Home / News / प्रवास / एनआरएन अमेरिका न्यायिक समितिले भन्यो– अन्दाजका भरमा बल्छी थापेर माछा मार्ने काम गलत

एनआरएन अमेरिका न्यायिक समितिले भन्यो– अन्दाजका भरमा बल्छी थापेर माछा मार्ने काम गलत

NRNUSAन्यूयोर्क । गत वर्ष अप्रिल महिनाको मध्यतिर विद्युतीय प्रणालीमार्फत सम्पन्न निर्वाचनमा धाँधली भएको दाबी गर्दै परेको एनआरएन अमेरिकाविरुद्धको मुद्दाका सम्बन्धमा न्यायिक समितिले महत्वपूर्ण निर्णय गरेको छ । गत अप्रिल १४ देखि २० सम्म सम्पन्न निर्वाचनको परिणामलाई अस्वीकार गर्दै १४ जना पराजित उम्मेदवारहरु एनआरएन अमेरिकाविरुद्ध धाँधली गरेर विजयी भएको आरोप लगाउँदै अदालतको ढोका चहार्न पुगेपछि अदालतकै आदेशअनुसार छानबिन गरी निर्णय गर्ने जिम्मेवारी पाएको संस्थाकै न्यायिक समितिले वादीहरुको मागलाई अनुमानको भरमा थापेको बल्छी भनेको छ । न्यायिक समितिको ७ पृष्ठ लामो लिखतमा भनिएको छ– ‘१० हजार मतदाताको आईपी ठेगाना र इमेल ठेगाना वादीहरुलाई उपलब्ध गराउनुपर्ने उनीहरुको माग मतदाताको गोपनीयतासँग सम्बन्धित भएकाले भंग गर्न मिल्दैन ।’

न्यायिक समितिका तीन कानून व्यवसायी अध्यक्ष दुर्गाप्रसाद भुर्तेल, सदस्यहरुमा गिरिजा गौतम तथा यज्ञप्रसाद नेपालद्वारा हस्ताक्षरित उक्त निर्णयले अनुमानको भरमा बल्छी थापेर माछा मार्ने प्रवृत्ति कानूनले वर्जित गरेको छ । मतदाताको आईपी ठेगाना र इमेल वादी पक्षलाई उपलब्ध गराउनै पर्ने कुनै कानूनी आधार नभएको हुँदा उपलब्ध गराउन नसकिने निर्णय गर्दै वादीहरुको उक्त माग न्यायिक समितिले अस्वीकार गरेको छ ।

गत मार्च ३ तारिख गरिएको उक्त निर्णयअनुसार न्यायिक समितिले विद्युतीय निर्वाचन गराएको सिम्प्ली भोटिङसँग अध्यक्षमा मात्र एक छाप गएको ५ सय ५० मतको विवरण भने माग गरेको छ । त्यसैगरी तत्कालीन अध्यक्ष पदका उम्मेदवार तथा वर्तमान अध्यक्ष डा. केशव पौडेलले ६ सय २३ सदस्यका सदस्यता शुल्क व्यक्तिगतरुपमा दिएको भन्ने वादी पक्षको आरोपका लागि न्यायिक समितिले १५ दिनभित्र वादी पक्ष, वर्तमान समिति तथा न्यायिक समितिका १–१ जना रहने गरी ३ सदस्यीय छानबिन समितिसमेत गठन गर्ने निर्णय गरेको छ । छानबिन समितिका सम्बन्धमा न्यायिक समितिका अध्यक्ष दुर्गा भुर्तेल भन्छन्– ‘गैरआवासीय नेपाली संघ अमेरिकाको विधानले सदस्यता शुल्कका सम्बन्धमा सदस्य स्वयम्ले तिर्नुपर्ने उल्लेख गरेको छैन । यदि अध्यक्ष डा. पौडेलले सदस्यता शुल्क तिरेका सदस्यहरु विधानत योग्य छन् भने गैरकानूनी भन्न मिल्दैन, तर अयोग्य छन् र व्यक्ति काल्पनिक हुन् भने समस्या हुन सक्छ । त्यसैको छानबिनका लागि ३ सदस्यीय समिति गठन गर्दैछौं ।’

निर्वाचनको केही महिनापछि संस्था दर्ता भएको राज्य टेनेसीस्थित रुथफोर्ड काउन्टीको चान्सेरी अदालतमा परेको मुद्दामा यसअगाडि अदालतले उक्त विवादलाई संस्थाकै न्यायिक समितिले टुंगो लगाउन दुवै पक्षलाई राजी गराउँदै सम्झौता गराएको थियो ।

Check Also

एनआरएन अमेरिका चुनाव– कालेकाले मिलेर खाऊँ भाले 

गतवर्षको नोभेम्बर ४ शुक्रबारका दिन एनआरएन अध्यक्ष डा. केशव पौडेल नेपाल जाने क्रममा डालस एयरपोर्टमा …