Home / News / समाचार / सफलता, फराकिलो मन र इमानदारी

सफलता, फराकिलो मन र इमानदारी

केशव श्रेष्ठ । भर्चुअलबाट वास्तविक साथीमा रूपान्तरित भएका साथीहरूको सहभागितामा स्थापना हुन लागेको कम्पनीको प्रारम्भिक बैठकमा एक जना पाका मित्रले प्वाक्क सोधिहाले, ‘केशवजी, तपाईंको घर कहाँ हो ?’

‘बाउले बनाइदिएको घर हेटौँडा हो । नेपालगन्जमा बनाएथेँ, बेचियो । अहिले कतै आफूले बनाउन सकेको छैन ।’ घर सोध्नेहरूलाई मैले नियमित दिने गरेको जवाफ फर्काएँ ।

‘काठमाडौँमा घर कहिले बनाउनुहुन्छ ?’

‘ठेगान छैन सर ।’

उनी थिए अनुभवी महानुभाव । उनी किन मेरो घरबारे यति चासो लिइरहेका छन् भन्ने मैले बुझिरहेको थिइनँ । उनी सरकारी संस्थाको उच्चपदस्थ सेवाबाट भर्खरै निवृत्त भएका थिए । ‘सेयर मार्केटमा लगानी गर्नु राम्रै छ’ भन्थे ।

‘हामीले त तपाईंकै नेतृत्वमा कम्पनी खडा गर्न खोजेका हौँ । त्यसैले अब छिट्टै तपाईंले काठमाडौँमा घर बनाइहाल्नुप¥यो,’ ती मित्र मेरो घरको पिछा परेकै थिए ।

‘त्यतिन्जेलसम्मका लागि चाहिँ काठमाडौँमा घर भएका मान्छेले नयाँ कम्पनीको अध्यक्षता लिनुपर्ने हाम्रो प्रस्ताव छ,’ अर्काे पाका मित्र बोले । यी सही थाप्ने मित्र पनि देशदेशावर घुमेका, यू.एन. लगायतका अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा जागिरे र परामर्शदाता भएर काम गरिसकेका थिए ।

तर, मैले अझै साँच्चिकै कुरो बुझेको थिइनँ । कम्पनीको नेतृत्वमा मलाई खासै रुचि पनि थिएन । मेरो नेतृत्वमा नेपालगन्जमै अर्कै एउटा लगानी कम्पनी पनि चलिरहेको थियो र खासमा म यो कम्पनीको अर्र्कैले नेतृत्व लेओस् भन्ने नै चाहन्थेँ । तर, यो कम्पनीको नेतृत्वलाई काठमाडौँको घरसँग जोडेको कुराचाहिँ मेरो समझबाहिर थियो ।

पछि कुरा गर्दै जाँदा पो थाहा भयो– यी दुवै मित्रको एउटाको घर काठमाडौँको न्युरोडमा र अर्काेको पुतलीसडकमा रहेछ । अनि, काठमाडौँमा घर भएको मान्छे मात्र कम्पनीको अध्यक्ष हुनुपर्ने उनीहरूको विचार रहेछ । त्यसो किन त भन्दा काठमाडौँमा घर नभएकालाई लगानीकर्ताहरूले पत्याउँदैनन् रे ¤ पछि कम्पनीको अध्यक्षले आर्थिक गडबड गरे भने काठमाडौँको घरमा समाउन पनि सजिलो पर्छ रे ¤ उस्तै परे काठमाडौँको घर कब्जा गरेर असुल–उपर पनि गर्न सकिन्छ रे ¤ रकम ठगेर भागिहाल्यो भने पनि काठमाडौँबाहिर भाग्ने सम्भावना कम हुन्छ रे ¤ खोज्न पनि काठमाडौँबाहिर जानु नपर्ने भएकाले सजिलो हुन्छ रे ¤

छ्या ¤ कति सानो विचार । काठमाडौँ घर हुने इमानदार, नहुनेजति बेइमान रे ¤ काठमाडौँमा घर हुनेले ठगी गर्दैन, भाग्दैन, अरू भाग्न सक्छन् रे ¤ फेरि कम्पनी स्थापना गर्दादेखि नै नेतृत्वले ठग्ने र भाग्ने सोच ? पढेलेखेका, देशदेशावर घुमेका, बुद्धिजीवी भनी टोपलेकाहरूको त यस्तो सोचाइ छ, अरूको कस्तो होला ? तिनीहरूको बुद्धिमा पिच्च थुक्न मन लागेको थियो मलाई ।

तर, मैले यसमा खासै बहस गर्नुपरेन । संविधानले नेपालभर घुम्ने, बस्ने, व्यापार–व्यवसाय गर्ने स्वतन्त्रता दिएको छ तर यहाँका कुहिगन्धे बुद्धिजीवीहरूको सोचचाहिँ कति काठमाडौँपरस्त छ । अरू साथीहरूको उग्र विरोधका कारण काठमाडौँ घरवाला प्रस्तावकहरू आफैँ छेउ लागे । बरू टिमबाट हटे तर काठमाडौँ घरको अहम्वादी सोच त्याग्न सकेनन् । आज हाम्रो गरिबीभन्दा पनि हाम्रा सङ्कीर्ण सोचहरू हाम्रो प्रगतिमा तगारा बनेका छन् ।

घरदेखि कार्यालयसम्म, सार्वजनिक निकायदेखि राजनैतिक तहसम्म सङ्कीर्ण सोचले डेरा जमाएको देखिन्छ । घरकै कुरा गरुँ– हामीकहाँ व्यवस्थित आवास फस्टाउन सकेको छैन । कोलोनी वा अपार्टमेन्टजस्ता सामूहिक आवासमा चौडा सडक, पर्याप्त पार्किङ, उच्चकोटिका सुविधा र तुलनात्मक कम लागतमा अपार्टमेन्टहरू पाइन्छन् । हामीचाहिँ रुचाउँछौँ, दुई आना जग्गा । आठ–दसफिटे बाटो । चार बोट भए पनि रायोको साग रोप्ने ठाउँ । किनभने, हामीलाई लाग्छ– यो हाम्रो हो । उता राम्रो छ तर हामी हच्कन्छौँ । नराम्रो भए पनि हाम्रै रोज्छौँ ।

यो हाम्रो र राम्रोबीचको सङ्घर्ष जारी छ ।

कार्यालयमा कर्मचारी लिनुप¥यो भने राम्रो मान्छे होइन, हाम्रो मान्छे रोज्छौँ । अनि, अलिक दिनपछि हाम्रो मान्छेले अरूलाई टेर्दैन । राम्रो त हुँदैन नै, काम गर्ने सीप पनि कमजोर हुन्छ । अर्काेतिर, ऊ हाकिमको मान्छे । टेरोस् किन अरूलाई ? उस्तै परे उसलाई ल्याउने हाकिमलाई पनि टेर्दैन । अनि, टिम बिग्रन्छ । भताभुङ्ग हुन्छ । गुनासा बढ्छन् । हाम्रो मान्छे भएकाले हामी हटाउन पनि सक्दैनौँ । कारबाही गर्न पनि सक्दैनौँ । अनि, हाम्रो मान्छे उकुच बनेर संस्थाको दीर्घरोग बन्दै जान्छ । यही हो हाम्रो मान्छे लिनुको स्खलन, आनन्दको परिणति ।

हामीले गाडधनका दन्त्यकथाहरू सुनेका छौँ । आपूmसँग राख्न नसक्ने र अरूलाई दिन पनि विश्वास नगर्नेहरूले सम्पत्ति, पैसा, खरखजाना गाडेर राख्थे । विश्वासको चरम सङ्कटले मान्छेले गाडधन राख्थ्यो । न कसैलाई गाडेको ठाउँ नै देखाउँथ्यो, न त कसैलाई भन्थ्यो । जबसम्म ऊ जिउँदो रहन्थ्यो न त्यसको उपयोग हुन सक्थ्यो, न त परिचालन । जब ऊ मथ्र्याे तब गाडधन अमुक स्थलमा गाडिएरै रहेको हुन्थ्यो, कसैको काममा आउँदैैनथ्यो । अर्थात् गाडधन स्रोत र सम्पत्तिको दुरुपयोग हो ।

अचेल रुपैयाँ–पैसा वा खजाना त गाडेर नराख्लान् तर बौद्धिक सम्पत्ति गाडेर अर्थात् लुकाएर राख्ने रोगबाट हामी मुक्त हुन सकेका छैनौँ । व्यावसायिक क्षेत्रमा योजना लुकाउने र प्रशासकहरूले क्षमता लुकाउने बडो नराम्रो बानी छ । आपूmमा भएको सीप अरूमा हस्तान्तरण गर्न हामी बडो कन्जुस छौँ । हामीलाई के लाग्छ भने हामीले आÇनो दक्षता र सीप हस्तान्तरण गरेमा हामी कमजोर भइहाल्छौँ, अरूले हामीलाई उछिन्नेछन् ।

केही वर्षअघि मेरो गाउँमा एक जना जान्नेसुन्ने थिए । ठ्याक्कै नाम त थाहा भएन तर ढकाल थरका भएकाले हामी ढकाल बाजे भन्थ्यौँ । यी थिए बडो गजबका, दुनियाँ देखेका, अग्रणी टाइपका प्राणी । हरेक कुरामा उनको अग्रसरता र बुज्रुकपन झल्कने । हरेक कुराको समाधान उनले बोकेर बसेका जस्तो लाग्ने । केमिकलको अमिलोको अचार पहिलोपल्ट उनैकोमा हो, चाखेको । झारफुकदेखि औषधिमूलोसम्म जानेका । उनलाई उनको पहाड घरमा उनी सानै छँदा वनझाँक्रीले लगेको रे ¤ साताभन्दा बढी दिन आफूसँग राखेर वनझाँक्रीले तन्त्रमन्त्र औषधिमूलो सिकाएर पठाएका रे ¤ वनझाँक्री भन्ने अमुक जीव बडो अचम्मको हुन्छ रे– आधा मान्छे र आधा भालुजस्तो । वैज्ञानिक प्रकारका तमाम तिकडमदेखि तन्त्रमन्त्रसम्म जानेको हुन्छ रे ¤ जङ्गलमा बसीबसी वनझाँक्रीले नानाभाँतीका पकवान बनाएर खुवाउँछ रे ¤

ढकाल बाजेको वनझाँक्रीको कथाको सत्यताबारे त थाहा भएन । तर, उनी थिए हरेक रोगका उपचारक । सेवाग्राहीहरू उनको घरको पिँढीमा लाइन बस्थे । पहिला झारफुकको सामान्य प्रक्रियापछि उनी घरभित्रको एकान्तमा पस्थे । घरभित्र कसैलाई पनि उनीसँग पस्ने अनुमति हुँदैनथ्यो । उनी बाहिर निस्कँदा हरेक रोगीका लागि औषधिमूलो बोकेर फर्कन्थे । कुनै औषधि चन्दन घोटेजस्तो लेदो । कुनै विभूतिजस्तो । कुनै बाख्राका बड्कुँलाजस्ता । थरीथरीका । हामी सानो छँदा बडो विस्मयले हेरिबस्थ्यौँ, उनको चर्तिकला । औषधि र झारफुकले पनि निको नभएका बिरामीका लागि उनी धामी बस्थे । जीउमा वनझाँक्री बोलाउँथे । काम्थे, बक्थे । कहिले पानी मन्त्रेर बिरामीको पानीपट्टी गर्थे । कहिले आगोको भुङ्ग्रोमा हिँड्थे । खली खान्थे । ढकाल बाजेले त्यति गरेपछि कुनै बिरामी पनि या त निको हुन्छ, या त कालैले लान्छ भन्ने उखानै थियो गाउँमा । सानैदेखि उनको चर्तिकला विस्मित हुँदै हेर्दै आएको मजस्ता ठिटाको जुँघाको रेखी बस्दै गएपछि र प्रगतिशील नामको वामपन्थी अध्ययनतिर झुकाव बढ्दै गएपछि हामी खासखुस उनलाई ‘फटाहा’ भन्न थालेका थियौँ । ‘ढकाल बाजे जानेजति चर्तिकला गर्छन्, कोही बाँच्छन् कोही मर्छन्, त्यो स्वाभाविकै हो’ भन्न थालेका थियौँ, हामीहरू । तर, गाउँमा एउटा यस्तो घटना भयो, जसले हाम्रो मुखमा बुजो लाइदियो ।

भयो के भने– एकपल्ट गाउँमा बौलाहा कुकुरको बिगबिगी चल्यो । मेरै घरको कुकुर पनि बहुलायो र मैलाई समेत टोक्यो । भेटेजति दसौँ मान्छे र थुप्रै गाईवस्तुलाई टोक्न भ्याएर मलाई टोकेको तीन दिनभित्रै त्यो म¥यो । हेटौँडा अस्पतालमा रेबिजको सुई सकिएको थियो । वीरगन्जमा समेत सुई पाइएन । अब ढकाल बाजेको शरणमा पर्नुबाहेक अरू उपाय थिएन । मलगायत थुप्रै मान्छेलाई उनी पहिला घाउ फुक्थे, मन्त्रसाथ । अनि, भित्र पसेर गुप्त स्थानबाट चन्दन घोटेजस्तो लेदो ल्याएर लेपन गराउँथे । करिब एक महिनासम्म यो प्रक्रिया चलिरÞयो ।

यता मेरो सातोपुत्लो उडेको थियो । म थिएँ गाउँभरिमै पहिलो एस.एल.सी. पास गरेको ठिटो । रेबिज प्राणघातक हुन्छ भन्ने मलाई राम्ररी थाहा थियो । यस्ता चन्दन, लेप र झारफुकले रेबिजलाई केही लछार्ला भन्नेमा मलाई ठूलो शङ्का थियो । दिन बित्दै जाँदा काल नजिकिँदै गएजस्तो अनुभूत गर्न थालेँ । झन्डै तीन महिनापछि बौलाहा कुकुरले टोकेको तर ढकाल बाजेको औषधिमूलो नपाएका मान्छे र वस्तुभाउहरू भटाभट बौलाउन र मर्न थाले । मान्छे पनि मरे । वस्तुभाउ बौलाउनेको र मर्नेको त गन्ती नै भएन । हरेक दिन मेरो सातो उड्थ्यो र म आफूलाई कालको मुखमा पुगेको ठान्थेँ । अब रेबिजको लक्षण आज हो कि भोलि देखिन थाल्नेमा म थर्कमान थिएँ । तर, भयो अचम्म ¤ ढकाल बाजेको उपचार पाएका हामी सबै जना सारसौँदो नै रÞयौँ । मैले धेरैपल्ट ढकाल बाजेलाई चिन्ता व्यक्त गर्दा उनले जुँगामा ताउ लगाउँदै ‘तँ चिन्ता नगर्’ भनेका थिए । नभन्दै मलगायत हामी सबै जना आजसम्म जिउँदै छौँ ।

यो घटनाले मेरो मथिङ्गल घुमाइदिएको थियो र ३ सय ६० डिग्रीको पारामा ढकाल बाजेप्रति श्रद्धा र विश्वास जगाइदिएको थियो । त्यसपछि म उनको पछि धेरै लागेँ । उनको ओखतीमूलोबारे बुझ्न चाहेँ । धेरै फकाएँ पनि । तर, अहँ ¤ उनले केही बताएनन् र केही सुइँको पनि दिएनन् । यो कुरा जान्न, थाहा पाउन वनझाँक्रीको चेलो नै हुनुपर्ने रे ¤ कसैले औषधिबारे जान्यो वा थाहा पायो भने औषधि नै त्यसउप्रान्त बेअसर हुन्छ रे ¤

धेरै वर्षअघि उनी बितिसके । उनको त्यो अमूल्य जानकारी, सीप र औषधिको ज्ञान पनि सायद उनीसँगै मरिसक्यो ।

हामीसँग प्राकृतिक रूपमा रहेका सम्पत्तिमा पानीपछि जङ्गल र जडीबुटी नै हो । ढकाल बाजेजस्ता जानकारहरू अझै बाँकी हुन सक्छन् । तिनको ज्ञान र सीपको जगेर्ना गर्न सके, त्यसको व्यावसायिक प्रयोग गर्न सके कौडीमा जडीबुटी बेचेर सुनको भाउमा औषधि किन्ने नियतिमा पूर्णविराम लाग्दो हो कि ? नेपालगन्जको नाकाबाट मात्र बर्सेनि अरबौँको जडीबुटी बाहिरिन्छ, खास गरी भारततिर । त्यसको पूर्ण प्रशोधन गर्न नसके पनि अर्धप्रशोधित मात्र निर्यात गर्न सके त्यसको मूल्य अभिवृद्धि तेब्बर, चौबर हुन सक्ने गुन्जायस छ । सरकारी र गैरसरकारी निकायले पैसाको ओइरो लाउन थालेको पनि धेरै भइसक्यो । निजी क्षेत्रका प्रतिष्ठित व्यापारिक घरानाहरूले पनि जडीबुटीको निर्यात व्यापार थालेका छन् तर तिनको व्यापारिक गतिविधि केवल जङ्गलका बेर्ना उखेलेर, पात लुछेर, बोक्रा ताछेर बोराबन्दी गरेर भारततिर हुँइक्याउने मात्र बनेका छन् । गुणस्तर र मूल्य अभिवृद्धि तिनले सुको थप्न सकेका छैनन् । अचेल त जडीबुटी व्यापारीहरूसमेत जङ्गलका जडीबुटीको बेलो नै मासिने भए भन्न थालेका छन् ।

राज्य वा निजी क्षेत्रले जडीबुटी प्रशोधनमा लगानी गरिदियो भने वा मौसमी दरभाउ नियन्त्रणका लागि वातानुकूलित गोदामघरहरू बनाइदिने हो भने साना व्यापारीले त्यसमा मनग्गे लगानी गर्ने वा ज्ञान, सीपको योगदान दिन सक्छन् । प्रशोधनको काम सानो लगानीले नपुग्ने वा व्यावसायिक रूपमा आकर्षक नहुने । ठूला व्यापारीहरूले काँचो जडीबुटीमा नै कुस्त नाफा कुम्लाउन पाएकै छन्। राज्यलाई यसको ठूलो चासो छैन वा दाताको मुख ताक्दैमा ठिक्क छ । यसले अपार सम्भावना भएको जडीबुटीको क्षेत्र आफैँमा टाक्सिबसेको छ ।

गैरसरकारी संस्थाहरूको लगानी नीति जडीबुटी क्षेत्रमा बुझिनसक्नु छ । जागिर खानका लागि मात्र तिनले यो क्षेत्र रोजेका हुन् कि भन्ने दरो भान तिनका गतिविधिले पार्छ । एउटा गैरसरकारी क्षेत्रका हाकिम साहेबले जडीबुटीमा अनुदान दिन पैसा हातैमा बोकेर बसेको बताएर जडीबुटीसम्बन्धी उपयुक्त प्रस्ताव लेख्न लगाए । ५० प्रतिशत उसले अनुदान दिने, ५० प्रतिशत व्यवसायीले हाल्नुपर्ने रे ¤ लौ त भनेर जडीबुटी क्षेत्रमा बीसौँ वर्ष व्यापारिक काम गरेका दाइले बेसार र टिमुर प्रशोधनका बारेमा नानाभाँती अनुसन्धान गरेर प्रस्तावना लेख्न मलाई लगाए । हरेकपल्ट नयाँ नयाँ अत्तो थापेर गोटा तीनपटक जति प्रस्ताव संशोधन गराए । अन्त्यमा एक्सपोजर भिजिट भन्दै ती दाइलाई भारतको चेन्नई, रामेश्वरम् कता कता चिलगाडी चढाएर, भत्तासहित घुमाउन लगे । अनि, बेसार सुकाउने नयाँ प्रविधि भन्दै चेन्नईमा बेसार उसिन्ने ढ्वाङ्ग्रो किनेर प्रयोग गर्ने भए मात्र पैसो दिने भनेर अत्तो थापे । उता दाइ भने त्यो ढ्वाङ्ग्रोलाई ४२लाख पर्ने र त्यसको काम नेपालमा छैन र यो बेकारमा घाटा हुने काम हो भनेर मान्दै मानेनन् । हुन पनि जानी जानी घाटा हुने काममा व्यवसायीले किन हात हाल्ने त ? अनुसन्धान गर्ने भए जम्मै पैसा देऊ, हामी अनुसन्धान गरिदिन्छौँ तर ५० प्रतिशत हाम्रो जाने हो भने घाटा हुने काम गर्दैनौँ भन्न त व्यवसायीले पाउने नै कुरा हो । अन्ततः त्यो आयोजनामा गैरसरकारी लगानी छेपाराको उखान बनेर तुहियो ।

ढकाल बाजेको प्रसङ्ग त उदाहरण मात्र हो, एउटा । हरेक क्षेत्रमा हामी साँघुरो मन र बेइमानीको दोहोरो सिकार बन्दै आएका छौँ । व्यावसायिक क्षेत्रमा पनि त्यो देखिन्छ, भेटिन्छ । प्रायः जब कुनै व्यावसायिक सोच ममा फुर्छ, म त्यो आÇना साथीहरूसँग छलफल गर्छु ।

‘यो त बडो गजबको आइडिया हो । तर, यसलाई कतै सेयर नगरौँ है, अहिले । हामीभन्दा अगाडि अरूले गर्छन् फेरि ।’ प्रायः म यही सुझाव पाउँछु ।

यो सुझावप्रति चाहिँ म तीनछक्क पर्छु । होला, विकसित मुलुकमा भए यस्ता सोच वा विचारहरूको पेटेन्ट, कपिराइट, ट्रेडमार्क आदि हुन्छन् होला । तर, हाम्रो जस्तो मुलुकमा त्यस्तो आइडिया सके हामीले नै प्रयोग गरे भइहाल्यो । नसके आइडिया अरूलाई दिएर अरूले काम गर्छन् भने पनि त्यो राम्रै होइन र ? आइडिया लुकाउनुपर्ने कारणचाहिँ के नै छ र ? यस अर्थमा हामी सबै ढकाल बाजेहरू नै होइनौँ त ?

एकपल्ट हामीहरू नेपालगन्जबाट काठमाडौँ आउँदै थियौँ, बसबाट । बसको बेथिति, सेवाग्राहीहरूसँग गरिने निम्नकोटिको व्यवहार आदि देखेर हामीले व्यावसायिक सोच बनायौँ । नेपालको बस व्यवसाय मूच्र्छित अवस्थामा छ । दिमाग सानो र पाखुरा, तिघ्रा ठूला हुनेको भरमा व्यवसाय चलेको छ । सेवाको त नाम मात्र हो, करकाप, बाध्यता र धक्कामुक्कीको भरमा चलेको छ, नेपालको बस व्यवसाय । राम्रो सुविधायुक्त बसहरूको सञ्जाल स्थापना गर्ने अनि इन्टरनेटबाट टिकट बुकिङ, पैसा सङ्कलन र ‘फाइभ स्टार’ सेवा दिन सके यो व्यवसाय चम्कन्छ होला भन्ने हाम्रो छलफलको निक्र्याैल रÞयो ।

त्यसको करिब छ महिनासम्म हामीले हाम्रो योजनामा माखो पनि मारेनौँ । एक किसिमले त्यो हाम्रो यात्रा गफमै सीमित रÞयो । एक दिन एक्कासि एक जना मित्रले फोन गरे ।

‘कसैले हाम्रो बिजनेस प्लान त चोरेछ नि ¤’ उनी फोनमै आत्तिए ।

‘के भयो र ?’ मैले सोधेँ । क्रमशः (पुस्तक अंश)

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *