Home / News / अन्तर्वार्ता / एल्भिया र रिकसँग अतिथिवार्ता

एल्भिया र रिकसँग अतिथिवार्ता

टेक्ससको अर्विङ नगरको मेयरका लागि चुनाव हुँदै छ। अर्विङ नगर चुनावमा मेयरका लागि पाँच जना उम्मेदवार खडा भएका छन्। खासगरी नेपालको स्थानीय निर्वाचनभन्दा फरक शैली अपनाइने यहाँको नगर चुनावमा अर्विङ नगरको मेयरका लागि एल्भिया यस्पानो, जेसी गोन्जालेज, क्रिष्टी वेभर पेना र रिक स्टोफर उम्मेदवारका रुपमा रहेका छन्। यिनै उम्मेदवारमध्ये हामीले रिक स्टोफर (रिचर्ड एच स्टोफर) र एल्भिया यस्पानोसँग कुराकानी गरेका थियौं। हामीले उनीहरुको योजना, नेपाली समुदायबारे उनीहरुको बुझाइ जान्न चाह्यौं। उनीहरुसँग गरिएको कुराकानी–

तपाईंको उम्मेद्वारी केका लागि?

रिक स्टोफर— म ३० वर्षदेखि यस क्षेत्रसँग जोडिएर काम गर्दै आएको छु । २० वर्ष सिटी काउन्सिलका विभिन्न पदमा रहेर काम गरेको अनुभव रहेको छ । यो सिटी ग्रोइङ सिटीका रुपमा रहेको छ । व्यावसायिक र व्यस्त सिटीको रुपमा विकसित भइरहेको छ । सिटीमा जनघनत्व बढ्दै जाँदा चुनौतीहरु प्नि उत्तिकै थपिएका छन् । ती चुनौतीहरुलाई यहाँका सबैसँग मिलेर समाधान गर्ने मेरो प्रयत्न रहनेछ र केही फरक गर्ने मेरो सोच रहेको छ ।

एल्भिया यस्पिनो— म लामो समयदेखि समुदायमा रहेर काम गर्दै आएकी छु । समुदायको आवश्कताप्रति म जानकार छु । मैले मुख्य कुरा यो सिटलाई सबै समुदायले समान हैसियत, समान अवसर रहेको सिटीका रुपमा बुझ्ने र भोग्ने सिटी बनाउन चाहन्छु । यहाँको सिटी काउन्सिलमा अहिले पनि धेरै समुदायको प्रतिनिधित्व हुन सकिराखेको छैन, केही समुदायको सवाल मात्रै महत्वको पक्ष बनिरहेको छ, म यसलाई मेट्न चाहन्छु । म यो पोष्टमा पुगेको खण्डमा सबैले आफ्नो समुदायको प्रतिनिधित्व रहेको अनुभूति गराउन म लाग्नेछु । पारदर्शी ढंगले काम गर्दै सबै समुदायलाई इनकरेज गर्दै काम गर्नेछु ।

सबैभन्दा ठूलो चुनौती के देख्नुभएको छ?

रिक स्टोफर— मुख्य कुरा यो सिटी जुन हिसाबले ‘ग्रो’ भैरहेको छ । त्यो हिसाबको पूर्वाधारहरु चुस्त हुन सकेको छैन । भएका पूर्वाधारले यहाँको चाप धान्न सकिरहेको छैन । ठूलो चुनौती भनेकै पूर्वाधारको रहेको छ । ढल, खानेपानी, सार्वजनिक पार्कको अभाव देखिन थालेको छ, सडकसमेत साँघुरो रहेको छ । मुख्य राजमार्गका रुपमा रहेको १८३, ११४ समेत साँघुरो हुन थालेको छ । सिटीभित्रका सडकसमेत साँघुरो र मर्मत गर्ने अवस्थामा पुगेको छ । यहाँको मुख्य चुनौतीका रुपमा मैले पूर्वाधार निर्माण तथा पुनर्निर्माणलाई लिएको छु र मेरो ध्यानसमेत त्यता नै केन्द्रित हुनेछ ।

एल्भिया यस्पिनो— यो सिटी अमेरिकाकै ग्रोइङ सिटीको रुपमा रहेको छ । तर यहाँको पुर्वाधार, यहाँको जनसंख्याको हिसावले पर्याप्त छैन । यसलाई समयसापेक्ष बढाउँदै लग्नुपर्ने आवश्यकता रहेको छ । सडकदेखि ढल, पार्किङदेखि पार्कजस्ता पूर्वाधारको आवश्यकता यहाँ रहेको छ । यस सिटीमा रहेका हरेक समुदायको आफ्नो संस्कृतिअनुसारको कार्यक्रम गर्ने स्थलको समेत जरुरी देखिएको छ । शहरभित्रको सडक र मुख्य राजमार्गको स्तरोन्नति गर्नेतर्फ लाग्नुपर्ने भएको छ । बढीभन्दा बढी कम्युनिटीलाई समावेश गरेर कम्युनिटी बिल्ड–अपका कार्यक्रम सञ्चालन गर्नु जरुरी छ ।

यो सिटीभित्र बसोबास गरिरहेका कम्युनिटीहरुलाई कसरी हेरिरहनुभएको छ?

रिक स्टोफर— यो सिटीमा आवादी बढिरहेको छ । विभिन्न राज्यबाट समेत यहाँ आउनेहरु बढिरहेको स्थिति छ भने आप्रवासीका रुपमा पनि सिधै यहाँ आउनेको संख्या पनि उत्तिकै छ । विभिन्न कम्युनिटीको बसोबास रहेकाले यहाँ मल्टिकल्चर सिस्टम देख्न सकिन्छ । तर, यो सिटीको विकासका लागि सबै कम्युनिटी एक भएर अघि बढ्नुपर्ने हुन्छ, त्यो मैले विगतदेखि नै देख्दै आएको छु ।

एल्भिया यस्पिनोः— मुख्य कुरा अमेरिका आप्रवासीको मुलुक हो । यहाँ आउँदा नै आप्रवासीहरु फरक–फरक संस्कृति अवलम्बन गरेका हुन्छन् । समुदायका आआफ्नै संस्कार हुन्छन् । यी भनेका अमेरिकाको गहना हुन्, यो हाम्रो सिटीको पनि सम्पत्ति हो । यसलाई जोगाएर लान सक्दा सिटी बलियो बन्न सक्दछ । त्यसैले सबै समुदायसम्म पुगेर मैले समुदायलाई नै परिचालित गरेर काम गर्दै आएकी छु, त्यसैलाई अब पनि निरन्तरता दिनेछु ।

आप्रवासीको सन्दर्भमा तपाईंको विचार बताइदिनुहोस् न? अनि आप्रवासीहरुले अझै पनि यहाँ मेन स्ट्रिममा रहेर सेवा लिन नसकिरहेको हो?

रिकी स्टोफर— मुख्य कुरा यो देश बन्नुमा आप्रवासीहरुको मेहनत र लगानी उत्तिकै रहेको छ । आप्रवासीको सन्दर्भमा केन्द्रीय सरकार, राज्य सरकार र सिटीको ल अन्तर्गत रहेर काम गर्नेछु । कतिपय अवस्थामा स्थानीय सरकार र केन्द्रीय सरकारका सेवाहरुसमेत प्रभावकारी रुपबाट लिन समुदायले नसकिरहेको देखिन्छ । त्यसका लागि स्थानीय रुपमा समुदायसँग छलफल गरेर कामहरु अगाडि बढाउनेछु । सिटी प्रहरीसँग यहाँको कम्युनिटीलाई बढीभन्दा बढी नजिक गराएर काम गर्न सक्दा धेरै सहजता हुने देखेको छु । त्यसतर्फ मेरो योजना रहेको छ, म गुड रिलेशनसिपमा विश्वास गर्छु । त्यहीअनुसार कामहरु गर्दै जानेछु ।

एल्भिया यस्पिनो— आप्रवासीको सन्दर्भमा कुरा गर्दा म आफू पनि आप्रवासी नै हुँ । म यहाँको नागरिक भए पनि मेरो ओरिजिन मेक्सिको हो । मेरो पुर्खा मेक्सिकोबाट आएको हो । त्यसैले आप्रवासीबारे म आफू पूर्णतः जानकार नै छु । रह्यो कुरा आप्रवासीको सवाल, आप्रवासी अमेरिकाको शक्ति हो । विभिन्न देशबाट आएका आप्रवासीहरुले नै गर्दा अमेरिका यहाँसम्म पुगेको हो । यसलाई अझ एकताबद्ध बनाएर लैजानु जरुरी छ । अर्को कुरा, मेनस्ट्रिम को छ । हो, अहिले पनि केही समुदायको प्रतिनिधित्व मात्र मेन स्ट्रिम वा सरकारी तह, स्थानीय निकायमा भैरहेको देखिन्छ । यसले मलाई हर्ट गर्ने गर्दछ, हरेक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक छ । अहिले जे भैरहेको छ यो राम्रो भैरहेको छैन । शो, आइ वान्ट टु चेन्ज दिज आइ कान्ट नेभर हर्ट एनिवन । मेरो भूमिका सबै समुदायलाई एकताबद्ध गराउने नै हो ।

नेपाली समुदायको अवस्था र भूमिकालाई कसरी हेर्नुभएको छ?

रिक स्टोफर— म नेपाली समुदायबाट निकै प्रभावित छु । यहाँको एकताबाट म निकै खुशी छु । डिफरेन्ट संस्कार र डिफरेन्ट कल्चर नेपाली समुदायको रहेको छ । खासगरी म तीन–चार वर्षदेखि त नेपाली समुदायसँग नजिक रहेर काम गरेको छु । यहाँ नेपाली समुदायसमेत बढिरहेका छन्, अन्य समुदायभन्दा फरकपन नेपाली समुदायको रहेको छ । यहाँ नेपाली मन्दिर बनेको छ, यसबाट म निकै खुशी छु । व्यावसायिक रुपमा समेत नेपाली समुदाय अघि बढिरहेको छ । नेपाली समुदायसँग मिलेर यो समुदायका निम्ति गर्न सकिने काममा मेरो सहकार्य सधैं रहिरहनेछ ।

एल्भिया यस्पिनो— म ओरिजिनल्ली मेक्सिकन भएकाले मलाई आप्रवासी समुदायको कल्चरप्रति सम्मान छ । मेक्सिकन र नेपाली समुदायको कल्चर मलाई उस्तै–उस्तै लाग्छ । अझ सामुदायिक एकता पनि दुई समुदायको मिल्दोजुल्दो रहेको छ । नेपाली समुदाय बिस्तारै यस सिटीमा बढिरहेको अवस्था छ । अन्य समुदायभन्दा बिल्कुल फरक पहिचान नेपाली समुदायले स्थापित गरेको छ । नेपाली समुदायको एकता र आफ्नो भाषा, संस्कृतिप्रतिको जुन डेडिकेशन छ, यो साँच्चिकै अन्य समुदायका लागि समेत सिक्ने पक्ष हो । म नेपाली समुदायलाई सम्मान गर्दछु, यो समुदायका लागि म सहकार्य गर्न तयार छु । यो समुदायको प्रतिनिधित्व यहाँको निकायमा स्थापित गराउन म लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

Check Also

एनआरएनए आइसिसी अध्यक्ष घलेद्धारा महासचिव केसीले काटेको पत्रलाई अमान्य घोषित

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचान सम्वन्धी बढ्दो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *