Home / News / समाचार / सुनसान तातोपानी नाका

सुनसान तातोपानी नाका

नाका खोल्न मन्त्री–प्रधानमन्त्रीको प्रयास विफल

व्यापारी विस्थापित, सयौं विदेश पलायन

  • विशेष संवाददाता/काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत चैत १० देखि १६ सम्म भएको चीन भ्रमणमा तातोपानी नाका सञ्चालन गर्न चिनिया पक्षलाई आग्रह गरे । १२ वैशाख २०७२ को भूकम्पपछि चीनसँग सीमा जोडिएको तातोपानी नाका सञ्चालन गर्ने चर्चा पटक–पटक हुँदै आएको छ । तर, यो नाका सञ्चालन गर्न त्यति सहज भने छैन । नाका सञ्चालन गरिए पनि भूकम्पका कारण खण्डहर भएको तातोपानी पूर्ववत् अवस्थामा सञ्चालन हुन सक्ने अवस्था छैन । तर, तातोपानीको वास्तविकतालाई ध्यान नदिएर प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बेलाबेलामा तातोपानी नाका सञ्चालनको कुरा गर्छन् ।

यस्तो छ अवस्था

भूकम्पका कारण तातोपानीका कुनै पनि भवन सग्ला छैनन् । यदि नेपाली पक्षले गरेको आग्रहअनुसार चिनिया पक्ष तातोपानी नाका खोल्न तयार भए पनि भन्सार सञ्चालनका लागि समेत सग्लो भवन छैन । नभत्केका कुनै घर छैनन् । त्यसमाथि भूकम्पका कारण ढुङ्गा खस्ने त्रास तातोपानीमा सधंै देखिन्छ । बाह्रबिसेदेखि कोदारीसम्मको सडक पनि गाडी सञ्चालन गर्न लायक छैन । सडकमाथिबाट ढुङ्गा खस्न सक्ने जोखिम छ । त्यसबाहेक गत असारमा भोटेकोशीमा आएको बाढीले धेरै ठाउँमा सडक भत्काएको छ । भन्सारको गाडी पार्किङदेखि लिपिङ बजारको बसपार्कसमेत बगाएको छ । तातो पानी नाका सञ्चालन हुँदा ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका सिन्धुपाल्चोकका स्थानीयहरु पनि नाका सञ्चालनको छाँट नदेखेपछि रोजगारीका लागि वैदेशिक रोजगारमा जान थालेका छन् ।

तातोपानी–३ लिपिङका ४१ वर्षीय सोमजित थामी २७ मंसिर २०७३ मा वैदेशिक रोजगारीको सिलसिलामा दुबई गए । १२ वैशाख २०७२ को भूकम्प आउनुअघि लिपिङ बजारमा भरियाको काम गरेर दैनिक रु. ३ देखि ४ हजारसम्म आम्दानी गर्ने उनी बिहान–बेलुका छ जना परिवारका सदस्यलाई गाँस टार्ने समस्या भएपछि वैदेशिक रोजगारमा गएका हुन् । ‘बारीको अन्नले २ महिना खान पुग्दैन, भन्सार चलुन्जेलसम्म त समस्या थिएन,’ सोमजितकी श्रीमती बिमला थामी भन्छिन्– ‘बचत पनि गरेका थियौं, भूकम्पले बस्ने बास र खाने गाँस खोसेपछि विदेश जानुभयो ।’

भूकम्प आउनुभन्दा अघि लिपिङमै भरियाको काम गरेर मनग्ये आम्दानी गरिरहेका सोमजितजस्तै सोही ठाउँका टसी थामी, विशाल, दिनेश र सञ्जय थामी पनि विदेसिए । चीनको खासाबाट ब्ल्याङ्केट, थर्मस र इलेक्ट्रोनिक सामान ल्याएर अरनिको राजमार्गस्थित खाडीचउर बजारमा बेच्ने छेवाङ गोले इन्टरप्राइजेजका शेखर लामा पसल नै बन्द गरेर विदेश गए । त्यस्तै, खाडी चउरमै सुनकोसी होटल सञ्चालन गरेर बसेका रामशरण कार्की पनि होटल छोडेर रोजगारकै लागि विदेस गए । अरनिको राजमार्गस्थित बलेफी बजारमा होटल सञ्चालन गर्ने शिवमाया गिरीले भूकम्प पछाडि आफ्ना दुई छोरा निरज र सुमन गिरीलाई विदेश पठाइन् । ‘भएको घर भूकम्पले लडायो, होटल पनि चल्दैन, यहाँ बसेर के गर्नु ?’, शिवमाया भन्छिन्– ‘विदेशमा त दुई–चार पैसा बचत होला भनेर गए ।’

भूकम्पपछि चीन–नेपालबीचको व्यापारिक नाका तातोपानी भन्सार कार्यालय बन्द भएपछि हरेक गाउँमा विदेसिनेको संख्या अत्यधिक बढेको छ । नेपाल राष्ट्रिय वाणिज्य संघ क्षेत्र नं. १, सिन्धुपाल्चोकका अध्यक्ष निमा दोर्जे शेर्पाका अनुसार तातोपानी गाविसका १२ सयभन्दा बढी व्यक्तिले लिपिङमा भरियाकै काम गरेर गुजारा गर्थे । अहिले त्यसमध्ये ५ सयभन्दा बढी वैदेशिक रोजगारीमा गएको उनको अनुमान छ ।

सिन्धुपाल्चोक जिल्लाका ७९ गाउँ विकास समितिमध्ये तातोपानी, फुलपिङ, मार्मी, लिष्टीलगायत क्षेत्र नम्बर १ का ३० गाविसका मानिस प्रत्यक्ष रुपमा खासा र लिपिङमा ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्थे । तर, विनासकारी भूकम्पले उनीहरुको बस्ने बाससँगै रोजगारी पनि खोस्यो । जसका कारण उनीहरु विदेसिन बाध्य भए । मार्मी गाविस–१, चाकुस्थित ग्रामीण सिर्जनशील निगरानी समितिकी सचिव अमृता श्रेष्ठको भनाइमा भूकम्पपछि मार्मी गाविसबाट विदेसिनेको संख्या १३ सयभन्दा बढी छ । वैदेशिक रोजगारीमा जानेहरुलाई परामर्श दिने काममा समेत संलग्न रहेकी श्रेष्ठ भन्छिन्– ‘यहीँ ज्याला मजदूरी गरेर परिवार पालेकाहरुको बिचल्ली भएको छ, गाउँमा केटाकेटी र वुढाबुढी मात्र छन् ।’ उनको भनाइअनुसार विदेश जानेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ६ हजार ७ सय ३९ ले जिल्लाबाट राहादानी प्राप्त गरेका छन् भने ६ हजार ६ सय ८१ जनालाई काठमाडौं सिफारिश गरिएको छ । प्रजिअ अन्तरबहादुर सिलवाल भन्छन्– ‘हात–पाखुरा बलियो भएकाहरु गाउँमा भेटिन्नन् ।’

वैदेशिक रोजगारीका दुःख

भूकम्पपछि रोजगारी गुमेर वैदेशिक रोजगारमा जानेहरुले चर्को पैसा तिर्ने गरेका छन् । गाउँबाटै उनीहरु ठगिने क्रम सुरु भएको छ । यसरी वैदेशिक रोजगारीमा जानेहरुले रु. १ लाख ५० हजारसम्म तिरेर विदेश गएका छन् । त्यसैका एक उदाहरण हुन्– सोमजित थामी । १ लाख ५० रुपैयाँ तिरेर दुबई गएको श्रीमती बिमला बताउँछिन् । मार्मी–१ चाकुकी लाक्पा डोल्मा तामाङले गत जेठमा रु् १० हजार खर्च गरेर कुवेत जान भन्दै पासपोर्ट बनाइन् । विदेश जान भनेर २ पटक घरबाट काठमाडौं आउ–जाउ, १५ दिन काठमाडौंमा बस्दा र किनमेल गरी रु. २० हजार खर्च भयो । तर, उनी जान पाइनन् । उनीसँगै कुवेत जाने ७ जना महिला अघिल्लो दिन त्रिभुवन विमानस्थलमा समातिएपछि उनी विदेश नजाने भन्दै फर्किइन् । ‘एयरपोर्टमा एकपटक कुवेत गएर आएको भन्नु है भनेर सिकाएका थिए,’ लाक्पा भन्छिन्– ‘साथीहरु समातिएपछि जान्न भन्दै फर्किएँ ।’

डोल्मा र उनका श्रीमान साङ्गेको पासपोर्ट उनीहरुलाई विदेश पठाउने काठमाडौंमा रहेकी दालम शेर्पाले राखेर रु् १ लाख मागेकी छिन् । विदेश नजाने भए श्रम र जहाज टिकटवापतको रु. ५०–५० हजार मागेर पार्सपोर्ट नदिएको डोल्मा बताउँछिन् । साङ्गे तामाङ तातोपानी भन्सार कार्यालयको क्यान्टिनमा काम गर्थे । १२ वैशाखको भूकम्पपछि उनले पनि विदेश जान भनेर राहादानी शेर्पालाई दिए । तर, दालमले पढाइ पुगेन भन्दै श्रीमती लाक्पा डोल्मालाई जान भनेकी थिइन् ।

चाकुको मुख्य सडकमा होटल व्यवसाय सञ्चालन गरेर गुजारा गरेका दावा शेर्पाले एक महिनाअघि रु. १ लाख खर्च गरेर श्रीमती कुमारी शेर्पालाई दुबई पठाए । ‘भूकम्पपछि घरमा सबै चोरी भयो, खाने कुराको समस्या भएपछि श्रीमतीलाई दुबई पठाएँ,’ दाबाले सुनाए ।

वैदेशिक रोजगारमा गएकाहरु पनि भनेअनुसारको सेवा सुविधा नपाएपछि रित्तो हात घर फर्केका छन् । त्यसमध्येकै एक हुन् चाकुकी लम्बु तामाङ । घरेलु कामदारको रुपमा दुबई पुगेको एक महिनापछि उनी गत मंसिरको दोस्रो हप्ता फर्केकी हुन् । घरमा काम गर्ने भनेर लगे पनि खान नदिएर भोकभोकै रातदिन काम गर्नु परेपछि फर्केको उनी सुनाउँछिन् । ‘तँलाई त हामीले किनेर ल्याएको हो भन्थे,’ उनले सुनाइन् ।

पाइन छाडे कामदार

युवा जनशक्ति वैदेशिक रोजगारीमा गएपछि सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछिको पुनर्निर्माणमा जनशक्तिको अभाव देखिएको छ । पिस्कर–९ का भीमबहादुर खड्का भन्छन्– ‘गाउँमा काम गर्न सक्ने जनशक्ति पाइँदैन, भएको पनि अत्यधिक महँगंो छ ।’ उनका अनुसार डकर्मीको दैनिक ज्याला रु. १ हजार २ सय पुगेको छ । जबकि भूकम्प जानुअघि ३ सय थियो । स्वास्थ्य चौकी, विद्यालयलगायत विभिन्न संघसंस्थाको भवन निर्माणका लागि उनीहरुलाई महँगो ज्याला दिएपछि सर्वसाधारणले तिर्नै नसक्ने गरी मजदुरको ज्यालादर बढेको खड्काको भनाइ छ । सुनकोशी नदीमा बालुवा चाल्नेहरु मजदुर सिन्धुपाल्चोकभन्दा बाहिरी जिल्लाका भेटिन्छन् । सुर्खेत, बर्दिया, दैलेख र बाजुरालगायतका जिल्लाबाट दैनिक ज्यालादारीमा सुनकोशीमा बालुवा चाल्न गएका मजदुर भेटिए । चेहेरे नजिकैको सुनकोशीको बगरमा बालुवाको ठेक्का लिएका हरीकुमार माझी स्थानीय मजदूरको अभाव भएपछि बाहिरी जिल्लाबाट मजदुर ल्याएको बताउँछन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालुवा चालेवापत रु. ५ सय पाइने सुर्खेतका बमबहादुर सिंजालीले बताए । माझीको भनाइअनुसार दोलालघाटदेखि जुरेसम्म करिब ४ हजार मानिस बालुवा चाल्ने काममा लागेका छन् । तीमध्ये ९५ प्रतिशत मानिस बाहिरी जिल्लाबाट त्यहाँ पुगेका हुन् ।

त्यसैगरी नदीजन्य सामग्रीको मूल्य पनि यसपाली आकासिएको छ । साँगाचोक खत्रीथोकका स्थानीय पदम सोपकोटाका अनुसार रु. १ हजारमा पाइने एक ट्रली बालुवाको मूल्य अहिले १५ सय पुगेको छ । त्यो पाउन पनि लाइनमा बस्नुपर्दछ ।

सुनसान व्यवसाय

भूकम्पअघि दोलालघाटदेखि तातोपानीसम्म मानिसको चहलपहलले सडक छेउछाउका होटलमा मानिसहरुको भीडभाड हुन्थ्यो । तर, हिंजोआज यो सबै एकादेशको कथाजस्तै भएको छ । भूकम्प जानुअघि साँगाचोक–१, सिम्लेकी कमला श्रेष्ठको होटलमा काम गर्ने १० जना मानिस थिए । बिहानदेखि रातिसम्म सबैजना काममा व्यस्त हुन्थे । मानिसहरुको आउ–जाउ चलिरहन्थ्यो । अहिले उनको होटलमा ४ जना मात्रै कामदार छन् । उनीहरुलाई पनि काम पुग्दैन । भूकम्पअघि दैनिक रु. १ लाखभन्दा बढी व्यापार हुने होटलमा अहिले मुस्किलले रु. १० हजार पुग्ने कमला बताउँछिन् । ‘बाहिरी मानिससँग बोल्ने फुर्सद नै हुन्नथ्यो,’ कपडा विक्री गर्न हिंडेका एक व्यापारीसँगै कुरामा रमाएकी उनी भन्छिन्– ‘भूकम्पले सबै उडायो ।’ अरनिको राजमार्गको दोलालघाटदेखि तातोपानीसम्म करिब १ सय ५० भन्दा बढी साना–ठूला होटल छन् । तिनीहरु सबैको अवस्था कमलाको भन्दा फरक छैन ।

खाडी चउर बजारमा होटल सञ्चालन गर्ने सुनिल श्रेष्ठको थकाली होटलमा ३ जना कामदार थिए । दैनिक १ लाखसम्म कारोबार हुन्थ्यो । होटल नचलेपछि सबै कामदारलाई बिदा दिए । श्रीमान्–श्रीमतीले होटल धानेका छन् । होटल व्यवसाय छोडेर विदेश जाने तयारी गरेका उनी परिवारको दबाबपछि रोकिए । उनको भनाइअनुसार खाडी चउर बजारमा पाँचभन्दा बढी होटल नचलेपछि बन्द भएका छन् । अरनिको राजमार्गको नयाँ पुलस्थित झोलुङ्गे पुलको मुखका महेश कोल्ड स्टोर्ससहित २ वटा होटल बन्द भए । उक्त ठाउँमा होटल व्यवसाय सञ्चालन गरेर बसेकी सरस्वती कार्कीका अनुसार मानिस आउनै छोडेपछि होटल बन्द भएका हुन् । बन्जी जम्पिङका लागि जाने मानिसहरुबाट नयाँ पुलका होटल धानिएका थिए । भूकम्पपछि बन्जी जम्पिङका लागि मानिस जान छोडेका छन् । बन्जी जम्पिङ सञ्चालन गरेको द लास्ट रिसोर्ट प्रालिका सञ्चालक नरेन्द्र प्रधानका अनुसार भूकम्पअघि हप्तामा १ सयभन्दा बढी मानिस बन्जी जम्पिङ गर्न जान्थे । अहिले मुस्किलले ३० जना पुग्दैनन् । ‘मानिस तान्न प्याकेज घटाएर आकर्षित ग¥यौं, तर मान्छे आएनन्,’ प्रधान भन्छन्– ‘यहाँ आउने विदेशीको संख्या त नगन्य नै छ, सीमित नेपाली आउँछन् ।”

बाह«बीसेका श्यामसुन्दर श्रेष्ठको होटलमा भूकम्पअघि दैनिक ६० जनाभन्दा बढी मानिस बास बस्थे । उनका अनुसार बाह«विसेमा रहेका अरु ६ वटा होटलमा पनि यस्तै भीड हुन्थ्यो । ‘आजभोलि मान्छे पाउन गाह«ो छ,’ श्रेष्ठ भन्छन्– ‘आक्कल–झुक्कल कहिलेकाहीं दुईचार जना आउँछन् ।’

अझ बाह«बिसेभन्दा माथि तातोपानीतर्फका होटलहरुको अवस्था झन् दयनीय छ । तातोपानी धाराकै छेउमै होटल व्यवसाय सञ्चालन गरेकी कामी डोल्मा आक्कल झुक्कल मात्रै दिउँसोको समयमा खाना खाने मानिस आउने बताउँछिन् । ‘भूकम्पअघि त कोठा खाली हुन्नथ्यो,’ विगत सम्झँदै उनी भन्छिन्– ‘अहिले त सुनसान छ ।’ तातोपानीदेखि लिपिङतर्फका कुनै होटलमा मानिस बस्दैनन् । २ पुसमा तातोपानीदेखि लिपिङसम्मको यात्रामा सबै सुनसान थियो । तातोपानीमा फाट्टफुट्ट बाहिरबाट घुम्न गएका केही युवा–युवती देखिन्थे । स्थानीय निमादोर्जे शेर्पाका अनुसार तातोपानीदेखि लिपिङसम्म साना–ठूला गरी ५० भन्दा बढी होटल थिए । ती सबैमा खचाखच मानिसको भीडभाड हुन्थ्यो । अहिले तातोपानी धारका २ बाहेक अरु सवै होटल बन्द छन् । राजमार्ग छेउछाउमा व्यवसाय गर्नेहरुका अनुसार दैनिक ४ हजारभन्दा बढी मानिस तातोपानी आउजाउ गर्थे । व्यापारिक र पर्यटकीय नाका भएकाले अरनिको राजमार्गको व्यापार व्यवसाय पनि गुल्जार थियो । अहिले अन्य व्यवसायको अवस्था पनि होटल व्यवसायको भन्दा फरक छैन । लालकाजी श्रेष्ठको बलेफी बजारमा कपडा पसल छ । १ पुसको दिउँसो १ बजेसम्म उनको बोहोनी भएको थिएन । ‘खाली हात बस्नु पर्दैनथ्यो, दुईचार पैसाको समस्या थिएन,’ श्रेष्ठ भन्छन्– ‘अब बिहान बेलुका छाक टार्ने समस्या हुन थाल्यो ।’ खाडी चउर बजारमा फेन्सी पसल गर्ने पद्मनाथ पराजुली अहिले घरभाडा तिर्न धौ–धौ भएको गुनासो गर्छन् ।

विक्रीबट्टा ठप्प भएपछि व्यवसाय छाडेर पलायन हुनेहरुको संख्या पनि उल्लेख्य छ । खाडी चउरमा ब्ल्याङ्कट, थर्मस र सिरकको व्यापार गर्ने  वृन्दा चालिसेले पसल बन्द गरिन् । खाडीचउरका स्थानीय कार्केन लामाका अनुसार सटर भाडासमेत नउठेपछि खाडीचउरबाट १५ जना व्यापारी विस्थापित भएका छन् ।

त्यस्तै नेपाल ट्रक तथा कन्टेनर व्यवसायी संघका महासचिव कृष्ण क्षेत्रीका अनुसार तातोपानी चल्ने ११ सय साना तथा ठूला कन्टेनरमध्ये आधा कन्टेनर यत्तिकै थन्किएका छन् । १ सय कन्टेनरलाई भूकम्पपीडितले बासको रुपमा प्रयोग गरेका छन् । केरुङ र अन्यत्रका नाकामा गरी करिब ६ सय कन्टेनर सञ्चालित छन् । एक सयभन्दा बढी कन्टेनर चालक खाडी मुलुक गएको क्षेत्री बताउँछन् । ‘कति व्यवसायीले त गाडीको किस्ता तिर्न नसकेर अरु जायजेथा बेचेका छन्,’ क्षेत्रीले भने ।

खासामा भन्सार एजेन्टको काम गर्ने कार्केन लामा भूकम्प पछाडि घरमै छन् । उनीजस्ता पाँचसय बढीले तातोपानी र खासामा मालसामानको भन्सार गर्ने काममा एजेण्टको काम गर्थे ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *