Home / News / मनोरञ्जन / अपूरो ड्रिम्स

अपूरो ड्रिम्स

dreamsmovie

नेपाली चलचित्र उद्योगमा बहार ल्याउने अभिनेताका रुपमा ख्याति कमाएका सुपरस्टार नायक भुवन केसी निर्मित तथा निर्देशित चलचित्र ड्रिम्स प्रचार गरिएजस्तो नभएको भन्दै सर्वत्र तीतो पोखिएको छ । फरक धारको चलचित्र र मल्टीप्लेक्स सिनेमा निर्माण तथा निर्देशनको होडमा मूलधारका नायक केसीले आफ्नो धरातल बिर्सेर हतारमा चलचित्र निर्माण गर्नु उनी आफैंका लागि घातक साबित भएको छ । चलचित्र ड्रिम्स भुवन केसीले निर्माण गरेको तथा निर्देशन गरेको चलचित्र जस्तो पटक्कै देखिएको छैन । चलचित्रमा नायक केसीको पुरानो स्टाइलबाहेक चलचित्रको कथावस्तुमा खासै ‘वर्कआउट’ गरेजस्तो लाग्दैन । यसले गर्दा भुवन केसीले यसअघि निर्माण गरेका सपना, करोडपति, नेपाली बाबुजस्ता चलचित्रको तुलनामा चलचित्र ड्रिम्स आउनै सकेन ।

पारपाचुके गरिसकेकी कान्छी पत्नी सुस्मिता केसीको कोखबाट जन्मेका नवप्रवेशी नायक अनमोल केसीको क्रेजलाई ‘क्यास’ गर्ने हतारोमा चलचित्रको सम्पूर्ण भार छोरा अनमोललाई बोकाउनु भुवन केसीको ठूलो गल्ती देखिएको छ । सानो उमेरका कारण चलचित्रको पर्दामा अझै पनि कुनै एंगलबाट अनमोल केसी हिरोजस्तो देखिएको छैन । अभिनय क्षमतामा निखार नआएका अनमोल केसीलाई भुवनले आफ्नो स्टाइलमा चलचित्र ड्रिम्समा चुरोट तान्न लगाएको र हाँस्ने तौर–तरिका पनि दुरुस्तै आफ्नैजस्तै कपी गराउँदा भोलि अनमोल खोज्नुपर्ने हुन सक्छ । चलचित्रमा कतै पनि अनमोल छाप भेटिंदैन । दुई चलचित्र होस्टेल रिटन्र्स र जेरीको सफलताको आँकलनकै भरमा नेपाली चलचित्रका हस्तीका रुपमा चिनिएका भुवनले चलचित्रको सम्पूर्ण भार छोरोलाई बोकाउनु गलत साबित भएको छ । नेपाली नयाँ पुस्तामा अनमोल केसीको क्रेज देखिए तापनि चलचित्र ड्रिम्समा अनमोलको अभिनयमा केटाकेटीपन देखिएका कारण उनी धेरै ठाउँमा चुकेका छन् । यसलाई सायद पुस्ता हस्तान्तरणको क्रममा देखिएको कमजोरी मान्न सकिन्छ ।

त्यसको तुलनामा दुई हिरोइन साम्राज्ञीलक्ष्मी राणा र सन्ध्या केसीको उपस्थिति चलचित्रको राम्रो पक्ष मान्न सकिन्छ । यी दुई नायिकाहरुले आगामी दिनमा अवसर पाएमा नेपाली चलचित्र उद्योगमा अब्बल दर्जाको स्थान जमाउने निश्चित छ । नायक केसीले सपनाको सामान्य कुरालाई यथार्थमा बदलिएको देखाएर चलचित्रलाई टुङ्ग्याउने प्रयास गरिएको छ । त्यो सपनामा नायिका साम्राज्ञीलक्ष्मी राणालाई असहाय तथा अनाथ बालिकाका रुपमा चित्रण गरिएको छ । उनै नायिकालाई बचपनमा अनमोलको पिताले ट्रकले किचिन लागेका बेला जोगाएर आफूले मृत्युवरण गर्नु र सोही प्रक्रियालाई दोहो¥याएर नायिका साम्राज्ञीलाई त्यसरी नै गाडीबाट किचिनबाट जोगाएर आफूले मृत्युवरण गर्ने अनमोलको ट्वीस्ट कथावस्तुसँगको सम्बन्धबारेमा खासै खुलाएको छैन ।

दर्शक आफैंले अनमोलको पिताले बचाएको त्यो बच्ची नै नायिका साम्राज्ञी हो भन्ने अनुमान गर्नुपर्ने अवस्था छ । कतिपय अनुमान गर्न नसक्दा दर्शकहरु अलमलमा पर्ने गरेको पाइएको छ । निर्देशक भुवन केसीले चलचित्र ड्रिम्समा हिरो अनमोल केसीलाई मारेर दर्शकको अपार सहानुभूति बटुल्न खोजेजस्तो देखिन्छ । यसो भए तापनि अनमोलको मरणबाट दर्शकहरु दुःखी बनेको पाइँदैन । यही नै चलचित्र ड्रिम्सको कथा तथा पटकथाको कमजोर पाटो बन्न पुगेको छ ।

भुवनलाई मन पराउने दर्शकले उनको चटपटे चलचित्र हेर्न नै रुचाउँछन् । सुन्दा पनि कानैले मज्जा मान्ने गीत–संगीतलाई प्राथमिकता दिने चालीस र पचास दशककै भुवन केसीले चलचित्र ड्रिम्समा नयाँ पुस्ताको चाहना अनि च्वाइस भनेर फितलो गीत तथा संगीत चलचित्रमा जबर्जस्ती भर्ने कोसिस गरेका छन् । हिन्दी फिल्मको कथावस्तुलाई तानतुन, जोडजाड गरेर चलचित्र बनाउनुभन्दा आफ्नै स्टाइलका सदाबहार चलचित्र निर्माण तथा निर्देशन गरेका भए भुवन केसीको थप उचाइ बढ्ने चलचित्र ड्रिम्स हेर्नेहरुको प्रतिक्रिया रहेको छ ।

सदा अब्बल प्रचारप्रसारमा विश्वास राख्ने भुवनले यस पटक पनि चलचित्र ड्रिम्सको प्रचार शैलीमा कुनै कसर बाँकी राखेनन् । सोही प्रचार शैलीका कारण ड्रिम्स हेर्न जाने दर्शकको घुइँचो देखिन्छ । प्रदर्शनको चार दिनमा २ करोडको बिजनेश गरेको आँकडा चलचित्र ड्रिम्सका वितरक गोपाल कायस्थले देखाएका छन् । तर, मल्टीप्लेक्स हलमा दर्शकको चाप देखिए पनि सिंगल थियटरमा भने भिड कम देखिएको छ ।

तर, कतिपय दर्शकले ड्रिम्सलाई केसी बाउ–छोराको प्रोजेक्टका रुपमा बुझेका छन् । त्यसैले चलचित्रमा कतै पनि भुवन केसीलाई नदेख्दा दर्शक हिस्स पर्ने गरेका छन् । जुन भुवनले दर्शकलाई अन्याय गरेजस्तो देखिएको छ ।

प्रस्तुतिः श्याम स्मृत

Check Also

छक्का–पञ्जा सय दिन पूरा

जात्रा पनि छैटौं हप्तामा कुनै पनि चलचित्रले नेपालमा प्रदर्शनको दुई हप्ता पनि पार गर्न कठिनाइ …