Home / News / विचार / जीवन बीमाः ठगी कि जीवनोपयोगी

जीवन बीमाः ठगी कि जीवनोपयोगी

० मिलनकुमार शाही

अहिले अमेरिकी नेपाली समाजमा जीवन बीमाका बारेमा निकै चर्चा–परिचर्चा चलिरहेको छ । अझ भन्नुपर्दा एकअर्काप्रति आरोप–प्रत्यारोप लगाइएका छन् । जीवन बीमा बेच्ने एजेन्टलाई ठगी गरिएको आरोप लगाइएको छ । जहाँ गहुँ पिस्दा घुन पनि पिसिएजस्तै राम्रो मनसाय र नेपाली समाजलाई बीमासम्बन्धी राम्रो ज्ञान बाँडेर आम्दानीअनुसारको उपयुक्त जीवन बीमा बेच्ने एजेन्टहरुसमेत एउटै घानमा परेका छन् । जुन यतिबेला नेपाली समाजले छुट्याउन गाह्रो भइरहेको महसुस गरेका छन् । अमेरिकामा तथ्यांक संकलन गर्ने हो भने अधिकांश नेपालीहरुले जीवन बीमा खरिद गरेको पाइन्छ । जहाँ बीमासम्बन्धी विनाजानकारी र विना ज्ञान बीमा खरिद गरिएको छ ।

समाजलाई दिशानिर्देश गर्ने समाजसेवी, समाजमा भएका गन्धकीहरुलाई गन्हाउन नदिई बाहिर ल्याई उजागर गर्न सक्षम पत्रकार तथा सञ्चारकर्मीहरुसमेत यसबाट अछुतो छैनन् । जीवन बीमालाई सही अर्थमा लिने हो भने यो आफैंमा राम्रो र लाभदायक मानिन्छ । किनकि जीवनको यो गाडी कुन घुम्तीमा कहाँ मोडिंदा कसरी र कतिबेला दुर्घटना हुन्छ, थाहा हुँदैन । प्रत्येक व्यक्तिलाई आफ्नो परिवारको माया हुन्छ र आफू मरेर परिवारलाई सुखी र जीवन्त राख्न चाहन्छ । त्यसकारण मानिस जीवन बीमा किन्छ ।

के हो त जीवन बीमा ?

छोटकरीमा भन्नुपर्दा जीवन बीमा भनेको कुनै पनि व्यक्तिले बीमा कम्पनीसँग गरिने करार, जुन आफ्नो मृत्युपछि आफूमाथि निर्भर रहेका परिवारका सदस्यलाई प्राप्त हुने एकमुष्ठ रकम बुझाउँछ । जसले आफ्नो अनुपस्थितिमा परिवारको गर्जो टार्न सकोस् । यसरी जीवन बीमा बजारमा विभिन्न किसिमका हुन्छन् । औसत नेपालीलाई उपयुक्त हुने बीमाहरुमध्ये होल लाइफ, कस्टम होल लाइफ, टर्म लाइफलगायत छन् । होल लाइफ इन्सुरेन्स तपाईंले करार गरेको दिनदेखि मृत्यु हुँदाका दिनसम्म तिर्नुपर्ने हुन्छ, तर यसो भनिरहँदा जीवनभर नै तपाईंको आफ्नो पकेटबाट तिर्न चाहिं पर्दैन । बरु केही निश्चित समयपछि तपाईंले तिरेको एकमुष्ठ रकमबाट हिसाबमा आउने लाभांशबाट बाँकी समयको प्रिमियम तिरिंदै जान्छ । जुन समय भनेको तत्कालीन समयअनुरुप कम्तीमा १६–२५ वर्षसम्म तिर्नुपर्ने हुन्छ ।

यसैगरी कष्टम होल लाइफमा तपाईंले आफ्नो सुविधाअनुसार टाइम फ्रेम बनाएर करार गर्दाकै दिनमा तोक्न सक्नुहुनेछ, कहिलेसम्म तिर्ने भनेर । बचत भएको सो रकम समयावधि समाप्त भइसकेपछि आफूलाई आवश्यक परेमा आफ्नै जीवनकालमा ७० प्रतिशत रकम प्रयोग गर्न सकिन्छ र बीमा गरिएको कुल रकम पनि सुरक्षित नै रहन्छ । जुन रकम क्यास भ्यालुका रुपमा आफूले जम्मा गरेको रकमभन्दा बढी हुन जान्छ । उदाहरणका लागि २० वर्षको कष्टम होललाइफमा महिनाको २ सय डलर जम्मा गर्दै जाँदा २० वर्षमा ४८ हजार रकम जम्मा गर्नुभयो भने यसको क्यास भ्यालु सोभन्दा बढी हुने हुन्छ । औसतमा यो रकम बजारभाउअनुसार डिभिडेन्ट १.५ गुणासम्म वृद्धि हुने गर्दछ ।

औसतमा यो खालको लाइफ इन्सुरेन्सको मासिक प्रिमियम अलि बढी तिर्नुपर्ने र ग्यारेन्टीसमेत हुने हुन्छ । र, सबै इन्सुरेन्स कम्पनीले यस खालको इन्सुरेन्स बेच्दैनन् ।

टर्म लाइफ इन्सुरेन्स एउटा टाइम फ्रेमभित्र गरिने कररार, जुन समयावधिभित्र इन्सुरेन्स लिने व्यक्तिको मृत्यु भएमा मात्र यसबाट लाभान्वित हुन्छ । अन्यथा बुझाइएको रकम शून्य हुन्छ । यो खालको इन्सुरेन्स सस्तो हुन्छ । जुन अलि उमेर पुगेका पाका व्यक्तिहरुले गर्दा राम्रो हुन्छ । र, यो प्रायःगरी ५ देखि ३० वर्षसम्मका हुन्छन् ।

यसरी यी मुख्य इन्सुरेन्सहरुको परिभाषा हेर्दा लाइफ इन्सुरेन्स लिंदा आफ्नो जीवनको उत्तराद्र्धतिर आइपुग्दा होस् या आफू दुर्घटनामा परेर मृत्यु हुँदा होस्, एक किसिमको आफूमाथि निर्भर रहेका व्यक्तिहरुका लागि आफूले गरिदिएको बचत पनि हो । तर, अहिले आएर यसलाई एक किसिमको जुवाघरजस्तो बनाइएको छ । जुवाघरमा खेल्ने व्यक्तिहरु सधैं घाटामा भए पनि जुवाघर सधैं मुनाफामा नै रहन्छ । ठीक त्यसैगरी अमेरिकी नेपाली समाजमा बीमा गराउने एजेन्टहरु मात्र लाभान्वित भइरहेका छन् । इन्सुरेन्स खरिद गर्ने व्यक्तिहरु मार परेका छन् । कारण इन्सुरेन्स बेच्ने दलालहरु नेपालीहरुको सोझोपन, भाषाको समस्या अति नै छिटो विश्वास गरिहाल्ने बानी र भद्रपनको फाइदा उठाइरहेका छन् । त्यसैले यिनीहरुको व्यापार मौलाइरहेको पाइन्छ । सामान्यतया इन्सुरेन्स बेच्नका लागि त्यस विषयमा पढेर परीक्षा पास गरी लाइसेन्स प्राप्त हुनुपर्दछ । त्यसैगरी इन्सुरेन्स किन्ने व्यक्तिलाई सरल भाषामा सबै कुरा सम्झाई बुझाई अनुमति लिएर मात्र बेच्नुपर्दछ । करकाप गर्न मिल्दैन । परिवारको कुल आम्दानीको औसतले हिसाब गरी सबै खर्च कटाएर बचेको रकमबाट मासिक प्रिमियम तिर्न सक्छ कि सक्दैन भनी एजेन्टले तथ्यांक निकालेर मात्रै बेच्नुपर्दछ ।

तर, यसो भएको छैन यहाँ । यदि इन्सुरेन्स गर्ने परिवारको आम्दानी कम छ भने फर्जी आम्दानी देखाई आम्दानीलाई बढाइचढाइँ गरिदिएर घरका प्रत्येक परिवारका सदस्यहरुलाई इन्सुरेन्स भिडाइएको तथ्यहरु सार्वजनिक भएका छन् । एउटै व्यक्तिलाई होल लाइफ इन्सुरेन्ससँग ५ वर्षे छोटो अवधिको टर्म लाइफ इन्सुरेन्स भिडाइएका छन् । जसले गर्दा एजेन्टलाई २ वटा कमिसन एउटै व्यक्तिबाट पाइने हुन्छ । २५ वर्षको व्यक्तिलाई किन ५ वर्षे टर्म लाइफ इन्सुरेन्स चाहियो ? टर्मलाइफ इन्सुरेन्स भनेको त कम्तीमा ३५–४० वर्ष नाघेका व्यक्तिलाई बढीभन्दा बढी अर्थात् २०–३० वर्षको माथिको लिंदा पो यसको महत्व बढेर जान्छ । कोही पनि ५ वर्षमा मर्ने चाहना त राख्दैन नि । अनि किन जानी–जानी आफ्नो दोब्बर कमिसनको चक्करमा आफ्नै समाजभित्र मन मिल्ने साथीभाइ तथा परिवारलाई फसाइन्छ ?

इन्सुरेन्स गर्नका लागि आवश्यक इन्सुरेन्स किन्नेलाई कि एजेन्टलाई ? यहाँ त इन्सुरेन्स किन्दासम्म फोन आतंक नै हुने, दिनमा दशौं पटक फोन आइरहने । मानिस न हो, फोन आतंकबाट वाक्कदिक्क भएर आफ्नो लागि नभई एजेन्टका लागि इन्सुरेन्स किन्ने व्यक्तिहरु पनि भेटिए । प्रायः अमेरिकी समाजमा हजुरबुबा, हजुरआमाले आफ्ना ससाना नाति–नातिनलाई मायाको चिनो भनेर उनीहरुका नाममा इन्सुरेन्स किनिदिने चलन छ । तर, त्यही देखासिकी गरेर हाम्रा नेपाली एजेन्टहरुले अनेक बहाना, प्रलोभन र ठूल्ठूला सपना देखाई ससाना दुधे बालकको नाममा उनैक बाबुआमालाई इन्सुरेन्स बेचेर आर्थिक भार थोपरिदिएका छन् । जसले गर्दा २ देखि ८–१० वर्षसम्म तिरिसकेकाले आर्थिक बोझ थाम्न नसकेर भटाभट सरेन्डर गरिरहेका छन् । जसले गर्दा त्यस्ता परिवारले आफैले खुन–पसिना एक गरी कमाएको हजारौं डलर गुमाउन बाध्य भएका छन् ।

एकथरी नेटवर्किङ बिजनेससँग सम्बन्धित र सञ्चालित इन्सुरेन्समा लागेका छन् । त्यस्ता कतिपय इन्सुरेन्स छन्, जुन सीमित समयपछि क्यास भ्यालु शून्य भएर जान्छ र त्यसको केही महत्व हुँदैन । जुन कुरा किन्ने व्यक्तिलाई न बताइएको हुन्छ, न त किन्ने व्यक्तिले इन्सुरेन्स किन्दा दिइएको इन्सुरेन्ससम्बन्धी विवरण किताब नै खोलेर पढेको हुन्छ । कारण एजेन्टप्रतिको पूर्ण विश्वास र भाषाको समस्या । यसरी नेपाली समुदायमा यहाँसम्म देखियो कि परिवारको एक जनाले लाइसेन्स लिएको छ भने अनय सदस्यहरुले पनि इन्सुरेन्स बेचेको पाइयो । यस्तो किसिमको घृणित कार्य कानूनतः दण्डनीय हुन्छ ।

कस्ता छन् इन्सुरेन्स एजेन्टहरु ?

प्रायः गरेर अमेरिकी नेपाली समाजमा इन्सुरेन्स एजेन्टहरु समाजसेवामा लागेका, कुनै न कुनै संघसंस्थासँग आबद्ध भएका हुन्छन् । यदि लाइसेन्स लिने बेलासम्ममा समाजसेवी हुन भ्याएको छैन र संघसंस्थामा आबद्ध भइसकेको छैन भने उसको पहिलो प्रमुख काम भनेको कुनै न कुनै संघसंस्थामा आबद्ध भई समाजसेवीका रुपमा परिचय दिनु हो । त्यस्ता व्यक्तिहरुले कुनै पनि संघसंस्थाका कार्यक्रमहरु, कार्यशाला गोष्ठीहरु तथा विभिन्न खाले कार्यक्रमहरुमा भाग लिन पुग्दछन् र आफ्नो बिजनेस कार्ड बाँड्ने, आफ्नो परिचय आफू सम्बन्धित रहेको संस्थासँग गराउने, फोन नम्बर लिने गर्दछन् न कि कार्यक्रमप्रति उसको चासो रहन्छ ।

त्यसैगरी कोही नयाँ व्यक्ति नेपालबाट अमेरिका झरेको अर्को दिनदेखि उसको पछि लाग्ने गरिन्छ । नयाँ व्यक्ति, न जागिर, न आम्दानी, न त बस्ने ठेगान केही हुँदैन । तर पनि उसलाई फकाई फुस्लाई, लालच र प्रलोभन देखाई इन्सुरेन्स बेचिन्छ ।

यसरी नेपाली समुदायमा बढ्दै गइरहेको जीवन बीमासम्बन्धी ठगीलाई विगत केही वर्षदेखि औंल्याउन थालिएको भए पनि अहिले आएर यो अमेरिकामा मात्रै होइन, विश्वमै नेपालीहरुमाझ चर्चाको विषय बनेको छ । समाजसेवी, अधिकारकर्मी, पत्रकार तथा सञ्चारकर्मीहरु यसलाई उदांगो पार्नका लागि एक भएका छन् । अब यतिबेला नेपाली समाजलाई यस्ता चण्डाल, ठगहरुको चंगुलबाट निकाल्नु छ भने पीडित मात्रै होइन, सम्पूर्ण प्रवासी नेपाली एकजुट भई विनापूर्वाग्रह कारबाहीको हदसम्म पुग्नुपर्ने देखिन्छ । जसको परिणामस्वरुप अन्य ठगीहरु जस्तै काम लगाइदिन्छु भन्दै ठग्ने तथा नेपालबाट परिवार झिकाइदिन्छु भन्दै मोटो रकम ठग्ने दलालीहरु पनि निरुत्साहित हुन् ।

हरेक कुरामा एकता जरुरी छ, नेपालीको एकता हरेक बाधा, अड्चन छिचोल्न सफल रहेको विगतमा पनि प्रमाणित भइसकेको छ । आउनुहोस् जातजाति, गुट–उपगुट तथा राजनीतिमा विभाजित नभई केवल नेपाली भनेर चिनौं र चिनाऔं । आऔं सबै मिली एकै स्वरमा भनौं– नेपाली एकता जिन्दावाद !

Check Also

sarad-pokhrel

ब्रेजिक्ट र ट्रम्पको उदय

स्वदेश र विदेशका विज्ञहरुको अंक गणितीय प्रक्षेपणलाई गलत साबित गर्दै ७० वर्षीय डोनाल्ड ट्रम्प अमेरिकी …