Home / News / साता सुन्दरी / भावनाको व्यस्तता

भावनाको व्यस्तता

नेपाली समसामयिक मोडलिङ क्षेत्रमा भावना गुरुङ चर्चित मोडलका रुपमा चिनिएको छ । मुलुकमा आइपरेको प्रतिकूल स्थितिका कारण यो वर्ष मोडलिङ क्षेत्र पनि केही हदसम्म थिलथिलो बन्यो । अघिल्ला वर्षको तुलनामा खासै केही गर्न नसके पनि विकास शाक्यको एक चलचित्रमा अभिनय गर्न पाउनुलाई भावनाले ठूलो उपलब्धि ठानेकी छन् । मोडलिङको तुलनामा चलचित्रको अभिनयलाई अलि फरक तथा बढी समय दिनुपर्ने भएकाले स्वभावतः अलि कठिनाइ हुने गरेको अनुभव उनको रहेको छ ।

फिल्मी लाइफ कुरा बढी तथा काम कम हुने क्षेत्र भएकाले यसतर्फ अगाडि बढ्ने या हट्ने दोधारमा परेकी भावना आफूलाई चलचित्र नायिकाभन्दा बढी नेपाली मोडल भन्न रुचाउँछिन् । त्यसको अलावा उनी बिजनेश वुमन पनि भएकीले धेरै समय व्यवसायमा व्यस्त हुनुपर्ने भएकाले फिल्ममा धेरै समय दिन आफू असमर्थ भएको बताउँछिन् । उनले कतिपय चलचित्रको अफरलाई व्यस्तताका कारण बेवास्ता गर्नुपरेको यथार्थ सुनाइन् । तर, राम्रो स्टोरी भएको स्वाभाविक चलचित्रका लागि जस्तोसुकै व्यस्त सेड्युलमा पनि समय मिलाएर काम गर्ने आफ्नो रहर भएको पनि उनले भनेकी छन् ।

गोरखामा जन्मेकी भावना चितवनमा हुर्किइन् । हाल उनले कर्मस्थल काठमाडौंलाई बनाउँदै आएकी छन् । भावनाको रुची डान्स र लङ ड्राइभमा पनि जानु हो । डान्स र लङ ड्राइभ भनेपछि हुरुक्क हुने उनी अक्सर व्यवसायकै क्रममा लङ ड्राइभमा जाने गरेकी छन् । विश्व सन्देशसँगको कुराकानीमा पनि काठमाडौं बाहिर लङ ड्राइभमै रहेको बताएकी उनले फुर्सदको समयमा घरमा बसेर मज्जाले टेलिभिजन हेर्ने बानी भएको खुलासा गरिन् ।

राशिफलमा विश्वास छैन उनलाई । तर, हरेक दिन उनी कर्कट राशि हेर्ने गर्छिन् । प्रेमलाई बाँच्ने सहारा, विवाहलाई प्राकृतिक नियम र जीवनलाई यात्रा भन्न रुचाउने उनी विवाहका बारेमा खुल्न चाहिनन् । सानैमा व्यवसायमा लागेकाले प्लस–टु भन्दा अगाडि पढ्न नसकेकोमा उनी दुःखी छिन् । युवा सहभागिताविना देशको विकास असम्भव लाग्छ उनलाई । त्यसैले हरेक वर्ष हजारौं संख्यामा ऊर्जाशील युवा विदेश पलायन भैरहेको तथा त्यसलाई रोक्न ठोस योजना ल्याउन नसकेकोमा सरकारसँग उनको ठूलो गुनासो छ । स्वदेशमै रोजगारीको व्यवस्था भए हजारौं युवा विदेशमा तेस्रो दर्जाको नागरिक बनेर बस्नु नपर्ने उनको जिकिर छ ।

उनको जीवनको प्रमुख लक्ष्य सफल ‘बिजनेस वुमन’ बन्ने हो । त्यसैले पनि उनी प्रायः व्यवसायकै सिलसिलामा काठमाडौं बाहिर टुरमा बढी जाने गरेकी छन् । मोडलिङ र कलाकारिताको भरमा अझै पनि नेपालमा बाँच्न सक्ने आधार स्तम्भ तयार नभएको उनले स्पष्ट पारिन् । उनी भन्छिन्– ‘त्यो आधार तयार भएको भए, कैयन स्थापित कलाकार तथा मोडल विदेश पलायन हुने थिएन ।’

यदि अर्को जुनी पाएर पुरुष भएर जन्मेमा सक्षम नेता बनेर देश विकास गर्ने बताउने उनी महिलालाई शिक्षा र अधिकार दुवै दिनुपर्ने धारणा राख्छिन् । मुलुकमा महिला हिंसा बढ्नुमा उनी महिला स्वयम्लाई दोषी ठान्छिन् । प्रतिकार गर्न नसक्नु महिलाको कमजोरी भएको र त्यसलाई प्रतिकार गर्न पछि पर्न नहुने मान्यता उनको रहेको छ । फेसबुक चलाउन बढी रुचाउने भावनाले हरेक कुरा फेसबुकबाटै अपडेट हुने गरेको बताइन् ।

Check Also

कलाकारितालाई धर्मसँग नजोड्न आग्रह

नेपाली मोडलिङ क्षेत्रमा पछिल्लो समय चर्चाको नाम हो– ओशिमा बानु । उनी मुस्लिम समुदायका तर्फबाट …