Home / News / घुमघाम / मोरङको बेतना सिमसार– उदाउँदो पर्यटकीय गन्तव्य

मोरङको बेतना सिमसार– उदाउँदो पर्यटकीय गन्तव्य

सोनम काफ्ले/झापा

मोरङ बेलबारीस्थित बेतना सिमसार पछिल्ला वर्ष पर्यटकको नयाँ गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । धेरै अगाडिदेखि मोरङकै स्थानीयहरुको अवलोकन स्थल बन्दै आएको बेतना सिमसार पछिल्ला वर्षहरुमा पूर्वका मनोरम स्थलमध्येकै एक गन्तव्य बन्न थालेको छ ।

व्यवस्थित पिकनिक स्थल, पानी, शौचालय र कटेजको व्यवस्था हुनुका साथै पोखरीमा डुङ्गासमेत चल्न थालेपछि सयौं पर्यटक दैनिकरुपमा सिमसार क्षेत्र पुग्न थालेका छन् । सिमसार क्षेत्र संरक्षण समितिका अनुसार डोमुखा, सतासिधाम, इलामको फिक्कल, कन्याम अनि सुनसरीका तालतलैया, धनकुटाको भेंडेटार मूलघाट पुग्ने बाह्य पर्यटकहरु यतिबेला मोरङको बेतना सिमसार क्षेत्रमा रमाउन थालेका छन् । बेतनामा व्यवस्थित पिकनिक स्थल, पानी, शौचालय र कटेज निर्माण गरिएकाले पनि बेतना मोरङको प्रमुख पर्यटकीय गन्तव्य बनेको समितिको भनाइ छ ।

वरिपरि सालको जंगल रहेको बेतना सिमसारमा गर्मीको समय, चाडपर्व र अन्य अवसरका समयमा दैनिक एक सय टोलीसम्म बनभोजका लागि पुग्ने गरेका छन् । देशभरबाट शैक्षिक भ्रमणका लागिसमेत सयौं आन्तरिक पर्यटक सिमसार पुग्ने गरेको समितिले दाबी गरेको छ ।

राजमार्गसँगै जोडिएको बेतना सिमसारमा दुर्लभ कछुवा अवलोकन र पछिल्लो समय सञ्चालनमा ल्याइएको डुङ्गा सञ्चालनले नौका बिहारका लागि भिड लाग्ने गरेको छ । बेतना सिमसारको अर्को आकर्षण ध्वाँसे चितुवा पनि हो । दुर्लभ ध्वाँसे चितुवालाई जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतना सिमसार क्षेत्रमा ल्याइएपछि ध्वाँसे चितुवा हेर्न थप पर्यटकहरुको घुइँचो लाग्ने गरेको सिमसार क्षेत्र संरक्षण समितिले जनाएको छ ।

सुनसरीको इटहरीबाट जम्मा ११ किलोमिटर पूर्वमा पर्ने यो सिमसार ५० हेक्टर क्षेत्रमा फैलिएको छ । सानोतिनो कमिलो देख्दै आएकाहरुले बेतना सिमरामा १२ फिट लामो र ७ फिट अग्लो कमिलाको प्रतिमासमेत देख्न पाउनेछन् । केही वर्षअगाडिसम्म धेरैले नाम नसुनेको बेतना सिमसार अहिले झापाको जामुनखाँडीदेखि कोशी टप्पुसम्मकै चर्चित पर्यटकीय स्थल बनिसकेको छ । सिमसारलाई अझै आकर्षणको थलो बनाउन पानीको बीचमा रेष्टुरेन्ट, स्वीमिङ पुल र सिमसार क्षेत्रमा रेल कुदाउने योजनासमेत रहेको समितिले जनाएको छ ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *