गर्नुभन्दा पनि नेपाली कांग्रेसभित्रको जनस्तरमा अत्यन्तै प्रभावशाली व्यक्तित्वमध्ये हुनुहुन्छ उहाँ । तर, अहिले पार्टीभित्रको यो महासागरमा के स्थिति छ, त्यो उहाँलाई पक्कै थाहा छ । मैले उहाँलाई भनेको पनि छु, यी दुईमध्ये कुनै एकबाट उहाँ महामन्त्री हुनुभयो भने मचाहिँ महामन्त्री लड्दिनँ । जुन दिन मैले घोषणा गरिसकेको हुन्छु, त्यसपछि जो भए पनि छाड्दिन । एक्लै तेस्रो पक्ष भएर चाहिं मैले सम्भावना देख्दिनँ । मैले यो कुरा उहाँसँग पनि भनेको छु ।

पार्टीलाई एक ढिक्का बनाएर लैजाने सन्दर्भमा तपाईंको भूमिका के हुन्छ ?

हरेक व्यक्तिको प्रभावकारिता, क्षमता र लोकप्रियताका आधारमा विभिन्न पदमा आकांक्षा देखाउनु स्वाभाविक हो । तर, मैले के भनेको छु भने कि त हामीले अहिले देखिएको धु्रवीकरणलाई नै तोड्नुपर्छ नभए यी दुइटामा कतै एलायन्स नभईकन परिणाममुखी लडाइ हुन सक्दैन । अहिले मात्र होइन म पहिलादेखि नै पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई स्थापित गर्ने आन्दोलनमा निरन्तर सक्रिय छु । पार्टी नेता प्रधान होइन, नीति प्रधान होस् भन्ने मेरो मान्यता हो । पार्टीभित्र नीतिमुखीभन्दा नेतामुखी, नेतामुखीभन्दा नातामुखी र अझ कहिलेकाहीं त नातामुखीभन्दा दातामुखी हुने प्रवृत्ति छ । त्यसको अन्त्य गर्नुपर्छ र पार्टी विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्छ भन्ने आन्तरिक लोकतन्त्रको लडाइँ मैले वर्षौंदेखि जारी राखेको छु । पार्टीभित्र जुन ढंगको भागबण्डाको अपसंस्कृति विकास भएको छ, गुट–उपगुट निर्माण भएका छन् । त्यसलाई अन्त्य गरेर संस्थागत विकासको अपेक्षा मैले गरेको छु । नेपाली कांग्रेसलाई सबैको साझा थलोका रूपमा, कार्यकर्ताको थलोका रूपमा विकास गर्ने मेरो आन्दोलनमा म अहिले पनि लागिरहेको छु । अहिले पार्टीमा चुनौतीपूर्ण र अप्ठ्यारो स्थिति छ । समग्र पार्टीभित्रको एकता, लोकतान्त्रिक शक्तिहरूबीचको एकता र राष्ट्रिय एकता प्रदर्शन गर्दै संविधानको कार्यान्वयन गर्ने, यसमा देखिएका अपूर्णतालाई पूर्णता दिने ठूलो जिम्मेवारी हाम्रो काँधमा छ । त्यसकारण, अहिले दुई साथी जो सभापतिको प्रत्याशीका रूपमा देखिनुभएको छ, एउटा सभापतिका रूपमा र अर्को संसदीय दलको नेताका रूपमा रहेर पार्टीभित्र बाँकी पदमा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गरे हुन्छ । त्यसलाई टिमको विभाजनका रूपमा भन्दा यो ढंगले अगाडि गइयो भने पार्टीमा एकता पनि बलियो हुन्छ, व्यक्तिको व्यक्तित्व र जनप्रियताको परीक्षण गर्ने मौका पनि हुन्छ । यसरी सहमतिको एउटा अवस्था सिर्जना गरौं भन्ने मेरो पहिलो प्रयास हो । काफी रूपमा प्रभावकारी युवाहरू नेपाली कांग्रेसभित्र छन् । उनीहरूमा पनि नेतृत्वको आकांक्षा देखिन्छ । कहिलेकाहीं नयाँ पुस्ताका कुरा पनि आउने गर्छन् । त्यो हो भने पनि प्रभावकारी नयाँ पुस्तालाई सभापति, महामन्त्री, कोषाध्यक्ष दिऔं र केन्द्रीय कमिटीका हामी वरिष्ठहरू केन्द्रीय कार्यसमितिमै बसेर नयाँ वातावरण निर्माण गरौं । यी दुवै कुरामा खुला रूपमा छलफल गरौं । म अहिले पनि यही भन्दै आएको छु । तर, त्यो सम्भावना निकै कम भएको छ । किनभने हामी महाधिवेशनको मुखमा आएका छौं । सबै आ–आफ्नै ढंगले अघि बढेकाले यो सम्भावना निकै कम छ ।

शेरबहादुर देउवाको टिमबाट तपाईं महामन्त्री उठ्ने पक्का छ । यस्तो अवस्थामा शेरबहादुर देउवालाई नै सभापति बनाउनुपर्ने कारण के–के हुनसक्छन् ?

शेरबहादुर देउवाको सबैभन्दा सबल पक्ष सबैका कुरा सुन्ने र त्यसलाई संयोजन गर्न सक्ने क्षमता र लचकता नै हो । शेरबहादुरजीसँग लामो समय पार्टीभित्रै पनि अलग धारमा रहँदारहँदै पनि व्यक्तिगत रूपले मेरो राम्रो सम्बन्ध थियो । विद्यार्थी बेलादेखि नै बालसखाका रूपमा पनि हाम्रो निकटता थियो । त्यसले पनि हामीलाई अहिले निकटता ल्याउनमा सहयोग ग¥यो । अहिले देखिएको नेतृत्व तहमा शेरबहादुरजीमा निर्णायक क्षमता पनि छ, अडान पनि छ र सबैलाई संयोजन गर्न सक्ने लचकता पनि छ । यसकारण, अहिलेको परिवेशमा उहाँले सकरात्मक योगदान दिन सक्नुहुन्छ भन्ने लाग्छ ।

उसो भए रामचन्द्र पौडेलको सम्भावना कम देख्नु हुन्छ होइन सभापतिका लागि ?

त्यो त महाधिवेशनले निर्णय गर्ने कुरा हो । बाउबाजेको सम्पत्तिमा हकदाबी हुन्छ, तर राजनीतिक बिरासत भनेको आफ्नै योग्यता, क्षमता र जनप्रियताबाट स्थापित हुने कुरा हो । हाम्रा ३१ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि छन्, जो अत्यन्तै खारिएका, जनस्तरमा संघर्ष गरेर कांग्रेसका निम्ति योगदान गरेका साथीहरू आउँदै हुनुहुन्छ । यी सबै कुरा उहाँहरूकै विवेकमा छाडिदिउँ ।

यो पटक कोइराला परिवारबाट नेतृत्व हस्तान्तरण हुने सम्भावना निकै बलियो देखियो होइन ?

बीपी कोइराला नेपालको इतिहासमै जननायकका रूपमा स्थापित हुनुभएको छ । गिरिजाबाबु पनि कर्मले स्थापित हुनुभएको हो । सुशील कोइराला पनि लामो संघर्ष र कर्मले स्थापित हुनुभएको हो । अब पो त थाहा हुन्छ, कर्मविना पनि बिरासतले पाइन्छ कि पाइँदैन भन्ने कुरा । जसको जति योगदान र क्षमता छ, त्यसलाई इन्कार गर्न सकिँदैन । किनभने धेरै पार्टीमा परिवारका धेरै सदस्यले आफ्नो हैसियत लिएर बसेका छन् । परिवारबाट नेतृत्वमा दुई–तीनजनाले प्रतिनिधित्व गरेको हरेक पार्टीमा छ । त्यसैले परिवारवाद भन्ने कुरामा म विश्वास गर्दिन ।

Check Also

५ लाख क्रियाशील सदस्य भएको पार्टीमा मनमुटाव सामान्य हो

नेपाली कांग्रेसले करिब १० वर्षपछि कार्यसम्पादन समिति गठन गरेको छ। आइतबारबाट सुरु भएको केन्द्रीय समितिको …