Home / News / विचार / सबै गन्यमान्य सबै वरिष्ठ

सबै गन्यमान्य सबै वरिष्ठ

० योगेश आदी (Yogesh Aadi)
ygshdngl@yahoo.com

नेपालीहरु आफूसरहको व्यक्तिलाई हत्तपत्त नमस्ते भन्न हिच्किचाउँछन् । जसले शुरुमा ‘नमस्ते’ भन्यो ऊ सानो र नमस्ते खाने मान्छे ठूलो हो भन्ने शिष्टाचारबाट हामी दीक्षित छौं । एउटै दर्जा वा पोष्टमा पनि अघिल्लो दिन जागिर शुरु गरेको मान्छे अलि ठूलो भन्ने भ्रममा हामी छौं । सम्भवतः दक्षिण एसियालीहरुमा मात्रै यस्तो किसिमको शिष्टाचारको संस्कार हुन्छ । केही महिना युरोपतिर बरालिंदा मैले के महसुस गरेको थिएँ भने– पश्चिमाहरु एकान्तमा अपरिचितसँग भेट्दा पनि जसले पहिला देख्यो उसैले साक्षात्कार गर्ने गर्दा रहेछन् । यसबाट के अनुमान लगाउन सकिन्छ भने हामी नेपालीहरुलाई बोल्दा नै भाउ र सम्मान चाहिंदो रहेछ । त्यसैकारणले हुनसक्छ नेपाली शब्दकोषमा नै नभएको ‘मपाईं’ भन्ने शब्द चलनचल्तीमा चल्दै आएको । ‘के छ भाइ’ भनेर धापमा हात राखेपछि आफ्नो श्रीवृद्धि भएको महसुस गर्ने, वरिपरि दुईचार जना छ भने रवाफिलो फोनवार्ताले वातावरण बिगार्ने, परिचय दिंदा ‘म डाक्टर, इन्जिनियर, लयर फलानो’ भनेर परिचय शुरु गर्ने हामी नै हौंला । एकजना परिचित दाइले ‘आदरणीय दाइ आउँदा पनि भेट्न नआउने ?’ भनेर हालसालै भनेकाले मलाई यो शीर्षकमा लेख्न प्रेरित ग¥यो । आदर त अरुले दिने चिज हो । आफूले नै आफैंलाई आदरणीय भनेको मेरो मथिंगलमा घुस्दै घुसेन । मलाई कोरा, भद्दा र असहज सम्बन्ध बनाई राख्नुपर्ने कुनै बाध्यात्मक अवस्था छैन, त्यसैले मनमा नजँचेको कुराहरु लेखिहाल्छु ।

अमेरिकामा सबैले सबैलाई समान सम्मान दिन्छन् लिन्छन् । हामीजस्तो मनपरेको मान्छेलाई भएभरको पगरी थपेर दिंदैनन् । पद र पगरीको पनि एउटा मर्यादाक्रम हुन्छ । प्रेमिकालाई त जे उपमा दिए पनि भयो । उनलाई पुलकित पार्ने खालको सबै शब्दहरुले विभूषित गरे पनि कसैले आपत्ति जनाउँदैन । अंग्रेजी भाषाको हनीदेखि स्वीटहार्टसम्म, हिन्दीमा यारमदेखि प्यारमसम्म अनि नेपालीको प्रेयसीदेखि शोडषीसम्म जे भन्दा पनि चल्छ । समाजले सकारात्मक भावमा लिएका विशेषणहरुलाई व्यक्ति सुहाउँदो जसरी प्रयोग गर्दा पनि हुन्छ । जस्तै– गोरे, लम्बे, मोटोघाटो, बाठो इत्यादि । तर, नकारात्मक भाव देखिने काले, पुड्के, च्याँसे, गोज्याङ्ग्रो इत्यादि भने त्यो व्यक्ति त्यस्तै खालको भए पनि प्रयोग गर्न मिल्दैन ।

यी त भए प्रेम र जनजिब्रोका दायराभित्र रहेका विशेषणहरु । तर, हाम्रा समाजमा त्यस्ता विशेषणहरु पनि छन्, जसलाई प्रयोग गर्नुअघि विशेष सोच्नुपर्ने हुन्छ । त्यो विशेषण प्राप्त गर्नका लागि तोकिएको मापदण्ड, योग्यता र समयसीमा पूरा गर्नुपर्छ । जस्तै ‘वरिष्ठ’ । यो शब्द आजकल ज्ञान वा अज्ञानतावश जताततै मनलाग्दी प्रयोग गरेको देखिन्छ, तर यसलाई सहजै प्रेमिकालाई गुथाएको पगरीजस्तो प्रयोग गर्नु बिल्कुलै उपयुक्त हुँदैन किनकि भाषाको पनि आफ्नो नियम हुन्छ । इज्जत हुन्छ । उदाहरणका लागि– अधिवक्ता भन्नाले कानूनमा स्नातक गरी बार काउन्सिलको मेरिट परीक्षा उत्तीर्ण गरेको व्यक्तिलाई भनिन्छ । ‘अधिवक्ता’ कहलिनलाई व्यवसाय शुरु गर्नुपर्छ भन्ने पनि छैन । तर, अधिवक्ताले ‘वरिष्ठ’को विशेषण प्राप्त गर्नका लागि सर्वोच्च अदालतमा नियमित २० वर्ष बहस गरेको तथा कुनै कानूनी अभियोग लागेको हुनु हुँदैन । त्यसमाथि पनि बारको सिफारिसमा न्याय परिषद्ले अनुमोदन गरेपछि मात्र कोही व्यक्ति ‘वरिष्ठ अधिवक्ता’ बन्दछ । ४०औं वर्ष कानून व्यवसाय गरेका अधिवक्ता पनि वरिष्ठ त्यत्तिकै कहलिदैन ।

बृहत नेपाली शब्दकोषले ‘वरिष्ठ’ शब्दलाई सबैभन्दा उम्दा, सर्वाेत्तम, श्रेष्ठतम, अति ठूलो, उच्च कोटिको भनेर परिभाषा गरेबाट नै पुष्टि हुन्छ कि जोकसैलाई पनि वरिष्ठको उपमा दिनु भाषा र शब्दको मानमर्दन बराबर हो । वास्तवमा मलाई यो वरिष्ठ शब्ददेखि कुनै आरिसी छैन । तर, हामीले यस्ता शब्दहरुको व्यावहारिक प्रयोगमा मनामानी गर्न शुरु ग¥यौं भने पछि पानी बढ्ता धमिलो भएपछि सङ्लो पार्न कठिन हुने भएकाले सचेत बनौं भन्न मात्र खोजेको हुँ । फेसबुक चलाउँदै थिएँ । एउटा अत्यन्तै सहृदयी र शालिन मित्रले एउटा कार्यक्रमको सामूहिक फोटो पोष्ट गर्नुभएको रहेछ । फोटो माथिको क्याप्सनमा फोटोमा भएको जति सबै व्यक्तिलाई वरिष्ठ फलानो, वरिष्ठ फलानो भनेर लेख्नुभएको देखें । यस्सो सोचें… वरिष्ठ शब्द यति सहज भैसकेको हो र झैं लाग्यो । मलाई भलेभाँती थाहा छ, उहाँले कुनै अन्यथा सोचेर त्यस्तो लेख्नुभएको होइन । उहाँको सरल स्वभावले आफूभन्दा अग्रजलाई सम्मान र मायालु भावमा त्यो शब्दको उपमा दिनुभएको हो । यद्यपि, सामाजिक सञ्जाल नै अब जीवन र जगतको आधारशीला बनिसकेको अवस्थामा हामीले लेखेका सबै अंशहरु अभिलेख बराबर हुन्छ ।

संसार विचित्रको छ । हुनेले देखाइरहनु पर्दैन, आफैं देखिन थाल्छ । नहुनेलाई सकीनसकी देखाउनुपरेको छ । अरुले आफ्नो गुण र क्षमता हेरेर दिएको सम्मानार्थ शब्द पो ग्रहण गर्दा सुहाउँछ । आफैंले आफंैलाई दर्जा दिनु भनेको त राणाहरुले आफ्नो श्री बढाउँदै श्री ३ बनाएजस्तै हो ।

Check Also

राष्ट्रको विकास र गैरआवासीय नेपालीको भूमिका

राष्ट्र परिचय, विश्वमा आफूलाई परिचित गराउने आधार हो । यही राष्ट्रको विकास वा निर्माणसँग जोडिएको …