Home / News / घुमघाम / सुन्दर कर्णाली–  सम्भावना पनि उत्तिकै

सुन्दर कर्णाली–  सम्भावना पनि उत्तिकै

रमेश रावल/कर्णाली

भोक, रोग र अशिक्षाको पर्याय बन्दै आएको कर्णालीमा लगानीका क्षेत्र प्रशस्तै रहेका छन् । लगानीका क्षेत्र धेरै रहेको भए पनि ठूला उद्योगी, व्यापारिक घराना, ठूला कम्पनी, राज्य र अन्य कुनै क्षेत्र पनि कर्णालीमा लगानी गर्न आकर्षित देखिएका छैनन् । कर्णालीका आर्थिक समृद्धिका सम्भावनाका क्षेत्रमा लगानी हुन नसक्दा अझै पछाडि परेको छ ।

कर्णालीको आर्थिक समृद्धिका लागि लगानीका गर्न सकिने क्षेत्रमा जलविद्युत्, जडिबुटी, पर्यटन, होटल, व्यवसाय मुख्य आधार हुन् । तर, अहिले जलविद्युत्, जडिबुटी, पर्यटन, होटल क्षेत्रमा लगानी न्यून छ । स–साना लगानीकर्ता जलविद्युत्, जडिबुटी, पर्यटन, होटल क्षेत्रमा लगानी गर्न तयार भए पनि कर्णालीको समग्र विकास र समृद्धिको आधार तयार गर्न सकेका छैनन् ।

कर्णालीको भौगोलिक कठिनताका साथै केही जिल्लामा अझै मोटरबाटो नपुगेका कारणले पनि सायद लगानी गर्न चाहने वित्तीय क्षेत्रका लागि कठिन हुन सक्छ । कर्णाली र भेरी नदी यसै क्षेत्रमा पर्ने भएका कारण जलविद्युत् विकासका दृष्टिले कर्णाली सबैभन्दा धनी हुने सम्भावना छ ।

त्यस्तै, जडिबुटी र पर्यटन पनि कर्णालीको आर्थिक समृद्धि ल्याउने सम्भावना भएका क्षेत्र हुन् । कर्णालीमा संसारकै महँगोेमध्येको मानिने यार्सागुम्बा पाइन्छ । त्योसँगै अन्य बहुमूल्य जडिबुटी कर्णालीमै पाइन्छन् । तर, अहिले कर्णाली जडिबुटी दोहन क्षेत्र मात्र भएको छ । यसको संरक्षण र सही सदुपयोग हुन सकेको छैन ।

पर्यटन पनि कर्णालीका लागि निकै राम्रो सम्भावना भएको क्षेत्र हो । कर्णालीको डोल्पामा रहेको शे–फोक्सुण्डो, मुगुको रारा ताल र कर्णालीको शीर मानसरोवर पनि रहेका कारणले कर्णालीको पर्यटन विकासले आर्थिक समृद्धिका लागि निकै राम्रो सम्भावना रहेको छ ।

जलविद्युत्मा अथाह सम्भावना

कर्णालीलाई जलविद्युत् उत्पादनको क्षेत्रका रुपमा विकास गर्न सकिने थुप्रै आधार छन् । कर्णाली हुम्ला हुँदै बग्ने हुम्ली कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने भेरी नदीको पानीको उपयोग गरेर विद्युत् हबका रुपमा विकास गर्न सकिने आधार छन् । अहिले ती नदीबाट न सिंचाइको व्यवस्था गरिएको छ, न त विद्युत् निकाल्ने तयारी नै गरिएको छ । नदीहरूको अथाह स्रोत हुँदाहुँदै पनि त्यतिकै खेर गइरहेको छ ।

कर्णालीमा मात्र करिब २४ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको जानकारहरू बताउँछन् । तर, अहिले कर्णालीको कालिकोट जिल्लाको ८ सय ४० मेगावाटका तिला–१ र तिला–२ जलविद्युत् आयोजनाको पहल शुरु भएको छ । अन्य ठाउँमा खासै अध्ययन–अनुसन्धान भएको छैन ।

हरेक हिसाबले निकै विपन्न रहेको कर्णालीको विकासका लागि जलविद्युत् क्षेत्रमा गरिने लगानीले रोजगारी र आर्थिक सम्पन्नता वृद्धि गर्न सकिने कालिकोटका सांसद तुलराज विष्ट बताउँछन् । ‘विपन्नताबाट मुक्ति पाउने एउटा मात्र उपाय भनेको जलविद्युत् हो,’ उनी भन्छन्, ‘जलविद्युत्को क्षेत्रमा कर्णालीमा कुनै पनि लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । राज्यले पनि यसतर्फ ध्यान दिन सकेको छैन ।’

कर्णालीको विकासका लागि जलविद्युत्, जल पर्यटन प्रमुख आधार हुन सक्ने भएकाले स्थानीयले लगानीकर्तालाई आकर्षित गर्न लाग्नुपर्ने नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही बताउँछन् । ‘कर्णाली समृद्धिको आधार भनेको जलविद्युत् नै हो,’ उनी भन्छन्– ‘यसमा लगानीकर्तालाई आकर्षित गर्न सबै लाग्नुपर्छ ।’ जल पर्यटन, विद्युत् उत्पादनको राम्रो क्षेत्र हुँदाहुँदै पनि वित्तीय क्षेत्र, निजी लगानीकर्ता, ठूला कम्पनी र राज्यको खासै चासो जान सकेको छैन ।

हिमाली हिरा– यार्सागुम्बा

कर्णाली बहुमूल्य जडीबुटीको खानी भएको क्षेत्र हो । कर्णालीमा हिमाल, जंगल र गाउँमा नेपालमा पाइने १४ सय जडिबुटीका प्रकारमध्ये ७ सय कर्णालीमा पाइने गरेको विभिन्न तथ्यहरू सार्वजनिक भएका छन् । जडिबुटीको खेती, संरक्षण र त्यसको सही व्यापारले मात्र कर्णाली भविष्यमा समृद्ध बन्न सक्छ ।

हिमाली हिरा भनेर चिनिएको यार्सागुम्बा कर्णाली क्षेत्रमा पाइन्छ । विश्व बजारमा राम्रो मूल्य पर्नेे, व्यवस्थित व्यापार गर्न सके कर्णालीको मुहार नै फेरिने कर्णालीका सामाजिक अभियन्ता चन्द्रप्रसाद कोइरालाले बताउँछन् । ‘हामीले कर्णालीमा उत्पादन हुने जडीबुटीलगायतका अन्य वस्तु विश्व बजारसम्म पु¥याउन सक्ने हो पनि कर्णाली आफैं समृद्ध हुन सक्छ,’ उनी भन्छन्– ‘तर, अहिलेसम्म पनि राज्य र निजी क्षेत्रका लगानीकर्ता यसतर्फ आकर्षित हुन सकेका छैनन् ।’

यार्सागुम्बा जस्तै विश्वमै अत्यन्त महत्वपूर्ण र महँगा मानिएका जडीबुटीहरू गुच्ची च्याउ, हात्ती जरा, शिलाजित, सतुवालगायत ७ सयदेखि १४ सयभन्दा बढी प्रजातिका बोटविरुवा, जडीबुटी कर्णालीका गहनाका रुपमा रहेका छन् । तर, कर्णालीमा पाइने जडिबुटीका लागि प्रशोधनका साना उद्योग खुलेका भए पनि ठूला उद्योग खुल्न सकेको छैनन । ठूला उद्योग नखुल्दा यहाँ पाइने जडिबुटी त्यसै खेर जान थालेको कालिकोटमा जडिबुटी प्रशोधन केन्द्र खोलेको प्रेमबहादुर शाही बताउँछन् । ‘ठूला जडिबुटी प्रशोधनका उद्योग खुलेका छैनन् । साना उद्योगले माग अनुसारको उत्पादन गर्न सक्दैनन्,’ उनी भन्छन्– ‘कर्णालीमा रहेका जडिबुटी त्यसै खेर जान थालेका छन् ।’

समृद्धिको अर्को आधार पर्यटन

कर्णालीमा रारा, शे–फोक्सुण्डो र मानसरोवर रहेका छन् । कर्णालीमा रारा र शे–फोक्सुण्डो र कर्णालीको शिरमा मानसरोवर हुँदाहुँदै पनि यस क्षेत्रमा ब्यवस्थित रुपमा विकास हुन सकेको छैन । कुनै पनि स्थानको व्यवस्थित विकासबिना समृद्धि हुन सक्दैन । विशेषगरी जुम्लामा ठूला लगानीमा होटल खुल्न थालेका छन् । जडिबुटी निकासीको सम्भावना त छँदैछ ।

पर्यटन क्षेत्रको व्यवस्थापन राम्रो नहुँदा अहिले कर्णालीको पर्यटन फस्टाउन सकेको छैन । पछिल्लो चरणमा रारा आन्तरिक पर्यटनले केही विकास भएको भए पनि यसको ब्यवस्थित विकास हुन सकेको छैन । ब्यवस्थित विकास नहुँदा कर्णालीका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् ।

कर्णाली करिडोर बन्न सकेमा रारा र शे–फोक्सुण्डो मात्र हैन, धार्मिक पर्यटनका लागि कर्णालीको शीरमा रहेको मानसरोवर पनि पर्यटनको आधार बन्नसक्छ । कर्णालीको करिडोर मार्गको निर्माण भए हजारौं भारतीय पर्यटक नेपालगञ्ज हुँदै हुम्लाको बाटो प्रयोगबाट यहाँको आर्थिक समृद्धि हुने देखिन्छ ।

कर्णाली राजमार्ग नबनेका कारण मानसरोवरमा यो मार्ग हुँदै निकै कम पर्यटक जाने गरेको र हुम्लामा राम्रो बासको ब्यवस्था नहुँदा नेपालगञ्जबाट हुम्ला हवाईजहाज र त्यहाँबाट मानसरोवर हेलिकोप्टर चार्टर गरेर जाने भएकाले मानसरोवरबाट कर्णालीका बासिन्दाले खासै लाभ लिन नसकेको पर्यटनमन्त्री जीवनबहादुर शाही बताउँछन् । ‘कर्णालीको आर्थिक आधारका रुपमा रहेको कर्णाली करिडोर बनेको छैन्,’ उनी भन्छन्– ‘मानसरोवरबाट खासै कर्णालीबासीले लाभ लिन सकिरहेका छैनन् । भविष्यमा पर्यटन क्षेत्र कर्णालीको आर्थिक विकासको आधार बन्न सक्छ ।’ मन्त्री शाहीले भने कर्णालीको पर्यटन विकासका लागि सरकारले निरन्तर ध्यान दिएको र पर्यटकका लागि विषेश प्याकेज ल्याउने तयारी भइरहेको बताए । पर्यटन क्षेत्रमा पनि लगानीकर्ताका लागि कर्णाली राम्रो माध्यम बन्न सक्ने उनको भनाइ छ ।

सुविधासम्पन्न होटलको अभाव

कर्णाली लगानीको क्षेत्र हुँदाहुँदै पनि रारा, शे–फोक्सुण्डो र मानसरोवर लक्षित सुविधा सम्पन्न होटलको कमी छ । रारालाई लक्षित गरेर ससाना होटल खुलेका छन् । तर, त्यहाँ व्यवस्थापनको पाटो निकै कमजोर छ । रारामा आन्तरिक पर्यटक आउने क्रम निकै बढेको छ । आन्तरिक पर्यटकसँगै छिमेकी देश भारतबाट पनि रारामा पर्यटक आउने क्रम तीव्र छ ।

निकै सुन्दर रहेको रारा ताललाई लक्षित गरेर कुनै पनि पूर्वाधार निर्माण भएका छैनन् । यसमा सरकारले ध्यान दिनुपर्ने सुझाउँछन् भारतको उत्तरप्रदेशबाट रारा तालको भ्रमणमा आएका अरुण अग्रवाल । ‘रारा स्वर्ग जस्तै भए पनि पूर्वाधारको अभाव छ,’ उनी भन्छन्– ‘रारा लक्षित गरेर निजी क्षेत्र र राज्यले लगानी गर्न जरुरी छ ।’

रारा लक्षित गरेर कालिकोट र जुम्लामा करोड हाराहारीको लगानीमा केही होटल खुलेका छन् । रारा ताल नजिकै दुई वटा मात्र होटल छन् । होटल डाँफे र रारा भिलेज । यी दुई होटलको व्यवस्थापन राम्रो नहुँदा पर्यटक आकर्षित हुन सकेका छैनन् । रारा, शे–फोक्सुण्डो र मानसरोवरलाई लक्षित गरेर ठूला ठूला होटलको राम्रो सम्भावना रहेको भए पनि अहिले लगानीको अभावका कारणले खुल्न सकेका छैनन् ।

कर्णालीको अर्को सम्भावना स्याउ र ओखर

कर्णालीको आर्थिक विकास र समृद्धिको आधारका रुपमा यहाँ फल्ने फलफूललाई लिन सकिन्छ । तर, अहिले कर्णालीमा फल्ने स्याउ र ओखरमा लगानी हुन सकेको छैन । स्याउ र ओखर उत्पादनको राम्रो सम्भावना रहेको कर्णालीमा लगानीको कमी छ । उत्पादन भएका स्याउ र ओखर प्रशोधनको समस्या हुँदा छिट्टै कुहिएर खेर जाने गरेको छ । उत्पादित सामग्रीले उचित मूल्य र बजारसमेत पाउन सकेको छैन ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नरबिर राउतले कर्णालीमा स्याउ र ओखर उत्पादनको राम्रो सम्भावना भए पनि लगानी, उत्पादित वस्तुको बजारीकरण तथा प्रशोधनको समस्या भएको बताए । ‘स्याउ र ओखरलगायतका फलफूलको उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र हो कर्णाली,’ उनी भन्छन्– ‘उत्पादित वस्तुको बजारीकरण, प्रशोधनको समस्या लगायतका कारणले श्रमअनुसार मूल्य नै पाउन सकिएको छैन ।’ लगानीका सम्भावना धेरै भए पनि यसमा राज्यले ध्यान नदिँदा अहिले पनि कर्णाली मूलधारबाट बाहिरै रहेको छ ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *