Home / News / अन्तर्वार्ता / सर्वेन्द्र हिरो हो भने गुण्डासँग किन हार्ने ?

सर्वेन्द्र हिरो हो भने गुण्डासँग किन हार्ने ?

नेपालमा नेपाल Sarbendra-khanalप्रहरी भन्नेबित्तिकै बर्दीकै अपमान गरी टोले दादादेखि, घूसखोरीसम्मलाई उन्मुक्ति दिनमा सहयोगी भूमिका खेल्ने बर्दीधारी भन्ने आरोप लाग्ने गर्छ । तर, नेपाल प्रहरीमा त्यस्ता केही अधिकृतहरु पनि छन् । जसको नाम नै काफी छ । सबैभन्दा बढी राजनीतिको सोर्सफोर्स लाग्ने क्षेत्र भनेको पनि नेपाल प्रहरी नै हो । प्रहरीले गुण्डा समातेर ल्याउँछ । एक–दुई घण्टा पनि नबित्दै ‘माथिको आदेश’ भन्दै छाड्नुपर्ने बाध्यता हुन्छ । तर, केही यस्ता प्रहरी अधिकारी छन् । उनीहरुका पञ्जामा परेका अपराधी छुट्ने सम्भावना निकै कम हुन्छ । राजनीतिज्ञ पनि ती अधिकारीहरुको पञ्जामा परेका अपराधी छुटाउनुप¥यो भन्दै घर र कार्यालयसम्म आएका आफ्ना कार्यकर्तालाई ‘लौ त्यो पुलिस त नसक्नाको छ, के गर्ने होला’ भनेर पन्छिनतिर लाग्छन् । तीमध्येकै एक हुन् एसएसपी सर्वेन्द्र खनाल । काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख भएलगत्तै थप चर्चामा आएका खनालको चर्चा घैंटे इनकाउन्टरपछि थप चुलियो । अञ्चल प्रहरी कार्यालय नारायणीमा रहँदा होस वा तराईमा जिम्मेवारी सम्हाल्दा नै किन नहोस् उनको चर्चा चुलिई नै रह्यो । तराईमा कार्यरत रहँदा दाइजो, बालविवाह र सरसफाइजस्ता सामाजिक कार्यहरुमा समेत सक्रिय बनेका उनलाई धेरैले हिन्दी सिनेमा ‘सिंघम’को नायकको संज्ञासमेत दिने गरेका छन् । अपराधले गाँजेको राजनीति, गुण्डागर्दीविरुद्ध लड्दै अप्ठ्यारो बाटोमा हिंड्ने एउटा बहादुर पुलिस अफिसर बाजीराओ सिंघमको कथा बोकेको सिनेमा ‘सिंघम’का नायकको भूमिकामा देखिएका खनालको चर्चा नेपाली फुटबल म्याच फिक्सिङको अन्तर्राष्ट्रिय जालोलाई पर्दाफास गर्नमा पनि उत्तिकै लोकप्रिय बन्यो ।

पछिल्लो समय वैदेशिक रोजगारको नाममा ठगीधन्दा बढेको भन्दै खनाल त्यो जालो तोड्ने अभियानमा सक्रिय छन् । त्यस्तो अपराधविरुद्ध आफू एक्लै लड्न तयार रहेको दाबी गर्दै आएका खनाललाई केही दिनअघि उनकै कार्यकक्ष टेकुमा भेटियो । करिब डेढ घण्टा उनीसँग रहँदा उनले राज्यमा ‘गुण्डाराज’ हाबी हुनुका दर्जन बढी किस्सा सुनाए । काममा सिंघम खनाल व्यवहारमा निकै रसिला भेटिए । करिब डेढ घण्टाको बसाइँमा उनी राज्यको लापरबाहीबाट दर्जन बढी पटक रन्थनीय, दर्जन पटक भावुक बने भने दर्जन बढी पटक उनले साथ पाए देशलाई रामराज्य बनाउने अभियान आफूसँग भएको दाबी गरे । खनालसँग मोहन बास्तोला र शोभित थपलियाले गरेका औपचारिक–अनौपचारिक कुराकानीका दर्जन बढी प्रसंग यस्ता छन्ः

नेपाली नागरिक बेच्ने छुट कसैलाई छैन

म्यानपावर व्यवसायीहरुले जानाजान मानव बेचबिखन गरिरहेका छन् । विदेशमा कामदार पठाउँदा एउटा काम भनेर पठाउने र अर्कै काममा लगाउने कुरा पनि बेचबिखनभित्रै पर्छ । त्यति मात्र होइन धेरै म्यानपावर व्यवसायीले नेपाली नागरिकको श्रम शोषण गर्ने काम गरेको पत्ता लागेको छ । नेपालमा दिएको सम्झौतापत्र विदेशमा पुग्दा अर्कै हुने समस्या छ । यो पनि बेचबिखन हो । यसरी नेपालली नागरिक बेच्न पाइन्छ ? यस्ता कार्यविरुद्धको अभियान अहिले हामीले चलाएका हौं ।

मलाई ठीक गरिस् भनेका छन्

व्यवसायीहरुले मेरो कारण देखाउँदै आन्दोलन गरेका छन् रे । तर, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी नै मेरोमा आएर ‘हजुरले ठीक गर्नुभयो’ भनेका छन् । पूर्वअध्यक्षहरु, चर्चित व्यवसायीहरुले पनि यहाँ आएर ‘धेरै राम्रो गर्नु भयो’ भनेका छन् । उनीहरुले यो क्षेत्रमा धेरै बदमासी भएको छ भनेर गएका छन् । मैले पनि सुनेको छु, मेरो अगाडि एउटा कुरा गर्ने अनि बाहिर गएर अर्कै कुरा गर्ने र व्यवसायीलाई आन्दोलन गर्न उक्साउने काम गरेको भए त मेरो भन्नु केही छैन । केही व्यवसायीहरुले त ‘अब हामी पनि उजुरी गर्न आउँछौं’ भनेर गएका छन् ।

पत्रकारिता कहाँ बिक्यो ?

यो क्षेत्रमा धेरै विकृति छ, हाम्रा दाजुभाइ, चेलीबेटी दिन–प्रतिदिन बिक्री भइरहेका छन् । सञ्चारमाध्यमले किन ठाउँ पाउँदैन ? व्यवसायीहरुले तिनै नेपाली बेचेको पैसाबाट सञ्चारमाध्यममा विज्ञापन दिन्छन् । अनि धेरै सञ्चारमाध्यम व्यवसायीकै गुनगान गर्छन् । राम्राको विज्ञापन गर्ने, फटाहालाई फटाहा भन्ने संस्कारको विकास सञ्चारमाध्यमले पनि गर्न आवश्यक छ । मैले राम्रो काम गरेका व्यवसायीलाई कारबाही गर्छु कहिल्यै भनेको छैन । खराब गर्नेलाई कारबाही गर्छु भनेको मात्र हो । यसमा मिडिया किन चुके ? मैले मिडियाको विरोध गर्न खोजेको हैन, तर कताकता यस्तो भएको छ ।

उदण्डलाई किन छाड्ने ?

रोजगारीका लागि युवा विदेसिन्छन् । त्यसमा म्यानपावरले मात्र ठग्दैन । स्वास्थ्य संस्था, अभिमुखीकरण तालिम दिने संस्थाले समेत ठग्ने गरेका रहेछन् । सबै स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गरेर पठाएका छन् त ? सबैले अभिमुखीकरण तालिम दिएका छन् त ? यदि दिएका भए किन युवा ठगिए ? अभिमुखीकरण तालिम दिनेले के भनेर दिए ? ती सबै स्वास्थ्य संस्थाले राज्यलाई तिर्ने सबै कर इमानदारीका साथ तिरेका छन् त ? नक्कली प्रमाणपत्र बनाएर पठाउने गरेका छन् । उनीहरुलाई तालिम दिंदा सबै कुरा भनिदिए त गरिब कामदार ठगिनबाट जोगिने थिए नि ? नेपालमा सबै भनिदिए विदेशमा गएर मर्नु त परेन नि ? जान पाउनु मात्र ठूलो कुरा हैन । विदेशमा गएर पनि काम गर्न नसकेर नेपाल फर्कन चाहन्छु भन्दा मान्दैनन् । हामीले त्यस्तालाई फर्काउने भनेका हौं । भन्दा नमानेपछि ल्याएर कारबाही किन नगर्ने ? सधैं उदण्ड बनेर हुन्छ ?

डनतन्त्र चलाउनेका दिन गए

दुई चार जना नेता चिने भन्दैमा डनतन्त्र चलाउँदै हिंड्ने ? कति दिनसम्म टिक्छ त्यसरी ? गरिबका छोरालाई सधैं लुट्ने मात्र ? त्यो पनि धम्की दिएर ? भेडा–बाख्रा जस्तो कोचेर बटुलेर राखेको छ । गाउँमा गएर भेडा–बाख्रा जसरी बटुलेर ल्यायो अनि विदेश पठायो । भेडा–बाख्राको जति पनि मोल छैन मान्छेको ? गाउँबाट ल्याएर दलालले नेपालमा ठग्छ, विदेशमा पु¥याएर पनि अलपत्र नै पार्छन् । त्यहाँ पनि ‘डनतन्त्र’ नै छ । मैले यी विषयमा सबै सरोकारवालासँग कुराकानी गरेको छु । सल्लाह लिएको छु । अब त्यसै छाड्नेवाला छैन ।

पार्टीको फोन पनि आउँदो हो नि ?

आजसम्म थोरै नेताले मात्र मलाई मेरो काममा ब्याक हट्नु भन्ने गरेका छन् । धेरैले त्यस्तो आँट गर्नुभएको छैन । म्यानपावरको विषयमा फोन आए म उहाँहरुलाई सबैको नम्बर दिएर आफ्नै अगाडिबाट फोन गर्न लगाउँछु । म्यानपावरमा छापा हानेपछि प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका नेताहरुलाई भेट्न व्यवसायीहरु पुगेको थाहा पाएँ । नेता भेटेको दिन बेलुका व्यवसायीहरु बसेर रक्सी खाएको पनि सूचना पाएको छु । नेताले भनेको भरमा गलत काम गर्नेहरुलाई प्रहरीले छाड्दैन ।

यसरी हुन्छ म्यानपावरमा ठगीधन्दा

केही दिनअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागको वकिललाई घूस रकमसहित समातेको समाचार आयो मैले गल्ती गरेको हो रहेछ त ? त्यस घटनाले पनि मैले राम्रो काम गरेको प्रमाणित भएन ? विभागबाट निमुखाले किन न्याए पाएनन् त्यसले प्रमाणित गर्छ । हाम्रो अभियानपछि ती वकिल समातिएका हुन् ।

हराएका मान्छे अब राज्यले खोज्छ

नेपाली नागरिक कहाँ कति मरे ? कति कुहिए ? के गर्दैछन् ? कतिलाई बिचल्लीमा पारियो ? त्यो हामीले खोज्ने हो । यो काम सर्वेन्द्रको अगुवाइमा सुरु भयो । खराब काम गर्ने डराउँछन् । राम्रो काम गर्ने किन डराउनु ?

आतंकित होइन सचेत गराएको हो

प्रहरीको काम आतंकित बनाउने होइन । सहजीकरण गर्ने हो । कानुन नमान्नेलाई कानुनी दायरामा ल्याएको हो । नचाहिने काम गर्न पाउनुपर्छ भन्ने उहाँहरुको माग छ । हामीले त्यसो गर्न हुँदैन भन्यौं । करोडौंका गाडी चढ्ने अनि मैले जे भन्यो त्यही मान्नुपर्छ भन्ने । हामीले फोन गरेपछि नेता, पुलिसले पनि नमानेर धर भन्ने उहाँहरुको सोचाइ गलत छ । म सर्वेन्द्र खनाल केही होइन । म गृह मन्त्रालयअन्तर्गतको अधिकारी हुँ । जे मन लाग्यो त्यही गर्ने, मान्छे बेच्ने, दुःख दिने अनि नाटक गर्ने ? यसको कारबाही विभागीय मन्त्रीज्यूले गर्नुहोस् भन्ने छ । नभए हामी गर्छौं ।

श्रम गर्नेका दिन आए, ठग्नेका गए

यसअघि म्यानपावर व्यवसायीहरुले जति ठग्नु थियो, ठगे । अब कोही कसैले ठग्ने छैनन् । विदेशमा जाने युवा श्रम गर्न जाने हुन् । श्रम गर्नेले पारिश्रमिक पाउनुपर्छ । नेपालमा ठगेकै छन् विदेशमा पछि दूतावासको ढोका कुरेर ठग्नेको कमी छैन । त्यति मात्र हैन म्यानपावरको दलालहरु विदेशमा बसेर गरिब नेपालीलाई ठग्ने गर्दा रहेछन् । यसरी कुनै नेपाली ठगिए भने सिधै ११७७ मा उजुरी गरे हुन्छ । बाँकी कारबाही म गर्छु । मैले जे गरे देश र जनताका लागि गरेको हुँ । त्यसकारण यो अभियानबाट म पछि हट्नेवाला छैन । व्यवसायी आन्दोलन भन्दै कामदार पठाउने गर्दै आएका छन् । गरिबलाई ठग्ने भन्दै आन्दोलन गरेका छन् । अनि गरिबका सन्तान ठगिनु हुन्न भनेर गरेको यो कामबाट किन पछि हट्ने ?

धर्म गर्न मन्दिर–मस्जिद जानु पर्र्दैन

मानिस धर्म गर्न मन्दिर जाने गर्छन् । अब मन्दिर होइन । कोही–कसैलाई पनि नठगौं । अरुलाई बिचल्ली बनाउने काम नगरांै भन्ने सोचौं । यही हो मन्दिर, यही मस्जिद । विदेशीले पनि नेपाली बेचिने देश भनेर नचिनुन् । त्यसका लागि मैले यो काम सुरु गरेको हुँ । अब सबैले आ–आफ्नो ठाउँबाट राम्रो गरौं । सबैलाई मेरो आग्रह छ ।

सर्वेन्द्र हिरो नै हो

गलत गर्नेलाई कारबाही गर्नैैपर्छ । मानिसहरुले सर्वेन्द्रले ‘हिरोइज्म’ देखायो भनेर पनि आलोचना गर्ने गर्छन् । राम्रो काम गर्ने हो त्यसो गर्दा हिरो बन्न खोजेको आरोप लाग्छ भने सर्वेन्द्र हिरो नै हो । राम्रो काम गर्दा हिरो भएपछि गुण्डाहरु साफ गर्ने त हिरोको काम नै हो नि त ? चलचित्र नै हेर्ने हो भने गुण्डाहरु अन्तिममा हिरोबाटै साफ हुन्छन् र हिरोको जित हुन्छ ।

राजस्व र प्रमाणपत्र हेर्ने हो सबै खत्तम

म्यानपावर व्यवसायीहरुले राज्यलाई छलेको करलाई गहिरिएर अध्ययन गर्ने हो भने कुनै पनि म्यानपावर कम्पनी बाँकी रहँदैनन् । सबै जाकिन्छन् । गरिब युवालाई विदेशमा बेच्नेहरुको सान कतिसम्म छ । सडकमा हेर्दा अधिकांश नयाँ र महँगा गाडी उनीहरुकै हुन्छ । राज्यलाई राजस्व नठगेको हो भने नेपाली दाजुभाइलाई नबेचेको हो भने कहाँबाट आउँछ त्यो पैसा ? अभिमुखीकरण तालिम दिने संस्था कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको हालत पनि उस्तै छ । नक्कली सर्टिफिकेट दिएर कामदारको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् । नेपालबाट भनेको काम नपाउने, तलब सेवासुविधा नपाउने समस्या
छ । उनीहरुलाई पढाएर पठाउने हो भने ठगिनबाट रोकिन्छन् । विदेशमा लगेर अलपत्र पार्ने नेपाल र विदेशमा विमानस्थलमा पुगेर देखाउने फरक–फरक कागज हुन्छ । त्यो च्यातिदियो, अनि अलपत्र पा¥यो । यसको अन्त्य गर्न जरुरी छ ।

(एसएसपी सर्वेन्द्र खनाल महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख हुन्)

Check Also

संविधान संशोधन उपयुक्त छैनः एमाले

वैशाख १७। नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *