Home / News / अन्तर्वार्ता / बीमामा ठगिएकाहरुले एटर्नी जनरल र इन्स्योरेन्स डिपार्टमेन्टमा उजुरी गर्न सक्छन्

बीमामा ठगिएकाहरुले एटर्नी जनरल र इन्स्योरेन्स डिपार्टमेन्टमा उजुरी गर्न सक्छन्

० यम अधिकारी
पार्टनर, न्यूयोर्क लाइफ इन्स्योरेन्स

साधारणतया बीमित र बीमाप्रदायकबीचको सम्झौता, जहाँ प्रिमियम तिरेवापत बीमा प्रदायकले बीमितको क्षतिवापत सम्झौताअनुसार निश्चित रकम तिर्ने प्रक्रिया नै बीमा हो । सन् १७०६ मा पहिलो पटक एमिकेबल सोसाइटी नामको लण्डनस्थित विलियम टेलबोट र सर थोमस एलिनले शुरु गरेको कम्पनी नै विश्वमा पहिलो बीमा कम्पनी हो । अमेरिकाको हकमा सन् १७५२ मा साउथ क्यारोलिनाबाट बीमा कम्पनीको इतिहास शुरु भएको मानिन्छ । संयुक्त राज्य अमेरिकामा जीवनशैलीको हरेक क्षेत्रमा बीमा पहिलो खुड्किलो बनेको छ । व्यापारको बीमा, कामदारको बीमा, गाडी खरिद गर्नेबित्तिकै गाडीको बिमा, घरको बिमा, स्वास्थ्य बिमा अनि जीवन बिमा । यस्तो लाग्छ– अमेरिकामा जीवनको हरेक क्षेत्र बिमाले बाँधिने गर्दछ । तर, पछिल्ला केही दिनमा अमेरिकास्थित नेपाली समाज जीवन बिमाको इस्युमा तातेको छ । सामाजिक सञ्जालदेखि थुप्रै अनलाइन मिडियाहरुमा जीवन बिमा छरपष्ट भएको छ । केही जीवन बिमा कम्पनीहरुका असुविधाजनक प्रडक्टलाई नेपाली समाजभित्र धन्दाकै रुपमा विक्री गरिएपछि पोखिएको यो चर्चाले के जीवन बिमा खरिद गर्नु गलत त होइन भन्ने भ्रमसमेत सिर्जना हुन थालिसकेको छ । विभिन्न समयमा प्रकाशित तथ्यांकका अनुसार हाल संयुक्त राज्य अमेरिकामा मात्र ८ सय ३० वटा जीवन बिमा कम्पनीहरु सक्रिय छन् । यसै प्रसंगमा सन् १८४५ मा स्थापित न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापनभित्र बसेर काम गरिरहेका नेपाली यम अधिकारीसँग गरिएको बिमा–वार्ताः

तपाईं न्यूयोर्कमा पहिलो नेपाली बीमा व्यवसायी हो ?

लगभग त्यस्तै होला । सक्रियरुपमा काम गर्नेचाहिं मै हुँ । काम गर्दै, छोड्दै जानेचाहिं पहिला पनि कोही–कोही थिए भन्ने सुनेको छु । नेपाली मूलका नियमितरुपमा बिमा व्यवसायीका रुपमा काम गर्नेचाहिं मै हुँ ।

कति वर्ष भयो तपाईं अमेरिकाको बीमा व्यवसायमा काम गर्न थाल्नुभएको ?

१ दशक पूरा भयो ।

पहिला कुन बीमा कम्पनीबाट काम शुरु गर्नुभयो र अहिले कुनसँग सम्बन्धित हुनुहुन्छ ?

मेटलाइफबाट शुरु गरेको हुँ । ३ वर्ष मेटलाइफमा काम गर्दा फाइनान्सियल सर्भिस प्रोफेसनलका रुपमा सफलतापूर्वक काम गरें । त्यसपछि म्यानेजमेन्ट एसोसिएट्स भएर न्यूयोर्क लाइफमा काम गर्दैछु । पाँच वर्ष भयो न्यूयोर्क लाइफ इन्स्योरेन्समा छु । अहिले कम्पनीमा पार्टनरकै रुपमा काम गरिरहेको छु ।

अहिले तपाईंको कार्यक्षेत्र के हो ?

लाइफ इन्स्योरेन्स एजेन्टहरु नियुक्ति गर्ने, एजेन्टहरुलाई तालिम गराउँछु । बिजनेस प्राक्टिस कसरी गर्नुपर्छ भन्ने कुरा जानकारी गराउँछौं, कसरी प्रिजेन्टेसन गर्ने भनेर हामी सिकाउँछौं । कसरी सही प्रडक्ट वितरण गर्ने सिकाउँछौं । म मात्र होइन न्यूयोर्क लाइफको ठूलो टिम एजेन्ट डेभलपमेन्टमा काम गर्छौं, जसले गर्दा जनताको आवश्यकताअनुसारका प्रडक्ट हामी जनतासामु लैजान्छौं र भविष्यमा कुनै असन्तुष्टि हुन्न ।

न्यूयोर्क लाइफले कुन–कुन इन्स्योरेन्स बढी डिल गर्छ ?

हामीले टर्म लाइफ, होल लाइफ, कष्टम होल लाइफ बढी डिल गर्छौं ।

वर्तमान अवस्थामा अमेरिकी नेपाली समाजभित्र इन्स्योरेन्सको विषयमा नकारात्मक हल्लाहरु छरपष्ट भएका छन्, यसलाई के भन्नुहुन्छ ?

यो यथार्थमा के हो भने केही समयअगाडि एक–दुई इन्स्योरेन्स कम्पनीले इन्डेक्स युनिभर्सल लाइफ भन्ने प्रडक्ट ल्याएर जनतालाई १३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याज पाइन्छ भनेर बेचेका रहेछन् । व्यक्तिपिच्छे फरक–फरक तरिकाले प्रडक्ट बेचिएको रहेछ । जुन ढंगले बढाइचढाइ गरेर बेचेका छन्, वास्तविकरुपमा त्यो छैन । इन्डेक्स युनिभर्सल लाइफको कुरा बुझ्न एकदम गाह्रो छ । त्योभित्र हिडन कुराहरु थुप्रै हुन्छन् । सर्वसाधारण सबैले त्यो बुझ्न सक्दैनन् । त्यही गलत प्रडक्ट बजारमा बेचिदिएका कारण यस्तो परिणाम आएको हो ।

न्यूयोर्क लाइफले चाहिं त्यो प्रडक्ट विक्री गर्छ कि गर्दैन ?

न्यूयोर्क लाइफले कुनै पनि हालतमा त्यस्तो प्रडक्ट न पहिला विक्री गथ्र्यो, न त आज नै विक्री गरेको छ । त्यो प्रडक्ट भोलि पनि विक्री गर्दैन । हाम्रो एजेन्टले स्ट्रिकली यो प्रडक्ट बेच्दैनन् । इन्डेक्स युनिभर्सल लाइफ हामी फेबर पनि गर्दैनौं । न्यूयोर्क लाइफले चाहेको भए पहिल्यै यो प्रडक्ट लिएर आउँथ्यो । यसले जनतालाई फाइदा गर्दैन भनेपछि यस्ता प्रडक्ट न्यूयोर्क लाइफले ल्याएन । न्यूयोर्क लाइफजस्तो १ सय ७१ वर्ष पुरानो बिमा कम्पनीले त्यस्ता गलत प्रडक्ट कुनै हालतमा विक्री गर्दैन ।

तपाईं त यति लामो इतिहास भएको कम्पनीमा काम गर्नुहुन्छ, नेपाली समुदायभित्र पनि समाजसेवामा अहोरात्र खटिइरहनुभएको छ । जीवन बिमाका कारण नेपाली समुदायभित्र अहिले त्रासको वातावरण पैदा भएको छ, यसको समस्या ठ्याक्कै के हो ?

एकदुई कम्पनीले इन्डेक्स युनिभर्सल लाइफ नामक प्रडक्ट बेचिदिएपछि नेपाली समुदायभित्र पनि यो समस्या सिर्जना भएको हो । समस्याको जड नै त्यही एउटै मात्र प्रडक्ट हो ।

त्यो प्रडक्ट कसरी त्यस्तो विवादास्पद भयो ?

त्यो प्रडक्टमा लुकाइएका कुरा धेरै थिए । १३ प्रतिशत, १५ प्रतिशत ब्याज दिने कुरा गलत थियो । हुँदाहुँदा ६० वर्षसम्म महिनैपिच्छे पैसा तिर्दै जाने अनि ६० वर्षपछि मृत्यु हुँदा बीमा रकम पनि शून्य र तिरेको रकम पनि शून्य हुने बीमा बेचिदिएपछि समस्या त हुने नै भयो नि । अहिलेको चर्चा त्यही हो । त्यसैले गलत प्रडक्ट कतिपय कम्पनीले बेचिदिएपछि राम्रा र ठूला कम्पनीलाई समेत समुदायभित्र अप्ठेरो परेको अवस्था छ । सबैलाई एउटै घानमा हालेर हेर्न मिल्दैन । इन्स्योरेन्स र फाइनान्सियल प्लानिङबिना समाजको कल्पनासम्म गर्न सकिन्न । त्यसकारण इन्स्योरेन्स नै गलत भन्ने चर्चा गर्नु मुर्खता हो । अमेरिकाजस्तो देशमा हरेक चिजको इन्स्योरेन्स हुन्छ । त्यस्तो देशमा इन्स्योरेन्स नै गलत भन्नुभन्दा प्रतिष्ठित कम्पनीका प्रडक्ट राम्रोसँग बुझेर किन्नुपर्छ । बरु बुझिएन भने मलाई हरेक नेपालीले २४सैं घण्टा फोन गरेर सोध्न सक्नुहुन्छ । म सहयोग गर्न तयार छु । अहिले न्यूयोर्क लाइफजस्ता संस्थालाई र हाम्रा एजेन्टले गरेका कामलाई समस्या छैन । किनकि हामी ‘हाइली इथिकल’रुपमा काम गर्छौं ।

इन्स्योरेन्स कम्पनीले दायाँ–बायाँ जताबाट पनि आफू माथि परेर फाइदा लिन्छन् भन्ने चर्चा पनि सुनिन्छ नि ?

प्लानिङ राम्रोसँग गर्न सकेको खण्डमा यो कुरा व्यक्तिमा पनि भर पर्छ र कम्पनीमा पनि भर पर्छ । कस्तो प्लानिङ गरेको छ भन्ने कुरा हो । बीमाले अवश्य पनि फाइदा दिन्छ । फाइदा दिने नै भएकाले त्यति लामो समयदेखि अमेरिकामा यस्ता कम्पनीहरु चलिरहेका छन् । मिस रिप्रिजेन्टेसन गर्ने, गलत आश्वासन दिने काम गरेर पनि बीमा बेचेको देखिन्छ । त्यस्ता मान्छेलाई कारबाहीका लागि अमेरिकामा ‘एक्जिस्टिङ ल’ छ । त्यो कानूनले मज्जाले कारबाही गर्न सकिन्छ । स्टेट इन्स्योरेन्स डिपार्टमेन्ट, एटर्नी जनरलको कार्यालयमा कम्प्लेन गर्न सकिन्छ । यस्तो इस्यू हेर्नलाई निशुल्क वकिलसमेत पाइन्छ । चुप लागेर बस्नु भएन । चुप लागेर बस्यो ठगीमा परिन्छ ।

ठगिएकाहरुले के गर्नुपर्यो त ?

गलत सूचना दिएर इन्स्योरेन्स विक्री गर्नेविरुद्ध सम्बन्धित निकायमा कम्प्लेन गरे कारबाही हुन्छ । अमेरिका न्याय पाइने देश हो, चिन्तै गर्नुपर्दैन । योभन्दा अगाडि यस्ता घटनामा न्याय पाएका थुप्रै नजिर पनि छन् ।

अहिले विवादमा आएको इन्डेक्स युनिभर्सल लाइफ भनेको चाहिं कस्तो हो ?

एसएनपी ५०० सम्म चाहिं एट्याच गरेर यो व्यक्तिहरुको लगानी त्यहाँ जान्छ भन्ने कन्सेप्ट हो । तर, त्यहाँ एउटा क्याप हुन्छ । जस्तो ९ दशमलव ५ भन्दा माथिचाहिं नदिने । माथिल्लो पार्ट, जस्तो– ३४ प्रतिशत मार्केट गयो भने व्यक्तिले पाउने जम्मा ९ दशमलव ५ मात्र हो । मार्केट तल झर्यो भने जम्मा २ प्रतिशतले प्रोटेक्ट हुन्छ, तर त्यहाँ ८ थरीका शुल्क लगाइएका हुन्छन् । हिडन कष्टहरु हुन्छन् । त्यहाँ २० वर्ष पछि पैसा आफूले बुझाएको पैसा निकाल्न खोज्दा ग्यारेन्टी साइडचाहिं ल्याप्स हुन्छ र शून्य हुन्छ । डेड बेनिफिट पनि ल्याप्स हुन्छ, शून्य हुन्छ ।

पैसा ति¥यो अन्त्यमा केही नपाउने यस्तो बीमा बेच्न अमेरिकी सरकारले स्वीकृति दिन्छ त ?

त्यस्ता प्रडक्टको कन्ट्र्याक्टमा मसिनो अक्षरले सबै लेखिएको हुन्छ । पढ्नुप¥यो । आफ्ना विश्वासिला मान्छेले राम्रो भनेर ल्याएपछि विश्वासमा प्रडक्ट किन्नेहरु फसेका छन् । अब चाहिं इन्स्योरेन्स किन्दा पाना पल्टाउने समय आएको छ । म एउटा अनुरोध गर्छु, जसले बीमा किन्नुभएको छ, हतारमा क्यान्सिल नगर्नुस् किनभने बीमाभित्र धेरै राम्रा कुराहरु पनि छन् । राम्रा कम्पनीको बीमा खराब हुन्न । सबैले इन्डेक्स नकिनेका पनि होलान् । जसले इन्डेक्स इन्स्योरेन्स किन्नुभएको छ, स्टेट अफ न्यूयोर्कको कानूनअनुसार रेगुलेसन ६० फलो गर्नुपर्छ । हुन सक्छ अर्को इन्स्योरेन्सले नदिन सक्छ, दिन पनि सक्छ ।

रेगुलेसन ६० भनेको के हो ?

कसैले रिप्लेस गर्नुपर्यो, नयाँ लिनुपर्यो भने स्टेटको कानूनअनुसार भनेर लिनुपर्छ । त्यसैले विचार गर्नुस् ।

Check Also

अमेरिकी मूलधारमा जाने एउटा ‘वे’

अमेरिकाको क्यालिफोर्नियामा सन् २००६ मा नेपालीहरुको सहभागितामा बर्कली अन्नपूर्ण लायन्स क्लब स्थापना गरी त्यसको संस्थापक …