Home / News / विचार / देउवाको दायित्व

देउवाको दायित्व

० सुरज भण्डारी
journalistsuraj@gmail.oom

नेपाली कांग्रेसको १३औं महाधिवेशनवाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । तेस्रो पटकको प्रतिस्पर्धामा चौथो पटक निर्वाचनको सामना गर्दै अन्ततः देउवा मूल कांग्रेसको नेतृत्वमा पुगे । ११औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित देउवाले १३औं महाधिवेशनमा दोस्रो चरणमा पुगेको नेतृत्वको निर्वाचनमा रामचन्द्र पौडेललाई पन्छाउँदै देशको पुरानो र अहिलेको ठूलो दलको सभापतिमा निर्वाचित भए ।

मूल कांग्रेसको नेतृत्वमा आउनुअघि पार्टी विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति रहेका देउवा पार्टी एकीकरणपश्चात मूल पार्टीको सभापति बन्न तीन पटक लगातार प्रयास गरे र अन्ततः त्यो उपलब्धि हासिल गरे । देशको प्रधानमन्त्री भैसकेका देउवाका लागि कांग्रेसको सभापति बन्नु पछिल्लो समय प्रतिष्ठाकै विषय बनेको थियो । खासगरी पार्टी एकीकरण भए पनि भावनात्मक रुपमा पार्टी एकीकृत हुन नसकिरहेको तथा पार्टीमा एक दल दुई समूह समानान्तर रुपमा क्रियाशील रहेको अवस्था देखिन्थ्यो । संस्थापन र प्रजातान्त्रिक पक्ष पार्टीमा प्रष्ट देखिने गर्दथ्यो, ११औं महाधिवेशन यतादेखि नै देउवाले एउटा समूहको नेतृत्व गर्दै आएका थिए, जसले गर्दा कांग्रेस वैचारिक रुपमा मिलेको देखिए पनि समूहगत रुपमा दुई चिरामा विभाजित देखिन्थ्यो । ६० र ४० को भागबण्डा कांग्रेसमा जोडबलका साथ उठिरहन्थ्यो, यसमा खासगरी संस्थापनको बढी कटाक्ष देउवामाथि खनिने गर्दथ्यो । यसलाई चिर्न पनि देउवा कांग्रेसको नेतृत्वमा आउनुपर्ने अवस्था निर्माण भएको थियो, देउवाले आफूमाथिको आरोप मित्था साबित गर्ने अवसर अहिले जुटेको छ । कांग्रेस नेतृत्वमा आएका देउवाको पुरानो भूमिका र उनको व्यवहारलाई लिएर आलोचना गर्ने थुप्रै आधारहरु रहेका छन्, जसलाई देउवाले आफ्नो यो नेतृत्व कालमा चिर्न सक्नुपर्दछ ।

कांग्रेस नेतृत्वमा आएका देउवाका लागि अवसरसँगै चुनौती पनि उत्तिकै रहेको छ । कांग्रेसको पछिल्लो निर्वाचनमा सभापतिमा देउवा आए पनि रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका डा. शशांक कोइराला महामन्त्रीमा र सीतादेवी यादव कोषाध्यक्षमा निर्वाचिन भएका छन् । महाधिवेशन प्रतिनिधिको यो मतले पनि देउवालाई पार्टीलाई समूहगत होइन एकीकृत गरेर लैजान सन्देश दिएको छ । तर, यसले सँगसँगै देउवा कार्यकाललाई सहजतापूर्वक अघि बढ्न अंकुश भने लगाउने निश्चित प्रायः देखिन्छ ।

पछिल्लो समय गणतन्त्र स्थापना, धर्मनिरपेक्षताको निर्णय, देश संघीयतामा जाने निर्णयप्रति पुनर्विचार गर्नु आवश्यक रहेको अभिव्यक्ति दिएका डा. शशांक महामन्त्रीमा निर्वाचित हुनुले कांग्रेस पूर्ववत निर्णयबाट डगमगाउने त होइन भन्ने शंका उब्जिएको छ । कांग्रेसको महाधिवेशनबाट आएको नतिजालाई हेर्दा पार्टीलाई एकताबद्ध गराउन एउटै समूहका नभई दुवै समूहका नेताको कांग्रेस कार्यसमितिमा उपस्थिति आवश्यक रहेको सन्देश देखिन्छ । दुई समूहबाट प्रतिनिधित्व हुँदा अझ खासगरी महामन्त्री र कोषाध्यक्षमा अर्को समूहबाट निर्वाचन लडेका नेता निर्वाचित हुँदा भोलिका दिनमा संस्थागत रुपमा निर्णय गरेर जान देउवालाई केही असहज पर्ने निश्चित छ, तर यति हुँदाहुँदै पनि मुख्य कुरा पार्टीको सभापतिमा निर्वाचित भएपछि आफूलाई सबै पार्टी कार्यकर्ताले सामूहिक सभापति मान्ने स्थिति व्यवहारतः प्रमाणित गर्नेतर्फ देउवा लाग्नुपर्दछ । जुन उनको आगामी कार्यक्रमहरुले प्रष्ट पार्दै लग्नेछ । मूल पार्टीको नेतृत्वमा बल्ल आएकाले विगतको उनको समूह परिचालनलाई जोडेर पार्टीलाई त्यही रुपमा लैजालान् भनेर कटाक्ष वा अड्कलबाजी गर्नुभन्दा नेतृत्व परीक्षणको अवसर देउवालाई मिलेको छ, उनी त्यसलाई भरपूर सदुपयोग गर्न सक्नेछन् आशावादी बनौं ।

पार्टीभित्रको खाडललाई पुर्नु देउवाका निम्ति पहिलो कार्यभारको रुपमा रहेको छ । एकत्रित र एकताबद्ध पार्टीले मात्र देशको हितमा सही निर्णय लिन सक्दछ । त्यसका लागि देउवाले विगतको आफ्नो छविमा आमूल परिवर्तन ल्याई माग्नुपर्ने विगतको अवस्थाबाट आफू अहिले दिने हैसियतमा पुग्दा माग्ने र दिने अवस्थाकै अन्त्य गर्न उनको प्रभावकारी भूमिका प्रदर्शित हुनुपर्दछ ।

पार्टीलाई एकमतको पार्टी बनाएर लैजान सक्दा देशको महत्वपूर्ण कार्यभारहरुलाई पूरा गर्न ठूलो पार्टीको हैसियतको जिम्मेवारी बहन गर्न सकिने अवस्था रहन्छ । पार्टीलाई एकताबद्ध बनाउने दिशामा नेतृत्वकर्ताको नाताले देउवाको भूमिका अहम् रहन्छ, तर पार्टीलाई एकताबद्ध बनाउने नाममा पार्टीले पूर्ववत् गरेका देश अनुकूलका निर्णयमा अहिलेको कांग्रेसको नेतृत्वमा पुगेका देउवाको स्ट्याण्ड कायमै रहनुपर्दछ । विगतको उपलब्धिलाई संविधान निर्माणमार्फत संस्थागत गरिएको अवस्थामा संविधानको व्यावहारिक कार्यान्वयन गर्दै भूकम्पले थिचिएको देशको पुनर्निर्माण गर्दै समृद्धिको दिशामा मुलुकलाई अघि बढाउने नीतिको निर्माण र त्यसको कार्यन्वयन गर्न देउवा कार्यकाल सफल रहोस् ।

Check Also

sarad-pokhrel

ब्रेजिक्ट र ट्रम्पको उदय

स्वदेश र विदेशका विज्ञहरुको अंक गणितीय प्रक्षेपणलाई गलत साबित गर्दै ७० वर्षीय डोनाल्ड ट्रम्प अमेरिकी …