Home / News / साहित्य / लघु कथा– क्षणिक चरा

लघु कथा– क्षणिक चरा

narayani poudel khanal laghu katha)
नारायणी पौडेल खनाल

निष्ठावान शिवराम गुरुले आफ्नो एक्लो छोरा पिताम्बरलाई संस्कृत–अंग्रेजी दुवै पढाएका थिए । जन्मेदेखि व्रतबन्ध नगरुन्जेल पालेको कपाल काट्दा लामो भएको टुपी, निधारमा बुबाले पूजा सकेपछि धर्का काटेको चन्दन, देख्दा साना पण्डित पिताम्बरलाई सबैले जिस्काउँथे । छोरालाई लिएर शिवराम गुरु रुद्री, सत्य नारायण पूजा गराउन सबेरै जजमानकोमा जान्थे । आजभोलि गर्दै छोराले पनि काम सिकिसकेका थिए । पिताम्बरको कामको कदर गर्नेभन्दा पिते बाजे र टुपी बाजे भनेर जिस्काउने धेरै थिए ।

पिताम्बरको पढाइको स्तर बढ्दै गयो, बाबुको कामको अनुशरण गर्न छोडे, लोकसेवामा लाइन लाग्न गए । योग्यता च्यापेर हिंड्न मात्र काम लाग्यो । परिवारमा तनाव भएको थियो । पिताम्बरलाई विदेश जाने सोच आयो, शिवरामले ऋण धन गरेर छोराका लागि निकास खोजे, छोरा लागे कोरियातिर ।

कोरिया गएपछि तीन चार महिना हण्डर खाए, विदेश देखे, विदेश भोगे, कहिले पछुताए, कहिले कमाए चार वर्षमा फर्किए स्वदेश । उनले आफ्नो नाम पिताम्बर रिमाललाई मिस्टर पीआरको परिचयमा परिणत गरेका थिए ।

छोरा फर्किएपछि शिवरामका दम्पतीमा नयाँ आशा पलाएको थियो । मिस्टर पीआरले दुई वर्ष आफ्नै ज्यान बनाउन लगाए । खानेकुराको तालिका बनाए, जिम गर्न धाए, दुबै पाखुरामा अद्भूत चित्रहरुको ट्याटु खोपाए । हिजोआज मिस्टर पीआर महिनैपिच्छे कपालको रंग बदल्न थालेका थिए ।

कानमा मुन्द्रा, घाँटीमा मोटो सिक्री, औंलामा चुच्चा औंठी, नाडीमा अनौठा धातुका बाला भेषभुषा पूरा बदलिएको थियो । उनलाई ‘अनुमतिबिना प्रवेश निषेध’का ढोकेहरुले सलाम गर्थे, पुलिसहरु चिया खुवाउँथे, अज्ञात व्यक्तिहरुको फोनले मोबाइल बजिरहन्थ्यो, न उनलाई नियममा बस्नुपथ्र्यो । लाइसेन्स हेल्मेट नभए पनि ट्राफिकहरु हात मिलाएर पठाउँथे । अज्ञात काममा हल्लिएर हिंडेका देखिने मिस्टर पीआरको अथाह कमाइ थियो । तर शिवरामका दम्पतीको रातको निद्रा उडेको थियो, उनीहरुलाई आफ्नो छोरा शिकारीको वरिपरि उडिरहेको क्षणिक चरा जस्तै लाग्थ्यो ।

Check Also

लघु कथा- आतंक दिवस

हजुरबुबा उमेरमा ७५ नाघ्नु भए पनि सम्झना र सोचाइमा हामीभन्दा तीक्ष्ण नै हुनुहुन्थ्यो । म …

Leave a Reply

Your email address will not be published. Required fields are marked *