Home / News / प्रवास / सनफ्रान्सिस्कोमा सोनाम लोछार

सनफ्रान्सिस्कोमा सोनाम लोछार

सनफ्रान्सिस्को । गत फेब्रअुरी २० मा तामाङ समुदायले सनफ्रान्सिस्कोमा सोनाम लोछार भव्य रूपमा मनाएका छन् । बुद्धिष्ट सोसाइटी अफ क्यालिफोर्नियाका प्रमुख तथा अमेरिका नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष राम लामाको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष प्रकाश लामाले गरेका थिए ।

तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियाको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाकी कोषाध्यक्ष सरिता स्याङ्बोले आगन्तुक पाहुनालाई स्वागत गरेकी थिइन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

बौद्धिक विधिअनुसार आनी याङ्सेन लामाद्वारा पूजापाठबाट सुरु गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्रीको असामयिक निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो । संस्थाका सभापति प्रकाश लामाले सोनाम लोछारलाई सफल पार्न उपस्थित पाहुनाहरुलाई धन्यवाद दिंदै लोछारको शुभकामना व्यक्त गरेका थिए । प्रमुख अतिथि राम लामाले सात समुद्रपारिको बिरानो मुलुकमा बस्दा नेपालमा सानैदेखि मनाउँदै आएका चाडपर्वहरुको न्यास्रो मेटाउन तामाङ पोशाकमा सजिएको बताए । ‘सोनाम लोछार मनाउन विभिन्न जात, धर्म र राजनीतिक आस्थाका पाहुना एउटै थलोमा रमाउँदै गरेको देख्दा नेपालीहरुबीचको भाइचाराको प्रशंसामा शब्द खर्च गर्न मन लागेको छ’, उनले भने । विशेष अतिथि डा. ग्यानेश लामाले तामाङ जातिको इतिहास र बुद्ध धर्मसँगको सम्बन्धबारेमा प्रष्ट पारेका थिए भने संस्थाका संस्थापक अध्यक्ष रितु लामाले पाहुनालाई स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।

आयोजक संस्थाका सल्लाहकार तथा कार्यक्रम उद्घोषक ज्ञानदीप लामा र शनी लामाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए । डिकी लामा, ज्ञान बहादुर लोप्चन, प्रकाश लामा, बिमला दोङ, एरिका लामा र शेरबहादुर लामालगायतले अन्तर्राष्ट्रिय तामाङ गीत प्रस्तुत गरेका थिए ।

अमर ल्हो तामाङले ल्होछारसम्बन्धी कविता वाचन गरेका थिए । जापानिज मूलका दुई चेली नानो र माकीको साथमा २०१० कि मिस तामाङ सुमी लामाले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने संस्थाका सांस्कृतिक विभागकी प्रमुख कल्पना लामाले उभो उभो जाँदा भेडीको गोठ.. भन्ने बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।

Check Also

यसरी जोडिन सक्छ अमेरिकी डायस्पोरा

गैरआवासीय नेपाली संघ, अमेरिकाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनको निर्वाचन मिति सार्वजनिक भएसँगै नेपाली …