Home / News / घुमघाम / मीमांसकको कर्मथलो ‘जैमिनीघाट’ ओझेलमा

मीमांसकको कर्मथलो ‘जैमिनीघाट’ ओझेलमा

बिशन क्षेत्री/बागलुङ

कालीगण्डकी र ठेउलेखोलाको संगमदेखि करिब सयमिटर उत्तर कालीगण्डकीको किनारमा दुईवटा शिला छन् । एउटा शंखाकार विशाल शिला छ । त्यसमा शंखको जस्तै प्वाल पनि छ । त्यसलाई स्थानीय बासिन्दा शंखे ढुंगा भन्छन् । शंख फुक्न सिपालु मानिसहरूले प्वालमा मुख राखेर फुक्ने र सजिलै शंखध्वनिले पहाडै थर्काइदिन्छन् । शंखेढुंगाको करिब पाँचसात मिटर पश्चिममा अर्को मजबुत पहरो छ । पहराको आडमा जैमिनी शिला छ । जैमिनी ऋषिले तपस्या गरेको आसन शिलामा प्रष्ट देखिन्छ । र, तिनै ऋषिले तपस्या गरेको एक ऐतिहासिक धार्मिक स्थल छ, त्यो हो जैमिनीघाट । ऋषिको नामबाट नामाकरण गरिएको एक धार्मिक स्थल हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो ।

जैमिनीघाट बागलुङ सदरमुकामदेखि करिब २० किलोमिटर दक्षिण पवित्र कालीगण्डकीको पश्चिम किनार काली र ठेउलेखोलाको दोभानमा पर्दछ । जैमिनीघाट पहिले अमलाचौर गाविसमा पर्दथ्यो तर पञ्चायती शासकहरूले पछि त्यसलाई कुश्मीशेरा गाविसमा सारेका हुन् र अहिले जैमिनीघाट कुश्मिसेरा गाविसमा पर्दछ ।

जैमिनी ऋषिले तपस्या र योगसाधना गरेको घाटलाई जैमिनीघाट भनियो । तर, आजभोलि त्यस भेगका जनता ज्यामिरघाट पनि भन्छन् । जैमिनीघाटको अपभ्रंश ज्यामिरघाट हो भन्ने पौराणिक र ऐतिहासिक प्रमाण प्रशस्तै छन् । जैमिनी ऋषिले कठोर तपस्या र ज्ञान साधन गरेको ठाउं ऐतिहासिक बिरासतका रूपमा आजसम्म छ । आजभोलि पनि त्यसलाई ज्यामिरघाट र कतिपयले जैमिनी ऋषिले तपस्या गरेकाले जैमुनीघाट पनि भन्छन् । जे भने पनि यो ठाउँ जैमिनी ऋषिको तपोभूमि जैमिनीको नामले युगौंदेखि प्रसिद्ध छ ।

अलि दक्षिण तल देवशिला (स्थानीय जनजिब्रोमा देवढुंगा) छ । तीनै दुई ढुंगाका बीच मिमांसाका प्रवर्तक जैमिनी ऋषिले तपस्या गरेका थिए भन्ने मजबुत प्रमाणहरू छन् । अलि उत्तरतिर पहरा खोलेर बनाइएको कुटी छ । त्यो कुटीलाई जैमिनी कुटी भनिन्छ । कुटीभित्र एउटा कुनामा पूजा गर्ने मण्डप छ । युगौंदेखि कालीगण्डकीको किनारामा पाइने पवित्र शालिग्रामको परम्परागत पूजा हुँदै आएको थियो भनिन्छ ।

जैमिनीघाट बागलुङ जिल्लाको दक्षिण भेगका करिब डेढ दर्जन गाविस र पर्वतका पनि त्यति नै गाविसहरूको मृत्यु पर्यन्त परम्परागत दाहसंस्कार गर्ने पवित्र घाट मानिदै आएको छ । यस क्षेत्रका जनताको मृत्यु संस्कारको शैली अन्यत्रको भन्दा अलि फरक छ । मानिसको मृत्युपछि एकोहोरो शंख फुकेर गाउँलेलाई मृत्युको सूचना गरिन्छ । त्यसकै आधारमा मलामीहरू जम्मा भइहाल्छन् । लासलाई सेतो कात्रोले बेरिन्छ, बाँसको खाटमा सुताएर बाँधिन्छ, माथिबाट पाट (एकखाले पहेंलो कपडा)ले ढाकिन्छ । सेतो कपडा खासगरी कोराको थान फिजारेर बीच–बीचमा बाँसको भाटामा बाँधेर मलामीहरूले समाएर अगाडि अगाडि हिँडछन् । शंख फुक्दै र लावा छर्दै लासलाई शंखे ढुंगामा लगेर सतगद गर्ने परम्परा छ ।

पहिले माघे संक्रान्तिका दिन जैमिनीघाटमा तीन दिन मेला लाग्दथ्यो । मेला भर्न कास्की स्याङ्जा, गुल्मीसमेतबाट आउने चलन थियो । वाला चतुर्दशीका दिन शंखेढुंगा वरपर नदी किनारमा सतबीज छर्न धेरै मानिस जम्मा हुन्थे । ज्यामिरघाटको नदी किनारमा उज्यालो नहुँदासम्म भक्तजनहरूले भजनकीर्तन गर्ने र उज्यालो भएपछि गंगा स्नान गरेर सतबीज छर्ने गर्थे । तर, आजभन्दा करिब दुई दशक पहिले माघे संक्रान्तिका दिन मेलामा अज्ञात व्यक्तिद्वारा एकजना इन्सपेक्टरको छुरी हानेर हत्या भएपछि सुरक्षाका कारणले अर्को वर्षदेखि त्यहाँ मेला लाग्न छाड्यो । अझै पनि श्रद्धालु भक्तजनहरू वालाचतुर्दशी माघे संक्रान्तिमा स्नान गर्न आउँछन् तर पहिले जस्तो रमाइलो हुन छाडेको छ यहाँ ।

जैमिनीघाटमा सूर्यग्रहणका दिन ग्रहण थाप्ने मानिस बस्दछन् । ग्रहण दानलाई बोझिलो मानिन्छ । ग्रहणदान थाप्न हम्मेसी मानिस तयार हुँदैन । तर, कसैले थापिहाल्यो भने दान गर्नेहरूको ठूलो भीड लाग्ने गर्दथ्यो । त्यो चलन पनि लोप हँुदै गएको छ ।

कालीगण्डकी नेपालको नदीहरूमध्ये पवित्र नदी मानिन्छ । यसको किनारमा शालिग्राम र नदीको बालुवासित सुन मिसिएको छ । नदी किनार बस्ने माझीले फुर्सदको समयमा बालुवा चालेर सुन निकाल्छन् । त्यसलाई माझीरूवा भनिन्छ । दिनभरि निकालेको माझीरूवा स्थानीय दोकानमा लगेर दिन्छन् र आफूलाई बिहान–बेलुका चाहिने सामान किनेर लैजान्छन् ।

कालीगण्डकीको दाहिने किनारमा महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल, आश्रम कुटीहरू रहेका छन् । देवघाट, रानीघाट, रूरूक्षेत्र, पूर्तिघाट, ज्यामिरघाट, निरय, लगेश्वर महत्वपूर्ण स्थानहरू छन् भने सबभन्दा माथि कागबेनी र मुक्तिनाथ छ । पौराणिक कालदेखि नै ऋषिमुनिहरूले काली गण्डकीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई राम्रोसित बुझेका थिए । कालीनदीकै आसपास म्याग्दीको पुलाचौरमा पुलहस्त ऋषिले तपस्या गरेका थिए ।

त्यस्तै, सत्यदेवीको गला खसेको ठाउँ गलेश्वर महादेवको पवित्र मन्दिर पनि काली नदीकै किनारमा छ । धार्मिक दृष्टिले मात्रै होइन पौराणिक र ऐतिहासिक दृष्टिले पनि यी स्थानहरूको अत्यन्तै ठूलो महत्व छ । तर, यी ऐतिहासिक धरोहरहरू लोप हुँदै र महत्वहीन बन्दै छन् । हामीले हाम्रो त्यो पूँजीलाई सुरक्षित गर्न सके पौराणिक तथा धार्मिक पर्यटनमा पनि ठूलो सहयोग पुग्ने निश्चित छ । यस्ता ऐतिहासिक धरोहरहरूलाई केवल धार्मिक आस्थाको आधारमा मात्र प्रचार गरिँदा समयक्रममा ओझेलमा पर्ने गरेका छन् । त्यसैले यिनीहरूको सांस्कृतिक, पौराणिक र ऐतिहासिक र पर्यटकीय महत्वबारे प्रचारप्रसार गर्न सके लोप हुनबाट जोगिनसक्थे ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *