Home / News / विचार / ओलीको चीन भ्रमण र आशाको फिलिंगो

ओलीको चीन भ्रमण र आशाको फिलिंगो

० सुरज भण्डारी
journalistsuraj@gmail.oom

प्रधानमन्त्री खड्ग प्रसाद (केपी) ओली यसै साता चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको हैसियतमा ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्ने अड्कलबाजी गरिए पनि ओलीका लागि चीन पहिलो रोजाइमा भने पर्न सकेन ।

भारत भ्रमण सकाएर फर्किएको करिब एक महिनापछि ओली चीन भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीमा ओली निर्वाचित हुनु अघि र भइसकेपछिको अवस्थामा देखिएको दक्षिण सीमा अवरोधलाई जोडेर ओलीको पहिलो भ्रमण चीनबाट हुने अड्कलबाजी काटिएको थियो, तर भ्रमणकोे निम्ति अनुकूल वातावरण निर्माण गर्दै अन्ततः ओली पहिलो विदेश यात्राका लागि भारत भ्रमणमा निस्किएका थिए, अब प्रधानमन्त्री चीन निस्कँदैछन् ।

हुन त प्रधानमन्त्री पहिला कुन देशको यात्रामा निस्कने, वा प्रधानमन्त्री या मन्त्रीको विदेश भ्रमणमा पहिला कुन देश पर्ने अथवा पर्नुपर्दछ भन्ने विषय गौण रहन्छ । मुख्य कुरा भ्रमण किन र भ्रमणलाई कसरी उपलब्धिमूलक बनाउन सकिन्छ भन्ने विषय नै अहम् रहन्छ । यही प्रसंगमा चर्चा गर्दा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई कसरी अर्थपूर्ण बनाउन सकिन्छ भन्ने मुद्दामा बढी केन्द्रित हुनु जरुरी छ ।

नेपालको भूराजनीतिक अवस्थालाई हेर्दा सीधा सीमा जोडिएका दुई राष्ट्रमध्ये एक राष्ट्र चीन पनि हो । समुन्द्रसँग नजोडिएको भूपरिवेष्ठित मुलुक नेपालको दक्षिण, पूर्व र पश्चिमको सीमामा भारतको भूगोल जोडिएको छ भने उत्तरी र केही उत्तर पश्चिम सीमामा चीनको भूगोल जोडिएको छ । नेपालको उत्तरी छिमेकी चीन विश्व अर्थतन्त्रको महत्वपूर्ण शक्तिका रुपमा रहेको छ । संयुक्त राज्य अमेरिका र चीनबीचको पहिलो र को दोस्रो रहने भन्नेमा प्रतिस्पर्धा भैरहेको हुन्छ । विश्व बजारमा महत्वपूर्ण हिस्सेदारी निभाइरहेको चीनबाट नेपालले धेरै लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको छ । सुरक्षा परिषद्को पाँच राष्ट्रमध्येको एक शक्ति राष्ट्र चीन नेपालको छिमेकी राष्ट्र भइकन पनि त्यसबाट अपेक्षाकृत लाभ नेपालले लिन सकिरहेको छैन ।

नेपालको व्यापारिक अवस्थालाई हेर्दा चीनसँगको व्यापारिक अवस्था अर्को छिमेकी देशसँगको तुलनामा नगन्य देखिन्छ । चीनसँगको व्यापार प्रवद्र्धन गर्न सक्दा नेपालको निम्ति त्यो निकै लाभदायक देखिने अवस्था छ । विश्व बजारको महत्वपूर्ण पाटो बनेको चीनका लागि नेपालको व्यापार आर्थिक रुपमा तुलना गर्दा त्यति अहम् नरहे पनि छिमेकी मुलुकसँगको सम्बन्धले कूटनीतिक रुपमा त्यसले निकै महत्व राख्दछ, तर त्यही कुरा नेपालका निम्ति आर्थिक रुपले पनि त्यो निकै लाभदायक देखिन्छ ।

पछिल्लो पटक दक्षिण सीमामा भएको नाकाबन्दीले देशमा देखिएको अत्यावश्यक वस्तुको अभावले उत्तरी छिमेकीसँगको सम्बन्धलाई फेरि नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता खड्काएको थियो । व्यापारमा एकल परनिर्भरताको असर नेपाली जनताले भोग्नुप¥यो भने स्वयं ओली सरकारले समेत त्यसको चाल पाइसकेको छ । दुई छिमेकी मुलुकसँग समदूरी, समभावको सम्बन्धलाई स्थापित गर्दै खुल्ला बजार अर्थतन्त्रमा आधारित विश्वका अन्य राष्ट्रसँग पनि व्यापार सम्बन्ध बढाउने दिशामा नेपाल सरकार लाग्नु जरुरी छ ।

प्रधानमन्त्री ओलीको यही साता हुने चीन भ्रमणलाई अहिले निकै अर्थपूर्ण रुपमा हेरिएको छ । चीनसँग नयाँ शिराबाट अगाडि बढ्न सक्दा केवल चीनको मात्रै नभएर चीनसँग भूगोल जोडिएका नेपाल र भारतबाहेक १२ राष्ट्र तथा चीनको समुन्द्री नाका तथा बन्दरगाह प्रयोग गरी विश्वका अन्य देशसँग सिधा व्यापारिक सम्बन्ध स्थापित गर्न सक्ने अवस्था देखिन्छ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको चीनसँग नेपालको सम्बन्धलाई नयाँ कसीबाट लैजान सक्दा बुद्ध जन्मस्थल लुम्बिनी रहेको नेपालको पर्यटन क्षेत्रले समेत आशातित उपलब्धि हासिल गर्न सक्दछ ।

राष्ट्रिय स्वाधिनता र राष्ट्रिय स्वाभिमानमा अडिएर चीन भ्रमणमा नेपालले निम्न मुद्दाको उठान, प्रतिबद्धता तथा निम्न विषयमा सहयोग सम्झौताको माग र सहमति गर्न सक्नुपर्दछ । केवल औपचारिकताभन्दा माथि उठेर भविष्यको आर्थिक विकासको आधार निर्माणको तहबाट यो भ्रमणलाई उपलब्धिमूलक बनाउने दिशामा नेपाली प्रतिनिधिमण्डलको पहलकदमी हुनु जरुरी छ ।

बिप्पा सम्झौता

यो भ्रमणमा बिप्पा सम्झौता हुने चर्चा चलेको छ । चीनसँग पनि यो सम्झौता गरिनु जरुरी छ । बिप्पा सम्झौता गर्न सक्दा नेपालमा लगानी गर्न चिनियाँहरुलाई उत्साहित तुल्याउनुका साथै लगानीको सुरक्षा प्रत्याभुतिले व्यापारमा अभिवृद्धि हुने देखिन्छ ।

पारवहन सम्झौता

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा अर्को महत्वपूर्ण पाटो पारवहन सम्झौतालाई हेरिएको छ । पारवहन सम्झौता हुन सक्दा चीनले अन्य मुलुकसँग समेत नेपालको व्यापारिक सम्बन्ध स्थापित गराइदिन महत्वपूर्ण भूमिका खेल्न सक्दछ, यो निकै महत्वपूर्ण उपलब्धि हुन सक्ने देखिन्छ ।

उत्तरतर्फ अन्य नाका खोल्न पहल तथा खुल्ला नाकाको व्यवस्थापन

उत्तरी सीमा जोडिएको चीनका धेरै स्थानहरुमा नाका खोल्न सकिने अवस्था रहे पनि खुल्ला भैसकेको अवस्था छैन । खोलिएका नाका पनि व्यवस्थित हुन सकेको छैन, यसका लागि चीनसँग सहमति र सहयोग माग गर्नु आवश्यक छ ।

सीमा सडक निर्माणमा सहयोग माग

चीनसँगको सीमा नाका खोल्ने मात्र नभई नाकासम्मको नजिकको नेपाली शहर जोड्ने सडक निर्माणका लागि पनि सहयोग माग गर्नुपर्दछ । चीनले चाहेमा त्यो गाह्रो विषय पनि होइन ।

सुख्खा बन्दरगाह निर्माणमा सहयोग माग

नाका नजिक सुख्खा बन्दरगाह खोल्नका लागि समेत सहयोग माग गर्नुपर्दछ । व्यवस्थित बन्दरगाहको निर्माणले मात्र व्यापार बढ्दछ ।

ऊर्जा र सडक निर्माणमा सहयोग माग

नेपाल विकासको अवरोध ऊर्जा र सडकमा चीनको सहयोग लिन सक्नुपर्दछ । ऊर्जा र सडकमा चिनियाँ अनुदान बढाउनेतर्फ पहलकदमी गरिनु जरुरी छ । पछिल्लो पटक निकै चर्चामा आएको रेल सञ्जालमा नेपाललाई जोड्ने विषय र उत्तर–दक्षिण सडक निर्माणमा समेत चासो देखाउनुपर्दछ ।

इन्धन सम्झौता

व्यापारमा अडिएको विश्व राष्ट्र सम्बन्ध भएकाले माग्ने मात्र होइन सम्झौता गर्न पनि हामी तयार हुनुपर्दछ । चीनसँग इन्धन सम्झौता गरेर इन्धनमा समय–समयमा हुने समस्या समाधानको ठोस पहल गरिनु जरुरी छ । सहयोगमा समेत माग्ने र बाँकी व्यापारिक दृष्टिकोणले पनि सम्झौता गर्नुपर्दछ ।

श्रम बजारको खोजी

विश्व शक्तिराष्ट्र चीन नेपालको छिमेकी मुलुक भइकन पनि चीनमा नेपाली रोजगारीका लागि जाने अवस्था निकै तल रहेको छ । त्यहाँको श्रम बजारमा नेपालीको प्रवेश बढाउनेतर्फ पनि पहल गर्नु जरुरी छ । व्यवस्थित रुपबाट दक्ष जनशक्तिलाई न्यायोचित सम्झौताका आधारमा चीनको श्रम बजारमा पठाउन सक्दा रोजगारीका लागि निकै कष्ट सहेर अन्य मुलुक जाने र काम गर्ने नेपाली युवाका लागि त्यो हितकर रहन्छ ।

पर्यटन प्रवद्र्धनमा जोड

बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको चीनसँग पर्यटन सम्बन्ध बढाउन सक्दासमेत नेपालको आर्थिक विकासमा त्यो कोसेढुंगा साबित हुन्छ । जनसंख्याको दृष्टिकोणले समेत ठूलो राष्ट्र चीनको १ प्रतिशत जनसंख्या मात्रै पनि नेपालमा वर्र्षेनी ल्याउन सक्दा त्यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । बौद्ध जन्मस्थल नेपालको लुम्बिनीलाई बौद्ध धर्मावलम्बीहरुको एक पटक पुग्नै पर्ने स्थलको रुपमा चित्रित गराएर त्यो खालको वातावरण निर्माण गरिनु जरुरी छ ।

लिपुलेक सम्झौताबारेको विषय उठान

सहमति र सम्झौताका साथै नेपालको तर्फबाट यो भ्रमणमा बडो महत्वका साथ लिपलेक सम्झौताको विषयको उठान गरिनु आवश्यक छ । नेपालसहित त्रिदेशीय भूभाग भएर पनि चीन र भारतका बीचमा मात्रै भएको लिपुलेक सडक निर्माण सम्झौतामा नेपालको तर्फबाट आफ्नो धारणा राख्न सक्नुपर्दछ । आफ्ना समकक्षीसँगको भेटमा ओलीले यो विषयलाई बडो महत्वका साथ उठाउन सक्नुपर्दछ भने लिपुलेकसहित चीनसँग समेत सीमा विवाद देखिएका खासगरी उत्तरी पश्चिमी क्षेत्रको समस्यालाई उठाउनुपर्दछ ।

एक चीन नीतिप्रतिको प्रतिबद्धता

चीनका लागि सधैं टाउको दुखाइको विषय बनिरहेको फ्री तिब्बतको अभियानमा नेपालले सदाजस्तै एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याउनु पर्दछ । फ्री तिब्बत आन्दोलनलाई फाइदा पुग्ने कुनै पनि गतिविधिमा नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिबद्ध रहेको पुरानै अडानमा चीनलाई आश्वस्त पार्नुपर्दछ ।

सार्कमा सकारात्मक भूमिकाको प्रतिबद्धता

चीनको चासोका रुपमा रहेको दक्षिण एसियाली सहयोग संगठन सार्कमा चीनको चासोलाई नेपालले सकारात्मकरुपमा लिएको प्रतिबद्धता जनाउनुपर्दछ । हाल पर्यवेक्षकका रुपमा रहेको चीनको सार्कमा प्रवेश हुने चाहनालाई नेपालले सकारात्मक रुपमा लिएको बुझाउनुपर्दछ । अझ खासगरी नेपालले नाकाबन्दीको मार खेप्दासमेत सार्क निरीहजस्तै देखिएकाले समेत नेपालले यो विषयलाई बढी महत्वका साथ उठाउन सक्नुपर्दछ ।

Check Also

Chitra Bahadur KC. Photo: Bijay Gajmer/Republica/Nagarik

प्रचण्ड सरकार र नेपालको भविष्य

नेपाल देशको इतिहासलाई फर्केर हेर्ने हो भने पहिल्यैदेखि स्वतन्त्र भएको इतिहास छैन । सबैलाई थाहा …