Home / News / विचार / ओलीको भ्रमण: पारवहन उपलब्धि

ओलीको भ्रमण: पारवहन उपलब्धि

  • सुरsuraj bhandariज भण्डारी
    journalistsuraj@gmail.oom

प्रधानमन्त्री खड्ग प्रसाद (केपी) शर्मा ओली अहिले उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा छन् । चैत ७ गतेदेखि उत्तरी छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणका क्रममा दुई राष्ट्रका बीचमा १०बुँदे सम्झौता भएको छ ।
बहुप्रतीक्षित इन्धन व्यापार सम्झौता हुन नसके पनि दूरगामी महत्वका सम्झौताहरु भएका छन् । पछिल्लो समय नाकाबन्दीको मारले इन्धन संकटको मार खेपेका नेपालीका लागि चीनसँग इन्धन व्यापार सम्झौता निकै आशातित विषय थियो । तर, त्यो सम्झौता भने अहिलेको भ्रमणमा हुन सकेन । त्यो सम्झौता अहिले हुन नसके पनि हुँदै हुँदैन भन्ने पनि सरकारको तर्फबाट आधिकारिक धारणा बाहिर आएको छैन । चीनबाट इन्धन नेपाल ल्याउने गृहकार्य भैरहेको सरकारका आपूर्तिमन्त्री गणेशमान पुनको कथन रहँदै आएको छ । आशा गरौं भोलिका दिनमा यसतर्फ पनि ठोस सम्झौता हुन सक्नेछ ।
इन्धन सम्झौता हुन नसके पनि ओलीको चीन भ्रमणमा चिनियाँ सहयोगसहितको १० बुँदे सम्झौता भएको छ यो सुखद् पक्ष हो । चीनसँग पनि बिप्पा सम्झौताको चर्चा चुलिए पनि त्यसबारे समेत अहिलेको जारी भ्रमणका क्रममा ठोस कुनै सम्झौता हुन सकेन । इन्धन र बिप्पा सम्झौतालाई छाडेर हेर्दा जे–जति सम्झौता भएका छन् ती सम्झौतासमेत निकै महत्वका रहेका छन् । चीनसँगको सम्बन्धले धेरै सम्भावना खोल्न सक्ने भए पनि त्यो सम्भावनालाई मूर्त रुप दिन नेपाल पक्ष सधैं चुक्दै आएको देखिन्छ । नेपाल र चीनबीचको आधुनिक सम्बन्धको जग सन् १९५५ मा स्थापित दौत्य सम्बन्धले बसालेको भए पनि दुई देशबीच इस्वीको सातौं शताब्दीदेखि नै मैत्रीपूर्ण सहकार्यको थालनी भएको इतिहासले बताउँछ । नेपाल र चीन एउटै भूगोलमा आबद्ध छन् र एकले अर्काको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताको सम्मान गर्दछन् । नेपाल र चीन भूसीमा जोडिएका देश भए पनि बहुपक्षीय सम्बन्ध बिस्तारलाई वाञ्छित गति दिन अझै समयको प्रतीक्षा गर्नुपर्ने अवस्था छ । भारतवेष्ठित मानसिकता, भारत निर्भरताको विद्यमान कठोरता र बाह्य निर्देशनको स्वाभिमानहीन अनुशरणको राजनीतिक संस्कारले सिर्जना गरेका अनेक समस्याको जञ्जाल नेपालले भोगिरहेको छ र त्यसबाट मुक्त हुने उपायका रूपमा चीनसितको बहुपक्षीय सम्बन्ध विस्तार नै वैकल्पिक माध्यम रहेको निर्विकल्प सोच नेपाली समाजमा रहेको छ । चीन भौगोलिक विशालता र आर्थिक–प्राविधिक क्षमताको विकासका दृष्टिले नेपालभन्दा धेरै ठूलो, विकसित र क्षमतावान भए पनि सहअस्तित्वबोधको सम्बन्धले मैत्रीभावको उचाइलाई छोएको छ । नेपाल–चीन सम्बन्धबारे ऐतिहासिक प्रसंगका अनेक प्रसंगहरू छन् । पारस्परिक सद्भाव, विश्वास र सहयोगले दुई देशबीचको सम्बन्धलाई निरन्तर मलजल गरिरहेको छ । परिवर्तित विश्वसन्दर्भ, समयसापेक्ष चेतना र द्विपक्षीय सम्बन्ध विस्तारको अपरिहार्यताले पनि नेपाल र चीनबीच बहुपक्षीय सम्बन्ध विस्तारको अपरिहार्यतालाई टड्कारो रूपमा देखाइरहेको छ । विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्सेदारका रुपमा पर्ने राष्ट्र चीन छिमेकी राष्ट्र भएर पनि लिन सक्ने जति लाभसमेत नेपालले लिन नसकिरहेको देखिन्छ । यसका लागि नेपाल पक्षबाट ठोस पहलकदमीको अभाव देखिंदै आएको छ । यही अभावलाई केही हदसम्म चिर्न प्रधानमन्त्री ओली सफल देखिएका छन् ।
नेपाल–चीन सम्बन्ध अतितको गाथामा सीमित हुनुहुँदैन, वर्तमानमा दुई राष्ट्र एकअर्काका असल मित्र राष्ट्रहरु हुन् भनेर चित्रित गराउने भनेको दुई देशका बीचमा हुने सहयोगी सम्झौताले हो, जो यसपटक केही हदसम्म देखिएको छ । आधुनिक चीनले विश्व व्यवस्थापनमा स्थापित गर्दै गएको आफ्नो अपरिहार्य भूमिकाबाट नेपाल अप्रभावित रहन सक्ने अवस्था छैन । चीनले निर्माण गरेको आर्थिक समृद्धिको बाटो हाम्रा लागि पनि बरदान हुन सक्ने अवस्था सिर्जित छ ।
चीनले नेपालको आर्थिक विकासमा दिँदै आएको योगदान र राख्दैआएको चासोलाई अरू कसैको रणनीतिक स्वार्थ र उक्साहटमा उपेक्षा गर्ने जुन मानसिकता बेलाबखत देखिने गरेको अनुभूत हुने गरेको छ त्यो अब कदापि दोहोरिन नदिनु नेपालको समग्र हितमा छ भन्ने कुरा प्रधानमन्त्री ओलीले स्वयम् बुझेको यो भ्रमणमा भएको सम्झौताले देखाएको छ ।
भ्रमणका क्रममा पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण सम्झौता, खुला व्यापार, ग्याँस तथा पेट्रोसलियम पदार्थ अन्वेषण, टे«ड मार्क दर्तासम्बन्धी सम्झौता, हिल्सा तथा सुख्खा बन्दरगाह निर्माण सहयोग सम्झौता, सोलार जडान सहयोग सम्झौता, चिनियाँ बैंकको शाखा खोल्ने सम्झौतालगायत १० बुँदे सम्झौता भएको छ । जसमा सबैभन्दा दूरगामी महत्वको सम्झौता पारवहन सुविधासम्बन्धी सम्झौता रहेको छ । यसले चिनियाँ समुन्द्री नाकासम्म नेपालको पहुँच पुग्न सकेको छ । यसले खुला विश्व बजारमा नेपालको सिधा सम्पर्क स्थापित हुने बाटो खोलिदिएको छ ।
केही महिनाअघि मात्रै राष्ट्रसंघीय सामुद्रिक महासन्धिको प्रावधान र भूपरिवेष्ठित राष्ट्रका हैसियतले नेपालले उपभोग गर्न पाउने अकुण्ठित पारवहन अधिकारसमेत नेपालले प्राप्त नगरेर खेप्नु परेको संकटलाई भोलिका दिनमा समेत हुन सक्ने यस्तो संकट यसले समाधान गर्ने निश्चितप्रायः छ । प्रधानमन्त्रीको ओलीको जारी भ्रमणमा अपेक्षाकृत सबै विषयहरुमा सम्झौता हुन नसके पनि जे–जति मुद्दामा सम्झौता भएको छ, यसको सफल कार्यन्यवन हुन सक्दा यसलाई उपलब्धिपूर्ण मान्न सकिन्छ । चीनको आर्थिक सहयोगका साथ चिनियाँ बैंकको नेपालमा शाखा स्थापनाले चिनियाँ लगानी बढाउन र चिनियाँ पर्यटक नेपाल भित्र्याउनसमेत महत्वपूर्ण भूमिका खेल्न सक्नेछ । तर, यो सँगसँगै विगतमा अन्य देशको समेत नेपालमा शाखा रहँदा देखिएका समस्या दोहोरिन नदिन सम्बन्धित निकाय गम्भीर बन्नुपर्दछ ।
नेपालको छिमेकी भएर पनि नेपालले चीनबाट लिन सक्ने सुविधा लिन नसकिरहेको अवस्थामा अहिले ओलीको भ्रमण फलदायी देखिएको छ । खासगरी पारवहन सुविधासम्बन्धी सम्झौताको नेपाल भरपूर उपयोग गर्न सकेको खण्डमा यो सम्झौता बरदान साबित हुन सक्नेछ । सबै विषयहरु एकमुष्ट समाधान हुन सक्दैनन् तर क्रमशः समाधानका निम्ति सुरुवात गर्नु भने आवश्यक छ, त्यसको सुरुवात ओलीको जारी भ्रमणबाट भएको छ । गलत कामको आलोचना र सही कामको स्वागत गर्ने सकारात्मक प्रवृत्तिको विकास गर्दै देश–विकासका निम्ति सहकार्यको अभाव नेपालमा सधैं खड्किरहेको अवस्थामा ओलीको भ्रमणलाई केवल आलोचनाको विषय मात्र बनाइनुभन्दा हो आशा गरिएका सबै विषय समेटिएको छैन, तर जे समेटिएका छन् यी सम्झौताको सफल कार्यान्वयनले पनि उपलब्धि हासिल हुन सक्ने मार्ग खोलेको छ, त्यसलाई सकारात्मक रुपमा लिनुपर्दछ । सम्झौता भएर मात्र हुँदैन त्यसलाई लागू गर्नु महत्वपूर्ण रहन्छ, सम्झौतालाई सफलतापूर्वक लागू गर्दै अवसरका रुपमा बदल्न नेपाल सक्षम हुनुपर्दछ अन्यथा कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्ने उखान मात्रै चरितार्थ हुनेछ ।

Check Also

sarad-pokhrel

ब्रेजिक्ट र ट्रम्पको उदय

स्वदेश र विदेशका विज्ञहरुको अंक गणितीय प्रक्षेपणलाई गलत साबित गर्दै ७० वर्षीय डोनाल्ड ट्रम्प अमेरिकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *