Home / News / अन्तर्वार्ता / सरकार फेरबदल चर्चा निरर्थक बहस मात्र हो

सरकार फेरबदल चर्चा निरर्थक बहस मात्र हो

  • शेरधsher-dhan-Raiन राई, मन्त्री, सूचना तथा प्रविधि

सूचना तथा प्रविधिमन्त्री शेरधन राई नेपाल सरकारका प्रवक्ता पनि हुन्। सरकारका राम्रा–नराम्रा कामको जस–अपजस पनि उनलाई धेरथोर जान्छ। मन्त्री राईले अहिले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालय सुधारका केही अभियान पनि अघि सारेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने राईसँग मोहन बास्तोलाले गरेको कुराकानीः

सञ्चारमन्त्री भएपछिको अनुभव कस्तो रह्यो ?

म सञ्चारमन्त्रीका रुपमा सञ्चार मन्त्रालयमा आएपछि यहाँको भद्रगोल र लथालिङ अवस्थालाई सुधार गर्न मलाई धेरै हम्मे–हम्मे परेको छ । त्यति मात्र होइन यहाँभित्रको भद्रगोल अवस्थालाई सुधार गर्न र नयाँ ढंगबाट अघि बढाउन पनि मलाई धेरै समस्या भयो । त्यति मात्र होइन हामीले विगत लामो समयदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि गर्दै आएको आन्दोलन र यसबाट प्राप्त उपलब्धिहरुलाई हामीले संस्थागत रुपमा अघि बढाउन धेरै मेहनत गर्नुपर्ने रहेछ भन्ने कुराको पनि मलाई हेक्का भयो । अहिले हामी जनताको एक मात्र चाहना जनताको सुख प्राप्त गर्ने चरणमा छौं । हामी त्योसँगै विकास प्राप्त गर्ने चरणमा पनि छौं । हामी ती सबै प्राप्त गरेर देशमा सुशासन कायम गर्न चाहन्छौं । यो हाम्रो नयाँ युगको प्रवेशको चरण पनि हो । हामीले अहिले विकास, समृद्धि र सुशासनमा बढी ध्यान दिएका छौं । मैले मन्त्रालय प्रवेश गरेपछि सबैलाई यही मनस्थितिअनुरुप काम गर्न आग्रह गरेको छु । त्यसका लागि शैली र मनस्थिति परिवर्तन गर्न आवश्यक छ । त्योसँगै इच्छाशक्ति पनि आवश्यक हुन्छ । सबैले त्यहीअनुरुप फराकिलो भावना राखेर काम गर्ने हो भने हामी जनताको चाहनाअनुरुप काम गर्न सक्छौं । यो निर्देशन मैले सञ्चार मन्त्रालयअन्तर्गतका सबै निकायमा दिइसकेको छु । उहाँहरु पनि सकारात्मक देखिनुभएको छ ।

तपाईंले गरेका केही महत्वपूर्ण कामको थालनीबारे पनि केही भनिदिनुस् न ?

मैले यो मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही महत्वपूर्ण कामको थालनी पनि गरेको छु । पहिलो कुरा मैले मन्त्रालयको संरचनालाई नै व्यवस्थित, चुस्त र जिम्मेवार बनाउने हिसाबमा जोड दिएको छु । यसो हुनु भनेको काममा पनि गतिशिलता देखिनु हो । मैले मेरो कामलाई अघि बढाउने सन्दर्भमा सञ्चारको क्षेत्रलाई बढी प्राथमिकता दिएको छु । आज सञ्चार जगत व्यापक भएको छ । जसले गर्दा अहिलेको सञ्चार नीतिले त्यसलाई नियमन गर्न सक्ने अवस्था छैन । संविधान जारी भैसकेको छ । हामी संघीय संरचनामा गइसकेका छौं । यस्तो अवस्थामा हामीले समावेशी र सहभागितालाई पनि एकै साथ अघि बढाउनुपर्ने जिम्मेवारी आएको छ । यस्तो अवस्थामा सबै जातजाति, भाषाभाषी नेपालीहरुलाई समान पहुँच, प्रतिनिधित्व र अधिकारको कुरा संविधानमा समावेश गरेअनुरुप नै नीतिहरुमा पनि परिवर्तन गर्न आवश्यक छ । त्यही कुराको महसुस गरी हामी संविधानको मर्मअनुरुप सञ्चार नीति पुनरवलोकन गर्न गैरहेका छौं । यो प्रक्रियालाई हामीले मन्त्रिपरिषद्बाट निर्णय गराएर अघि बढाइसकेका छौं । हामीले उच्चस्तरीय सञ्चार समिति नै बनाएर काम अघि बढाएका छौं ।

अहिलेसम्म श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नभएको अवस्था रहेछ । मैले त्यसको अध्ययन गरें । सञ्चार क्षेत्रका साथीहरुसँग सल्लाह गरें र तत्कालै केही कामलाई अघि बढाउनुपर्छ भनेर श्रमजीवी पत्रकारहरुको बीमालाई कार्यान्वयन गर्ने तहमा पु¥याएँ । पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रक्रियालाई पनि मैले कार्यान्वयनमा ल्याएँ । सँगसँगै प्रेस जगतलाई दक्ष, व्यावसायिक र मर्यादित बनाउन मैले आम सञ्चार प्रतिष्ठानसमेत गठन गर्ने प्रक्रिया अघि बढाएको छु । आम सञ्चार संग्राहलय पनि तत्कालै गठन गर्नुपर्छ भन्ने तयारीसहित अघि बढेका छौं ।

मैले पहिलो पटक नेपालमा पत्रकारिता दिवस मनाउने कुराको थालनी गरेको छु । नेपालमा अहिलेसम्म पत्रकारिता दिवस मनाउने चलन रहेनछ । मैले मन्त्रिपरिषद्बाटै निर्णय गरेर गोरखापत्र प्रकाशन भएको पहिलो दिनलाई पत्रकारिता दिवस मनाउने निर्णय गराएको छु । यो दिवस हरेक वर्ष वैशाख २५ मा मनाउने निर्णय भएको छ ।

त्योसँगै वरिष्ठ पत्रकारहरुलाई सम्मान गर्ने प्रक्रियालाई पनि मैले अघि बढाएको छु । सञ्चार मन्त्रालयअन्तर्गतकै दूरसञ्चार सेवामा सेवाग्राहीले गुनासो गरेका छन् । त्यसैले त्यसको तत्कालै गुणस्तरमा सुधार ल्याउन पहल सुरु भएको छ । दुई महिनाभित्रमा सुधार भएको महसुस गर्नेगरी देशैभरि कामलाई अघि बढाउन मैले निर्देशन दिएको छु । प्रत्येक गाउँलाई सूचना र सञ्चारको क्षेत्रलाई जोड्न सूचना र प्रविधिको क्षेत्रलाई गाउँ–गाउँसम्म जोड्ने अभियान थाल्न निर्देशन दिएको छु । अप्टिकल फाइबरलाई पहुँचयोग्य बनाउने तयारी थाल्न पनि मैले निर्देशन दिएको छु ।

सरकारी सञ्चारमाध्यमहरुका बारेमा पनि केही सुधारको योजना तयार गर्नुभएको छ ?

सरकारी सञ्चारमाध्यमहरु गोरखापत्र, रेडियो नेपाल, रासस, नेपाल टेलिभिजनलाई अलि बढी स्वायत्त बनाउँदै संस्थागत र जबाफदेही ढंगबाट अहिलेको संविधानको मर्मअनुसार नयाँ ढंगले अघि बढ्न र सुधार गर्नका लागि मैले प्रक्रिया अघि बढाउन आवश्यक योजना अघि बढाएको छु । मैले प्रत्येक निकायको एक्सन–प्लान बनाउने र त्यहीअनुरुप अघि बढ्ने तयारीको पनि थालनी गरेको छु ।

तपाईंले यसरी अघि सारेका योजना कार्यान्वयन गर्न पछिल्लो राजनीतिक अवस्था कत्तिको सहयोगी बन्ला ?

पछिल्लो राजनीतिक अवस्थाले खासै नकारात्मक असर गर्ला भन्ने मलाई लाग्दैन । तर, नेपाली कांग्रेसको १३औं महाधिवेशनसँगै सरकार फेरबदलको चर्चा–परिचर्चा सुरु भएको छ । हामीलाई भन्नुहुन्छ भने त्यो चर्चा निरर्थक हो भन्ने लागेको छ । यो औचित्यहीन र आधारहीन छ भन्ने हाम्रो बुझाइ छ । तर, त्यो चर्चासँगै पुरानो मानसिकताबाट ग्रसित भएको प्रशासनयन्त्रमा भने डरलाग्दो समस्या देखिएको छ । अब सरकार परिवर्तन हुन्छ । के काम गर्ने, अब नयाँ सरकार आउँछ भन्नेजस्ता मनोविज्ञानका कारण समस्या भएको छ । त्यसैले हामीले गर्न खोजेको काममा केही अवरोध हुने डर लागेको छ ।

सत्ता परिवर्तनको बहस निरर्थक छ भन्ने तपाईंको बुझाइ हो ?

मैले अघि पनि भने सत्ता परिवर्तनको कुनै आधार र गुञ्जायस नै छैन । वर्तमान सरकारलाई आफ्नो आयू लम्ब्याउनका लागि केही अनुचित कुरा सोच्नुपर्ने आवश्यकता पनि छैन । नेपाली जनताको विश्वास र आधारमा व्यवस्थापिका–संसद्को विश्वास र समर्थनमा यो सरकार गठन भएको हो । त्यसैले जनताले चाहना गरेका र अपेक्षा गरेका कुरालाई यो सरकारले पूरा गर्नुपर्ने दायित्व छ । यही मुख्य एजेण्डासहित सरकार अघि बढेको छ ।

सत्ता राजनीतिको जोड–घटाउले यो सरकार ढल्दैन भन्ने आधार के–के छन् ?

पहिलो कुरो यसको आधार भने संविधान जारी गर्नेह
रुको यो गठबन्धन हो । यो सरकारको टिक्ने अर्को आधार भनेको संविधानको जग हो । त्यो भनेको देशको स्वतन्त्रता, देशको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय स्वाभिमान र देशको स्वाधिनताको जग हो । यो जगमा उभिएको सरकार त्यसै ढल्दैन । बीचमा यो जगलाई हल्लाउने प्रयासहरु भए । तर, यो सरकारले हल्लिन र तलमाथि हुन दिएन । यो जगमा उभिएर नेपाली जनताको निकै ठूलो नैतिक बल र ओझपूर्ण समर्थन यो सरकारप्रति छ । त्यसैले यो सरकारले आफ्नो नैतिक जिम्मेवारी पूरा गरेर मात्र सत्ता छाड्छ । संविधानको रक्षा र कार्यान्वयनको गहन जिम्मेवारी पनि यही सरकारको काँधमा छ ।

Check Also

घरभित्र झगडा भएपछि छिमेकीले चासो व्यक्त गर्नु स्वाभाविक हो

डा. प्रकाशचन्द्र लोहनी पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका व्यक्ति हुन्। उनले पटक–पटक परराष्ट्र, अर्थजस्ता महत्वपूर्ण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *